Bible in 90 Days
येशूद्वारा मानिसहरूलाई शिक्षा
(लूका 6:20-23)
5 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। 2 उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,
3 “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
4 अहिले शोक गर्नेहरू धन्यकाहुन्,
किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
5 धन्य नम्र हुनेहरू,
किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
6 धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
7 धन्य अरू प्रति दया देखाउनेहरू,
किनभने तिनीहरूले दया पाउनेछन्।
8 धन्य हृदयमा शुद्ध हुनेहरू,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
9 धन्य मेल-मिलाप गराउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।
10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू,
किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।
11 “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। 12 सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।
तिमीहरू पृथ्वीका नून र ज्योति जस्तै हौ
(मर्कूस 9:50; 4:21; लूका 14:34-35; 8:16)
13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
14 “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। 15 त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। 16 त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।
येशू अनि पुरानो नियमको लेखाई
17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।
19 “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। 20 म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ।
येशूद्वारा रीस बारे शिक्षा
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्।(A) जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, 24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।
25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। 26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।
येशूद्वारा व्यभिचार बारे शिक्षा
27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’(B) 28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। 30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
येशूद्वारा सम्बन्ध बिच्छेद शिक्षा
(मत्ती 19:9; मर्कूस 10:11-12; लूका 16:18)
31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’(C) 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।
येशूद्वारा शपथ बारे शिक्षा
33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’[a] 34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। 36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। 37 यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।
येशूद्वारा बद्ला लिने बारे शिक्षा
(लूका 6:29-30)
38 “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’(D) 39 तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। 40 यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। 41 यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। 42 यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर।
सबैलाई प्रेम गर
(लूका 6:27-28,32-36)
43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर(E) र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। 45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। 46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। 47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। 48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।
येशूद्वारा दान दिने बारे शिक्षा
6 “होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।
2 “जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। 3 तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्। 4 तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
येशूद्वारा प्रार्थना बारे शिक्षा
(लूका 11:2-4)
5 “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। 6 जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ।
7 “जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। 8 त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। 9 यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:
‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’[b]
14 यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15 यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।
येशूद्वारा उपवास बारे शिक्षा
16 “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। 17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। 18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।
धन-सम्पत्तिभन्दा परमेश्वर महान् हुनुहुन्छ
(लूका 12:33-34; 11:34-36; 16:13)
19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। 20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। 21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।
22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। 23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।
24 “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।
परमेश्वको राज्यमा पहिले आऊ
(लूका 12:22-34)
25 “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। 26 आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ। 27 फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन।
28 “अनि लुगाफाटाको निम्ति तिमीहरू किन फिक्री गर्छौ? बगैँचाको फूलहरूको विचार गर, ती कसरी बढ्छन्। तिनीहरू न ता आफ्नो लागि परिश्रम गर्दछन्, न ता वस्त्रका निम्ति धागो कात्दछन्। 29 तर पनि म तिमीहरूलाई भन्दछु, महान अनि धनी राजा सुलेमान समेतले यी फूलहरू मध्ये एउटा जत्ति पनि सिंगारिएका थिएनन्। 30 यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो।
31 “यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाउँला?’ ‘के पिउँला?’ वा हामी ‘के लगाउँला?’ 32 परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ। 33 तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ, 34 जसद्वारा भोलिको निम्ति तिमीहरूले त्यत्ति फिक्री गर्नु पर्ने छैन, प्रत्येक दिनमा आ-आफ्नै समस्या हुन्छ। भोलिको दिनको पनि आफ्नै समस्याहरू छन्।
येशूद्वारा निसाफ बारे शिक्षा
(लूका 6:37-38,41-42)
7 “अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछैन। 2 जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ, उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ। अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिनेछ।
3 “किन तिमी आफ्नो भाइको आँखामा भएको सानो कसिङ्गर देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको ठूलो काठको चोइटो भने देख्दैनौ। 4 अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ? 5 ए कपटी हो! पहिले तिम्रो आफ्नै आँखामा भएको त्यो ठूलो काठको चोइटो निकाल त्यसपछि मात्र तिमीले आफ्ने भाइको आँखामा भएको कसिङ्गर देख्नेछौ।
6 “कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिनीहरूले केवल त्यसलाई कुल्चने छन्।
जे चाहन्छौ परमेश्वरलाई माग
(लूका 11:9-13)
7 “माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ। 8 साँच्चो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ।
9 “तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अँहँ। 10 अथवा, जब तिम्रो छोरोले माछा माग्छ भने के तिमीले उसलाई सर्प दिन्छौ? अँहँ! 11 तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।
प्रमुख नियम
12 “अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।
स्वर्ग र नर्कको बाटो
(लूका 13:24)
13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। 14 जीवनको बाटोमा लाने ढोका साँघुरो छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।
अरूहरू जे गर्दछन् त्यो हेर्नु
(लूका 6:43-44; 13:25-27)
15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। 16 तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। 17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। 18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” 19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। 20 यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।
21 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। 22 अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ 23 तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
बुद्धिमान र मूर्ख मानिसहरू
(लूका 6:47-49)
24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ। 25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।
26 “तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुशरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो। 27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”
28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे। 29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।
येशूले कुष्टरोगीलाई निको पार्नुभयो
(मर्कूस 1:40-45; लूका 5:12-16)
8 येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। 2 त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”
3 येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। 4 तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”
येशूले अधिकारीको नोकरलाई निको पार्नुभयो
(लूका 7:1-10; यूहन्ना 4:43-54)
5 येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। 6 अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।”
7 येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।”
8 अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। 9 म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।”
10 जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ। 11 धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्। 12 तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।”
13 तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो।
येशूद्वारा धेरै मानिसहरू निको पारिएका
(मर्कूस 1:29-34; लूका 4:38-41)
14 येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो। 15 तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्।
16 त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए। 17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो:
“उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो,
अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”(F)
येशूका चेलाहरू
(लूका 9:57-62)
18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। 19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”
20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”
21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”
22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”
येशूले आँधीलाई शान्त गराउनु हुन्छ
(मर्कूस 4:35-41; लूका 8:22-25)
23 येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। 24 जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। 25 चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।”
26 येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो।
27 सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”
येशूले भूत लागेको दुइजना मानिसहरूलाई चंगाई गर्नु भयो
(मर्कूस 5:1-20; लूका 8:26-39)
28 गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। 29 ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”
30 छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो। 31 भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।”
32 येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे। 33 ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। 34 तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।
येशूले पक्षवातको रोगीलाई निको पार्नुभयो
(मर्कूस 2:1-12; लूका 5:17-26)
9 येशू एउटा डुङ्गामा चढ्नुभयो र झील पारी जानुभयो अनि उहाँ आफ्नो शहरमा पुग्नुभयो। 2 केही मानिसहरू एकजना पक्षघाती रोगीलाई आफूहरू सित लिएर येशू भएकहाँ आए। त्यो मानिस ओछ्यानमै लडीरहेको थियो। येशूले तिनीहरूमा औधी विश्वास भएको देख्नुभयो। अनि उहाँले त्यो पक्षघातीको रोगीलाई भन्नुभयो, “सुखी होऊ, जवान मानिस! तिम्रो पापहरू क्षमा गरिएका छन्।”
3 केही शास्त्रीहरूले यी कुराहरू सुने। तिनीहरूले आफू माझ त्यस कुराको वहस गरे, “यो मानिस परमेश्वरले जस्तै कूरा गर्छ उसले परमेश्वरकै निन्दाको कुरा गरे जस्तो छ।”
4 तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ? 5-6 यो पक्षाघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशूले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।”
7 अनि त्यो मानिस उठ्यो र घरतिर लाग्यो। 8 मानिसहरू यो देखी छक्क परे। मानिसहरूलाई यस्तो शक्ति प्रदान गरेकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे।
येशूले मत्तीलाई बोलाए
(मर्कूस 2:13-17; लूका 5:27-32)
9 जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेट्नु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
10 येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए। 11 येशूले ती मानिसहरूसँग खाना खाइ रहनु भएको फरिसीहरूले देखे। फरिसीहरूले येशूका चेलाहरूलाई सोधे, “किन तिमीहरूका गुरूले कर उठाउनेहरू र पापीहरूसँग बसेर खाना खान्छन्?”
12 फरिसीहरूले भन्दै गरेको कुरा येशूको सुन्नुभयो। अनि उहाँले भन्नुभयो, “स्वस्थ मानिसहरूलाई वैद्यको आवश्यकता पर्दैन। जो रोगी छ उसैलाई वैद्यको आवश्यकता पर्दछ। 13 म तिमीहरूलाई एउटा कुरो भन्नेछु। जाऊ अनि यसको अर्थ के हो सिक: ‘म पशुको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(G) म यहाँ धार्मिक मानिसहरूलाई भेट्न आएको होइन, ती पापीहरूलाई भेट्न आएको हुँ।”
येशू अरू यहूदीहरू जस्तो हुनुहुन्न
(मर्कूस 2:18-22; लूका 5:33-39)
14 त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
15 येशूले भन्नुभयो, “विवाहको बेलामा जो दुलहासँग हुन्छन्, तिनले दुःख मान्दैनन् तर त्यस्तो समय आउँछ जब तिनीहरूबाट दुलहालाई अलग गरिन्छ। तब तिनीहरू दुःखी बन्छन् र तिनीहरू उपवास लिन्छन्।
16 “कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ। 17 कसैले पनि नयाँ दाखरसलाई छालाको पुरानो थैलाहरूमा हाल्दैन। पुरानो थैलीमा कसैले नयाँ दाखरस हाल्यो भने, त्यो थैली फाट्छ र दाखरस पनि नष्ट हुन्छ। यसकारण मानिसहरूले नयाँ थैलाहरूमा नयाँ दाखरस हाल्दछन्। यसरी दाखरस र थैलाहरू दुवै सुरक्षित रहन्छन्।”
येशूले मरेकी केटीलाई जीवित पार्नु भयो र रोगी स्त्रीहरूलाई निको पार्नु भयो
(मर्कूस 5:21-43; लूका 8:40-56)
18 येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।”
19 तुरन्तै येशू उठ्नु भयो अनि तिनीसित जानुभयो। उहाँका चेलाहरू पनि पछि लागे।
20 बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्। 21 तिनले सोच्दै थिइन्, “यदि मैले उहाँको लुगाको फेरमा छोएँ मात्र भने पनि म ठीक भइजानेछु।”
22 येशू पछिल्तिर फर्किनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।” तिनै बेला तिनी ठीक भइन्।
23 येशू यहूदी शासकसँग हिँड्दै हुनुहुन्थ्यो। उहाँ तिनको घरमा पुग्नु भयो। मानिसहरूलाई शोक धुन बजाईरहेको देख्नुभयो। उहाँले धेरै मानिसहरूलाई त्यहाँ रोइरहेको देख्नुभयो किनभने युवती मरेकी थिई। 24 येशूले भन्नुभयो, “पर जाऊ। यो युवती मरेकी छैन। ऊ निदाएकी मात्र छे।” यो देखेर मानिसहरूले उहाँको हाँसो उडाए। 25 जब मानिसहरूलाई घरबाट बाहिर पठाइयो, तब येशू युवतीको कोठामा प्रवेश गर्नुभयो। उहाँले युवतीको हात समात्नुभयो अनि त्यो युवती जुरुक्क उठी। 26 तब यस कुराको खबर सारा मुलुकभरि फिँजियो।
येशूद्वारा धेरै मानिसहरू निको भए
27 जब येशू त्यो स्थानबाट गईरहनु भएको थियो, दुइजना अन्धो मानिसले उहाँलाई पछ्याए। ती अन्धाहरूले ठूलो स्वरले रूदै भने, “हे दाऊदका पुत्र, कृपया हामीलाई सहायता गर्नुहोस्।”
28 जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”
29 त्यसपछि येशूले तिनीहरूका आँखाहरू छोएर भन्नुभयो, “मैले तिमीहरूलाई देख्नसक्ने बनाउन सक्छु भन्ने विश्वास तिमीहरूसित छ। यस्तै हुन देऊ।” 30 त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।” 31 तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिँजाए।
32 जब ती दुइ मानिसहरू जादै थिए, केही मानिसहरूले अर्को एकजनालाई येशूकहाँ ल्याए। उसलाई भूत लागेको हुनाले त्यो मानिसले बोल्ने शक्ति गुमाएको थियो। 33 येशूले त्यस मानिसबाट भूत भगाइदिनुभयो। त्यसपछि त्यो मानिस बोल्न थाल्यो। मानिसहरू छक्क पर्दै भन्नलागे, “इस्राएलमा यसप्रकारको घट्ना पहिले कहिल्यै घटेको थिएन।”
34 तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”
येशू मानिसहरूको लागि दु:ख मान्नु हुन्छ
35 येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। 36 उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडा़हरू जस्तै हैरान भई तितर-बितर भएका थिए। 37 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। 38 प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।”
येशूले आफ्ना प्रेरितहरूलाई प्रचार गर्न पठाउनु हुन्छ
(मर्कूस 3:13-19; 6:7-13; लूका 6:12-16; 9:1-6)
10 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। 2 ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ:
शिमोन (जसलाई पत्रुस पनि भनिन्छ),
अनि उसको दाज्यू अन्द्रियास,
जब्दीको छोरो याकूब,
अनि उसको भाइ यूहन्ना,
3 फिलिप,
बारथोलोमाइ,
थोमा,
महसूल उठाउने मत्ती,
अल्फयसको छोरो याकूब,
थेदियस,
4 शिमोन कनानी,
र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)।
5 येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। 6 बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। 7 जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’ 8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ। 9 तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ। 10 झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।
11 “जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। 12 तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ 13 घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। 14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। 15 तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।
येशूद्वारा समस्याहरू बारे चेताउनी
(मर्कूस 13:9-13; लूका 21:12-17)
16 “सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन। 17 सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्। 18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ। 19 जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ। 20 वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैं तिमीहरूबाट बोल्नुहुनेछ।
21 “दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्द हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्यन्त्र गर्नेछन्। 22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ। 23 जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।
24 “कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ। 25 एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।
मानिसको होइन परमेश्वरको डर राख
(लूका 12:2-7)
26 “यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ। 27 यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ।
28 “मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ। 29 चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन। 30 तिम्रा टाउकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ। 31 यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।
विश्वास बारेमा बहस
(लूका 12:8-9)
32 “यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु। 33 तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु।
येशूलाई पछ्याउनाले दु:ख उठाउनु पर्छ
(लूका 12:51-53; 14:26-27)
34 “म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसम्झ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ। 35 म यो उद्देश्यले आएको हुँ:
‘एउटा छोरो बाबुको विरुद्ध हुन्छ।
एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छे।
एउटी बुहारी उसकी सासूको विरूद्ध हुन्छे।
36 कुनै मानिसको आफ्नो परिवरको मानिस इच्छा पत्रमा नाउँ भएका उसको बिरुद्ध शत्रु बन्दछ।’[c]
37 “जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन। 38 यदि कुनै मानिसले मलाई अनुशरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने ऊ मलाई अनुशरण गर्ने योग्यको हुँदैन। 39 जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ।
तिमीलाई ग्रहण गर्नेलाई परमेश्वरले आशिष दिनुहुन्छ
(मर्कूस 9:41)
40 “तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ। 41 अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ। 42 यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।”
येशू र बप्तिस्मा दिने यूहन्ना
(लूका 7:18-35)
11 आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो।
2 बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए। 3 यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”
4 येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर। 5 अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ट रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ। 6 यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।”
7 यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? 8 वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। 9 यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। 10 यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ:
‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु।
उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’(H)
11 “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। 12 बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। 13 सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। 14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। 15 मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन।
16 “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं,
तर तिमीहरू नाचेनौ;
हामीहरूले दु:खका गीत गायौं,
तर तिमीहरू दुःखी भएनौ।’
18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ 19 मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
येशू विश्वास नगर्नेहरूलाई सर्तक गराउनु हुन्छ
(लूका 10:13-15)
20 येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। 21 येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। 22 तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ।
23 “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। 24 तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।”
येशू आफ्ना मानिसहरूलाई विश्राम प्रदान गर्नुहुन्छ
(लूका 10:21-22)
25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। 26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
27 “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”
यहूदीहरूद्वारा येशूको आलोचना
(मर्कूस 2:23-28; लूका 6:1-5)
12 त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। 2 फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
3 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? 4 दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। 5 अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन। 6 म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ। 7 धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’(I) वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
8 “मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”
येशूले विश्राम दिनमा निको पार्नु भयो
(मर्कूस 3:1-6; लूका 6:6-11)
9 येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 10 उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 12 एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
येशू परमेश्वरद्वारा चुनिएको सेवक हुनुहुन्छ
15 फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। 16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। 17 येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
18 “यहाँ मेरो दास छ,
मैले उसलाई चुनेको हुँ।
म उसलाई प्रेम गर्छु
अनि म उसित खुशी छु।
म मेरो आत्मा उसमा हालिदिनेछु,
अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
19 उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ;
उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
20 उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन।
उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन।
उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन।
21 सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।”(J)
परमेश्वरद्वारा येशूको शक्ति
(मर्कूस 3:20-30; लूका 11:14-23; 12:10)
22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”
24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।
31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
तिमीहरूको चाल-चलनले तिमीहरूको परिचय गराउँछ
(लूका 6:43-45)
33 “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। 34 ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। 35 असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। 36 यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। 37 तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”
प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज
(मर्कूस 8:11-12; लूका 11:29-32)
38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”
39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 40 तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।
42 “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।
दुष्ट आत्माले भरिएका आजका मानिसहरू
(लूका 11:24-26)
43 “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। 44 तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। 45 त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49 आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ
(मर्कूस 4:1-9; लूका 8:4-8)
13 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। 2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। 3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:
“कोही किसान बीऊ छर्नलाई निस्क्यो। 4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। 5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। 6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। 7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। 8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। 9 ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”
येशूले सिकाउनलाई उखान भन्नु भएको
(मर्कूस 4:10-12; लूका 8:9-10)
10 चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। 12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। 13 यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। 14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो:
‘तिमीहरू सुन्न त सुन्छौ,
तर बुझ्दैनौ।
तिमीहरू हेर्न त हेर्छौ,
तर देख्न सक्दैनौ।
15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ।
कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्,
तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्।
यस्तो भएको छ त्यसकारण तिनीहरूले
आफ्ना आँखाले देख्दैनन्,
आफ्ना कानले सुन्दैनन्,
तिनीहरूका हृदयले बुझ्दैनन्,
हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए,
अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’(K)
16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। 17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
बीऊ छर्नेको उखानको व्याख्या
(मर्कूस 4:13-20; लूका 8:11-15)
18 “अब किसानको बारेमा उखान सुन:
19 “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। 21 तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22 “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23 “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
गहूँ र सामाको उखान
24 त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, 25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। 26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, 27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’
28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’
“चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29 “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। 30 फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’”
अरू केही उखानहरू
(मर्कूस 4:30-34; लूका 13:18-21)
31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। 32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”
34 येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन। 35 अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो:
“म उखान मार्फत तिमीहरूसँग बोल्छु;
उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”(L)
येशू कठिन उखानको व्यख्या गर्नुहुन्छ
36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”
37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। 38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। 39 नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्।
40 “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। 41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। 42 स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। 43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।
गाड़धन र मोतीको उखान
44 “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45 “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। 46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
माछामार्ने जालको उखान
47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। 48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। 49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। 50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।”
51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?”
तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।”
52 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
येशू आफ्नो शहर जानुहुन्छ
(मर्कूस 6:1-6; लूका 4:16-30)
53 यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाड्नु भयो। 54 येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए? 55 यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्। 56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” 57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।” 58 त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।
हेरोदले येशूको बारेमा जानकारी लिए
(मर्कूस 6:14-29; लूका 9:7-9)
14 त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए। 2 हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।”
बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
3 यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्। 4 यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन यसकारण यूहन्नालाई पक्रेको थिए।” 5 तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।
6 हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए। 7 अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए। 8 के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसँग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”
9 राजा हेरोद खूबै दुःखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए। 10 यसर्थ उनले केही मानिसहरूलाई पठाए अनि तिनीहरूले कैदमा परेका यूहन्नाको टाउको काट्न लगाए। 11 तिनीहरूले यूहन्नाको टाउको एउटा थालमा ल्याए र त्यस केटीलाई दिए। उसले यूहन्नाको टाउको आफ्नी आमा हेरोदियास कहाँ लगे। 12 यूहन्नाका चेलाहरू आए र तिनको देह लगेर गाडे। अनि तिनीहरू येशूकहाँ गए र भएका घट्नाहरूको वर्णन गरे।
पाँचहजारभन्दा बढी मानिसहरूलाई भोजनको प्रबन्ध
(मर्कूस 6:30-44; लूका 9:10-17; यूहन्ना 6:1-14)
13 जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। 14 जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।
15 त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”
16 येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”
17 चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
18 येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” 19 त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए। 20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे 21 त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।
येशू पानी माथि हिँड्नु भयो
(मर्कूस 6:45-52; यूहन्ना 6:16-21)
22 तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। 23 मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। 24 यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।
25 बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो। 26 उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।
27 तर येशूले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हुँ। डराउनु पर्दैन।”
28 पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिँडेर तपाईंकहाँ आउन भन्नुहोस्।”
29 येशूले भन्नुभयो, “आऊ पत्रुस।”
त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए। 30 पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।”
31 त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?”
32 जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। 33 डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
येशूले धेरै बिमारी मानिसहरूलाई निको पार्नुभयो
(मर्कूस 6:53-56)
34 त्यसपछि उहाँहरू झील तरेर गनेसरेतको किनारमा पुग्नुभयो। 35 त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए। 36 तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।
परमेश्वरको र मानिसको व्यवस्था
(मर्कूस 7:1-23)
15 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, 2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? 4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’(M) फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’(N) 5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। 6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। 7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”(O)
10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ। 11 जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”
12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”
13 येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ। 14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”
15 पत्रुसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।”
16 येशूले सोध्नुभयो, “के तिमीहरूलाई पनि यो कुरा बुझ्न अझ कठिन परिरहेको छ? 17 तिमीहरू जान्दैनौ कि मुखबाट खाएको खानेकुरा पेटमा पुग्दछ। अनि त्यसपछि शरीरदेखि जे कुरा बाहिर जान्छ। त्यो काम नलाग्ने हुन्छ। 18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ। 19 किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्। 20 यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँछन। तर हात नधोइ खानाले मानिसलाई अशूद्ध तुल्याउँदैन।”
येशूबाट कनानी स्त्रीहरूलाई सहायता
(मर्कूस 7:24-30)
21 येशू त्यो ठाउँ छोडेर जानु भयो अनि टायर र सिडोनका क्षेत्रतिर जानुभयो। 22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”
23 तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”
24 येशूले भन्नुभयो, “इस्राएलका हराएको भेंडा़को निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।”
25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।”
26 उहाँले जवाफ दिनु भयो, “नानीहरूको रोटी कुकुरलाई दिनु असल हुन्छ त?”
27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले आफ्नो मालिकको टेबलबाट झरेको रोटीका टुकाहरू खान्छन्।”
28 तब येशूले भन्नुभयो, “हे नारी तिमीमा ठूलो विश्वास रहेछ। तिमी जे चाहान्छौ म गर्नेछु।” अनि त्यसको छोरी त्यसैबेला निको भइहाली।
येशूले अनेक रोगहरू निको गर्नुभयो
29 त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढ़नु भयो र त्यहाँ बस्नुभयो।
30 धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा, गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो। 31 लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए।
येशूले चार हजारभन्दा धेरै मानिसहरूलाई खुवाउनु भएको
(मर्कूस 8:1-10)
32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।”
33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।”
34 येशूले जवाफ दिनु भयो, “तिमीहरूसित कतिवटा रोटी छन्?”
चेलाहरूले जवाफ दिए, “हामीसित सातवटा रोटी र केही ससाना माछा छन्।”
35 येशूले सबैलाई भूईंमा बस्न भन्नुभयो। 36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए। 37 सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए। 38 त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए। 39 जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।
© 2004, 2010 Bible League International