Bible in 90 Days
साँच्चो ज्ञान
13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। 14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। 15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। 16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। 17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। 18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।
परमेश्वरमा समर्पण
4 के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, 2 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। 3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।
4 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। 5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” 6 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”(A)
7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। 8 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। 9 उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। 10 परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।
तिमीहरू न्यायधीश हौइनौ
11 भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ। 12 परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।
परमेश्वरले तिम्रो जीवनमा योजना गरुन्
13 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच 14 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ। 15 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।” 16 तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो। 17 अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।
स्वार्थी धनी मानिसहरूलाई चेताउनी
5 तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ। 2 तिमीहरूको धन नष्ट हुनेछ अनि बेकार हुनेछ। तिमीहरूको वस्त्रहरू कीराले खानेछ। 3 तिमीहरूका सुन चाँदीमा कस लाग्नेछ अनि त्यो कसले तिमीहरूको विरोधमा साक्षी दिनेछ। त्यो कसले तिमीहरूको शरीरलाई आगोले झै खानेछ। तिमीहरूले सम्पती आखिरि दिनमा सञ्चितगरेका छौ। 4 मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरूलाई ज्याला दिएनौ। ती मानिसहरू तिमीहरूको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।
5 पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ। 6 तिमीहरूले निर्देष मानिसहरूको भर्त्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्।
धैर्य धारण गर
7 दाज्यू-भाइ अनि दिदी बहिनीहरू, धैर्य धारण गर, प्रभु येशू आउनु हुँदैछ। यसर्थ, त्यस समयसम्म धैर्य- धारण गर। कृषकहरू खुबै धैर्यवान छन्। कृषकले बहुमूल्य अन्न भूमिबाट उम्रनका निम्ति प्रतीक्षा गर्छ। कृषकले धैर्य साथ आफ्ना फसलले प्रथम वृष्टि अनि अन्तिम वृष्टि प्राप्त नगरून्जेल प्रतीक्षा गर्छ। 8 तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँडै आउनु हुँदैछ।
9 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ।
10 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुशरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे। 11 हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।
तिमी जो भन्छौ त्यसमा होशियार बन
12 मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ हो, भने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ होइन, भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी ठहरिने छैनौ।
प्रार्थनाको शक्ति
13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ। 14 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ। 15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।
16 सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ। 17 एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन। 18 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।
आत्माहरू बँचाउ
19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ। 20 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ।
1 पत्रुस, येशू ख्रीष्टका प्रेरितद्वारा अभिवादन!
परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरू प्रति। 2 परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरू चुनिएका थियै।
परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्।
जिउँदो आशा
3 परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। 4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।
5 तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। 6 यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। 7 यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
8 तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। 9 तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।
10 अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो। 11 ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दु:ख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दु:ख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिनीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे।
12 यो तिनीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्यौ। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्।
पवित्र जीवनको निम्ति आह्वान
13 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ। 14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच। 15 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो। 16 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”(B)
17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ। 18 तिमीहरू जान्दछौ कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौ जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरू किनियौ ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ। 19 तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौ, जो दोषरहित भेंड़ाको पाठो हुनुहुन्छ। 20 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो। 21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।
22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। 23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ। 24 धर्मशास्त्रले भन्छ:
“मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्,
तिनीहरूको महिमा घाँसको फूल झैं हो।
घाँस ओइलिन्छ,
अनि फूलहरू झर्छन्।
25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”(C)
अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो।
सजीव ढुङ्गा अनि पवित्र राष्ट्र
2 यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ। 2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। 3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
4 प्रभु येशू सजीव पत्थर[a] हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। 5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। 6 धर्मशास्त्रले भन्छ,
“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,
अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,
जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”(D)
7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:
“निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा,
तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”(E)
8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्:
“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,
एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”(F)
मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
9 तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
परमेश्वरका निम्ति जिउँनु
11 प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। 12 मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
ठीक काम गर
13 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। 14 अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। 15 यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। 16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। 17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।
ख्रीष्टको यातनाको उदाहरण
18 दासहरू हो! तिमीहरूको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरूले मालिकहरूको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ। 19 एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ। 20 तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ। 21 तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर:
22 “उनले पाप गरेनन्,
अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।”(G)
23 मानिसहरूले ख्रीष्ट प्रति नराम्रा कुराहरू भने, तर उहाँले तिनीहरूलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरूलाई भय देखाउनु भएन। अँहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ। 24 ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ। 25 तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।
पतिहरू अनि पत्नीहरू
3 त्यसरीनै तिमी पत्नीहरूले आफ्ना पतिहरू अघि समर्पण गर। तब, यदि तिमीहरू कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरूको व्यवहारले नै तिनीहरू जितिनेछन्। 2 पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्। 3 तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन। 4 अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।
5 यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए। 6 म “सारा” जस्ती स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँच्चो सन्तानहरू हौ, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।
7 त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।
असलकामको निम्ति यातना
8 यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। 9 मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो। 10 धर्मशास्त्रले भन्छ,
“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ,
अनि असल समयको आनन्द भोग गर्न चाहन्छ,
उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ
र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।
11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ,
त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
12 प्रभुले धार्मिक मानिसहरूलाई हेर्छन्
अनि प्रभुले तिनीहरूको प्रार्थना सुन्छन्
तर प्रभु ती मानिसहरूको विरुद्ध हुनुहुन्छ, जसले कु-कर्म गर्छ।”(H)
13 यदि तिमीहरू सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोक्सान गर्न सक्छ? 14 तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।”(I) 15 तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।
16 तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्। 17 सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।
18 तिमीहरूको निम्ति ख्रीष्टले सधैँको
निम्ति जीवन बलिदान दिनुभयो।
उहाँ दोषी हुनु हुन्न थियो,
तर उहाँ तिनीहरूको निम्ति मर्नु भयो जो दोषी थिए।
तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो।
उहाँ शरीरमा मारिनुभयो,
तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।
19 अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरूलाई शिक्षा दिनु जानुभयो। 20 ती आत्माहरू तिनीहरू हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरूलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरूलाई पानीले बचाएको थियो। 21 त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरूलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरूलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो। 22 अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरू, अधिकारीहरू अनि शक्तिहरूमाथि शासन चलाउनु हुन्छ।
परिर्तित जीवन
4 जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ। 2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन। 3 बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
4 तिमीहरू त्यस्ता “असभ्य वस्तुहरूमा” भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरू निन्दनीय कुरा गर्छन्। 5 तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ। 6 ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरू सबैलाई गरिए जस्तै तिनीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
परमेश्वरका उपहारहरूको असल व्यवस्थापक बन
7 समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ। 8 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ। 9 विना विरोध एक अर्कामा अतिथि सत्कार गर। 10 तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर। 11 मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरूले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँकै हो। आमिन।
ख्रीष्टियानको रुपमा यातना भोग्नु
12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ। 13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ। 14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ। 15 तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्। 16 तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ। 17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?
18 “यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने,
त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?”(J)
19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ।
परमेश्वरका बथान
5 अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। 2 जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। 3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। 4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
5 हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।
“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”(K)
6 यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ। 7 जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।
8 स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ। 9 शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।
10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ। 11 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।
आखिरी अभिवादन
12 मैले सिल्वानसको सहयोगमा यो चिट्ठी लेखें। म जान्दछु कि उनी विश्वासी भाइ हुन्। मैले तिमीहरूलाई उत्साह दिन औ यो परमेश्वरको साँच्चो अनुग्रह हो भनी साक्षी दिन यो छोटो पत्र लेखेको हुँ। यो अनुग्रहमा दृढ भएर बस।
13 बेविलोनको मण्डलीले तिमीहरू सबैलाई नमस्कार जनाउँछ। ती मानिसहरू, पनि तिमीहरू जस्तै चुनिएका थिए। मर्कूस, जो ख्रीष्टमा मेरो छोरो हो ऊ पनि नमस्कार दिन्छ। 14 एक अर्का प्रति प्रेमको चुम्बन प्रदान गर, जब तिमीहरूको भेट हुन्छ।
तिमीहरू सबैलाई शान्ति होस्, जो ख्रीष्टका साथ छौ।
1 येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।
तिमी सबै मानिसहरूप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरूले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।
2 तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।
हामीलाई चाहिएका हरेक चीज परमेश्वरले प्रदान गर्नु भएको छ
3 येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरू छन्, किनभने हामी उनलाई जान्दछौं। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो। 4 यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू इश्वरीय स्वभावका सहभागी होओ।
5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। 6 अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।
7 अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। 8 यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। 9 तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ।
10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ। 11 अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।
12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु। 13 म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरूलाई यी कुराहरू सम्झाउन उचित सम्झन्छु।
14 म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ। 15 म जति सक्छु तिमीहरूलाई सदैव यी कुराहरू स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरू सम्झन तिमीहरू समर्थ बनी रहौ।
हामीले ख्रीष्टको महिमा देख्यौं
16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं। 17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।” 18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।
19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुशरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुन्जेलसम्म र बिहानी तारा तिमीहरूको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ। 20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी[b] कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। 21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।
झूटा शिक्षकहरू
2 विगत समयमा झूटा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झूटा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्। 2 धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। 3 ती झूटा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झूटा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरूको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्।
4 जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् 5 अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे। 6 अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। 7 तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। 8 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। 9 हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ। 10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।
यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्। 11 सवर्गदूतहरू यी झूटा शिक्षकहरू भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरूले झूटा शिक्षकहरूलाई दोषारोपन गर्दैनन् अनि तिनीहरूको बारेमा प्रभु अघि निन्दा गर्दैनन्। 12 तर यी झूटा शिक्षकहरू तिनीहरूले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरू, जङ्गली पसुहरू जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरू जङ्गली पशुहरू जस्तै नष्ट हुनेछन्। 13 यी झूटा शिकहरूले धेरै मानिसहरूलाई चोट पुर्याँउँछन्। यसर्य तिनीहरूले पनि चोट पाउनेछन्। त्यो तिनीहरूले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरू, सबै मानिसहरू समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरू कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरूलाई खुशी पार्छ। यसर्थ तिनीहरू तिमीहरूमाझ फोहोर कलङ्क अनि दागहरू जस्तै हुन्। तिमीहरूसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरूलाई लज्जित तुल्याउँछ्न्। 14 हरेकपल्ट तिनीहरू स्त्रीलाई हेर्छन्, अनि तिनीहरू उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरू सदैव पाप गरिरहन्छन्। तिनीहरूले कमजोर मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरू आफैंले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरू श्रापित छन्। 15 यी झूटा शिक्षकहरूले उचित मार्ग छोडेका छन् अनि तिनिहरूको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरूले त्याही मार्ग अनुशरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे। 16 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानाकर्षण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।
17 ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ। 18 ती झूटा शिक्षकहरू त्यस्ता वचनहरूमा गर्व गर्छन् जसको केही अर्थ छैन। तिनीहरूले मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरूले, यस्ता मानिसहरूलाई आकर्षित गराइरहेछन् जो मानिसहरू कुकर्म गर्नेहरूबाट टाढ़ा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरूले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्। 19 ती झूटा शिक्षकहरू स्वतंत्रता प्राप्तिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरू स्वयं स्वतन्त्र छैनन्। तिनीहरू ती ध्वंशात्मक कुराहरूका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ। 20 ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ। 21 हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो। 22 तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।”(L) अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।”
येशू फेरि आउनु हुनेछ
3 मेरा मित्रहरू, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरूको इमान्दारी हृदयहरूलाई केही चीजहरू सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरू लेखें। 2 धेरै अघि पवित्र अगमवक्ताहरूले भनेको कुराहरू तिमीहरूले याद राख भन्ने म चाहन्छु। अनि ती आदेश सम्झ जो हाम्रा प्रभु अनि उद्धारकर्ताले हामीलाई दिनुभयो। हामीलाई त्यो आदेश उहाँले तिमीहरूका प्रेरितहरू मार्फत दिनु भयो। 3 तिमीहरूले बुझ्नै पर्छ कि अन्तिम दिनहरूमा के हुनेछ। मानिसहरू आउनेछन् जसले तिमीहरूलाई खिसी गर्नेछन्। ती मानिसहरू तिनीहरूको इच्छाले मागेको कुकर्महरू गरेर बाँच्नेछन्। 4 ती मानिसहरूले भन्नेछन्, “उहाँले फेरि आउने प्रतिज्ञा गर्नु भएकोछ। यो प्रतिज्ञा के भयो? हाम्रा पिता-पूर्खा मरे। तर संसार सृष्टि भएको समयदेखि प्रत्येक वस्तु त्यही प्रकारले चलिरहेको छ।” 5 तर ती मानिसहरू धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरू थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो। 6 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। 7 अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।
8 यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। 9 जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।
10 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। 11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। 12 तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। 13 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
14 प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। 15 स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो। 16 पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
17 प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं। 18 तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैँको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
1 हामी अब तिमीहरूलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं।
हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श गर्यौं।
हामी तिमीहरूलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ। 2 त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरूलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरूलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो। 3 अब हामी तिमीहरूलाई हामीले देखेका अनि सुनेको कुराहरू भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरूको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ। 4 हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेकाछौं जसद्वारा तिमीहरू आनन्दले परिपूर्ण हुन सक्नेछौ।
परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ
5 हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन। 6 यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौं, हामी सत्यको अनुशरण गरिरहेका छैनौ। 7 परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
8 यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन। 9 तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ। 10 यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं।
येशू हाम्रा सहयोगी हुनुहुन्छ
2 मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
2 येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ।
3 यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। 4 एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। 5 तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। 6 यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ।
येशूले भन्नु भयो अरूलाई प्रेम गर
7 मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। 8 तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ।
9 एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ। 10 जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन। 11 तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ। त्यस मानिस अंन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ।
12 प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु,
किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु,
किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु
किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
14 बालकहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू पितालाई चिन्दछौ।
पिताहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ।
युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु,
किनभने तिमीहरू बलियो छौ,
अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ,
अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
15 संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। 16 संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। 17 मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ।
ख्रीष्टको शत्रुहरूलाई नपछ्याऊ
18 मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। 19 ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्।
20 तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। 21 मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन।
22 यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। 23 त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ।
24 जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। 25 अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन।
26 म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। 27 ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस।
28 हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। 29 तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।
हामी परमेश्वरका बालकहरू हौं
3 हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरू भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरू हौं। तर संसारका मानिसहरू यो बुझ्दैनन् कि हामीहरू परमेश्वरका बालकहरू हौं, किनभने तिनीहरूले उहाँलाई चिनेका छैनन्। 2 प्रिय मित्रहरू, अब हामी परमेश्वरका बालकहरू हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं। 3 ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।
4 जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो। 5 तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरूको पापहरू हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन। 6 यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।
7 प्यारा बालकहरू, कुनै व्यक्तिले पनि तिमीहरूलाई छल्न नपाओस्। ख्रीष्ट धार्मिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुशरण गर्नुपर्छ। 8 शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरू नष्ट गर्नु हो।
9 जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ। 10 यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरू को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरू को हुन्। मानिसहरू जसले जे उचित छ त्यो गर्दैन, तिनीहरू परमेश्वरका बालकहरू होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
हामीले एक अर्कामा प्रेम गर्नुपर्छ
11 यो त्यो शिक्षा हो जो तिमीहरूले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ। 12 कयिन[c] जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरू गलत थियो अनि तिनका भाइले गरेका कुराहरू असल थियो।
13 भाइ अनि बहिनीहरू, जब यस संसारका मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, आश्चर्यचकित नबन। 14 हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरूलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन ऊ अझ मृत्युमा छ। 15 हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ ऊ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।
16 साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ। 17 कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? 18 मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँच्चो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।
19-20 त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।
21 मेरा प्रिय मित्रहरू, यदि हाम्रो विवेकले हामीलाई भर्तसना भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौं। 22 अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरू दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ। 23 यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो। 24 मानिस जसले परमेश्वरका आदेशहरू पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जो परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।
झूटा शिक्षकहरूको विरुद्ध यूहन्नाको चेतावनी
4 मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्। 2 परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।” 3 अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरूले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।
4 मेरा प्रिय बालकहरू, तिमीहरू परमेश्वरका हौ। यसर्थ तिमीहरूले झूटो शिक्षकहरूलाई परास्त गरेका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ। 5 अनि ती झूटो शिक्षकहरू संसारका हुन्। यसैले तिनीहरूको शिक्षा पनि संसारकै हो। अनि तिनीहरू जे भन्छन् संसारले सुन्छ। 6 तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।
प्रेम परमेश्वरबाट आउँछ
7 प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ। 8 मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। 9 यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं। 10 सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।
11 प्रिय मित्रहरू, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ। 12 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्यौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।
13 हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ। 14 हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरूमा गवाही दिन्छौ। 15 यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ। 16 अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं।
परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ। 17 यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ। 18 जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।
19 हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो। 20 यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ? 21 अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
परमेश्वरका बालकहरूले संसार जित्छन्
5 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। 2 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। 3 परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। 4 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। 5 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो
6 येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो। 7 यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्: 8 पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्।
9 हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। 10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। 11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। 12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।
हाम्रो अनन्त जीवन छ
13 तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ। 14 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। 15 हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।
16 यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरूको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरूलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन। 17 सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।
18 हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन। 19 हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ। 20 अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ। 21 यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख।
1 अग्रजबाट अभिवादन।
परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरू प्रति म तिमीहरू, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरूलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरूलाई पनि। 2 यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।
3 अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।
4 तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुशरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ। 5 अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो। 6 अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।
7 यो संसारमा अनेकौं झूटो शिक्षकहरू छन्। यी झूटो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो। 8 होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।
9 एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्। 10 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर। 11 यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ। 12 मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेट्न आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ। 13 तिम्रो बहिनीका बालकहरूले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।
1 अग्रजबाट अभिवादन!
मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
2 मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्। 3 ख्रीष्टमा विश्वास रहेका कोही भाइहरू आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरूले भने कि तिमीले सत्यको मार्ग अनुशरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो। 4 जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
5 मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरूलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरूलाई पनि सहयोग गरिरहेछौ। 6 यी भाइहरूले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरूलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरूलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्। 7 यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्। 8 यसर्थ हामीले यस्ता भाइहरूलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरूलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरूले गरेको कार्यमा सहभागी बर्न्छौं।
9 मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। ऊ सदैव तिनीहरूका नेता बन्न चाहन्छ। 10 जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरूलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरू जसले भाइहरूलाई सहयोग गर्न चहान्छन् तिनीहरूलाई पनि वाधा दिन्छ अनि तिनीहरूलाई मण्डलीबाट बाहिर निकाली दिन्छ।
11 मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुशरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
12 सबै मानिसहरूले डेमेत्रियसको विषयमा असल कुराहरू गर्छन्। अनि त्यो सत्य तिनीहरूले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छौं। अनि तिमीहरू जान्दछौ कि हामी जे भन्छौं त्यो सत्य हो।
13 मेरो तिमीहरूलाई धैरे कुराहरू भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ। 14 म तिमीहरूसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौं।
15 तिमीहरूमा शान्ति रहोस्। यहाँ भएका साथीहरूले तिमीहरूलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरू हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु।
© 2004, 2010 Bible League International