Bible in 90 Days
येशूले पाँच हजार भन्दा बेसीलई खुवाउनुभयो
(मत्ती 14:13-21; मर्कूस 6:30-44; लूका 9:10-17)
6 यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो। 2 धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए। 3 येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो। 4 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।
5 येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?” 6 येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।
7 फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”
8 त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए। 9 आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”
10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए। 11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो।
12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।” 13 तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुइवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूल-ठूला बाह्र डोकोहरूमा भरे।
14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।”
15 येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।
येशू पानीमा हिँड्नु हुन्छ
(मत्ती 14:22-27; मर्कूस 6:45-52)
16 त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए। 17 यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो। 18 हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो। 19 तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए। 20 तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराऊ, यो म नै हुँ।” 21 जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
मानिसहरूले येशूलाई खोजे
22 अर्को दिन आई पुग्यो। कोही मानिसहरू समुद्रको अर्को किनारतिर बसेका थिए। येशू अब आफ्ना चेलाहरूसँग जानु भएन भन्ने कुरा ती मानिसहरूले थाहा पाए, तर तिनीहरू आफैं छोडीए। तिनीहरूले पनि थाहा पाए त्यहाँ एउटा मात्र डुङ्गा थियो। 23 तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो। 24 ती मानिसहरूले त्यहाँ अब न त येशू न उहाँका चेलाहरू नै देखे। यसर्थ तिनीहरू डुङ्गाहरू लिएर कफर्नहुमतिर लागे। किनभने तिनीहरू येशूलाई भेट्न चाहन्थे।
येशू जीवनको रोटी हुनुहुन्छ
25 मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”
26 उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अँहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ। 27 जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र सँग छन्।”
28 मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
29 येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”
30 तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ? 31 मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’”
32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। 33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”
34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। 36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। 37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। 38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। 39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। 40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
41 यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।” 42 यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’”
43 तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर। 44 पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ। 45 अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्। 46 मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्।
47 “म तिमीहरूलाई साँच्चो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ। 48 म रोटी हुँ जसले जीवन प्रदान गर्दछ। 49 तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे। 50 म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन। 51 म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”
52 तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?”
53 येशूले भन्नुभयो, “म साँच्चो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ। 54 तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु। 55 मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो। 56 जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ।
57 “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। 58 म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
59 येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
धेरै चेलाहरूले येशूलाई छाडे
60 धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?”
61 येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? 62 तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? 63 त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ। 64 तर तिमीहरू मध्ये कसैले विश्वास गर्दैनौ।” (येशूलाई शुरूबाट नै थाहा थियो कस-कसले विश्वास गरेनन् र कसले धोखा दिन्छ।) 65 येशूले भन्नुभयो “त्यसैले मैले भनेकोछु ‘पिताले अनुमति नदिए सम्म कोही पनि म भएकोमा आउन सक्तैन।’”
66 जब येशूले त्यसो भन्नुभयो, उनका धेरै चेलाहरू पछि हटे र उहाँको पछि लाग्नु छाडे।
67 येशूले बाह्रजना प्रेरितहरूलाई भन्नुभयो, “तिमीहरू पनि छाड्न चाहन्छौ?”
68 शिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “हे प्रभु हामी कसकोमा जाऊँ? तपाईंकोमा वचन छ जसले अनन्त जीवन दिन्छ। 69 हामी तपाईंमाथि विश्वास गर्छौं। हामी जान्दछौं कि तपाईं मात्र एक पवित्र हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको हो।”
70 तब येशूले उत्तर दिनुभयो, “मैले तिमीहरू बाह्रजनालाई चुन्छु। तर पनि तिमीहरूमा एकजना शैतान हो।” 71 येशूले यहूदाको विषयमा भनिरहनु भएको थियो। यहूदा शिमोन इस्कारियोतको छोरो थिए। यहूदा ती बाह्र चेलाहरू मध्येका एकजना थिए। किनभने उसले उहाँलाई धोका दिनेवाला थियो।
येशू र उहाँका भाइहरू
7 यो घट्ना पछि, येशूले गालील देशको चारैतिर यात्रा गर्नुभयो। येशूले यहूदियामा भ्रमण गर्न चाहनु भएन किनभने यहूदीहरूले उहाँलाई मार्ने मौका खोजी रहेका थिए। 2 त्यसबेला यहूदीहरूको छाप्रो वासको चाड थियो। 3 तब येशूका भाइहरूले उहाँलाई भने, “तपाईंले यता छोडेर यहूदाको पर्वमा जानुपर्छ। तब तपाईंका चेलाहरूले त्यहाँ तपाईंले गर्नु भएको महान कार्य देख्न सक्नेछन्। 4 यदि कसैले आफूलाई जनसमूह माझ प्रकाश गर्न चाहन्छ भने, उसले आफ्नो काम गुप्तीरूपले गर्नु हुँदैन। संसारलाई आफू स्वयंले देखाऊ। तिमीले गरेका चमत्कारहरू तिनीहरूले देखुन्।” 5 (येशूका भाइहरूले सम्म उहाँमाथि विश्वास गर्दैनथिए।)
6 येशूले उहाँका भाइहरूलाई भन्नुभयो, “मेरो निम्ति ठीक समय अझै आइपुगेको छैन। तर कुनै समय पनि तिमीहरूको लागि जाने बेला आउँछ। 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ। 8 यसर्थ तिमीहरू चाडमा जाऊ। म चाडमा यस पल्ट जाँदिन। मेरा निम्ति ठीक समय अझै आएको छैन।” 9 त्यति भनिसके पछि, उहाँ गालीलमा नै बस्नु भयो।
10 तब येशूका भाइहरू चाडतिर गए। तब उहाँ पनि चाडमा जानुभयो। तर येशू खुल्लम खुल्ला त्यहाँ जानु भएन, तर गुप्तीरूपले जानुभयो। 11 त्यो चाडमा यहूदीहरूले येशूलाई खोजे। तिनीहरूले भने, “त्यो मानिस कहाँ छ?”
12 त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै-कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरूले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।” 13 तर कसैको पनि येशूको विषयमा खुल्लमखुल्ला प्रकारले कुरा गर्ने आँट थिएन। मानिसहरू यहूदी अगुवाहरूसँग डराउँदथे।
येशूले यरूशलेममा शिक्षा दिनुभयो
14 त्यो पर्व आधा जस्तो सिद्धिन थालेको थियो। तब येशू मन्दिरको प्राङ्गाणमा जानुभयो अनि मानिसहरूलाई सिकाउन शुरू गर्नुभयो 15 यहूदीहरू छक्क परे। तिनीहरूले भने, “यो मानिस कहिल्यै स्कूलमा पढेन उसले कसरी यति विघ्न कुराहरू जान्यो?”
16 येशूले जवाफमा भन्नुभयो, “जुन कुराहरू म पढाइरहेछु त्यो मेरो आफ्नै होइन। मेरो शिक्षा उहाँबाट आउँदछ जसले मलाई पठाउनु भयो। 17 यदि कुनै मानिसले परमेश्वरको इच्छा अनुसार काम गर्न चाहन्छ भने तब उसले मेरो शिक्षण परमेश्वरबाटै आँउछ भनी बुझ्नेछ। यो मेरो आफ्नै शिक्षण होइन भनेर उसले जान्दछ। 18 कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफैं मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन। 19 के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”
20 मानिसहरूले जवाफ दिए, “एक भूतात्मा तिमीभित्र छ र त्यसले तिमीलाई बौलाहा बनाएको छ। कसले तिमीलाई मार्न चाहन्छ?”
21 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ। 22 मोशाले तिमीहरूलाई खतनाको बारेमा नियम प्रदान गर्नुभयो। तर खासमा खतनाको नियम मोशाबाट आएको होइन। खतना हाम्रो पिता-पुर्खाबाट आएको हो जो मोशा भन्दा अगाडि थिए कहीले काँही विश्रामको दिनामा तिमीहरू शिशु को खतना गर्छौ। 23 यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ? 24 बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
येशू नै ख्रीष्ट हो भनेर मानिसहरू छक्क परे
25 यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्? 26 हेर, तिनी खुल्लम-खुल्ला शिक्षा दिइरहेका छन्। यद्यपि कसैले उहाँलाई शिक्षा दिन रोक्ने चेष्टा गरिरहेका छैनन्। के अग्रजहरूले उनी नै ख्रीष्ट हुन भन्ने निर्णय गरे? 27 तर हामी जान्दछौ उहाँ कहाँ बाट आएका हुन्। जब ख्रीष्ट आउनु हुनेछ, उहाँ कहाँबाट आउनु हुन्छ कसैलाई थाहा हुँदैन।”
28 येशूले मन्दिरको प्राङ्गाणमा शिक्षा दिइरहनु भएको थियो। येशूले ठूलो स्वरमा भन्नुभयो, “हो, तिमीहरू म को हुँ र कहाँबाट आएको हो भनेर जान्दछौ। तर म आफ्नै अधिकारबाट आएको भने होइन। मलाई कसैले पठाएका हो जो सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई जान्दैनौ। 29 तर म मात्र उहाँलाई जान्दछु अनि म उहाँबाटै आएको हुँ। उहाँले नै मलाई पठाउनु भएको हो।”
30 जब येशूले त्यसो भन्नुभयो, मानिसहरूले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँलाई छुन सम्म सकेनन्। येशूलाई अहिले नै मारि हाल्नु पर्ने ठीक समय भएको थिएन। 31 तर धेरै जनाले येशूमा विश्वास गरे। मानिसहरूले भने, “हामी ख्रीष्ट आउनु हुन्छ भनेर पर्खिरहेकाछौं। जब ख्रीष्ट आउनु हुनेछ तब उहाँले यो मानिसले भन्दा अझ बेशी चमत्कारहरू गर्न सक्नु हुन्छ र? होइन, अतः यही मान्छे ख्रीष्ट हुनुपर्छ।”
यहूदीहरूले येशूलाई पक्रने प्रयास गरे
32 फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्य पूजाहारीहरू र फरिसीरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए। 33 तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसँग बस्नेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो। 34 तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्ने छैनौ। अनि जहाँ म हुन्छु त्यस ठाउँमा तिमीहरू आउन सक्नेछैनौ।”
35 यहूदीहरूले आपसमा भने, “उनी कहाँ जानेछन्, के हामीले उनलाई भेट्न सक्ने छैनौं? के उनी यूनानीहरूमा जानेछन् जहाँ हाम्रा मानिसहरू वस्दछन्? के तिनी यूनानी मानिसहरूलाई शिक्षा दिन जानेछन्? 36 उनले भन्छन, ‘तिमीहरूले खोज्यौ भने पनि मलाई भेटने छैनौ।’ उसले यसो पनि भन्दछ, ‘म जहाँ छु तिमीहरू त्यहाँ आउन सक्तैनौ।’ यसको अर्थ के हो?”
पवित्र आत्माको विष्यमा येशूले भन्नु हुन्छ
37 पर्वको अन्तिम दिन थियो। यो एकदमै मुख्य दिन थियो। त्यसदिन येशू उभिनु भयो र ठूलो स्वरमा भन्नुभयो, “यदि कुनै मानिसहरूलाई तीर्खा लागेको छ भने मकहाँ आऊ र पिऊ। 38 यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।” 39 येशूले वास्तवमा पवित्र आत्माको विषयमा बताइरहनु भएको थियो। पवित्र आत्मा मानिसहरूलाई अझ सम्म दिइएको थिएन किनभने येशू अझ सम्म मर्नु भएको थियन, अनि महिमातर्फ नै उठेको थिएन। तर पछि, ती जसले येशूमा विश्वास गर्छन् पवित्र आत्मा पाउने छन्।
येशूको विषयमा मानिसहरूको वाद-विवाद
40 मानिसहरूले येशूले भन्नु भएका ती कुराहरू सुने। कोही मानिसहरूले भने, “यो मानिस साँच्ची नै अगमवक्ता हो।”
41 अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”
अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन। 42 धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।” 43 तब येशूको विषय लिएर परस्परमा तिनीहरू सहमती भएनन्। 44 कोही मानिसहरूले येशूलाई पक्रन चाहन्थे। तर कसैले पनि तिनीमाथि आफ्नो हात हालेनन्।
यहूदी अगुवाहरूले विश्वास गर्न अस्वीकार गरे
45 तब मन्दिरका पहरेदाहरू, मुख्या पूजाहारीहरू र फरिसीहरूभए कहाँ फर्के। तिनीहरूले मन्दिरका पहरेदाहरू सोधे, “तिमीले किन येशूलाई ल्याएनौ?”
46 मन्दिरका पहरेदारहरूले उत्तर दियो, “कुनै मानिसले पनि अझ सम्म यस प्रकारले शिक्षा दिएको छैन!”
47 फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ। 48 अगुवाहरू कसैले येशूमा विश्वास गरेकोछ, यही होइन? कुनै फरिसीहरूले उसमाथि विश्वास गरेकोछ? छैन! 49 तर ती मानिसहरू जौ बाहिर छन् जसले व्यवस्थाको विषयमा केही पनि जान्दैनन् तिनीहरूले मात्र उहाँलाई विश्वास गरेकाछन्। परमेश्वरले तिनीहरूलाई श्राप दिनु भएकोछ।”
50 तर निकोदिमस् ती अगुवाहरूमध्ये एकजना थिए। निकोदेमस त्यो मानिस थियो जो येशूलाई हेर्न पहिल्यै गएको थियो। उनले भने, 51 “हाम्र व्यवस्थाले ऊबाट पहिले नसुनी तथा उसले के गरेकोछ नजानी एक मानिसलाई दण्ड दिनु हामीलाई अनुमति दिंदैन।”
52 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पनि गालीलबाटै आएको हौ? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि आगमवक्ता गालीलबाट आउँदैन्।”
व्यभिचारमा समातिकी आइमाई
53 [a] सबै यहूदी अगुवाहरू आ-आफ्ना घर गए।
8 येशू जैतून डाँडामा जानुभयो। 2 बिहानै येशू मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।
3 शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिररहेको बेला समातिएकी थिई। ती यहूदीहरूले त्यस आइमाईलाई बलजफ्ती जनसमूह समक्ष ल्याए। 4 तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई। 5 मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?”
6 यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो। 7 यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्।” 8 तब फेरि येशू निहुँरनु भयो र जमीनमा लेख्नु भयो।
9 जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसँग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई। 10 येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?”
11 उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।”
तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”
येशू, संसारको ज्योति
12 त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।”
13 तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफैं आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”
14 येशूले जवाफ दिनुभयो, “हो, मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु। 15 तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय गर्दिनँ। 16 तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। 17 तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुइ जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ। 18 म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”
19 मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?”
येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।” 20 येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्रेनन्। येशूको ठीक समय अझ आइपुगेको थिएन।
येशूको विषयमा यहूदीहरूले बुझेनन्
21 फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”
22 तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैंलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ’?”
23 तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर म माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन। 24 मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
25 यहूदीहरूले सोधे, “तब तिमी को हौ?”
येशूले जवाफ दिनुभयो, “शुरुदेखि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ। 26 तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”
27 येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो। 28 यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरेहछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो। 29 परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।” 30 जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।
येशूले मुक्त हुने विषय बताउनु हुन्छ
31 तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ। 32 तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”
33 यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”
34 येशूले जवाफ दिनुभयो, “म साँच्चो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो। 35 दास सदैव मालिकको परिवारसँग बस्दैन। तर छोरो सधैँ परिवारसँग बस्छ। 36 यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ। 37 म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ। 38 म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”
39 यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”
येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे। 40 म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्। 41 तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्।”
तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरू पिता छैनन्।”
42 येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो। 43 तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ। 44 तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैँ सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूटो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो।
45 “म साँच्चो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46 म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ? 47 जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”
येशूले आफ्नै र अब्राहामको विषयमा भन्नुहुन्छ
48 यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?”
49 येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। 50 म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। 51 म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”
52 यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’ 53 के तिमी आफैंलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ। 55 तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झूटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु। 56 तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।”
57 यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 र्वष पनि पुगेका छैनौ!”
58 येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँच्चो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अघिबाट म छँदै छ्।” 59 जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
अन्धा जन्मेको मानिसलाई येशूले निको पार्नु भयो
9 जब येशू हिंडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो। 2 येशूका चेलाहरूले सोधे, “गुरुज्यू यो मान्छे जन्मैदेखि अन्धो हो। कसको पापले उसलाई अन्धा जन्मायो? उसको आफ्नै पाप वा उसको माता-पिताको पाप?”
3 येशूले उत्तर दिनुभयो, “यो न त उसको न त उसकी माताको पापहो जसले उसलाई अन्धा जन्माइन्। ऊ जन्मैदेखिको अन्धो हो ताकि उसलाई निको पारेर मानिसहरूलाई परमेश्वरको शक्ति देखाउन सकियोस्। 4 अहिले जब दिनको समय छ हामीले उहाँको कामहरू गर्नु पर्छ जसले मलाई पठाउनु भयो। रात पर्न आँटेको छ। अनि कसैले पनि राती काम गर्दैन। 5 जब म संसारमा छु, म संसारको ज्योति हूँ।”
6 यसो भनिसकेर, येशूले भूँईंमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो। 7 येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ “पठाउनु”) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब ऊ देख्ने लायकको भयो।
8 कोही मानिसहरूले पहिले त्यस मानिसलाई भीख मागिरहेको देखेका थिए। ती मानिसहरू र उनको छिमेकीहरूले भने, “हेर! यो त्यही मान्छे होइन जो सधैँ बसेर भिख माग्दथ्यो?”
9 कोही मानिसहरूले भने, “हो! त्यो त्यही हो।” तर अन्य मानिसहरूले भने, “अँहँ, ऊ त्यो मान्छे होइन, ऊ त्यस्तै देखिएको मात्र हो।”
तब त्यस मानिसले भन्यो, “म त्यही मानिस हुँ जो पहिले अन्धो थिएँ।”
10 मानिसहरूले जान्न चाहन्थे, “के भयो? तिमीले कसरी दृष्टि प्राप्त गर्यौ?”
11 त्यस मानिसले जवाफ दिए, “त्यो मानिस जसलाई येशू भन्दछौ उहाँले धुलोबाट हिलो बनाउनु भयो। उहाँले त्यो मेरो आँखामा राखिदिनु भयो। तब उहाँले मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब म सिलोआममा गएँ र पखालें। अनि तब मैले देख्न थालें।”
12 मानिसहरूले त्यस मानिसलाई सोधे, “त्यो मान्छे कहाँ छ?”
त्यस मानिसले भन्यो, “मलाई थाहा छैन।”
येशूले निको पार्नु भएको त्यस मान्छेलाई यहूदीहरूले प्रश्न गरे
13 त्यसपछि मानिसहरूले त्यस मान्छेलाई फरिसीहरूकहाँ ल्याए। यो त्यही मानिस थियो जो पहिला अन्धो थियो। 14 येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो। 15 फरिसीहरूले पनि त्यस मानिसलाई सोधे, “कसरी तिमीले तिम्रो दृष्टि पायौ?”
त्यस मानिसले उत्तर दियो, “उहाँले धूलोको हिलो मेरो आँखामा राखिदिनु भयो। मैले मेरो आँखा पखालें र अब मैले देख्नु सकें।”
16 कोही फरिसीहरूले भने, “त्यस मानिसले विश्रामको दिन पालन गर्दैन। यसैले ऊ परमेश्वरबाट आएको होइन।”
अन्य मानिसहरूले भने, “तर जो मानिस पापी छ उसले यस्तो चमत्कारहरू गर्न सक्तैन।” ती यहूदीहरू आपसमा सहमत हुन सकेनन्।
17 यहूदी अगुवाहरूले फेरि त्यस मानिसलाई सोधे, “यो मान्छेले तिमीलाई निको पार्यो अनि तिमीले देख्न सक्यौ। तिमी उसको बारेमा के भन्छौ?”
त्यस मानिसले उत्तर दिए, “उहाँ एउटा अगमवक्ता हुनुहुन्छ।”
18 यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घट्नामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए। 19 अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?”
20 त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मन्दै अन्धो थियो। 21 तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैंले दिने छ।” 22 उनको आमा-बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि ज-जसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्। 23 यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।”
24 तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”
25 त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।”
26 यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पार्यो?”
27 त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”
28 यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं। 29 हामी जान्दछौं कि परमेश्वर मोशासँग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।”
30 त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो। 31 हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ। 32 यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो। 33 त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।”
34 यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए।
आत्मिक अन्धोपन
35 यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
36 त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।”
37 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसँग अहिले बोलिरहेकोछ।”
38 त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो।
39 येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।”
40 कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?”
41 येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”
भेंडा़वाला र उसको भेडो
10 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब कुनै पनि एक मानिस भेंडा़-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो। 2 तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो। 3 जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेंडा़ले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेंडा़हरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्। 4 गोठालाले सबै भेंड़ाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगुवाई गर्दछ। भेंडा़हरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्। 5 भेंडा़हरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”
6 यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।
येशू असल गोठालो हुन्
7 येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। 8 जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। 9 म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। 10 एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
11 “म असल गोठालो हुँ। असल गोठालोले भेंडा़का निम्ति आफ्नो जीवन प्रदान गर्दछ। 12 पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेंडा़ हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेंडा़लाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेंडा़हरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ। 13 किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेंडा़को देखरेख गर्दैन। उसलाई भेंड़ाको चिन्ता हुँदैन। उसलाई भेंड़ासँग कुनै मतलब रहँदैन।
14-15 “म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु। 16 मसँग अन्य भेंडा़हरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ। 17 मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता पाउँनेछु। 18 मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”
19 फेरि यहूदीहरू आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो। 20 धेरै यहूदीहरूले भने, “भूतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”
21 तर अन्य यहूदीहरूले भने, “भूतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भूतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अँहँ!”
येशूको विरुद्ध यहूदीहरू
22 यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाड़[b] पनि आयो। 23 येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो। 24 यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”
25 येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ। 26 तिमीहरू तर विश्वास गर्दैनौ। किनभने तिमीहरू मेरा भेंडा़हरू होइनौ। 27 मेरो भेंडा़हरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्। 28 म मेरा भेंडा़हरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन। 29 मेरा पिताले मेरो भेंडा़ मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेंडा़ खोसेर लान सक्तैन। 30 पिता र म एकै हौं।”
31 फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। 32 तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”
33 यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
34 येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।’(A) 35 यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्र सधैँ सत्य छ। 36 यसर्थ तिमीहरू मलाई किन भन्छौ, तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो। 37 यदि मैले मेरा पिताको कामहरू गर्दिन भने मलाई विश्वास नगर। 38 तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
39 यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।
40 त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए। 41 येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँच्चो थियो।” 42 अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।
लाजरसको मृत्यु
11 त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे। 2 मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए। 3 मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
4 जब येशूले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घट्ना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।” 5 येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो। 6 जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुइ दिन सम्म बस्नु भयो। 7 तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
8 चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
9 येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लड्ने छैन। किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ। 10 तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
11 येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाउनँ जानेछु।”
12 चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुतेको हो भने, ऊ निको हुनेछ।” 13 येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
14 त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो। 15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
16 तब थोमाले (जसलाई “दिदिमस” भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसँगै यहूदियामा मर्नेछौं।”
बेथानिमा येशू
17 येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो। 18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो। 19 धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
20 मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी। 21 मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन। 22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसँग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”
24 मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”
25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ। 26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
27 मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
येशू रूनु हुन्छ
28 मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यू यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।” 29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन। 30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासँग भेट भएको थियो। 31 यहूदीहरू मरियमसँग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए। 32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
33 येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। 34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”
तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
35 येशू रुनुभयो।
36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।”
37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?”
येशूले लाजरसलाई फेरि जीउँदो पार्नुहुन्छ
38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। 39 येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।”
मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
40 तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
41 तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। 42 म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” 43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!” 44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।
येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना गरे
(मत्ती 26:1-5; मर्कूस 14:1-2; लूका 22:1-2)
45 मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे। 46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए। 47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषद्को सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ। 48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्यौं भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस वर्षको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ। 50 सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस वर्षको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ। 52 तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरिएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
53 त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए। 54 यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिँड्न बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो।
55 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैंलाई शुद्ध पार्नलाई। 56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?” 57 तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
येशू आफ्ना मित्रहरूसँग बेथानीमा
(मत्ती 26:6-13; मर्कूस 14:3-9)
12 निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्। 2 बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँड्ने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए। 3 मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
4 यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन। 5 उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वद्लामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।” 6 यहूदा आफैं गरीबहरूसँग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला-बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
7 तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ। 8 गरीब मानिसहरू सधैँ तिमीसँग हुनेछन्। तर म तिमीहरूसँग सधैँ बस्ने छैन।”
लाजरस विरुद्ध षड़यन्त्र
9 येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट बचाउनु भएको थियो। 10 यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे। 11 लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।
येशू राजा झैं यरूशलेमा प्रवेश गर्नु भएको
(मत्ती 21:1-11; मर्कूस 11:1-11; लूका 19:28-40)
12 अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए।
13 मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,
“‘उहाँको प्रशंसा गर!’
‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्,
जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’[c]
परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
14 येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढ़नु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो,
16 येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।
17 जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले। 18 धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो। 19 यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
येशूले जीवन र मृत्यु विषय भन्नुहुन्छ
20 तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए। 21 ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।” 22 फिलिप गएर आन्द्रियसलाई भने। अनि फिलिप र आन्द्रियास गएर येशूलाई भने।
23 येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। 24 म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ। 25 जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। 26 जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
येशूले आफ्नै मृत्युको विषयमा भन्नु हुन्छ
27 “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःखः पाउनुका निम्ति हो। 28 हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।”
तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”
29 उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने।
तर अरू मानिसहरूले भने, “स्वर्गदूत उहाँसँग बोले!”
30 येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। 31 अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। 32 म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।” 33 उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।
34 मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”
35 तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन। 36 यसर्थ ज्योति जब सम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।
यहूदीहरूले येशूमा विश्वास गरेनन्
37 येशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्। 38 अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः
“हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गर्यो?
परमप्रभुको शक्ति कसले देख्यो?”[f]
39 यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले यो पनि भने,
40 “परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो।
परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो।
परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर,
र तिनीहरूले हृदयले बुझ्न नसकोस् भनेर हो,
नत्रता तिनीहरू मकहाँ
निको हुन फर्कनेछन्।”[g]
41 यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।
42 तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो। 43 ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।
येशूको उपदेशले मानिसहरूलाई न्याय गर्नेछ
44 तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ। 45 जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो। 46 म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन।
47 “म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएकोहुँ। म मानिसलाई न्याय गर्ने न्यायकर्ता हैन। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन। 48 जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ। 49 किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें। 50 र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोल्दछु पिताले भन्नुभए अनुसार बोल्दछु।”
येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो
13 यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
2 येशू र उहाँका चेलाहरूको, निम्ति बेलुकाको भोजन थियो। शिमोन इस्कारयोतीको छोरा यहूदालाई येशूको विरुद्ध हुने कुरा अघिबाटै शैतानले प्रेरित गराएको थियो। 3 पिताले येशूलाई सबै कुरामाथि शक्ति दिनुभएको थियो। येशूले यी कुराहरू जान्नु हुन्थ्यो। उहाँ यो पनि जान्नु हुन्थ्यो कि उहाँ परमेश्वरबाट आउनु भएको हो। अनि परमश्वर तर्फै फर्किरहनु भएको थियो भन्ने पनि जान्नु हुन्थ्यो। 4 जब तिनीहरूले खाई रहेका थिए, येशू उठ्नु भयो र आफ्ना पोशाकलाई पन्साउनु भयो। उहाँले तौलिया लिएर आफ्नो कम्मरमा बेह्रनु भयो। 5 तब येशूले भाँडामा पानी खन्याउनु भयो। उहाँले तब चेलाहरू खुट्टा धुन थाल्नु भयो। र आफ्ना कम्मरमा बेहेरेको तौलियाले उनीहरूका खुट्टा पुछिदिनु भयो।
6 येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।”
7 येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।”
8 पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।”
येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।”
9 शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।”
10 येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।” 11 येशूले उहाँको विरुद्ध को जाने छ चिन्नुहुन्थ्यो। त्यसैकारणले येशूले भन्नुभयो, “तिमीहरूमा सबै शुद्ध छैनौं।”
12 येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें? 13 तिमीहरूले मलाई ‘गुरूज्यू’ र ‘प्रभु’ भनेर बोलाउँछौ। अनि यो ठीक हो किनभने म त्यही हुँ। 14 तिमीहरूका प्रभु र गुरू हुँ। किनेभने मैले तिमीहरूका खुट्टा एक नोकरले जस्तो धोएँ। यसैले तिमीहरूले पनि एकअर्काको खुट्टा धुनु पर्छ। 15 मैले तिमीहरूको अघि उदाहरणको लागि यो गरें। र तिमीहरूले एकाअर्कामा त्यसै गर्नु पर्छ जस्तो मैले गरें। 16 म सत्य भन्छु। एक नोकर उसको मालिक भन्दा ठूलो हुँदैन जसलाई केही कार्यका निम्ति पठाइएको छ ऊ ती पठाउने भन्दा ठूलो होइन। 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, गर्यौ भने सुखी हुनेछौ।
18 “मैले तिमीहरू सबैको विषयमा भनिरहेको होइन। मैले छानेका मानिसहरू म चिन्दछु। तर धर्मशास्त्रमा जे भनिएकोछ त्यो हुन्छः ‘जसले मेरो भोजन खायो ऊ नै शत्रु भयो।’ 19 अब यसो हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घट्नेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ। 20 यसर्थ म साँच्चो भन्छु। जसले मैले पठाएको मानिसलाई ग्रहण गर्दछ तब उसले मलाई पनि ग्रहण गर्दछ। र जसले मलाई ग्रहण गर्छ भने उसले मलाई जसले पठाउनु भयो उहाँलाई पनि ग्रहण गर्छ।”
येशूले धोखा दिनेको विषयमा भन्नुहुन्छ
(मत्ती 26:20-25; मर्कूस 14:17-21; लूका 22:21-23)
21 जब येशूले यी कुराहरू भनी सक्नु भयो, येशू आत्मामा साह्रै विचलित हुनुभयो। उहाँले खुल्लम-खुल्ला भन्नुभयो, “म साँच्चो भन्छु कि तिमीहरू मध्ये एकजना मेरो विरुद्ध हुनछौ।”
22 येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो। 23 उहाँका चेलाहरू मध्ये एकजना उहाँकै छेउमा बसिरहका थिए। तिनलाई येशूले अत्यन्त प्रेम गर्नु हुन्थ्यो। 24 शिमोन पत्रुसले त्यस चेलालाई इशारा गरेर सोध्नु लगाए कि उहाँले भन्नु भएको मानसि को होला।
25 त्यो चेला उहाँको छातीमा अडेस लाग्यो अनि सोध्यो, “प्रभु त्यो को होला जो तपाईंको विरूद्ध जानेछ?”
26 येशूले जवाफ दिनुभयो, “म यो रोटी प्यालामा चोब्नेछु र जसलाई म त्यो चोबेको रोटी दिन्छु ऊ नै मेरो विरुद्ध हुनेछ।” यसर्थ येशूले रोटीको एक टुक्रा लिनु भयो। उहाँले त्यो चोब्नु भयो र शिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो। 27 जब यहूदाले त्यो रोटीको टुक्रा लियो शैतान उसकोभित्र पस्यो, येशूले यहूदालाई भन्नु भयो, “तिमीले जे गर्नु छ त्यो झट्टै गरिहाल!” 28 भोजनमा बसिरहेकाहरू कसैले येशूले यहूदालाई त्यसो भन्नुभएको तात्पर्य बुझेनन्। 29 यहूदा मात्र एक त्यस्तो चरित्रको थियो जसले पैसाको थैली राख्दथ्यो। अरूहरूले के सोचे भने येशूले यहूदालाई भोजको निम्ति आवश्यक चीजहरू किन्न पठाउनु भयो। अर्थात् यसो पनि अरूहरूले सम्झे कि येशूले गरिबहरूका लागि केही किन्न यहूदालई पठाउनु भयो।
30 यहूदाले येशूले दिनुभएको त्यो रोटीको टुक्रा ग्रहण गर्यो र तुरुन्तै बाहिर निस्की हाल्यो। त्यसबेला रात परिसकेको थियो।
येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ
31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
येशूले भन्नुहुन्छ कि पत्रुसले उहाँलाई इनकार गर्नेछ
(मत्ती 26:31-35; मर्कूस 14:27-31; लूका 22:31-34)
36 शिमोन पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईं कहाँ जानु हुँदैछ?”
येशूले जवाफ दिनुभयो, “जहाँ म गइरहेछु त्यहाँ तिमी पछ्याउन सक्तैनौ अब। तर पछि मात्र पछ्याउनु सक्ने छौ।”
37 पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”
38 येशूले जवाफ दिनुभयो, “साँचि नै तिमी आफ्नो जीवन मेरा निम्ति त्याग्न सक्नेछौ? म साँच्चो भन्छु। भाले बास्नु अघि, तिमीले तिनपल्ट भन्नेछौ कि तिमीले मलाई चिन्दैनौ।”
येशूले आफ्ना चेलाहरूलाई ढाडस दिनुहुन्छ
14 येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। 2 त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। 3 म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। 4 म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।”
5 थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?”
6 येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। 7 यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”
8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।”
9 येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ 10 के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। 11 मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर।
12 “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। 13 अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। 14 यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
पवित्र आत्माको प्रतिज्ञा
15 “यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। 16 म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक[h] दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। 17 सहायक सत्यको आत्मा[i] हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।
18 “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाड्नेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। 19 केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। 20 त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु। 21 यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।”
22 तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?”
23 येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसँगै बस्नेछौं। 24 तर जसले मलाई प्रेम गर्दैन उसेल मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वस्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो।
25 “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै। 26 तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।
27 “म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ। 28 म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ। 29 यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ।
30 “तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ। तर ममाथि उसको अधिकार चल्दैन। 31 तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो।
“आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊँ।”
येशू दाखको बोट
15 येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। 2 म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। 3 मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। 4 मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।
5 “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। 6 यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। 7 यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। 8 तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।
9 “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। 10 मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। 11 मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। 12 यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। 13 महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। 14 तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने। 15 म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। 17 यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
© 2004, 2010 Bible League International