Bible in 90 Days
यहूदी नेताहरूद्वारा येशूको परीक्षा
(मर्कूस 8:11-13; लूका 12:54-56)
16 फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।
2 येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ। 3 अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ। 4 दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।[a] बाहेक अरू चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो।
येशूद्वारा यहूदी नेताहरूलाई चेताउनी
(मर्कूस 8:14-21)
5 येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले। 6 येशूले तिनीहरूलाई भन्नुभयो, “आफैंलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैंलाई जोगाऊ।”
7 चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?”
8 येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “न रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ। 9 तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन? 10 अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन? 11 यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको होइन भनेर तिमीहरू किन बुझिरहेका छैनौ? म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”
12 तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।
येशू नै ख्रीष्ट हुनुहुन्छ पत्रुस भन्छन्
(मर्कूस 8:27-30; लूका 9:18-21)
13 जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?”
14 चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।”
15 तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?”
16 शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”
17 येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। 18 यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। 19 म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।”
20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो।
आफूले मर्नुपर्छ भनी येशू बताउनहुन्छ
(मर्कूस 8:31–9:1; लूका 9:22-27)
21 त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ।
22 येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”
23 तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।”
24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। 25 जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ। 26 यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ? 27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। 28 तिमीहरूलाइ साँच्चो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”
येशू मोशा र एलियासँग देखिनु हुन्छ
(मर्कूस 9:2-13; लूका 9:28-36)
17 त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। 2 तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। 3 तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।
4 पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”
5 जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
6 चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। 7 तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” 8 चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।
9 येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”
10 चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”
11 येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्। 12 तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।” 13 तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।
येशूले रोगी केटोलाई निको पार्नुहुन्छ
(मर्कूस 9:14-29; लूका 9:37-43a)
14 येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। 15 त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। 16 मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”
17 येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” 18 येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।
19 तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?”
20 येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।” 21 [b]
येशू आफ्नो मृत्यु बारे चर्चा गर्नुहुन्छ
(मर्कूस 9:30-32; लूका 9:43b-45)
22 त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ। 23 ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुःखीत भए।
येशूद्वारा महसूल तिर्ने बारे शिक्षा
24 येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, “के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”
25 पत्रुसले जवाफदिए, “हो, येशूले ती करहरू तिर्नुहुन्छ।”
त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अघिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”
26 पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।”
येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन। 27 तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”
येशू सोध्नुहुन्छ सबभन्दा महान को हो?
(मर्कूस 9:33-37; लूका 9:46-48)
18 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”
2 येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। 3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। 4 जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।
5 “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ।
पापको बारेमा चेताउनी
(मर्कूस 9:42-48; लूका 17:1-2)
6 “यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। 7 जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।
8 “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। 9 यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ।
हराएको भेंडा़को उखान
(लूका 15:3-7)
10 “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। 11 [c] परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।
12 “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? 13 अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु। 14 त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्।
जब कसैले गल्ती गर्छ
(लूका 17:3)
15 “यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ। 16 यदि उसले सुन्न अस्वीकार गर्यो भने अरू एक वा दुइ मानिसहरूलाई ल्याऊ जसमा ती दुइ वा तीन साक्षीहरूले त्यहाँ जे जति कुरा भए ती प्रमाणित गर्नेछन्। 17 यदि उसले तिनीहरूका कुरा पनि सुन्न मानेन् भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाइ परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर।
18 “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। 19 म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ। 20 यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”
क्षमाको उखान
21 त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”
22 येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”
23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। 24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। 25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।
26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ 27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।
28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’
29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’
30 “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। 31 अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए।
32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। 33 मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’ 34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।
35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”
येशूद्वारा सम्बन्ध विच्छेद बारे शिक्षा
(मर्कूस 10:1-12)
19 यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो। 2 धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो।
3 केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।
4 येशूले जवाफ दिनुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’(A) 5 अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसेग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’(B) 6 यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”
7 फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?”
8 येशूले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीहरूसँग विवाह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन। 9 म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यतिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।”
10 चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”
11 येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ 12 कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।”
येशूद्वारा बालकहरूको स्वागत
(मर्कूस 10:13-16; लूका 18:15-17)
13 त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्। 14 तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो” 15 त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो।
धनी मानिसबाट येशूलाई ग्रहन गर्न अस्वीकार
(मर्कूस 10:17-31; लूका 18:18-30)
16 एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?”
17 येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”
18 त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?”
येशूले जवाफ दिनुभयो, “‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन, 19 आफ्ना आमा-बाबुको आदर गर।’(C) अनि ‘आफैंलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’(D)”
20 त्यो जवान मानिसले भने, “मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?”
21 येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”
22 तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।
23 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ। 24 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”
25 जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, “यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?”
26 येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”
27 पत्रुसले येशूलाई भने, “हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।”
28 येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। 29 अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्। 30 अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।
खेतालाहरूको उखान
20 “स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। 2 उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।
3 “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो 4 ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ 5 त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए।
“फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। 6 फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’
7 “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’
“उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’
8 “जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’
9 “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। 10 त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। 11 जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। 12 खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’
13 “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? 14 यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। 15 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’
16 “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”
येशूले आफ्नै मृत्युको कुरा गर्नु हुन्छ
(मर्कूस 10:32-34; लूका 18:31-34)
17 येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, 18 “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्। 19 तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”
आमाको विन्ती छोराहरूको निम्ति
(मर्कूस 10:35-45)
20 तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्।
21 येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”
उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।”
22 अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”
तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”
23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”
24 अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। 25 येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। 26 तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। 27 यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। 28 मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”
दुइजना अन्धाहरू निको भए
(मर्कूस 10:46-52; लूका 18:35-43)
29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। 30 बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
31 सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”
32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?”
33 अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।”
34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भयो
(मर्कूस 11:1-11; लूका 19:28-38; यूहन्ना 12:12-19)
21 येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो। 2 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ। 3 यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’”
4 अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो:
5 “सियोन नगरलाई भन,
‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ।
उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ।
उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ,
जो काम गर्नकै खातिर जन्मेको पशु हो।’”(E)
6 चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे। 7 उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो। 8 येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। 9 केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे,
“दाऊदको पुत्र होसन्ना!
‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’(F)
स्वर्गको परमेश्वरको प्रशंसा गर।”
10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”
11 येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”
येशू मन्दिरतर्फ जानुहुन्छ
(मर्कूस 11:15-19; लूका 19:45-48; यूहन्ना 2:13-22)
12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। 13 येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’(G) तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’(H)”
14 केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो। 15 मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रशंसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।
16 मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”
येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’(I)”
17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।
येशूद्वारा विश्वासको शक्ति प्रदर्शन
(मर्कूस 11:12-14,20-24)
18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। 19 उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”
21 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। 22 विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।”
येशूको शक्ति माथि यहूदी नेताहरूको शंका
(मर्कूस 11:27-33; लूका 20:1-8)
23 येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”
24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। 25 मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?”
मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 26 यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”
27 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”
तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।
येशूद्वारा दुइ जना पुत्रको उखान
28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’
29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।
30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।
31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?”
यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।”
येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। 32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
परमेश्वरले आफ्ना पुत्रलाई पठाउँनुहुन्छ
(मर्कूस 12:1-12; लूका 20:9-19)
33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। 34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। 37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’
38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ 39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।
40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”
41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”
42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ:
‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे,
त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो।
यो परमप्रभुले गर्नु भएको हो,
र यो हाम्रो लागि अचम्मको हुनेछ।’(J)
43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्। 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”
45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे। 46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।
रात्री भोजनमा बोलाइएका मानिसहरूको दृष्टान्त
(लूका 14:15-24)
22 मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो। 2 “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। 3 राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।
4 “तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’
5 “नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। 6 कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। 7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
8 “त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। 9 यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’ 10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।
11 “त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए। 12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन। 13 अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दु:खले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’
14 “हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”
केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्
(मर्कूस 12:13-17; लूका 20:20-26)
15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”
18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”
21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।”
येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”
22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।
सदुकीहरू येशूलाई फँसाउन चाहन्छन्
(मर्कूस 12:18-27; लूका 20:27-40)
23 त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे; 24 तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाइले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ। 25 हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो। 26 त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घट्ना तेस्रो भाइसँग पनि घट्यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो। 27 तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। 28 तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”
29 येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ। 30 त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। 31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। 32 परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’(K) यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।”
33 मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे।
सबैभन्दा ठूले आज्ञा कुन हो?
(मर्कूस 12:28-34; लूका 10:25-28)
34 येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। 35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। 36 त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”
37 येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’(L) 38 यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। 39 दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’(M) 40 अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”
फरिसीहरूलाई येशूको प्रश्न
(मर्कूस 12:35-37; लूका 20:41-44)
41 जब फरिसीहरू त्यहाँ भेला भईरहेका थिए, येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, 42 “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।”
फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”
43 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “यदि त्यसो भए दाउदले उहाँलाई किन ‘परमप्रभु’ भने? दाऊद पवित्र आत्माको शक्तिद्वारा बोलिरहेका थिए। दाऊदले भने,
44 ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो:
मेरो दाहिनेपटि बस,
अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’(N)
45 दाऊदले ख्रीष्टलाई ‘परमप्रभु’ भन्दछन्। त्यसो भए कसरी उनि दादको पुत्र हुनसक्छन्?”
46 कुनै पनि फरिसीहरूले येशूको यो प्रश्नको जवाफ दिन सकेनन्। अनि त्यसदिनदेखि कसैले पनि येशूलाई अझ बढ़ता प्रश्नहरू गर्ने साहस गरेनन्।
येशूद्वारा धार्मिक गुरूहरूको आलोचना
(मर्कूस 12:38-40; लूका 11:37-52; 20:45-47)
23 तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, 2 “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। 3 यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्। 4 मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।
5 “तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। 6 ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। 7 बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।
8 “तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। 9 अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। 10 अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। 11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। 12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।
13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। 14 [d]
15 “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।
16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ 17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?
18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ 19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? 20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। 21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। 22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।
23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। 24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।
25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। 26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।
27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। 28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।
29 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ। 30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ 31 यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। 32 यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।
33 “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। 34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ।
35 “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ। 36 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ।
येशूद्वारा यरूशलेमका मानिसहरूलाई चेताउनी
(लूका 13:34-35)
37 “हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। 39 म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”(O)
भविष्यमा मन्दिर विनाश हुने
(मर्कूस 13:1-31; लूका 21:5-33)
24 जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए। 2 येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँच्चो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
3 त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घट्ना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
4 येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। 5 धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। 6 तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। 7 किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। 8 यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।
9 “त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। 10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। 11 अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। 12 संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। 13 तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ। 14 संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए।[e] तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। 16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। 17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। 18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
19 “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ। 20 विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर। 21 किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन।
22 “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
23 “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर। 24 झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्। 25 हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।
26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर। 27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। 28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ।
29 “ती दिनका संकटहरूपछि तुरन्तै,
‘घाम अँध्यारो हुनेछ,
अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन।
ताराहरू आकाशबाट झर्नेछन्,
अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’[f]
30 “त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। 31 चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।
32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ। 33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ। 34 म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्। 35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।
त्यस समय परमेश्वर मात्रै जान्नु हुनेछ
(मर्कूस 13:32-37; लूका 17:26-30,34-36)
36 “त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफैं र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।
37 “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो। 38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढुन्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए। 39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो।
“मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ। 40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ। 41 दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।
42 “यसकारण सधैँ तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन। 43 याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो। 44 यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।
असल र खराब नोकरहरू
(लूका 12:41-48)
45 “बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मेवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ। 46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्छ, भने त्यो नोकर धन्य को हो। 47 म तिमीहरूलाई साँच्चो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउँछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।
48 “तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ? 49 त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ। 50 अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ। 51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।
दशवटी कन्याहरूको उखान
25 “त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए। 2 पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए। 3 ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्। 4 तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेड़ा तेल पनि बोकेका थिए। 5 तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
6 “मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेट्न बाहिर आऊ।’
7 “तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे। 8 तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’
9 “बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफैं पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।’
10 “त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
11 “केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनुहोस्।’
12 “दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँच्चो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
13 “यसकारण सधैँ सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।
तीनजना नोकरको कथा
(लूका 19:11-27)
14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। 15 कुन चाहिं नोकरले के कति गर्न सक्छ भनी उसले विचार गर्यो। उसले एकजना नोकरलाई पाँच तोड़ा दियो। अर्कोलाई दुइ तोड़ा दियो। अनि तेस्रोलाई एक तोड़ा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो। 16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिँड्यो। उसले अरू पाँच तोड़ा बढाउने काम गर्यो। 17 दुइ तोड़ा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोड़ा कमायो। 18 तर एक तोड़ा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।
19 “धेरै समयपछि मालिक घर फर्कियो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के-के गर्यौ भनेर सोध्यो। 20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
21 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ।’
22 “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’
23 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी मनाऊ।’
24 “त्यसपछि एक तोड़ा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो। 25 यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’
26 “मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए। 27 तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’
28 “यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ। 29 जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’ 30 त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुःख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’
मानिसको पुत्रले सबै मानिसहरूको न्याय गर्नु हुनेछ
31 “मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसँगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ। 32 उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँड्नु हुनेछ। यो भेंडा़ र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ। 33 उहाँले भेंडा़हरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।
34 “राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहण गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो। 35 यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ। 36 नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’
37 “तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौं अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौं अनि हामीले पानी पिउँन दियौं? 38 हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिले आफ्ना घरमा ल्यायौं? 39 तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँच्चो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
41 “त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अघिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सधैँ जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो। 42 तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएको थिएँ, तिमीहरूले केही पिउन दिएनौ। 43 म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’
44 “त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?’
45 “त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चो भन्दछु, यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
46 “त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन प्राप्त गर्न जानेछन्।”
यहूदी नेताहरूद्वारा येशूलाई मार्ने षड्यन्त्र
(मर्कूस 14:1-2; लूका 22:1-2; यूहन्ना 11:45-53)
26 येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, 2 “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”
3 तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। 4 त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। 5 तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।”
एउटी स्त्रीले केही विशेष काम गर्छिन्
(मर्कूस 14:3-9; यूहन्ना 12:1-8)
6 येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो। 7 जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्।
8 चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? 9 यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।”
10 येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। 11 ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन। 12 यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। 13 म तिमीहरूलाई साँच्चो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैँ सम्झने छन्।”
यहूदा येशूको शत्रु हुन्छ
(मर्कूस 14:10-11; लूका 22:3-6)
14 त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो। 15 यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए। 16 त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो।
येशूले निस्तार-चाडको भोज खानु भयो
(मर्कूस 14:12-21; लूका 22:7-14,21-23; यूहन्ना 13:21-30)
17 अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?”
18 येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’” 19 चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
20 जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। 21 तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।”
22 चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?”
23 येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। 24 मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।”
25 त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?”
येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।”
प्रभु भोज
(मर्कूस 14:22-26; लूका 22:15-20; 1 कोरिन्थी 11:23-25)
26 खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”
27 त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। 28 यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। 29 म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”
30 तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतून डाँडामा” गाए।
चेलाहरूले आफूलाई छाड्ने छन् भनि येशू भन्नु हुन्छ
(मर्कूस 14:27-31; लूका 22:31-34; यूहन्ना 13:36-38)
31 येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ;
‘म गोठलोलाई प्रहार गर्नेछु,
अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’(P)
32 तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।”
33 पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।”
34 येशूले भन्नुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।”
35 तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।
एकान्तमा येशूको प्रार्थना
(मर्कूस 14:32-42; लूका 22:39-46)
36 त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।” 37 येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो। 38 येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
39 अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” 40 त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? 41 जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।”
42 त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।”
43 येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। 44 यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।
45 तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। 46 उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।”
येशू पक्राउ पर्नु भयो
(मर्कूस 14:43-50; लूका 22:47-53; यूहन्ना 18:3-12)
47 जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए। 48 यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” 49 अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए।
50 येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।”
त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए। 51 जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो।
52 येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। 53 तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न? 54 तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।”
55 तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। 56 तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे।
© 2004, 2010 Bible League International