Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
रोमी 15 - 1 कोरिन्थी 14

15 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”(A) बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ। ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ। म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो। ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः

“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु,
    म तिमीहरूको नामको स्तुति गाउनेछु।”(B)

10 धर्मशास्त्रले यसो पनि भन्छ,

“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”(C)

11 अनि फेरि त्यसले भन्छः

“तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर।
    सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”(D)

12 अनि यशैयाले भनेका छन्,

“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्।
    ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्,
अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”(E)

13 तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।

पावल आफ्नो कार्यबारे भन्दछन्

14 मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ। 15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। 16 गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।

17 यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। 18 गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। 19 अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। 20 जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। 21 तर धर्मशास्त्रमा लेखिएको छः

“मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्,
    मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”(F)

पावलको रोम भ्रमण गर्ने इच्छा

22 यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।

23 अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। 24 यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।

25 अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु। 26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। 27 म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्। 28 मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ।

यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु। 29 जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।

30 दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। 31 प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकुँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ। 32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु। 33 परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।

अन्तिम शब्दहरू

16 म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्। परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।

प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।

अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार।

मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।

मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।

एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए।

परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्।

मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। 10 अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए।

अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार। 11 हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्।

नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्। 12 त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्।

मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।

13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।

14 अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।

15 फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार।

16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर।

ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।

17 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, परस्परमा फूट ल्याउनेहरूसँग होशियार बस। अरूहरूको विश्वासमा बाधा ल्याउनेहरूसँग पनि होशियार बस। तिमीहरूले पाएको शिक्षाको उल्टो तिनीहरूले सिकाउँछन्। ती मानिसहरूबाट अलग बस। 18 त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्। 19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।

20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ।

हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्।

21 तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

22 म तर्तियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।

23 गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चलाउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्टस यस शहरका खजाञ्ची हुन्। 24 [a]

25 परमेश्वरको महिमा होस्। परमेश्वरले मात्र तिमीहरूका विश्वासलाई बलियो पार्न सक्नु हुन्छ। उहाँले सुसमाचारको प्रयोग गर्नुसक्नु हुन्छ जुन म तिमीहरूको विश्वास दरिलो बनाउन प्रचार गर्दछु। त्यो सुसमाचार जुन म प्रचार गर्छु त्यो येशू ख्रीष्टको बारेमा छ। 26 त्यो सुसमाचार गुप्त-सत्य जुन परमेश्वरले प्रकट गर्नुभयो। अनि त्यो गुप्त-सत्य अगमवक्ताहरूका लेखाईद्वारा हामीलाई ज्ञान गराइएकोछ। अनन्त परमेश्वरको आज्ञाले यो गुप्त-सत्य गैर-यहूदीहरूलाई ज्ञान गराइयो। यसले आज्ञाकारिता उत्पन्न गर्छ जुन विश्वासबाट आउँदछ। 27 येशू ख्रीष्ट मार्फत एक मात्र सर्वज्ञानी परमेश्वरको महिमा होस्। आमिन।

पावलबाट प्रणाम। परमेश्वरले इच्छा गरेकाले म ख्रीष्ट येशूको प्रेरित बन्न परमेश्वरद्वारा बोलाइएको छु। हाम्रा ख्रीष्टमा भाइ सोस्थनेसबाट पनि।

कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ।

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ।

कोरिन्थीको मण्डलीमा फाटो

10 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।

11 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ। 12 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे। 13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ! 14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन। 15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। 16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। 17 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।

परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान

18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः

“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
    बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(G)

20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।

22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।

26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”(H)

ख्रीष्ट सम्बन्धी क्रूसका सुसमाचार

प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।

परमेश्वरको ज्ञान

पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन। तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो। यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। तर, जस्तो शास्त्रमा लेखिएको छः

“कुनै आँखाले पनि नदेखेको,
    कुनै कानले पनि नसुनेको,
कसैले चिन्ता सम्म नगरेको कुरा
    आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”(I)

10 तर परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ।

आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ। 11 जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ। 12 अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।

13 जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं। 14 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। 15 तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः

16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ?
    परमप्रभुलाई कसले अह्राउन सक्छ?”(J)

तर हामीसँगत त ख्रीष्टको मन छ।

मानिसलाई मान्नु भूल हो

दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो। मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ। तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ। तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र?

अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं। मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो। यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।

अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो। 10 परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। 11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। 12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। 13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन[b] आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। 14 त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। 15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।

16 तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। 17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।

18 कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। 19 किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” 20 धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” 21 यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो 22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। 23 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।

ख्रीष्टका प्रेरितहरू

हामीबारे मानिसहरूले के सम्झनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छौं। यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि ऊ त्यो विश्वासको योग्य छ। यदि तिमीहरूबाटै म जाँचिन्छु भने पनि मलाई केही छैन र कुनै मानव-अदालतद्वारा जाँचिन्छ भने पनि मलाई केही छैन। म आफैं पनि आफूलाई जाँच्दिन। मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ। यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।

दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?

तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। 10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। 11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। 12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। 13 मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्।

14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। 15 ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। 16 यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। 17 यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।

18 तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। 19 तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्। 20 किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ। 21 तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?

मण्डलीमा नैतिक समस्या

तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको। अनि अझै पनि तिमीहरू आफ्नो गर्व नै गर्दछौ! तिमीहरूलाई त दुःख पो लाग्नु पर्ने हो। जुन मानिसले यस्तो पाप गर्छ त्यसलाई त तिमीहरूको बीचबाट अलग गर्नु पर्ने थियो। म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु। हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ। अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्।

तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ। बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो। यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाऊँ। पवित्रता र सच्चाइको रोटी यही हो।

मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको सँगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ। 10 तर यस संसारका पापीहरूको सँगत नगर्नु भन्ने मेरो उपदेशको अर्थ होइन। यस संसारका ती मानिसहरू यौन पाप गर्छन् अथवा स्वार्थी छन् अथवा एकार्कालाई ठग्छन् अथवा मूर्तिहरू पूजा गर्छन्। यदि तिमीहरू तिनीहरूबाट अलग रहने हो भने त तिमीहरूले यो संसार नै त्याग्नु पर्नेछ। 11 म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि सँगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।

12-13 ती जो मण्डली बाहिरका हुन् तिनीहरूलाई जाँचिरहने मेरो काम होइन। तिनीहरू त परमेश्वर आफैं द्वारा जाँचिने छन्। तर जो मण्डलीका भाग हुन् तिनको जाँच तिमीहरूले गर्नै पर्छ। धर्म शास्त्रमा यस्तो भनिएको छ, “दुष्ट मानिसलाई आफ्नो समूहबाट अलग गर।”(K)

ख्रीष्टियनहरूमाझ न्यायको समस्या

तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ? के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ? तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं। यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।

म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्। तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।

एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैंँ ठगिदैनौ? तिमी आफैं गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाइहरू माझ!

9-10 अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैं धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्याभिचार, जो पुरूषगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्काको निन्दा गर्छ र अरूलाई ठग्छ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। 11 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।

परमेश्वरको महिमाको निम्ति शरीरको उपयोग

12 “सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्। 13 “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ। 14 परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बौराउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बौराउनु हुनेछ। 15 तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन। 16 शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।”(L) यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ। 17 तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ।

18 यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ। 19 तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मंदिर[c] हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होइनौ। 20 परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।

विवाहको विषयमा

अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो। तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ। पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ। एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन। केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान। म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।

अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो। तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।

10 अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस् 11 तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त ऊ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।

12 अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्। 13 अनि ख्रीष्टमा एक स्त्रीको अविश्वासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्। 14 एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्छे। यसो नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।

15 तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्। 16 परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।

परमेश्वरले भन्नु भए जस्तै बाँच

17 जे जस्तो सुकै भए पनि जुन अवस्थामा परमेश्वरले उसलाई बोलाएको समयमा ऊ त्यो अनि जुन अवस्थामा उसलाई अहिले परमेश्वरले राख्नु भएकोछ उसरीनै प्रत्येक मानिस बाँच्नु पर्छ। यही नियम हो जो म सबै मण्डलीहरूलाई दिन्छु। 18 यदि कुनै मानिस बोलाइँदा पहिल्यैबाट खतना भएको थियो भने उसले आफ्नो परिवर्तन गर्नु पर्दैन। यदि खतना नगरिएको मानिस बोलाइयो भने उसले खतना गरिरहनु पर्दैन। 19 मानिस खतना गरिएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। खास कुरो त परमेश्वरको आज्ञाको पालन गर्नु हो। 20 प्रत्येक मानिस त्यही अवस्थामा बसोस् जुन अवस्थामा उसलाई परमेश्वरबाट बोलाइयो। 21 परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर। 22 परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने ऊ प्रभुमा मुक्त हुन्छ अनि ऊ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि ऊ मुक्त थियो भने ऊ ख्रीष्टमा कमारा हुन्छ। 23 तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन। 24 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।

विवाह बारेको प्रश्नहरू

25 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन, तथापि म आफ्नो विचार पोख्छु। मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ। 26 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो। 27 तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिम्रो विवाह विच्छेद भएको भए, पुर्नविवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी खोज्ने चेष्टा तर्फ नलाग 28 तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।

29 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस। 30 जो दुःखीत छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो हर्षित छन् तिनीहरू हर्ष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसुन्। 31 जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।

32 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो। 33 तर विवाहित मानिस सांसारिक वस्तुसँग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ। 34 उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। ऊ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहित स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ। 35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।

36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन। 37 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, ऊ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ। 38 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।

39 जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ। 40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।

मूर्तिमा चढ़ाइएका खाना

अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ। जसले केही जान्दछु भन्ने सन्झन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन। तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।

यसर्थ मूर्तिमा बलि चढाएको मासु खान दिने विषयमाः हामी जान्दछौं, संसारमा मूर्ति वास्तवमा केही होइन। अनि हामी जान्दछौं परमेश्वर एक हुनु हुन्छ। धेरै वस्तुहरू छन् कि मानिसहरूले दुवै स्वर्गमा र पृथ्वीमा देवताहरू भन्छन्। यसको कुनै महत्व छैन्, तर वास्तविकता चाँहि यो छ मानिसहरू धेरै वस्तुहरूलाई “देवताहरू” र “मालिकहरू” मान्छन्। तर हाम्रा निम्ति त एउटै परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रा पिता हुनु हुन्छ। अनि उहाँ बाटनै प्रत्येक चीज आयो र हामी उहाँका निम्ति छौं। अनि प्रभु पनि एउटै हुनु हुन्छ। उहाँ येशू ख्रीष्ट हुनु हुन्छ। येशूको तर्फबाटै प्रत्येक कुरा हुनआए अनि हामीमा जीवन उहाँबाटै छ।

तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफैं निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैंलाई दोषी सम्झन्छन्। तर खाने कुराले हामीलाई परमेश्वरको नजिकमा ल्याउँदैन। नखाँदैमा कुनै हानी छैन र खाँदैमा कुनै लाभ छैन।

तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्। 10 तिमीसित बुद्धि छ यसर्थ मूर्तिको मन्दिरमा बस्नु अनि खानु तिमीलाई स्वतन्त्र लाग्छ। दुर्वल विश्वास भएका कुनै मानिसले तिमीलाई त्यहाँ खाँदै गरेको देख्न सक्छ, यसर्थ उसलाई मूर्तिमा चढाएका मासु खानु उत्साह हुन्छ, यद्यपि वास्तवमा उसले भूल काम सम्झन्छ। 11 यसैले त्यो दुर्बल विश्वास भएको भाइ, जसको लागि ख्रीष्ट मर्नु भयो, तिम्रो ज्ञानले गर्दा नष्ट हुनेछ। 12 जब तिमी तिम्रो ख्रीष्टमा भएका दाज्यू-भाइ तथा दिदी-बहिनीहरूको विरोधमा यस्तो पाप गर्दछौ तिनीहरूको विवेकमा चोट पुर्याउने छौ अनि ख्रीष्टको विरुद्ध तिमी पाप गर्नेछौ। 13 यदि खाने कुराले मेरो भाइलाई पापमा तान्छ भने म फेरि कहिल्यै मासु खाने छैन ताकि म मेरो भाइलाई पाप गराउने छैन।

पावलले प्रयोग नगरेको अधिकार

म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ। अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ।

कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाफ यही हुन्छः खाने र पिउने हाम्रो अधिकार छ। छैन र? यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिँड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरितहरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्। तर के बर्णाबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्नै पर्छ? आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेँड़ाको दुध पिउँदैन?

यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन? मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”(M) के परमेश्वर गोरूहरूमा मात्र चासो राख्नु हुन्छ? 10 होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँईँ गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।” 11 हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र? 12 जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्। 13 के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? 14 सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो।

15 तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु। 16 म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। 17 यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। 18 यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।

19 म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। 20 यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। 21 ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। 22 कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। 23 सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ।

24 तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक। 25 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। 26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन। 27 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफैं परमेश्वरबाट तिरस्कृत हुने छैन।

यहूदीहरू जस्तै नहोऊ

10 दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए।

यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ। तिनीहरूमा कोही मानिसहरूले जस्तो मूर्ति पूजा नगर। शास्त्रमा यो लेखिएकै छः “मानिसहरू खानालाई र पिउनलाई बसे। अनि नाच्नलाई उठे।” ती कतिपयले जस्तो हामी यौन अपराध नगरौं। तिनीहरू मध्ये एकै दिनमा तेईस हजार मरे। जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ सर्पहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन। 10 अनि तिनीहरू मध्ये कतिले गरे जस्तो गन्‌-गन् पनि नगर अनि तिनीहरू संहारकर्ता स्वर्गदूतद्वारा मारिए।

11 तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्। 12 यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्। 13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।

14 यरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस। 15 तिमीहरू बुद्धिमान छौ भनी म यो कुरा गर्दैछु; म के भन्दैछु तिमीहरू आफैं जाँच। 16 आशिषको कचौरा जसको लागि हामी परमेश्वरलाई धन्यवाद चढाउँछौं, त्यसको अर्थ ख्रीष्टको रगतको अंश-ग्रहण हो। होइन र? अनि रोटी, जुन हामी भाँच्दछौं, ख्रीष्टकै शरीरको अंश-ग्रहण हो। होइन र? 17 त्यहाँ एउटै रोटी छ। अनि हामी धेरै जना छौं। तर त्यही एउटा रोटीबाट हामी भाग गर्छौ। यसैले हामी खासमा एउटै शरीर हौं।

18 इस्राएलका मानिसहरूको बारेमा सोच। तिनीहरू बली खान्छन् अनि वेदीमा भाग लिन्छन्। खाँदैनन् र? 19 मेरो मतलब यो होइन कि मूर्तीमा चढाएको मासु अरू साधारण मासु भन्दा अझ दामी हो। अनि म सम्झिदिन कि त्यो मूर्ति पनि साधारण मूर्ति भन्दा कुनै दामी मूर्ति हो। 20 तर म यसलाई के भन्छु भनेः मानिसले बलि चढाउछन् त्यो शैतानलाई चढाएको हो, परमेश्वरलाई होइन। र तिमीहरू शैतानसित कुनै कुराको भागीदार बन भन्ने म चाहन्न। 21 तिमीहरू शैतानको कचौराबाट र प्रभुको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र शैतानको टेबल दुबैबाट खान सक्दैनौ। 22 के तिमी प्रभूलाई रिस उठाउनु चाहन्छौ? हामी उहाँ भन्दा बलिया छौं र? छैनौं।

आफ्नो स्वतन्त्रा परमेश्वरको महिमाको लागि प्रयोग गर

23 तिमीहरू भन्छौ, “सबै कुरामा अनुमति छ।” तर सबै कुरा हाम्रो निम्ति राम्रो छैन्। “सबै कुरामा अनुमति छ।” तर ती कुराहरूले सबैलाई बलियो बनाउँदैन। 24 तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।

25 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खाओ। 26 तिमीले त्यो खान सक्छौ “किन कि यो पृथ्वी र यसको हर चीज प्रभुकै हो।”(N)

27 यदि कुनै विश्वास नगर्ने मानिसले तिमीलाई उसित भोजन गर्न बोलाउला अनि तिमी जान चाहन्छौ भने तिम्रो अघिल्तिर जे राखिन्छ खाऊ। खानु उचित छ अथवा छैन भन्ने प्रश्न नगर। 28 तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ, जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानु अनुचित मान्छन्। 29 तिमीले नै त्यो अनुचित ठानौला भन्ने मलाई लाग्दैन। तर अरूले त्यो अनुचित हो भनी ठान्न सक्छ। त्यही एउटा कारणले म त्यो मासु खाँदिन। अर्को मानिसको सोचाईको आधारमा म मेरो स्वतन्त्रतालाई विचार गर्न दिंदिन। 30 यदि म कृतज्ञतापूर्वक भोजन खाँदछु, म किन केही चीजको लागि परमेश्वरलाई धन्यवाद दिंदा किन मेरा निन्दा हुने?

31 यसकारण तिमीहरू खाऊ, पिऊ, जे सुकै गर, तर त्यो परमेश्वरको महिमाकोलागि गर। 32 त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली। 33 म त्यसै गर्छु। म हरेकलाई हरतरहले खुशी पार्न खोज्छु। मैले कहिल्यै पनि आफूलाई मात्र लाभ गराउने कुनै काम गर्ने कोशिष गरेको छैन। म धेरैभन्दा धेरै मानिसको भलाई गर्ने कुरहारू कोशिष गर्छु जसमा कि मैले तिनीहरूलाई बचाउनु सकुँ।

11 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।

मालिकको अधीनमा हुनु

म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ। म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।

हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ। तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छे। तब ऊ शिर खौरेकी स्त्री जस्तै हुन्छे। कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।

पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किनकि ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो। पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो। अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो। 10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।

11 तथापि प्रभुमा स्त्री पुरुषकोलागि महत्वपूर्ण छ र पुरुष स्त्रीको लागि महत्वपूर्ण छ। 12 यो साँच्चो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।

13 यो आफैं निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला? 14 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ। 15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ। 16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।

प्रभुको भोज

17 अब यी विषयहरूमा म तिमीहरूलाई भन्छु, तिमीहरूको प्रशंसा गर्दिन। तिमीहरूका सभाले सहायता भन्दा तिमीहरूलाई खति नै गर्छ। 18 पहिलो कुरो त, म सुन्दैछु कि मण्डलीमा जब तिमीहरू भेला हुँदछौ तिमीहरू बाँडिन्छौ। अनि केही अंशमा म यस कुरालाई पत्याउँछु। 19 तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।

20 जब तिमीहरू सबै एकत्र हुन्छौ तिमीहरूले वास्तवमा प्रभुको भोज खाइरहेका हुँदैनौ। 21 किनभने जब तिमीहरू खान्छौ एउटाले अर्कालाई नपर्खी खान्छौ। कतिले अलिकति पनि खानै वा पिउनै नपाई कति चाँहि टन्न भइसक्छन्। 22 तिमीहरू आफ्नै घरमा खान अनि पिउन सक्छौ! यस्तो लाग्छ, तिमीहरू सोच्छौ कि परमेश्वरको मण्डली महत्वहीन छ। जो गरीब छ तिनलाई तिमीहरू शरममा पार्दछौ। म के भनुँ? म तिमीहरूको प्रशंसा गर्दिन।

23 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।” 25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो सम्झनामा गर्ने गर।” 26 जब-जब तिमीहरू यो रोटी खाँदछौ र यो कचौराबाट पिउँदछौ उहाँ नआउन्जेल प्रभुको मृत्युको घोषणा गर्दछौ।

27 त्यसैकारण कसैले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ भने, उसले प्रभुको शरीर र रगतको विरुद्ध पाप गर्छ। 28 हरेकले रोटी खान र कचौराबाट पिउन अघि आफ्नो हृदय जाँच्नु पर्छ। 29 यदि कसैले त्यो प्रभुको शरीर हो भन्ने नचिनी रोटी खायो र कचौराबाट पियो भने उसको ख्वाई र पियाईले आफैंमा न्यायाकोलागि दण्ड निम्त्याउछ। 30 त्यसै कारणले तिमीहरूका समाजमा धेरैजना रोगी औ कमजोरीहरू छन् र कति मरेर गए 31 तर हामीले आफैंलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन। 32 तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस् भनी उहाँले यसो गर्नु हुन्छ।

33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख। 34 कोही भोकाएको छ भने आफ्नै घरमै खाओस्। यसै गर जसमा कि तिमीहरूको जमघटले तिमीहरूमाथि नै परमेश्वरको दण्ड ननिम्त्याओस्। अरू कुराहरू बारे के कसो गर्नु त्यो म जब आउँछु, भन्नेछु।

पवित्र आत्माको उपहारहरू

12 दाज्यू-भाइ दिदी-बहिनीहरू, अब म चाहन्छु कि तिमीहरूले आत्मिक वरदानहरू बारे जान। तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ। म तिमीहरूलाई भन्छु कसैले परमेश्वरको आत्मा विना “येशू श्रापित होऊन” भन्ने छैन अनि कसैले पनि पवित्र आत्माको सहायता बिना “येशू प्रभु हुन” भन्न सक्दैन।

आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ। सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो। अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ।

प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ। आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ। त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। 10 त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ। 11 एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।

ख्रीष्टको शरीर

12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः 13 हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।

14 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। 15 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। 16 कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। 17 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो? 18-19 यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। 20 अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।

21 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन। 22 होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। 23 अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। 24 हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। 25 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। 26 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।

27 तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ। 28 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ। 29 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्। 30 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिको भाषा बोल्न सक्तैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सकदैनन्। 31 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

प्रेम नै सर्वोत्तम उपहार हो

13 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ। मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन। मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।

प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।

प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। 10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। 11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ। 12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्। 13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।

आत्मिक वरदानहरूलाई मण्डलीको मद्दतमा लगाऊ

14 प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान। किनभने जो विभिन्न भाषाहरूमा बोल्छ मानिससँग बोल्दैन, तर ऊ परमेश्वरसित बोल्छ। कसैले उसलाई बुझ्दैन। ऊ आत्माद्वारा गुप्ती सत्य बोल्छ। तर जसले अगमवाणीहरू गर्छ उसले मानिसहरूसित बोलिरहेको हुन्छ उसले मानिसहरूलाई बल, उत्साह र सुख दिन्छ। जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।

म तिमीहरू सबैलाई विभिन्न भाषा बोल्ने वरदान मिलोस् भन्ने चाहन्छु। तर अझै, म तिमीहरूले अगमवाणी गर्नु पर्छ भन्ने चहान्छु। विभिन्न भाषाहरूमा बोल्न सक्ने भन्दा जसले अगमवाणी गर्छ त्यो ठूलो हो। तर ती भाषाहरूको उल्था पनि गर्न सक्ने भए त्यो विभिन्न भाषाहरूमा बोल्ने पनि अगमवाणी गर्ने जत्तिकै हो। त्यसो हो भने उसले जे भन्छ त्यसबाट मण्डली पनि उपकृत हुन्छ। दाज्यू-भाइ दिदी-बहिनीहरू, यदि म विभिन्न भाषाहरूमा बोल्दै तिमीहरूकहाँ आएँ भने त्यसले तिमीहरूलाई के फाईदा हुन्छ? हुँदै हुँदैन। यदि म तिमीहरूकहाँ कुनै नयाँ सत्य, अथवा केही ज्ञान अथवा केही अगमवाणी वा केही शिक्षा लिएर आएँ भने मात्र तिमीहरूलाई फायदा हुन्छ। त्यो खाली निर्जीव चीजहरूबाट निकालेको आवाज जस्तो मात्र हुनेछ, बाँसूरी अथवा साराङ्गी। यदि सँगीतको आवाज स्पष्ट छैन भने के गीत बाजाइँदैछ तिमीहरूले बुझ्ने छैनौं। गीत बुझ्नुको लागि प्रत्येक आवाज स्पष्ट हुनु पर्छ। युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ?

तिमीहरूलाई पनि त्यस्तै हो। तिमीहरूको जिब्रोबाट शब्द प्रष्ट हुनुपर्छ। यदि तिमीले प्रष्टसित बोल्न सकेनौ भने तिमीले के भन्दैछौ कसैले बुझ्न सक्दैन। त्यो खाली तिमी हावासित बोलेको जस्तो मात्र हुनेछ। 10 त्यो साँच्चो हो, संसारमा घेरै किसिमका भाषाहरू छन् अनि ती सबै अर्थ हुन्छन्। 11 यसैकारण, यदि कसैले मलाई केही भनेको अर्थ मैले बुझिन भने म संझन्छु उसले विदेशी कुरा गर्दैछ र उसले मलाई विदेशी संझन्छ। 12 तिमीहरूलाई पनि त्यस्तै हौ। तिमीहरू पनि खुब आत्मिक वरदानको निम्ति इच्छा गर। यसैकारण जुन वरदानले मण्डली अझ दरिलो हुन्छ त्यही पाउने इच्छा गर।

13 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्। 14 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन। 15 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ। 16 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन। 17 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।

18 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु। 19 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।

20 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन। 21 व्यवस्थामा लेखिएको छः

“विभिन्न भाषा बोल्ने मानिसहरू लिएर,
    अनि विदेशीहरूकै ओठ चलाएर,
म तिनीहरूसित बोल्छु।
    तथापि तिनीहरूले मलाई सुन्दैनन्।”(O)

प्रभु त्यसै भन्नुहुन्छ।

22 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन। 23 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्? 24 तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबुझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट ऊ जाँचिन्छ। 25 त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”

तिम्रो सभाहरूले मण्डलीको मद्दत गरोस्

26 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो। 27 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन्। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ। 28 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।

29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ। 30 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ। 31 तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ। 32 अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ। 33 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।

34 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ। 35 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।

36 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ। 37 यदि कसैले आफू अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो। 38 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।

39 यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँच्चो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड। 40 तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढङ्गले गरिनु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International