Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 1-16

संसारको शुरू

आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।

पहिलो दिन—प्रकाश

तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।

साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।

दोस्रो दिन—आकाश

तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!” यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि। परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।

तेस्रो दिन—सुख्खा भूमि र उद्भिद

तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो। 10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।

11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो। 12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।

13 साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।

चौथो दिन—सूर्य, चन्द्रमा र ताराहरू

14 तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्‌याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। 15 यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।

16 यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो। 17 पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुन्जहरू परमेश्वरले आकाशमा राख्नु भयो। 18 यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

19 त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।

पाँचौं दिन—माछा र चराहरू

20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले। 21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

22 परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्।

23 त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।

छैटौं दिन—स्थल-चर र मानिसहरू

24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नैछन्।”

27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। 28 परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।”

29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरू दिन्छु। ती रुखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-पदार्थ हुनेछन्। 30 म फेरि पशुहरूलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीका सबै जनावरहरूले, यी चीजहरू खानेछन्।” अनि यस्तै भयो।

31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।

त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

सातौं दिन—विश्राम

यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

मानव जातिको शुरु

आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो। पृथ्वीमा उद्भिदहरूको उम्रनु अघिका कुरा यही हुन्। भूमिहरूमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउनुँ भएको थिएन। त्यहाँ उद्भिदहरू हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।

पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो। तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो। परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो। परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरू अनि खान योग्य फलहरू लाग्ने रुखहरू उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।

10 बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरूमा विभाजन भयो। 11 ती शाखाहरूमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ। 12 यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्। 13 दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो। 14 तेस्रो शाखा नदीको नाउँ हिद्‌देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।

15 तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो। 16 परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरू खान सक्छौ। 17 तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफैं मर्नेछौ।”

पहिलो स्त्री

18 तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो ऊ जस्तै नै हुनेछे।”

19 यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरू र आकाशमा चरा-चुरूङ्गीहरू सृष्टि गरी तिनीहरूको के-के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरूलाई जे भने तिनीहरूको त्यही नाउँ रह्यो। 20 अनि मानिसले पाल्तू गाई-वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरू र जङ्गली जनावरहरूको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन। 21 त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग त्यस मानिसबाट निकाल्नु भयो तब परमेश्वरले करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो। 22 त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो। 23 तब त्यस मानिसले भने,

“आखिरमा म जस्तै अर्को एउटा व्यक्ति
    उसको हड्डी मेरो हड्डी बाट आयो,
    अनि उसको शरीर मेरो शरीरबाट आयो।
किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले
    म तिनलाई ‘स्त्री मानिस’ भन्नेछु।”

24 यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्।

25 त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।

पापको शुरु

परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरू मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरूको फल खान सक्छौं।” तर परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरूले छुनु पनि हुँदैन, नत्र तिमीहरू मर्नेछौ।”

तर सर्पले स्त्रीलाई भने, “तिमीहरू निश्चय मर्ने छैनौ। परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरूले त्यस रुखको फल खान्छौ तिमीहरूको ज्ञान खोलिन्छ अनि तिमीहरू कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

तब तिनीहरूले केही अनौंठो अनुभव गरे। तिनीहरूले देखे तिनीहरू नाङ्गै थिए। यसर्थ तिनीहरूले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरू बनाए।

जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”

10 तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”

11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”

13 तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?”

तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”

14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो,

“तैंले यस्तो काम गरेको हुनाले,
    तँलाई अन्य पशुहरू गाई-वस्तु
र अरू सबै जङ्गली पशुहरूलाईभन्दा
    अझै ज्यादा श्राप दिनेछु।
तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु
    र माटो खाएर बस्नु परोस्।
15 म तँ र त्यस स्त्रीमाझ
    शत्रुता सृष्टि गर्नेछु।
तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि
    शत्रुता सृष्टि गर्नेछु
जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्
    अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”

16 त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,

“जब तिमी गर्भधारण गर्नेछौ
    त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु,
र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले
    साह्रै नै प्रसव वेदना सहनु पर्नेछ।
तिमी आफ्नो पतिको चाहना गर्नेछौ।
    तर उनले तिमीलाई शासन गर्नेछ।”[a]

17 त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,

“जब तिमीले तिम्री पत्नीको कुरा मानेर
    मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ,
र म तिम्रो कारणले भूमिलाई सराप्ने छु,
    जुन खाद्य पदार्थ भूमिबाट तिमीले पाउनेछौ,
    त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।
18 त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरू उमार्नेछ,
    अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।
19 तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले
    छ्याप्-छ्याप्ती नहुन्जेलसम्म मेहनत गर्नु पर्नेछ,
मरुन्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ।
    त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ।
मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ
    र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

20 त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरूकी तिनी आमा हुन्।

21 परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

22 परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सधैँको निम्ति बाँच्नेछ।”

23 परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो। 24 उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।

पहिलो परिवार

आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”

तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।

पहिलो हत्या

केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो।

अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो। परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”

कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।

तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”

तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। 11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। 12 जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।”

13 तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो। 14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”

15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तँलाई मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।

कयिनको परिवार

16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।

17 कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।

18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।

19 लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो। 20 आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए। 21 याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। 22 सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो।

23 लेमेकले आफ्ना पत्नीहरूलाई भने,

“हे आदा र सिल्ला!
    लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन।
मलाई चोट पुर्याउने मानिसलाई मैले मारें,
    त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
24 यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने,
    लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!”

आदम र हव्वाको नयाँ पुत्र भए

25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।” 26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।

आदमको पारिवारिक इतिहास

आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको[b] सृष्टि गर्नुभयो। परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो।

जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। आदम 930 बर्षसम्म बाँचे र मरे।

जब सेत 105 बर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे। एनोश जन्मेपछि सेत 807 बर्षसम्म जीवित रहे र यो समयमा सेतका अरू छोरा-छोरीहरू जन्मे। यसर्थ सेत जम्मा 912 बर्षसम्म बाँचे र मरे।

एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। 10 केनान जन्मेपछि एनोश 815 बर्ष सम्म बाँचे। यो समयमा एनोशका अरू छोरा-छोरीहरू पनि जन्मे 11 यसर्थ एनोश जम्मा 905 बर्ष बाँचे र मरे।

12 केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे। 13 महलेलले जन्म लिएपछि केनान 840 बर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरूले पनि जन्म लिए 14 यसर्थ केनान 910 बर्ष सम्म बाँचे र मरे।

15 जब महलेल 65 बर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो। 16 येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। 17 यसर्थ महलेल जम्मा 895 बर्ष सम्म बाँचे र मरे।

18 जब येरेद 162 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय। 19 हनोक जन्मिएपछि येरेद 800 बर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरू छोरा-छोरीहरू भए। 20 यसर्थ येरेद जम्मा 962 बर्षसम्म बाँचे।

21 जब हनोक 65 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो। 22 मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। 23 यसर्थ हनोक 365 बर्ष सम्म बाँचे। 24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

25 जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। 26 लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। 27 यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे।

28 जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। 29 उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

30 नूह जन्मेपछि लेमेक 595 बर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरू छोरा-छोरीहरू जन्मे। 31 लेमेक जम्मा 777 बर्षसम्मा बाँचे।

32 नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे।

मानिसहरू दुष्ट हुन्छन्

पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे।

तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।”

यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।

परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

तर नूहले परमप्रभुलाई खुशी तुल्याए।

नूह र महा-जलप्रलय

यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। 10 नूहका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए।

11 परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए। 12 परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

13 तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। 14 तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

15 “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र 16 त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु।

17 “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। 18 तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। 19 अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। 20 जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्। 21 अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।”

22 परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

जलप्रलय प्रारम्भ

त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमा पस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरूमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरू र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु। अनि सबै जातका चराहरूबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरू अरू सबै ध्वंश गरिए पछि यिनीहरूका जातिहरूलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ। अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरू ध्वंश पार्नेछु।” अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे।

जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। 8-9 तब प्राणीहरू, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घस्रिने प्राणीहरू आए। 10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।

11 नूहको जीवनको 600 बर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्‌यो अनि आकाशमा ठूला-ठूला प्वालहरू बनिए। 12 अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। 13 त्यही दिन नूह, उसकी पत्नी, छोराहरू शेम, हाम र येपेत अनि बुहारीहरू जहाज भित्र गए। 14 ती मानिसहरू, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरू, घरमा पालिने पशुहरू, भूँईमा घस्रने जन्तुहरू अनि प्रत्येक जातका चराहरू जहाजमा पसे। 15 यी सबै पशु-चराहरू नूहसँगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरू भाले र पोथीको जोडीको दलमा ती पशु चराहरू जहाजमा आए। 16 यी सबै पशुहरू परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो।

17 जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो। 18 पानीको स्तर माथि उठ्‌यो अनि जहाज पानी माथि तैरिन थाल्यो। 19 पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। 20 एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे।

21-22 पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। 23 यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे। 24 एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो।

जल प्रलयको अन्त

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।

त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए। अनि त्यो काग पृथ्वीमा पानी नसुकुन्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो। त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।

तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।

10 नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए, 11 अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो। 12 त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।

13 नूहको उमेरको 601 बर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो। 14 दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।

15 तब परमेश्वरले नूहलाई भन्नुभयो, 16 “तँ, तेरी पत्नी, तेरा छोराहरू र बुहारीहरू लिएर जहाज बाहिर आइज। 17 जहाजमा तँसँग जे जति चराहरू, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरू ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरूले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरूले तिनीहरूको संख्या पृथ्वीमा बढाउन्।”

18 यसर्थ, नूह उनका छोराहरू, उनकी पत्नी तथा बुहारीहरू जहाजबाट बाहिर भूमिमा निस्के। 19 आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरू, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिँड़डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

20 त्यसपछि नूहले परमप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरू र पवित्र चराहरू परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

21 परमप्रभुले त्यस बलिदानहरूको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन। 22 जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”

नयाँ शुरु

परमेश्वरले नूह र उसका छोराहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका सन्तानहरूको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरूले भरियोस्। यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरू सबै तेरो नियन्त्रणमा बसुन्। कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरू खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु। जिउँदो पशुहरूको मासुमा जतिन्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु। अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।

“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ,
    कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”

“अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

तब परमेश्वरले नूह र उनका छोराहरूलाई भन्नुभयो, “म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु। 10 म मेरो करार सबै चराहरू अनि पाल्तू पशुहरू अनि पृथ्वीमा भएका सबै जनावरहरूसित जो तिमीहरूसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरूसित गर्नेछु। 11 तिमीहरूसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरू नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”

12 अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरू र तिमीहरूसित भएका प्राणीहरूसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरूका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैँ रही रहनेछ। 13 तिमीहरूसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो। 14 जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ। 15 म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरूलाई नष्ट गर्ने छैन। 16 जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैँ सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरू बिचमा भएको करार सम्झना गर्नेछु।”

17 अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरूसित स्थापित गरिएको करारको चिन्ह हो।”

कष्टहरूको प्रारम्भ

18 जहाजबाट निस्केका नूहका छोराहरू शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए) 19 यी तिनै जना नूहका छोराहरू थिए र यी तीन जनाका सन्तानहरूले नै यो पृथ्वी भरियो।

20 नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए। 21 नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्। 22 कनानका बाबु हामले आफ्नो बाबु नूहलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरूलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए। 23 तिनीहरू पछिल्तिर फर्केका थिए र तिनीहरूले बाबुलाई नाङ्गो देखेनन्।

24 जब नूह मध्य निंद्राबाट ब्यूँझिए उसको कान्छो छोरोले के गरेको थियो त्यो थाहा पाए। 25 तब नूहले भने,

“कनानलाई सराप लागोस्,
    ऊ आफ्ने दाज्यू-भाइहरूको कमारो हुनेछ।”

26 तब नूहले भने,

“शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन्।
    कनान उसको दास बनियोस्।
27 परमेश्वरले येपेतको विकास गराई दिऊन्,
    अनि येपेत शेमको पालहरूमा बसोस्,
    अनि कनान उसको कमारा होस्।”

28 नूह जल प्रलयपछि 350 बर्ष बाँचे र मरे। 29 यसर्थ नूह जम्मा 950 बर्ष बाँचे र मरे।

राष्ट्रहरू बढ्दै गए अनि फिंजिए

10 नूहका छोराहरू शेम, हाम र येपेत थिए र यिनीहरूको पारिवारिक इतिहास यही हो। नूहको छोराहरूका धेरै सन्तानहरू भए।

येपेतका सन्तानहरू

येपेतका छोराहरू थिए गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

गोमेरका छोराहरू थिए अशकनज, रीपत र तोगर्मा।

याबानका छोराहरू थिए; एलीशा, तर्शोश, कित्तीम र दोदानीम।

तिनीहरूबाटै समुद्रतट वासीहरू फिंजिए। तिनीहरूको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरू थिए।

हामका सन्तानहरू

हामका छोराहरू थिए: कूश, मिश्र, पूत र कनान।

कूशका छोहरू थिए: सबा, हवीला, सबता, रामा र सबतका।

रामाका छोराहरू थिए: शबा र ददान।

निम्रोद कूशको छोरा थियो। निम्रोद ज्यादै शक्तिशाली योद्धा बनिने पहिले मानिस थिए। परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”

10 शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो। 11 यहाँबाट तिनी अश्शूर गए अनि नीनवे, रहोबोतीर र कालह शहरहरू बनाए। 12 कालह र नीनवे माझ तिनले शहर रेसेन बनाए। ती शहरहरू मध्ये कालह सबै भन्दा ठूलो थियो।

13 मिश्र, लूद, अनाम, लहाब, नप्तूह, 14 पत्रुस, कसलू अनि कपतोर मानिसहरूका पिता थिए। (पलिश्ती मानिसहरू कसलूका सन्तान थिए।)

15 कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए। 16 कनानबाट हित्ती, यबूसी, एमोरी, गिर्गाशी, 17 हिब्बा, अर्कोत र सिनीत मानिसहरू, 18 अर्वादी, समारी र हमाती मानिसहरू उत्पन्न भए।

यसरी कनानका सन्तानहरू संसारका जताततै फिंजिए। 19 कनानी मानिसहरूको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।

20 ती सब मानिसहरू हामका सन्तान थिए र ती सबै मानिसहरूको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरूको एउटा अलगै राज्य थियो।

शेमका सन्तानहरू

21 शेम येपेतका जेठा दाज्यू थिए। शेमका सन्तानहरूमा एक जना एबेर सबै हिब्रू मानिसहरूका पिता थिए।

22 शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

23 अरामका छोराहरू ऊज, हुल, गेतेर अनि मश थिए।

24 अर्पक्षद शेलहका पिता थिए,

शेलह एबेरका पिता थिए,

25 एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।

26 योक्तान अल्मोदाद, शेलेप, हसर्मवित र येरह, 27 हदोराम, ऊजाल, दिक्ला, 28 ओबाल, अबमाएल, शबा, 29 ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरू योक्तानका छोराहरू थिए। 30 ती सबै मानिसहरू मेशा र पूर्वमा पहाडी भूमि इलाकामा बसो बास गर्थे। मेशा सापारा भूमितिर पर्थ्यो।

31 ती मानिसहरू शेमको परिवारका थिए। तिनीहरू आफ्नो वंश, परिवार, भाषा, भूमि र राष्ट्रमा गठित थिए।

32 नूहका सन्तानको वंश अनुसार तिनीहरूका जातिहरू यी नै थिए। यिनीहरू आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरू फिंजिएका थिए।

संसारको विभाजन

11 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरू थिए। जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे। तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई सँगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो। तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्। यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकुन्।”

यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

शेमको पारिवारिक इतिहास

10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ बर्षपछि शेम जब एक सय बर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए। 11 अर्पक्षद जन्मेपछि शेम पाँच सय बर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।

12 जब अर्पक्षद पैतीस बर्षका भए तिनको एउटा छोरो जन्मियो जसको नाउँ शेलह थियो। 13 शेलह पछि अर्पक्षद चार सय तीन बर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।

14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो। 15 एबेर जन्मेपछि शेलह चार सय तीन बर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।

16 एबेर चौंतीस बर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो। 17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।

18 पेलेगको उमेर तीस बर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो। 19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ बर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

20 रऊको उमेर बत्तीस बर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो। 21 सरूगको जन्म पछि रऊ अर्को दुइ सय सात बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। 23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

24 नाहोरको उमेर उन्तीस बर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो। 25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

26 तेरहको उमेर सत्तरी बर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।

तेरहको पारिवारिक इतिहास्

27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। 28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए। 30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।

31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिँडे। तर तिनीहरू हारानसम्म गई त्यहीं बसो-बास गर्न थाले। 32 तेरह दुइ सय पाँच बर्षसम्म बाँचे र हारानमा मरे।

परमेश्वर अब्रामलाई बोलाउनु हुन्छ।

12 परमप्रभुले अब्रामलाई भन्नुभयो,

“तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड,
    र मैले देखाएको देशमा जाऊ।
म तिमीलाई आशीर्वाद दिनेछु,
तिमीबाट महान् राष्ट्र बनाएर
    प्रसिद्ध बनाउनेछु।
तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ
    तिम्रो नाउँ लिनेछन्।
म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु,
    अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु।
पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि
    म तिम्रो नाउँ प्रयोग गर्नेछु।”

अब्राम कनान जान्छन्

यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर बर्ष पुगेका थिए। अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए। अब्राम कनान देशको शकेमसम्म गए अनि मोरेमा ठूलो रूख भएको ठाउँ सम्म पुगे। त्यस समयमा कनानी मानिसहरू त्यस ठाउँमा बस्थे।

त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।”

अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए। त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ-शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे। तब अब्रामले यहूदाको दक्षिणी मरुभूमि इलाका नेगेबपट्टि आफ्नो यात्रा शुरू गरे।

अब्राम मिश्रमा

10 त्यस समय त्यहाँ अनिकाल चलिरहेको थियो। त्यहाँ अनिकाल अत्यन्तै भएकोले तिनी केही समयको निम्ति मिश्र देशतिर लागे। 11 तिनी मिश्र देशमा पस्न मात्र लागेका थिए, तिनले आफ्नी पत्नी साराईलाई भने, “हेर, म जान्दछु तिमी सुन्दरी नारी छ्यौ। 12 जब मिश्र देशीहरूले तिमीलाई देख्नेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्। 13 यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”

14 अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे। 15 केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे। 16 फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेंडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।

17 फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो। 18 यसर्थ फिरऊनले अब्रामलाई बोलाएर भने, “तिमीले मेरो निम्ति एकदमै नराम्रो काम गर्यौ तिमीले साराईलाई तिम्री पत्नी भनी बताएनौ। 19 किन तिमीले तिम्री बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ? यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखें। तर अब म तिम्री पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।” 20 त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे।

अब्राम कनान फर्के

13 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे। यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।

अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ-शहरहरूको बीचमा आइपुगे। त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।

अब्राम अनि लूत छुट्टीए

त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसँग पनि पशुहरू र पालहरू धेरै नै थिए। अब्राम र लूतसित यति धेरै पशुहरू र सर-समानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ सँगै बस्न असम्भव भयो। त्यसै समयमा त्यस भूमिमा कनानी, परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासँग झगड़ा। गर्न थाले।

यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौं, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा़ हुनु हुँदैन। हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”

10 लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।) 11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे। 12 अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए। 13 सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।

14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर। 15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ। 16 म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन। 17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”

18 यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरू भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।

लूतको कैद

14 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए। यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।

यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)। यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र बर्षसम्म सेवा गरेका थिए तर तेह्रौं बर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे। यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरूले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे। अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरूलाई पराजित गरे। (एल्पारान मरुभूमि नजिक छ)। त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।

त्यस वेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्दीमको बेंसीमा युद्ध गर्न भनी गए। तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए।

10 सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।

11 शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। 12 तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे 13 लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रु अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे।

लूतको छुटकारा

14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्‌दै गए। 15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। 16 अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।

17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।

मल्कीसेदेक

18 शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। 19 मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः

“जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो,
    सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।
20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं।
    परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।”

अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। 21 तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।”

22 तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु। 23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’ 24 म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एरकोल र मम्रेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।”

अब्रामलाई परमेश्वरको करार

15 यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”

अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”

त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।”

त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”

अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे। परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्याएँ। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।”

तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”

परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन बर्षको कोरली, त्यसरी नै तीन बर्ष पुगेको बाख्रा अनि तीन बर्ष पुगेको एउटा भेंडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।”

10 परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुइ-दुइ टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्। 11 पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।

12 पछि सूर्य अस्ताउन लाग्दा अब्रामलाई साह्रै निन्द्रा लाग्यो। चुक झैं कालो अन्धकारले उसलाई चारै तिरबाट घेर्यो। 13 तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “तैंले यो निश्चय जान्नु पर्छ, तिम्रा सन्तानहरू विदेशी हुनेछन्, तिनीहरू त्यस धर्तीमा जानेछन् जो तिनीहरूको होइन, तिनीहरू त्यहाँ कमारा-कमारीको रूपमा चार सय बर्षसम्म सेवा गर्नेछन् अनि तिनीहरूसित धेरै खराब व्यवहार गरिनेछ। चार सय बर्षसम्म तिनीहरूले धेरै दुर्व्यवहार र अन्याय सहनु पर्नेछ। 14 म त्यो जाति जसले तिम्रा सन्तानहरूलाई कमारा-कमारी बनाए तिनीहरूको न्याय गर्नेछु अनि जब तिमीपछि आउँने तिम्रा सन्तानहरूले त्यो देश छोड्नेछन्, तिनीहरूले आफूसित धेरै राम्रा चीजहरू ल्याउँछन्।

15 “तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो। 16 चार पुस्तापछि तिम्रा सन्तानहरू यही देशमा फर्केर आउनेछन् र तिनीहरूले एमोरीहरूलाई हराउँनेछन्। यहाँ बस्ने एमोरीहरूलाई सजाय भोग्न लगाउन म ती तिम्रा सन्तानहरूलाई प्रयोगमा ल्याउनेछु। यी सब कुराहरूपछि हुन्छ कारण ती एमोरीहरू अहिले सजाय पाउनुको निम्ति त्यति नराम्रो भई सकेका छैनन्।”

17 जब सूर्य अस्तायो, अत्यन्तै अंन्धकार छायो। बलि चढाई मारिएका पशुहरू दुइ-दुइ टुक्रामा अहिलेसम्म जमीनमा लडिरहेको थिए। त्यही समयमा धुँवाको मुस्लो जसमा बल्दै गरेको ज्वाला थियो ती मारेर टुक्रा पारिएको पशुहरू बीचबाट गए।

18 यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घर्ती दिनेछु। 19 तिनीहरूलाई म मिश्रको नदीदेखि यूफ्रेटिस महा-नदीसम्म केनी कदमोनी, कनज्जी, 20 हित्ती, परिज्जी, रपाई, 21 एमोरी कनानी, गिर्गाशी तथा यबूसी दिनेछु। यो सम्पूर्ण भूमि मिश्रको नदी अनि यूफ्रेटिस नदीको माझमा पर्छ।”

हागार कमारी स्त्री

16 साराई अब्रामकी पत्नी थिइन्, तर ती दुइ जनाको कुनै सन्तान भएन। साराईकी एउटी कमारी थिई, जसको नाउँ हागार थियो त्यो मिश्रकी थिई। साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने।

यो घट्ना अब्राम कनानमा दशबर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)

हागारले अब्रामको गर्भ धारण गरी। जब उनले चाल पाई उनले गर्भ धारण गरी ऊ घमण्डले फुलिइ अनि अनुभव गरी ऊ साराई उसको मालिकनीभन्दा असल हो। तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”

तर अब्रामले साराईलाई भने, “तिमी हागारकी मालिकनी हौ र तिमीले उसलाई जे इच्छा लाग्छ त्यही गर्न सक्छौ।” यसर्थ साराईले हागारलाई सजाय दिई अनि हागार भागी।

हागारको छोरो इश्माएल

परमप्रभुको र्स्वग दूतले हागारलाई मरुभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो। स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”

हागारले भनी, “म साराईदेखि भाग्दैछु।”

परमप्रभुका स्वर्गदूतले हागारलाई भने, “साराई तिम्री मालिक्नी हुन, फर्केर जाऊ अनि तिनको आज्ञा पालन गर।” 10 स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”

11 परमप्रभुका दूतले यसो पनि भने,

“हागार अहिले तिमी गर्भवती छौ,
    अनि तिमीले छोरो जन्माउने छौ।
तिमीले उसको नाउँ इश्माएल राख्ने छौ,
    किनभने तिमीलाई कुव्यावहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ,
    र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
12 इश्माएल स्वतन्त्र
    र जंङ्गली गधा झैं हुनेछ,
ऊ सबैको विरूद्धमा जानेछ,
    अनि सबै व्यक्तिहरू उसको विरूद्धमा आउनेछन्।
ऊ एउटा भूमिबाट अर्को भूमिमा जानेछ,
    उनले आफ्नो आफन्तहरूको नजिक पाल हाल्नेछ,
    तर तिनीहरूको विरूद्धमा जानेछ।”

13 परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो। 14 यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।

15 हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे। 16 इश्माएललाई हागारले जन्म दिंदा अब्राम छयासी बर्ष पुगेका थिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International