Bible in 90 Days
13 तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।
14 जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेट्न आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडाए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए। 15 शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।
16 तब शिमशोनले भने;
“मैले तिनीहरूलाई गधाको बङ्गाराले
अल्गो रास लगाएँ।
गधाको बङ्गाराले मैले
1,000 मानिसहरूलाई मारिदिएँ।”
17 जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।
18 शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
19 लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।
20 यसरी शिमशोन बीस बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।
शिमशोन गाजा शहरमा जान्छन्
16 एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए। 2 कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”
3 तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अठ्याए र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।
शिमशोन अनि दलीला
4 पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।
5 पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्रिनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न सामर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”
6 यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”
7 शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”
8 तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिइन्। 9 केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्रिन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडाइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्रिए। यसकारण ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।
10 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
11 शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”
12 यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” तर तिनले धागो चुँडाएको जस्तै ती डोरीहरू सजिलै चुँडाए।
13 तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।”
पछि, शिमशोन सुत्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्। 14 तब दलीलाले पालको कीलाले तानलाई भूइँमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्रिन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।
15 तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।” 16 उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो। 17 अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”
18 दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।
19 जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काट्नलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो। 20 तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।
21 पलिश्ती मानिसहरूले शिमशोनलाई पक्रे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए। 22 तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।
23 पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नमा सहायता गर्नु भयो।” 24 जब पलिश्ती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने,
“यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्यो!
यो मानिसले हाम्रा धेरै मानिसहरूलाई मार्यो!
तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्रिन,
हामीलाई सहायता गर्नुभयो।”
25 उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडाउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडाउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए। 26 एकजना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले त्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अड्याउने खम्बालाई म छुन सक्छु, मलाई त्यहाँ राख। म त्यसमा अडेसलाग्न चाहन्छु।”
27 मन्दिरमा पुरूष अनि स्त्रीहरूको भीड थियो। पलिश्ती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरूष अनि स्त्रीहरू थिए। तिनीहरू हाँस्दै अनि शिमशोनको खिल्ली उडउँदै थिए। 28 तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिश्ती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस्।” 29 त्यसपछि शिमशोनले मन्दिर माझका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माझ दह्रिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देब्रे तर्फ थियो। 30 शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।
31 शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काइ ल्याए अनि तिनका बाबुलको चिहानमा तिनलाई गाडे। त्यो चिहान सोरा अनि एश्तोल शहर माझमा छ। शिमशोन बीस बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे।
मीकाका मूर्तिहरू
17 मीका नाउँ गरेका एकजना मानिस थिए जो एप्रैमको पहाडी देशमा बस्थे। 2 मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।”
उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”
3 मीकाले त्यो 1,100 चाँदीका टुक्रा आफ्नी आमालाई फर्काइदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेंटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरालाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोडने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काइ दिन्छु।”
4 तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेल[a] का सिक्का लिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो। 5 मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने। 6 त्यससमय, इस्राएलका मानिसहरूका राजा थिएनन्। यसर्थ हरेक व्यक्तिहरूले त्यही गरे जो ऊ स्वयंले सही छ भन्ने ठान्थ्यो।
7 त्यहाँ एक जवान लेवी मानिस थिए। तिनी बेतलेहेम शहर, यहूदाका थिए। तिनी यहूदाका कुल समूह माझ बस्दै थिए। 8 त्यो जवान मानिसले बेतलेहेम, यहूदा छाडे। तिनी बस्नका निम्ति अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एप्रैमको भूमिको पहाडी देशमा थियो। 9 मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?”
त्यो जवान मानिसले उत्तर दियो।, “म यहूदाको बेतलेहेम शहरको एउटा लेवी हुँ। म बस्ने स्थान खोजि रहेछु।”
10 तब मीकाले तिनलाई भने, “मसित बस्नु होस्। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।”
त्यो लेवीले त्यही गरे जो मीकाले भने। 11 जवान लेवी मीका सँग बस्न सहमत भए। त्यो जवान मानिसका मीकाका एउटा छोरा जस्तै बने। 12 मीकाले तिनलाई आफ्ना पूजाहारी हुनलाई चुने। यसर्थ त्यो जवान मानिस पूजाहारी बने अनि मीकाको घरमा बसे। 13 अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”
दानले लैश शहर कब्जा गर्छन्
18 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।
2 यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”
ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए। 3 ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”
4 मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्यालामा लिए।
5 यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”
6 पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोर्याउँनु हुनेछ।”
7 यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।
8 ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”
9 ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं। 10 जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”
11 यसर्थ दानका कुल समूहबाट छ सय मानिसहरू सोरा अनि एश्ताओल शहरबाट हिंडे। तिनीहरू युद्धको निम्ति तयार थिए। 12 लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात-यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसै कारणले गर्दा किर्यात-यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ। 13 त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।
14 यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।” 15 यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे। 16 दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अस्त्रहरू थिए अनि युद्धका निम्ति तयार थिए। 17-18 ती पाँच जासूसहरू घरभित्र पसे। पूजाहारी बाहिर फाटक छेउमा ती छ सय मानिसहरूका साथ उभिए जो युद्धका निम्ति तयार थिए। ती मानिसहरूले कुँदेको मूर्ति, एपोद र घर का-मूर्तिहरू उठाए। त्यो जवान लेवी पूजाहारीले भने, “तिमीहरू के गरिरहेछौ?”
19 ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल! हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”
20 यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिंडे।
21 त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।
22 दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्रे। 23 मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”
24 मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”
25 दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्रमण गर्न सक्छन्। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”
26 तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किगए।
27 यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्रमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्रमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
28 लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो। 29 दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।
30 दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।
31 दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।
एक लेवी मानिस अनि तिनकी स्त्री सेविका
19 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्।
एउटा लेवी व्यक्ति थिए जो एप्रैमको पहाडी देशको पछिल्तिर टाढा बस्थे। त्यस मानिसको एउटी स्त्री सेविकाको रूपमा थिइन् जो तिनको निम्ति पत्नी तुल्य थिइन्। ती सेविका यहूदा देशको बेतलेहेम शहरकी थिइन्। 2 तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहूदाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्। 3 तर तिनका पति तिनको पछि लागे। तिनी दयापूर्वक उनीसित बात गर्न चाहन्थे जसमा कि उनी तिनीकहाँ फर्केर आउनेछिन्। तिनले आफूसित आफ्ना सेवक अनि दुइवटा गधाहरू लगे। त्यो लेवी मानिस तिनका बाबुको घरमा आए। तिनका बाबुले त्यो लेवी मानिसलाई देखे अनि उसलाई अभिवादन जनाउन बाहिर निस्के। पिता अत्यन्तै खुशी थिए। 4 त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।
5 चौथो दिनमा विहानै तिनीहरू उठे। त्यो लेवी मानिस जानलाई तयार हुँदै थियो। तर त्यो जवान स्त्रीका बाबुले आफ्ना ज्वाँईलाई भने, “पहिला केही खाऊ। खाए पछि तिमी जान सक्छौ।” 6 यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए। 7 ती लेवी हिँड्नलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।
8 तब पाँचौ दिनमा ती लेवी मानिस बिहान छिट्टै उठे। तिनी हिंडनलाई तयार थिए। तर त्यस केटीका पिताले आफ्ना ज्वाँईलाई भने, “पहिला केही भोजन र विश्राम गर अनि आज बेलुकीसम्म बस।” तिमी खाना खाए पछि जान सक्छौ।
9 त्यो लेवी मानिस, तिनकी स्त्री सेविका अनि तिनका सेवक हिंडनलाई उठे। तर त्यस जवान स्त्रीका पिताले भने, “प्रायः रातपरि सक्यो। दिन प्रायः गइ सक्यो। यसर्थ राती यहीं बस अनि स्वयं आनन्द गर। भोलि बिहान तिमी चाँडै उठ्न सक्छौ अनि आफ्नो बाटो जान सक्छौ।”
10 तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुइ गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे। 11 दिन प्रायः बितिसकेको थियो। तिनीहरू यबूस शहरको नजिकमा थिए। यसकारण त्यो सेविकाले आफ्ना मालिक, ती लेवी, मानिसलाई भनिन्, “हामी यो यबूसी शहरमा बसौं। आजको रात यहाँ बसौं।”
12 तर उनको मालिक, ती लेवी मानिसले भने, “होइन! हामी यो अनौंठो शहरभित्र जानेछैनौं। ती मानिसहरू इस्राएली मानिसहरू होइनन्। हामी गिबा शहरमा जानेछौं।” 13 लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौं। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”
14 यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ। 15 यसर्थ तिनीहरू गिबामा बास बसे। तिनीहरूले त्यो शहरमा रात बिताउने योजना गरे। तिनीहरू त्यो शहरको चोकमा आए र बसे। तर कसैले पनि तिनीहरूलाई त्यो रात बस्न आफ्ना घरमा बोलाएनन्।
16 त्यो साँझ एक वृद्ध मानिस आफ्नो खेतबाट शहरमा आए। उसको घर एप्रैमको पहाडी देशमा थियो। तर अहिले ती गिबा शहरमा बस्दै थिए। (गिबाका मानिसहरू बिन्यामीनका कुल समूहका थिए।) 17 ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”
18 त्यो लेवी मानिसले उत्तर दियो, “हामी यहूदाको बेतलेहेम शहरबाट यात्रा गर्दै आएका हौं। हामी घर गइरहेका छौं। म एप्रैमको पहाडी देश पारि निकै परको हुँ। म यहूदाको बेतलेहेममा आएको थिएँ र अहिले घर फर्कदैछु तर कसैले पनि हामीलाई रात बिताउने ठाउँ दिएनन्। 19 तर हामीसित हाम्रो गधाहरूको लागि चार दिनका निम्ति पराल र दाना छ। अनि मसित मेरी सेवीका र मेरो सेवक र आफ्ना निम्ति रोटी र दाखरस छ।”
20 ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।” 21 तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।
22 त्यो लेवी मानिस र तिनीसित भएका मानिसहरू आनन्दित भइरहेको बेला त्यस शहरका केही मानिसहरूले त्यो घरलाई घेरे। ती अत्यन्त नराम्रा मानिसहरू थिए। तिनीहरूले ढोका धकेल्न थाले। तिनीहरूले त्यो वृद्ध मानिसलाई कराए त्यो घर जसको थियो। तिनीहरूले भने, “त्यो मानिसलाई बाहिर ल्याऊ, जो तिम्रो घरमा आएको छ। हामी त्यस व्यक्तिसित सहवास गर्न चाहन्छौं।”
23 त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन्। यस्तो भयानक पाप नगर। 24 हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई प्रयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”
25 तर ती नराम्रा मानिसहरूले वृद्ध मानिसको कुरा सुनेनन्। यसर्थ त्यस लेवी मानिसले आफ्नी सेविकालाई समातेर ती दुष्ट मानिसहरूसित बाहिर पठाइदिए। ती दुष्ट मानिसहरूले उसलाई घात पुर्याए अनि रातभरि उसलाई बलात्कार गरे। तब बिहान उज्यालो भए पछि तिनीहरूले उसलाई जान दिए। 26 बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लडिन्। ती उज्यालो नहुन्जेल त्यहाँ लडिरहीन्।
27 त्यो लेवी मानिस भोलिपल्ट बिहानै उठे। तिनी घरजान चाहन्थे। बाहिर जानलाई तिनले ढोका खोले। अनि ढोकाको सङ्घारमा एक हात झर्यो। त्यहाँ तिनकी स्त्री सेविका थिइन्। ती ढोकामा लडिरहेकी थिइन्। 28 त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइनन् तिनी मरिसकेकी थिइन्।
त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिंडे। 29 जब तिनी आफ्नो घरमा आइपुगे तब तिनले एउटा छुरी लिए अनि आफ्नी स्त्री सेविकाको मृत शरीरलाई बाह्र टुक्रा-टुक्रा पारेर काटे। त्यस पछि तिनले त्यस स्त्रीको बाह्र टुक्रा ती सबै क्षेत्रहरूमा पठाए जहाँ इस्राएलका मानिसहरू बस्थे। 30 त्यसलाई देख्ने हरेकले यसो भने, “इस्राएलमा अघि यस्तो कहिले भएको थिएन। मिश्रदेशबाट निस्केर आएको समयदेखि हामीले यस्तो कुनै कुरा देखेका थिएनौं। यस विषयमा विचार गर अनि के गर्नु पर्ने हामीलाई भन।”
इस्राएल अनि बिन्यामीन माझ युद्ध
20 यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए। 2 इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए। 3 बिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्राएलका मानिसहरू मिस्पामा एकसाथ भेट गरिरहेछन्। इस्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”
4 यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं। 5 तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो। 6 यसर्थ मैले मेरी स्त्री सेविकालाई लगें अनि उसको देहलाई टुक्रा-टुक्रा पारेर काटें। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक-एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्रा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे। 7 अब इस्राएलका सबै मानिसहरू, बोल्नुहोस्। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेऊ।”
8 तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अँहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन। 9 अब गिबा शहर प्रति हामी जे गर्छौ त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउन् भनी चिट्ठा गर्ने छौं। 10 हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”
11 यसर्थ इस्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए। 12 इस्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो? 13 गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्राएलका मानिसहरू माझको दुष्टता हटाउनै पर्छ।”
तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्। 14 बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए 15 बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए 16 त्यसमा देब्रेहातद्वारा लड्न सक्ने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।
17 बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्राएलका कुल समूहहरूका 4,00,000 सशस्त्र अनि लडकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए। 18 इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्रमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”
परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”
19 भोलीपल्ट विहानै इस्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले। 20 तब इस्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरूद्ध गिबा शहरमा तयार भए। 21 बिन्यामीन सेनाहरूले 22,000 इस्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।
22-23 इस्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए। तिनीहरूले परमप्रभुसँग सोधे, “हामी फेरि बिन्यामीनका मानिसहरूको विरूद्ध युद्ध गर्नु? ती मानिसहरू हाम्रा आफन्तहरू हुन्।”
परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरूद्ध युद्ध गर।” इस्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।
24 तब इस्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो। 25 बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।
26 त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे। 27 इस्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो। 28 त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”
परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”
29 तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए। 30 इस्राएलका सेना तेस्रो दिन गिबा शहरको विरूद्ध लडाँईं गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए। 31 बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरूद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गेरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो। 32 बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।”
इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे। 33 यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्रमण गरे। 34 इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्रमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घट्ना घट्नेवाला छ त्यो थाहा थिएन।
35 परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो। 36 यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।
इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्रमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए। 37 ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए। 38 अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।
39-41 बिन्यामीनका सेनाले प्रायः तीसजना इस्राएली सैनिकहरू मारेका थिए। यसर्थ बिन्यामीनका मानिसहरू भन्दै थिए, “हामी अघि जस्तै विजय गरिरहेछौं।” तर त्यसैबेला शहरबाट धुवाँको ठूलो बादल माथि उठ्न थाल्यो। बिन्यामीनका मानिसहरू घुमेर फर्किए अनि त्यो धूवाँ देखे। सम्पूर्ण शहर आगोको ज्वालामा थियो। तब इस्राएलका सेना भाग्न छाडे। तिनीहरू फर्किए र लड्न शुरूगरे। बिन्यामीनका मानिसहरू भयभीत भए। अब तिनीहरूले बुझे तिनीहरू प्रति कस्तो भयानक कुरा घट्नेछ।
42 यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरुभूमि तिर भागे। तर तिनीहरू लडाइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए। 43 इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे। 44 यसरी 18,000 साहसी अनि बलवान बिन्यामीन लडाकु सैनिकहरू मारिए।
45 बिन्यामीनका सेना फर्किए अनि मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरू 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।
46 त्यस दिन बिन्यामीन सेनाका 25,000 मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्वारा साहससित युद्ध गरे। 47 तर बिन्यामीनका 600 मानिसहरू मरुभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे। 48 इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।
बिन्यामीनका मानिसहरूका निम्ति पत्नीहरू प्राप्त गर्नु
21 मिस्पामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियोः “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”
2 इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए। 3 तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”
4 अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए। 5 तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेट्न आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा-शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।
6 तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ। 7 हामीले परमप्रभुको समक्ष एक भाकल गर्यौं। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन सक्छौं?”
8 तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन। 9 इस्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हेर्नलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन। 10 यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एवं केटा-केटीहरू समेतलाई मार। 11 तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले याबेश गिलादका हरेक मानिसलाई मार्नु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदेऊ। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे। 12 ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।
13 तब इस्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिम्मोनको चट्टान नामक स्थानमा थिए। 14 यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।
15 इस्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो। 16 इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु? 17 बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, तिनीहरूका सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नै पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन। 18 तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित बिवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौं ‘कुनै व्यक्ति माथि पनि नराम्रो घट्ना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’ 19 तिनीहरूले भने, ‘हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।’” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ तर लबानोन शहरको दक्षिणमा छ।)
20 यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस। 21 उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक-एकजना जवान स्त्री लेऊ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित बिवाह गर। 22 ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाइहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौ, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरूद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौं भनी शपथ खाएका थियौं। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।’”
23 यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे। 24 तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।
25 ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो।
यहूदाभित्र अनिकाल
1 धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए। 2 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, एप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे।
3 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे। 4 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एउटाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दश बर्ष बसे। 5 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्।
नाओमी घर जान्छिन्
6 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे। 7 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।
8 तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु। 9 म प्रार्थना गर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाँई खाईन अनि ती सबै रून थाले।
10 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौं।”
11 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्। 12 घर फर्कीजाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बृद्धा भइसकेकी छु। यदि म फेरि बिवाह गर्न सक्ने भए ता पनि म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्तैन। 13 तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुन्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
14 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाँई खाईन् अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।
15 नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”
16 तर रूथले भनिन्, “तपाईंलाई छाड्न मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किएर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्। 17 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिनँ भने म परमप्रभुसित दण्डको याचना गर्छु, केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”
घर फर्काइ
18 नाओमीले देखिन् कि रूथ तिनीसित जान खूबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्। 19 नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुइ स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”
20 तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ। 21 जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
22 यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबी स्त्री) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौं को बाली कट्ने समयमा बेतेलममा आए।
रूथले बोअजनलाई भेट्छिन्
2 बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका, एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए।
2 एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”
नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।”
3 यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।
4 पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।”
अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”
5 तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”
6 ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्। 7 ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन् अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊ परको घर उसको हो।”
8 तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न सँग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर। 9 कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
10 तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”
11 बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ। 12 तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”
13 तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”
14 दिनको खानको समयमा बोअजले रूथलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कामा भिजाएर खाऊ।”
यसर्थ रूथ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भूटेका अन्न दिए। रूथले नअघाएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए। 15 तब रूथ उठिन् अनि काममा फर्कि गइन्।
तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न सँग्रह गर्न देऊ। उसलाई नरोक्नु। 16 अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”
नाओमीले बोअजको बारेमा सुन्छिन्
17 साँझ नपरेसम्म रूथले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भूसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एपा जति जौं थियो। 18 रूथले सासूलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।
19 तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौ? तिमीले कहाँ काम गर्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।”
तब रूथले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाउँ बोअज हो।”
20 तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
21 तब मोआबी रूथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”
22 तब नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, उसकी नोकर्नीहरूसँग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान्।” 23 यसर्थ रूथले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिरहिन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। रूथ आफ्नी सासू नाओमीको साथ बसिन्।
खलामा
3 तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत् म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकुँ। त्यो तिम्रो निम्ति असल हुनेछ। 2 सम्भवत् बोअज नै सही व्यक्ती हुनसक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्। 3 जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्। 4 तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढ्ने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”
5 तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”
6 यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्। 7 खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।
8 आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्। 9 बोअजले भने, “तिमी को हौ?”
तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
10 तब बोअजले भने, “परमप्रभुले तिमीलाई आशिर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान् छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं। 11 अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ। 12 अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ, जो तिमीसित म भन्दा नजिकको आफन्त हो। 13 आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान नभएसम्म यहीं ढल्क।”
14 यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्।
बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।” 15 तब बोअजले भने, “तिम्रो ओढ्ने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।”
यसर्थ रूथले आफ्नो ओढ्ने खोलेर समातिन् अनि बोअजले छः पाथी[b] जस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।
16 रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?”
उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्। 17 तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”
18 नाओमीले भनिन्, “छोरी, के हुन्छ हामीले त्यो नसुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैनन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अघिबाट नै हामीले जान्ने छौं के हुनेछ।”
बोअज अनि अन्य आफन्त
4 बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”
2 तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।
3 तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो। 4 तिमीलाई यहाँ बसेका मानिसहरू अनि मेरा मानिसहरू बूढा पाका अगुवाहरूका समक्ष भन्ने मैले निश्चय गरें। यदि तिमी त्यो भूमिलाई फर्काउन चाहन्छौ भने तिमी त्यो फर्काउ यदि त्यो भूमि तिमी फिर्ता लिन चाहँदैनौ भने मलाई भन। म जान्दछु कि तिमीपछि त्यो भूमिलाई ऋण मुक्त तुल्याउनु सक्ने अर्को व्यक्ति मै हुँ। यदि तिमी त्यो भूमिलाई किनेर फिर्ता लिन चाहँदैनौ भने म किन्ने छु।”
5 तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”
6 त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।” 7 (धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।) 8 यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए।
9 तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो। 10 म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
11 यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने, “मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन, 12 तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन, अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”
13 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। 14 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्। 15 यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन्, अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्। 17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
रूथ अनि बोअजका परिवार
18 पेरेसको पारिवारिक इतिहास यो होः
पेरेस हेस्रोनका पिता थिए।
19 हेस्रोन रामका पिता थिए।
राम अम्मीनादाबका पिता थिए।
20 अम्मीनादाब नहशोनका पिता थिए।
नहशोन सल्मोनका पिता थिए।
21 सल्मोन बोअजका पिता थिए।
बोअज ओबेदका पिता थिए।
22 ओबेद यिशैका पिता थिए।
यिशै दाऊदका पिता थिए।
एल्कानाका परिवारले शीलोमा आराधाना गर्छन्
1 त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहिँ सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए।
2 एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्।
3 परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक बर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए। 4 जब एल्काना बलि चढाउने गर्थे, उसले उनकी पत्नी पनिन्ना र उनका छोरा-छोरीलाई भाग दिने गर्थे। 5 उनले हन्नालाई जहिले पनि बराबरी भाग भोजन दिन्थे उनले हन्नालाई बढी माया गर्थे किनभने परमेश्वरले उनको कोख बन्द गरिदिनु भएको थियो।
हन्नालाई पनिन्नाले सताउँथी
6 परमप्रभुले हन्नालाई बाँझी पार्नु भएको कारण पनिन्नाले तिनलाई रिस उठाउने गर्थी। 7 शीलोमा प्रत्येक बर्ष जब त्यो परिवार परमप्रभुलाई आराधना गर्न र बलिदान चढाउन जान्थे तब पनिन्नाहले हन्नालाई दुःख दिने गर्थिन् र खसालेर कुरा गर्ने र तिनलाई रूवाएर खाना नखानेसम्म बनाउँथिइन्। 8 यो सब देखेर एल्काना उनका पतिले भन्थे, “हन्ना तिमी किन रून्छौ? किन केही खाँदिनौ? तिमी किन यति दुःखी छौ? म तिम्रो लोग्ने हुँ र म तिम्रै हुँ। तिमीले सोच्नु पर्छ कि म दशजना छोराहरू भन्दा बढ्ता नै छु।”
हन्नाले प्रार्थना गर्छिन्
9 त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए। 10 हन्ना साह्रै नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी साह्रै रोइन्। 11 तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुन्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”[c]
12 हन्नाले धेरै बेरसम्म परमप्रभुलाई प्रार्थना गरिरहिनन्। प्रार्थना गर्दा एलीले हन्नाका ओंठ आवाज बिनै चलिरहेका देखे। 13 हन्नाले ओठ चलाए पनि आवाज ननिकालिकन साँच्चै उनको हृदयमा प्रार्थना गरिरहेकी थिइन्। 14 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।”
15 हन्नाले उत्तर दिइन्, “महाशय, मैले कुनै प्रकारको मद्यपान गरेकी छैन। म साह्रै दुःखमा परेकी छु। म त परमप्रभुसँग मेरो दुःखहरू पो बिन्ति गर्दैथिएँ। 16 तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।”
17 एलीले भने, “यदि त्यसो हो भने शान्तिसित जाऊ। इस्राएलका परमेश्वरले तिम्रो प्रार्थना अवश्य सुन्नु हुनेछ, अनि तिम्रो विन्ती पूरा गर्नु हुनेछ।”
18 हन्नाले भनिन्, “म आशा गर्छु तपाईं पनि मसँग खुशी हुनुहुन्छ।” तब हन्ना गइन् र केही खाने कुरा खाइन्। तिनी फेरि दुःखीत भइनन्।
19 भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।
शमूएलको जन्म
एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो। 20 तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएल[d] राखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”
21 त्यस बर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए। 22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैँलाई शीलोमा नै रहनेछ।”
23 हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइन्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचन[e] पूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।
हन्नाले शमूएललाई शीलोमा एली भएको ठाउँमा लैजान्छिन
24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन बर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।
25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए। 26 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु। 27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। 28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”
तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।
हन्नाले धन्यवाद दिन्छिन्
2 हन्नाले प्रार्थना गरिन्,
“परमप्रभुमा, म खुशी छु!
परमप्रभुमा म विजयको अनुभव गर्छु।
तपाईंको मुक्तिमा म खुशी छु,
अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2 परमप्रभु जस्तो पवित्र कोही छैन।
तपाईं बाहेक कोही परमेश्वर छैन।
हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
3 अब अहंकार हुदैन!
अहंकारपूर्ण वचनहरू अब छैन,
कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।
परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन्
अनि दुर्बलहरू बलिया भएका छन्।
5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू
अब काम नगरी भोजन नपाउने भएका छन्।
तर विगतमा जो भोक-भोकै थिए,
तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।
आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू
अहिले सातवटाकी आमा बन्न सफल छिन्!
तर जुन स्त्रीका धेरै सन्तानहरू थिए,
तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,
अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।
उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ
अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,
अनि उहाँले नै धनी बनाउनुहुन्छ,
परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ
र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,
अनि दुःख हटाई दिनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।
परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो
अनि त्यसमाथि संसार बनाउनु भयो।
9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,
ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,
तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।
तिनीहरूका शक्ति विजय प्राप्त गर्न
सहायक सिद्ध हुनेछैन।
10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।
सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ।
उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,
परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।
उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
11 एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालक चाहिँ शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो।
एलीका दुष्ट छोराहरू
12 एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन। 13 यसरी तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्थे। पूजाहारीहरूको कर्त्तव्य यो थियोः जब कोही मानिस बलिदान चढाउँथ्यो तब पूजाहारीले एउटा भाँडाको उम्लीएको पानीमा मासु पकाउनु पर्थ्यो। तब पूजाहारीको सेवकले त्रिशूल लिनु पर्थ्यो। 14 पूजाहारीको सेवकले हातमा तिखो त्रिशूल लिएर भाँडाको मासुलाई काँटाले घोच्नु पर्थ्यो। सेवकहरूले काँटाले घोचे जतिमात्र मासु पूजाहारीको भाग हुन्थ्यो। पूजाहारीले उनै इस्राएलीहरूका निम्ति यसो गर्नुपर्थ्यो जो शीलोमा बलिदान चढाउन आउँथे। 15 तर एलीका छोराहरूले यसो गरेनन्। बोसोलाई वेदीमा जलाउनु अघि नै पूजाहारीका सेवक आएर बलिदानको पवित्र भेटि यसरी भनेर सोध्ने गर्थ्यो, “पूजाहारीको लागि पकाउनलाई केहि मासु देऊ, पूजाहारीले पकाएको मासु ग्रहण गर्दैनन् खाली काँचो मासु मात्र।”
16 बलि चढाउने मानिसले भन्थ्यो, “पहिले बोसोलाई जलाउँ त्यसपछि तिमीलाई चाहिए जति लैजाऊ।” यदि यस्तो परिस्थितिमा भने पूजाहारीको सेवकले भन्थ्यो, “होइन, त्यो मलाई अहिले नै मासु दिइहाल, यदि दिंदैनौ भने म खोसेर लैजानेछु।”
17 यस्तो प्रकारले ती दुइ पूजाहारी होप्नी र पीनहासले परमप्रभु प्रति चढाइएको बलिदानहरूमा श्रद्धा देखाएनन्। तिनीहरूले परमप्रभुको विरूद्धमा महा-पाप गरे।
18 तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ। 19 प्रत्येक बर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक बर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्।
20 एलीले एल्काना र तिनकी पत्नीलाई आशीर्वाद दिन्थे। एलीले भने, “परमप्रभुले यो बालक जसलाई तिमीले परमप्रभुको सेवाको लागि माग्यौ यसको ठाउँमा अरू धेरै नानीहरू परमप्रभु तिनीहरूका साथ आशिष दिउन्।”
एल्काना र हन्ना घर फर्किए अनि 21 परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले तीनवटा छोरा र दुइवटी छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो।
एलीले दुष्ट छोराहरूलाई तह लगाउन सकेनन्
22 एली साह्रै वृद्ध भएका थिए। उसले आफ्ना छोराहरू बार-बार शीलोमा इस्राएलीहरूसित गरेका व्यवहार सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग तिनीहरूले सहवास गरेको कुरा पनि एलीले सुने।
23 एलीले आफ्ना छोराहरूलाई भने, “तिमीहरूले गरेका दुष्ट कार्य मानिसहरूले मलाई सुनाउँछन्। त्यस्ता दुष्ट कार्य किन गर्छौ? 24 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्। 25 मानिसले मानिसको विरूद्धमा दुष्ट कार्य गरेकोमा परमेश्वरले त्यसको न्याय गर्नु हुनेछ। तर कसैले परमप्रभुको विरूद्धमा पाप गर्छ भने, कसले उसलाईं परमेश्वरसित सहायता गर्नेछ?”
तर एलीका दुष्ट छोराहरूले पिताका कुरा सुन्न अस्वीकार गरे। तर परमेश्वरले पहिले नै निर्णय लिइसक्नु भएको थियो कि तिनीहरू मर्ने थिए।
26 बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।
एलीको परिवारमा डरलाग्दो अगमवाणी
27 परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ। 28 इस्राएल भरिका कुलहरू मध्ये तेरो पिताको कुललाई मेरो पूजाहारीको रूपमा चुनेको थिएँ। मैले तिनीहरूलाई मेरो वेदीमाथि धूप बाल्न र मेरो उपस्थितिमा एपोद लाउन छानेको थिएँ। इस्राएलीहरूले चढाएका बलिको भाग उनीहरूसित मैले बाँडे। 29 तर तैंले ती बलि र भेटीहरूमा मेरो आदेश अनुसार आदर गरिनस्। मलाई भन्दा ज्यादा तैंले तेरो छोराहरूलाई सम्मान दिइस्। इस्राएलका मेरा मानिसहरूले मलाई चढाएको पवित्र बलिको भोजन खाएर तँ मोटाएकोछस्।’
© 2004, 2010 Bible League International