Bible in 90 Days
38 हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौंडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो। 39 हीरामले मन्दिरको दक्षिणतिर पाँचवटा अनि उत्तरतिर अरू पाँचवटा ठेलागाडीहरू स्थापित गरेका थिए। 40-45 हीरामले भाँडाहरू, बेल्चा अनि स-साना बटुकाहरू बनाए। हीरामले सबै जिनिसहरू राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहरूको सूची यस्तो छः
2 खाम्बाहरू;
खाम्बाहरूको माथि बटुका जस्ता 2 मुकुटहरू;
वरिपरि ढाक्ने जालीहरू;
2 जालीका लागि 400 वटा दारीमहरू;
खाम्बाहरूको माथि दुइवटा बटुकाहरूलाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहरू थिए।
प्रत्येक ठेलागाडामा बटुका भएको 10 ठेलागाडाहरू;
तल बाह्रवटा साँढेहरू माथि ठूलो भाँडो;
भाँडाहरू, स-साना बेल्चाहरू, स साना बटुकाहरू;
अनि सबै भाँडा-कुँडाहरू परमप्रभुको मन्दिरकालागि।
हीरामले यी सबै सामानहरू राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहरू सबै पालिस लगाएको काँसाको बनाइएका थिए। 46-47 सुलेमानले यी चीजहरू बनाउनमा प्रयोगगरिएको काँसा कहिले पनि जोखेनन्। जोख्नु उचित थिएन। यस कारण काँसाको सम्पूर्ण ओजन थाह भएन। राजाले यी चीजहरू सुक्कोत र शरतानबीच यर्दन नदीको छेऊमा बनाउने आदेश दिएका थिए। तिनीहरूले यी जिनिसहरू काँसा गलाएर अनि भूईंमा बनाइएको साँचोमा ढालेर बनाए।
48-50 सुलेमानले धेरै सुनका सामानहरू मन्दिरका लागि बनाउने आदेश पनि दिए। सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहरू यी हुन्;
सुनको वेदी; सुनको टेबल,
परमेश्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।
सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए);
सुनका फूलहरू, दियोहरू अनि चिम्टाहरू;
शुद्ध सुनका कचौराहरू, बाती छिमल्ने कैंचीहरू, स-साना कचौराहरू, थालहरू अनि कोइला बोक्ने धूपौराहरू;
मुख्य कक्षका दैलाहरूका लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को दैलाहरूका लागि सुनका कब्जाहरू बनाए।
51 यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे। तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए। उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।
मन्दिरमा करारको सन्दूक
8 त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे। 2 यसकारण सबै इस्राएलका मानिसहरू बर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहरू सुलेमानसित भेला हुन्थे।
3 इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए। 4 तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए। 5 राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेंडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन। 6 तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा-पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पखेंटाको तल स्थापित गरियो। 7 करूब स्वर्गदूतहरूका पखेंटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए। 8 यी थाम्ने खाम्बाहरू धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहरूको छेऊ देख्न सकथ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहरूलाई देख्न सक्दैन थिए। खाम्बाहरू आज पनि त्यहाँ छन्। 9 पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो
10 पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो। 11 पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो। 12 तब सुलेमानले भनेः
“परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो,
तर उहाँले कालो बादलमा बस्न मन पराउनुभयो।
13 मैले तिम्रो लागि अचम्मको मन्दिर बनाएँ,
एउटा ठाउँ, जहाँ तिमी सधैँ बस्ने छौ।”
14 इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे। 15 तब राजा सुलेमानले भने,
“परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो। 16 ‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’
17 “मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए। 18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ। 19 तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’
20 “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छु। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें। 21 मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”
22 तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर। 23 उनले भनेः
“परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुशरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ। 24 तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो। 25 अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सधैँनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’ 26 अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।
27 “तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ? 28 तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसँग प्रार्थना गरिरहेको छु। 29 विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्। 30 परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थना सुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।
31 “यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु। 32 तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।
33 “कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्। 34 कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।
35 “कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्। 36 यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।
37 “धर्ती साह्रै नै सुख्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्। 38 जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ। 39 तपाईंले आफ्नो वासस्थान स्वर्गबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रके छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्। 40 यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिन्जेलस बाँच्ने छन् त्यतिन्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस्न दिनु हुनेछ।
41-42 “अरू ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्। तिनीहरू टाढा-टाढाबाट यस मन्दिरमा प्रार्थना गर्न आउने छन्। 43 स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। कृपया अरू ठाऊँका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊँका मानिसहरूले जान्नेछन्, मैंले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।
44 “कहिले-काहिँ तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढ्ने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्। 45 त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।
46 “तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्रोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्। 47 त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’ 48 तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुँदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए। 49 तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्। 50 तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्। 51 सम्झना रहोस, तिनीहरू तपाईंकै जाति हुन्। सम्झना रहोस, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।
52 “हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसँग बिन्ती गर्छन्। 53 तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”
54 सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए। 55 तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः
56 “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ! 57 म प्रार्थनागर्छु, परमेश्वर सधैँ हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोड्नुहुनेछैन। 58 म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुशरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो। 59 म आशा गर्छु, हाम्रा परमप्रभुले सधैँ नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ। 60 (जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ। 61 सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सधैँ नै उहाँको विधि-विधान र आदेशहरू अनुशरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”
62 तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए। 63 सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेंडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।
64 त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आँगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।
65 यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए। 66 अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।
परमेश्वर सुलेमान कहाँ फेरि आउँनु हुन्छ
9 यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे। 2 तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो। 3 परमप्रभुले उनलाई भन्नुभयोः
“मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सधैँ विचार राख्ने छु। 4 तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र ईमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ। 5 यदि तिमीले यी सब कामहरू गर्यौ भने म तिम्रो परिवारबाट एक जनालाई सधैँ इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो सन्तानहरूबाट एक जनाले चलाउने छ।
6 “तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुशरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौ भने, 7 तब म इस्राएललाई त्यो भूमि छोड्न वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुशरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु। 8 यो मन्दिर ध्वंस हुनेछ। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’ 9 अरू मानिसहरूले जवाफ दिनेछन्, ‘यस्तो किन भयो भने तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई त्यागेका थिए। उनले आफ्ना पुर्खाहरूलाई मिश्रबाहिर ल्याएका थिए। तर तिनीहरूले अरू नै देवताहरूका अनुशरण गर्ने निर्णय लिए। तिनीहरू ती देवताहरूको पूजा र सेवा गर्न थाले। यसकारणले गर्दा परमप्रभुले यी सबै नराम्रा कार्यहरू तिनीहरूका लागि गरिदिनु भयो।’”
10 परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस बर्ष लाग्यो। 11 अनि बीस बर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए। 12 यसर्थ हीरामले सोरबाट शहरहरू र्हेर्न यात्रा शुरू गरे जो सुलेमानले दिएका थिए। जब उनले ती शहरहरू देखे, उनी खुशी भएनन्। 13 उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ। 14 हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।
15 राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।
16 कुनै समय मिश्रका राजाले गेसेर शहर माथि आक्रामण गरेका थिए यसलाई भस्म पारेका थिए। उनले कनानी मानिसहरूलाई मारे जो त्यहाँ बस्ने गर्दथे। सुलेमानले फिरऊनकी छोरीसँग विवाह गरे। यस कारण फिरऊनले त्यो शहर सुलेमानलाई विवाहको दाईजोको रूपमा दिए। 17 सुलेमानले त्यो शहर फेरि बनाए। सुलेमानले तल्लो बेत-हेरोन पनि बनाए। 18 राजा सुलेमानले यहूदा मरुभूमिमा बालात र तामार शहर पनि बनाए। 19 राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।
20 ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए। 21 इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्। 22 सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए। 23 सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ता-कर्ता थिए जो काम गर्दथे।
24 फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।
25 सुलेमान बर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अघि धूप पनि जलाउँने गर्दथे। तिनले मन्दिरलाई राम्रो अवस्थामा राखे।
26 राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ। 27 राजा हीरामसित केही मानिसहरू थिए जो समुद्रको विषयमा मनग्गे जान्दथे। ती मानिसहरू प्रायः जहाजमा यात्रा गर्दथे। राजा हीरामले ती मानिसहरूलाई सुलेमानको नाविक बेडामा सेवा गर्न सुलेमानका मानिसहरू सँग काम गर्न पठाए। 28 सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।
शबाकी रानीको सुलेमानसँग भेट
10 शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्। 2 तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्। 3 सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन। 4 शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए। 5 रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, लामो सास फेर्ने बनाइ दिए।
6 यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ! 7 मैले तबसम्म विश्वास गरेकी थिइनँ जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइनँ। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ। 8 तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खुशी हुनुभयो अनि तपाईंलाई इस्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो। 9 परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। उहाँले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”
10 तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।
11 हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए। 12 सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।
13 तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।
14 राजा सुलेमानले प्रत्येक बर्ष तौल 666 तोडा[a] सुन प्राप्त गर्दथे। 15 व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।
16 राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो। 17 तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।
18 राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके। 19 सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू। 20 छःवटा सिंढीहरूमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।
21 सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चाँदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।
22 राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन बर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको बाँदरहरू र मजुरहरू ल्याउने गर्थ्यो।
23 सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए। 24 सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे। 25 प्रत्येक बर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।
26 यसकारण सुलेमानसँग धेरै-धेरै रथहरू र घोडाहरू थिए। उनीसँग 1,400 रथ अनि 12,000 घोडाहरू थिए। सुलेमानले ती रथहरूका लागि विशेष शहरहरू बनाए। यसकारण रथहरू ती शहरहरूमा राखिएको थिए। राजा सुलेमानले केही रथहरू यरूशलेममा आफूसँग पनि राखेका थिए। राजाले इस्राएललाई समृद्ध बनाएका थिए। 27 राजाले इस्राएललाई एउटा धनी देश बनाए। यरूशलेम शहरमा चाँदी, चट्टान जस्तैं सामन्य थियो अनि देवदारको काठ निम्ति भूमितिर उम्रने प्रशस्त अञ्जीरको रूख जस्तैं सामान्य थियो। 28 सुलेमानले मिश्र अनि क्यूएबाट घोडाहरू ल्याएका थिए। उनका व्यापारीहरूले तिनीहरूलाई क्यूएमा किने अनि इस्राएलमा ल्याए। 29 मिश्रको एउटा रथको मोल लगभग 15 पौड़ चाँदी थियो अनि एउटा घोडाको मोल पौने 4 पौड़ चाँदी थियो। सुलेमानले हित्ती र अरामीका राजाहरूलाई घोडा र रथहरू बिक्री गरिदिए।
सुलेमान अनि उनकी धेरै पत्नीहरू
11 राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी आइमाईहरूलाई धेरै माया गर्दथे। तिनीहरूमा फिरऊनकी छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए। 2 बितेको समयमा इस्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमीले गर्यौ भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुशरण गर्न वाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेममा परे। 3 सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे। 4 जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुशरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुशरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए। 5 सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे। 6 यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुशरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।
7 सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो। 8 तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।
9 सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो। 10 परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुशरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्। 11 यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्ग बनाउन मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु। 12 तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु। 13 तैपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।”
सुलेमानका शत्रुहरू
14 त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए। 15 यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाड़न गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे। 16 योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए। 17 तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए। 18 तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।
19 फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यावस्था गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्। 20 यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गनूबत राखे। रानी तहपनेसले गनूबतलाई आफ्ना नानीहरूसँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।
21 मिश्रमा हददले सुने, दाऊदको चोला उठ्यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”
22 तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?”
हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुहोस्।”
23 परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए। 24 दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए। 25 रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुन्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।
26 नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।
27 यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए। 28 यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले यारोबाम एकदमै परिश्रमी भएको थाहा पाउनुभयो। यस कराण सुलेमानले यारोबामलाई यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाल बनाए। 29 एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।
30 अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे। 31 तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु। 32 अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ। 33 म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुशरण गर्न छोडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँच्चो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिँडेन जसरी उसका पिता दाऊद हिंडेका थिए। 34 यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे। 35 तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु। 36 म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यसकारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोअघि सधैँ रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ। 37 तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ। 38 यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सुम्पनेछु। 39 म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।’”
सुलेमानको मृत्यु
40 सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुन्जेलसम्म बसें।
41 सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्। 42 सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस बर्षसम्म शासन गरे। 43 सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।
गृह युद्ध
12 रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए। 2 जब तिनले यो सुने अझ नबातका छोरो यारोबाम मिश्रमा नै थिए। तिनी राजा सुलेमानबाट भागेका थिए र मिश्रमा बसेका थिए। तिनी र सारा इस्राएली समूह रहबाम कहाँ गए अनि भने, राजा सुलेमान मरेपछि उनलाई उनका पूर्खाहरू सित गाडीयो। त्यसपछि उनका छोरा रहबाम नयाँ राजा भए। 3 इस्राएलका सबै मानिसहरू शकेम गए।
तिनीहरू रहबामलाई राजा बनाउन गएका थिए। रहबाम पनि राजा हुनका लागि शकेम गए। मानिसहरूले रहबामलाई भने, 4 “तिम्रा पिताले हामीलाई कठोर परिश्रम गर्न वाध्य गराए। अब यसलाई हाम्रो लगि सजिलो बनाऊ। तिम्रा पिताले हामी माथि लगाएको कठोर कार्य रोक। तब हामी तिम्रो सेवा गर्नेछौं।”
5 रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए।
6 केही बूढापाका मानिसहरू थिए जसले सुलेमानलाई जिउँदो रहदा निर्णय लिनुमा सघाएका थिए। यसैकारण राजा रहबामले ती मानिसहरूलाई उनले के गर्नुपर्छ भनी सोधे। उनले भने, “ती मानिसहरूलाई म के उत्तर दिनेछु यस बारेमा तिमीहरू के सोच्छौ?”
7 ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग ईमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”
8 तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए। 9 रहबामले भने, “मानिसहरूले भने, ‘तिम्रा पिताले हामीलाइ दिएको काम भन्दा सजिलो काम देऊ।’ यी मानिसहरूलाई के उत्तर दिनु हो यस बारे के भन्छौ? तिनीहरूलाई मैले के बताउनु पर्ने हो?”
10 राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ। 11 मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।’”
12 रहबामले मानिसहरूलाई बताएका थिए, “म कहाँ तेस्रो दिनमा आऊ।” यसकारण तीन दिनपछि इस्राएलका मानिसहरू रहबाम भए कहाँ फर्केर आए। 13 त्यस समयमा राजा रहबामले तिनीहरूसँग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्। 14 उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।” 15 यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।
16 इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः
“के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौं।
के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं।
यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं।
दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!”
यसकारण इस्राएलका मानिसहरू घर फर्किए। 17 तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यूहदाका शहरहरूमा बसेका थिए।
18 अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसँग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढ्न हतारिए अनि भागेर यरूशलेम गए। 19 यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।
20 इस्राएलका सबै मानिसहरूले यारोबाम फर्किएर आएको सुने। त्यसकारण तिनीहरूले उनलाई सभामा बोलाए अनि उनलाई सम्पूर्ण इस्राएलको राजा बनाए। यहूदाको एउटा समूहले मात्र दाऊदको परिवारलाई अनुशरण गरिरह्यो।
21 रहबाम यरूशलेम फर्किए। उनले यहूदा अनि बिन्यामीनको कुल समूहहरूलाई जम्मा गरे। त्यो 1,80,000 सैनिकहरूको फौज थियो। सुलेमानका छोरा रहबाम इस्राएलका मानिसहरूको विरूद्ध लडाँइ गर्न चाहन्थे। उसले उसको राज्य फिर्ता लिन चाहन्थे। 22 तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो, 23 “यहूदाका राजा, सुलेमानका छोरा रहबाम अनि यहूदा तथा बिन्यामीनका मानिसहरूसँग पनि कुरा गर। 24 उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।’” यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।
25 शकेम एप्रेमको पहाडी प्रदेशमा एउटा शहर थियो। यारोबामले शकेमलाई अत्यन्त सुदृढ शहर बनाए अनि त्यहाँ बस्न थाले। त्यसपछि उनी पनूएल शहर गए अनि त्यसलाई शक्तिशाली बनाए।
26-27 यारोबामले आफैं विचार गरे, “यदि मानिसहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गइरहे पनि तिनीहरू दाऊदको परिवारद्वारा शासित हुनेछन्। यहूदाका राजा रहबामलाई मानिसहरूले फेरि अनुशरण गर्नेछन्। तब तिनीहरूले मलाई मार्नेछन्।” 28 यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।” 29 राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे। 30 तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बेतेल र दान शहरहरूमा यात्रा गरे।
31 यारोबामले अग्ला ठाउँहरूमा मन्दिरहरूको पनि निर्माण गरे। उनले इस्राएलका विभिन्न कुल समूहहरूबाट पूजाहारीहरू पनि छाने। (तर उसले मानिसहरूबाट पूजाहारीहरू छाने। यद्यपि तिनीहरू लेवीहरू थिएनन्।) 32 अनि राजा यारोबामले आठौं महिनाको पन्ध्रौं दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाईने जस्तैं थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तैं नै थियो। तर यो चाड आठौं महिनाको पन्ध्रौं दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौं दिनमा पर्दैनथ्यो। त्यस समयमा राजा बेतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बेतेलका अग्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए। 33 यसकारण यारोबामले इस्राएलीहरूको चाड मनाउन आफ्नै समय ठीक गरे। यो आठौं महिनाको पन्ध्रौं दिन थियो। त्यस समयमा उनी बेदीमा बलिहरू चढाउने गर्दथे अनि धूप बाल्दथे जो उनले बनाएका थिए। यो बेतेल शहरमा थियो।
परमेश्वर बेतेलको विरूद्धमा बोल्नुहुन्छ
13 परमप्रभुले यहूदाका एक जना परमेश्वरको जन अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे। 2 परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने,
“वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि प्रयोगमा आउने छैनौ!’”
3 यी घटनाहरू हुनेछन्, भनेर त्यस परमेश्वरको जनले मानिसहरूलाई प्रमाण देखाए। उनले भने, “परमप्रभुले मलाई बताएको प्रमाण यो नै हो। परमप्रभुले भन्नुभयो, ‘यो वेदी भत्किने छ अनि यसको सबै खरानी भूईंमा खस्ने छ।’”
4 जब राजा यारोबामले बेतेलको वेदीको विषयमा परमेश्वरको जनबाट जानकारी पाए, उसले वेदीबाट आफ्नो हात हटाए अनि त्यस मानिस तिर देखाए। उनले भने, “त्यो मानिसलाई बन्दी बनाऊ!” तर जब राजाले यसो भने, उसको हात कुँजो भइहाल्यो। उसले उसको हात चलाउन सकेन। 5 वेदी पनि टुक्रा-टुक्रा भएर भत्कियो। वेदीको सबै खरानी भूईंमा छरियो। त्यो परमेश्वरको जनले भनेका प्रमाण थियो त्यो वचन परमप्रभुबाट भविष्यवाणि भएका थियो। 6 तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वरसँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।”
यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो। 7 तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”
8 तर परमेश्वरको जनले राजालाई भने, “यदि तिमीले मलाई तिम्रो आधा राज्य दिए पनि म तिमीसँग तिम्रो घर जाने छैन, म यहाँ कुनै चीज खाने पिउने छैन। म यस ठाउँमा न कुनै चिज खाने छु नता पीउने नै छु। 9 परमप्रभुले मलाई कुनै चिज नखानु अथवा नपिउनु भनी आदेश दिनु भएको छ। परमप्रभुले मैले आउँदा प्रयोगगरेको बाटोमा पनि न हिंड्नु भनी आदेश दिनुभएको थियो।” 10 यसकारण अर्को बाटोबाट उनले यात्रा गरे। उनले त्यही बाटोबाट यात्रा गरेनन् जुन उनले बेतेलमा आउँदा हिँडेका थिए।
11 बेतेल शहरमा एक जना वृद्ध अगमवक्ता बस्दै थिए। उनका छोराहरू आए अनि बेतेलमा परमेश्वरको जनले गरेको कार्यको विषयमा उनलाई बताए। तिनीहरूले आफ्ना पितालाई परमेश्वरको जनले राजा यारोबामलाई बताएको कुरा सुनाए। 12 बूढा अगमवक्ताले भने, “उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो। 13 बूढा अगमवक्ताले आफ्ना छोराहरूलाई गधा माथि काठी कस्नु भने यसकारण तिनीहरूले गधामाथि काठी कसे। तब अगमवक्ता गधामा चढेर हिंडे।
14 बूढा अगमवक्ता परमेश्वरका जनको पछि लागे। बूढा अगमवक्ताले परमेश्वरका जनलाई एउटा तारपीनको रूखतल बसेको पाए। बूढा अगमवक्ताले सोधे, “के तिमी नै परमेश्वरका जन हो जो यहूदाबाट आएको हो?”
परमेश्वरका जनले बताए, “हो, म नै हुँ।”
15 तब बूढा अगमवक्तले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”
16 तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिनँ। 17 परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।’”
18 तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”
19 यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे। 20 जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्तासँग बोल्नु भयो। 21 अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ। 22 परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।”
23 परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिँडे। 24 घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए। 25 केही अरू मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।
26 बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिंह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।” 27 तब अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो गधा माथि काठी कस।” यसकारण उनका छोराहरूले उनको गधा माथि काठी कसे। 28 बूढा अगमवक्ता निस्के अनि बाटोमा लाश पाए। गधा र सिंह अझै त्यसको छेउमा उभिएका थिए। सिंहले लाशलाई खाएको थिएन अनि यस गधालाई केही गरेको थिएन।
29 बूढा अगमवक्ताले आफ्नो गधामाथि लाश राखे। उनले लाश शहरमा शोक मनाउन अनि गाड्न ल्याए। 30 बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रूदै विलाप गरे, “हे मेरो भाइ।” 31 त्यसपछि बूढा अगमवक्ताले लाश गाडे। तब उनले आफ्नो छोराहरूलाई भने, “जब म मर्छु, मलाई यही चिहानमा गाड्नु। मेरा हाडहरू उसको छेउमा रहुन्। 32 परमेश्वरले उनको माध्यमद्वारा जे बोल्नु भएको थियो साँच्चै नै साँच्चो साबित हुनेछ। परमप्रभुले उनलाई बेतेल र सामरियाको डाँडाको शहरमा भएका वेदीहरूको विरोधमा बोल्नु भन्नु भएको थियो।”
33 राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो। 34 त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।
यारोबामको छोरा को मृत्यु
14 त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो। 2 यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्। 3 अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”
4 यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए। 5 तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?
यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्। 6 अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्। 7 फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ। 8 दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैँ नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुशरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें। 9 तर तिम्रा पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिम्रो आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायौ अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्राधित बनायौ, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ। 10 यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु। 11 शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।’”
12 तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ। 13 सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ। 14 परमेश्वरले इस्राएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोबामको परिवारलाई नष्ट पार्नेछ। यो घट्ना चाँडै नै हुनेछ। 15 तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे। 16 यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”
17 यारोबामकी पत्नी तिर्सा शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो। 18 सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।
19 राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 20 यारोबामले 22 बर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।
21 त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 बर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 बर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमाको नाउँ नामा थियो। उनी अम्मोनी स्त्री थिइन्।
22 यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईर्ष्यँलु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे। 23 मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए। 24 त्यस भूमिमा पुरूष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेद्नु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तैं नै नराम्रो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।
25 रहबामको शासनकालको पाँचौ बर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रामण गरे। 26 शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढुकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए। 27 यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए। 28 हरेक समय राजा परमप्रभुको मन्दिरमा जाँदा रक्षकहरू उनीसँग जाने गर्दथे। तिनीहरू ढाल बोक्नेगर्दथे। जब तिनीहरू काम पूरा गरिसक्थे, रक्षक कक्षको भित्तामा ढालहरू राख्नेगर्दथे।
29 राजा रहबामले जे कामहरू गरे त्यो सबै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लिखित छ। 30 रहबाम र यारोबाम सधैँ नै एका अर्कासँग युद्ध गरिरहन्थे।
31 रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरूसँगै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। (उनकी आमा नामा थिइन्। तिनी एक जना अम्मोनी थिइन्।) रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।
यहूदाका राजा अबियाम
15 अबियाम यहूदाका नयाँ राजा भए। नाबातका छोरा यारोबामले इस्राएलमा शासन गर्दा अठाह्रौं बर्षमा यस्तो भयो। 2 अबियामले यरूशलेममा तीन बर्ष शासन गरे। उनकी आमाको नाउँ माका थियो। तिनी अब्शालोमकी छोरी थिइन्।
3 उनले त्यस्तै सबै पापका कामहरू गरे जस्तो उनका पिताले गरेका थिए। अबियाम परमप्रभु आफ्नो परमेश्वर प्रति विश्वासी थिएनन्। यसकारण उनी आफ्नो हजूरबा दाऊद जस्तो विश्वासी थिएनन्। 4 दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो। 5 दाऊदले सधैँ नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सधैँ नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।
6 रहबाम र यारोबामको बिचमा युद्ध अबियामको जीवन भरी नै चलिरह्यो। 7 अबियामले जे काम गरे सबै नै यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
अबियाम राजा भएको समयमा अबियाम र यरोबामबीच युद्ध भइरह्यो। 8 जब अबियामको मृत्यु भयो उसलाई दाऊदको शहरमा गाडियो। अबियामको छोरा आसा नयाँ राजा भए।
यहूदाका राजा आसा
9 इस्राएलमा यारोबाम राजा भएको बिसौं बर्षमा आसा यहूदाका राजा भए। 10 आसाले यरूशलेममा 41 बर्ष शासन गरे। उनकी हजूरआमाको नाउँ “माका” थियो। अनि “माका” अब्शालोमकी छोरी थिइन्।
11 आसाले आफ्ना पिता-पुर्खा दाऊदले गरे जस्तैं परमप्रभुले जे स्वीकृत गर्नु भएको थियो त्यो कामहरू मात्र गरे। 12 त्यस समयमा यस्ता मानिसहरू थिए जो आफ्नो शरीर यौनका लागि बेचेर अरू देवताहरूको सेवा गर्दथे। आसाले ती मानिसहरूलाई देश छोड्न वाध्य गराए। आसाले ती मूर्तिहरू पनि हटाए जो उनका पुर्खाहरूले बनाएका थिए।
13 आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए। 14 उसले अग्ला ठाउँको पूजास्थानहरू भत्काएनन् तर उनी आफ्नो जीवनभरी परमप्रभु प्रति सम्पूर्ण हृदयले विश्वासी रहे। 15 आसा र उनका पिताले परमेश्वरलाई केही चीजहरू दिए। तिनीहरूले सुन, चाँदी र अरू चीजहरूको उपहार दिए। आसाले ती सबै चीजहरू मन्दिरमा राखे।
16 राजा आसा यहूदाका राजा भएको समयमा उनी सधैँ इस्राएलका राजा बाशाको विरोधमा लडिरहेको हुन्थे। 17 इस्राएलका राजा बाशा यहूदाको विरूद्धमा लडे। बाशाले उसका मानिसहरूलाई आसाको देश यहूदा जाने देखि रोक्न चाहन्थे। यसकारण उनले रामा शहरलाई साह्रै सुदृढ बनाए। 18 यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिशक बेनहददको राजधानी शहर थियो। 19 आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस् जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामीलाई अलग छोड्नेछ।”
20 राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, आबेल-बेतमाका, गलील पोखरीको वरिपरिका शहर अनि नप्तालीका इलाकामा लड्न पठाए। 21 बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिर्सातिर फर्किए। 22 तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।
23 राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो। 24 तिनी मरे अनि उनलाई उनका पुर्खा दाऊदको शहरमा गाडियो। तब आसाका छोरा यहोशापात उनीपछि नयाँ राजा भए।
इस्राएलका राजा नादाब
25 आसाको शासनकालको दोस्रो बर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ बर्ष शासन गरे। 26 नादाबले परमप्रभुले जे नराम्रो सम्झे त्यही गरे। उनले पापका कामहरू त्यसरी गरे जसरी उनका पिता यारोबामले गरेका थिए। यारोबामले पनि इस्राएल मानिसहरूलाई पाप गर्न लगाए।
27 बाशा अहियाहका छोरा थिए। तिनीहरू इस्साकार कुस समूहका थिए। बाशाले राजा नादाबलाई मार्ने योजना बनाए। नादाबको शासनकालमा सम्पूर्ण इस्राएल गिब्बतोन शहर को विरूद्ध लडिरहेको थियो। यो एउटा पलिश्तीहरूको शहर थियो। त्यस ठाउँमा बाशाले नादाबलाई मारे। 28 आसा यहूदाका राजा भएको समय तेस्रो बर्षमा यो घटना भयो। अनि आशा इस्राएलका अर्का राजा भए।
इस्राएलका राजा बाशा
29 बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो। 30 यस्तो भयो किन यारोबामले धेरै पापका कामहरू गरेका थिए। अनि यारोबामले इस्राएलका मानिसहरूलाई धेरै पाप गर्न लगाए। यारोबामले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।
31 अरू कार्यहरू जे जति नादाबले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 32 बाशाले इस्राएलमा शासन गरेको समयमा उनी यहूदाका राजा आसाको विरोधमा युद्ध गरिरहेकाथिए।
33 आसाले यहूदामा शासन गरेको तेस्रो बर्षमा अहियाहका छोरा बाशा इस्राएलका राजा भए। बाशाले तिर्सामा 24 बर्ष शासन गरे। 34 तर बाशाले त्यही सब कामहरू गरे जसलाई परमप्रभुले भूल कामहरू थिए भनि भनेको थियो। उनले पनि ती पापहरू गरे जो यारोबामले गरेको थियो। यारोबामले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए।
16 तब परमप्रभुले हनानीका छोरा येहू सित बोल्नु भयो। परमप्रभु राजा बाशाको विरोधमा बोल्दै हुनुहुन्थ्यो। 2 “बाशा, मैले तिमीलाई धूलोबाट माथि उठाएँ अनि मैले तिमीलाई मेरो इस्राएलका मानिसहरूको राजकुमार बनाएँ। तर तिमीले यारोबामको बाटो पहिल्यायौ। तिमीले मेरा इस्राएली मानिसहरूलाई पाप गर्न लगायौ। तिमीहरूले आफ्नो पापद्वारा मलाई रीस उठायौ। 3 यसकारण नै म तिमी, बाशा र तिम्रो परिवारलाई नष्ट पार्नेछु। म तिमी सित त्यस्तैं व्यवहार गर्नेछु जस्तो मैले नबानतका छोरा यारोबामको परिवार सित गरेको थिएँ। 4 तिम्रो परिवारका मानिसहरू शहरका बाटोहरूमा मर्नेछन्। अनि कुकुरहरूले तिनीहरूको लाश खानेछन्। तिम्रो परिवारका केही मानिसहरू चऊरमा मर्नेछन् अनि तिनीहरूको लाशलाई चराहरूले खानेछन्।”
5 बाशाको विषयमा सबै जानकारीहरू अनि उनले गरेको महान् कार्यहरूको विवरण इस्राएलका राजाहरूको इतिहासको पुस्ताकमा लेखिएको छ। 6 बाशा मरे अनि उनलाई तिर्सामा गाडियो। उनका छोरा एला उनीपछि नयाँ राजा भए।
7 यसकारण परमप्रभुले हनानीका छोरो येहू अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरूद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै नराम्रो काम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु साह्रै नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।
इस्राएलका राजा एला
8 आसा यहूदाका राजा भएको छब्बीसौं बर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ बर्ष शासन गरे।
9 राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो। 10 जिम्री घरभित्र पसे अनि राजा एलाको हत्या गरे। आसा यहूदाको राजा भएको समयको सत्ताइसौं बर्षमा यस्तो घट्ना भयो। तब जिम्री एलापछि इस्राएलका राजा भए।
इस्राएलका राजा जिम्री
11 जिम्री नयाँ राजा भएपछि उनले बाशाको परिवारका सबैलाई मारे। उनले बाशाको परिवारका मानिसहरूमा एक जनालाई पनि जिउँदो छोडेनन्। जिम्रीले बाशाका साथीहरूलाई पनि मारे। 12 यसकारण जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नष्ट पारिदिए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो जति बेला परमप्रभुले अगमवक्ता येहू मार्फत, बाशाको विरोधमा बोल्नु भएको थियो। 13 बाशा र उनको छोरा एलाको पापले गर्दा यस्तो भयो। तिनीहरूले पापको काम गरे अनि इस्राएली मानिसहरूलाई पनि पाप गर्न लगाए। परमप्रभु रिसाउनु भयो किनभने तिनीहरूसँग देवमूर्तिहरू थिए।
14 अरू कामहरू, जे एलाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
15 आसा यहूदाका राजा भएको सत्ताइसौं बर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए। 16 शिविरमा मानिसहरूले सुने, जिम्रीले राजाको विरोधमा गोप्य षड्यन्त्र रचेको छ। तिनीहरूले सुने, उनले राजालाई मारे। यस कारण सबै इस्राएलीहरूले त्यस दिन शिविरमा ओम्रीलाई इस्राएलको राजा बनाए। ओम्री सेनाका सेनापति थिए। 17 यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोडे अनि तिर्सामाथि आक्रामण गरे। 18 जब जिम्रीले शहरमा आक्रामण गरिएको देखे। उनी महलभित्र पसे अनि आगो सल्काए। उनले महल र आफूलाई जलाए। 19 यसकारण जिम्री मरे किनभने उनले पाप गरेका थिए। जिम्रीले त्यो काम गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले त्यसरी नै पाप काम गरे जसरी यारोबामले गरेका थिए। अनि यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए।
20 जिम्रीको गोप्य षडयन्त्र अनि अरू कार्यहरू जो जिम्रीले गरे, त्यो कथा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
© 2004, 2010 Bible League International