Bible in 90 Days
15 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्। 16 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी माँगेको थिएँ। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु। 17 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें। 18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु। 19 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रयाश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”
20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे। 21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रयाश्चित गराएर तिनीहरूलाई सफा बनाए। 22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावार थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।
23 त्यपछि परमप्रभुले मोशालाई भन्नुभयो, 24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस बर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ। 25 तर जब कुनै लेवी मानिस पचास बर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ। 26 पचास बर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”
निस्तार चाड़
9 इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो, 2 “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। 3 तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”
4 यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए। 5 तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।
6 तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए। 7 ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”
8 मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”
9 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ। 11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ। 12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्। 13 तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।
14 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”
आगो र बादल
15 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो। 16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो। 17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे। 18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब उहाँले आज्ञा दिनुभयो मानिसहरू हिँड्न बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे। 19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए। 20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे। 21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे। 22 दुइ दिन, एक महिना अथवा पुरै एक बर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे। 23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।
चाँदीका तुरहीहरू
10 परमप्रभुले मोशालाई भन्नुभयोः 2 “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनु। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नुपर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ। 3 यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्। 4 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।
5 “जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्। 6 जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ। 7 तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ। 8 हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।
9 “अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ। 10 तिमीहरूको हर्षको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
इस्राएलका मानिसहरूले उनीहरूको शिविर सार्छन्
11 मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो। 12 यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो। 13 यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।
14 यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए। 15 इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए। 16 अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।
17 त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पंक्तिमा आए।
18 त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए। 19 त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए। 20 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए। 21 त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खड़ा गरी सकेका थिए।
22 त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए। 23 पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए। 24 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।
25 अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्दैका छोरो अहीएजेर थिए। 26 त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए। 27 त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए। 28 यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।
29 मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो-राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”
30 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”
31 तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरुभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ। 32 यदि तपाईं हामीसित हिँड्नु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”
33 होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिँडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिँडे। 34 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।
35 शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैँ भन्थे,
“हे परमप्रभु! उठ्नुहोस्,
तपाईंको शत्रुहरू छरपष्ट होउन्।
तपाईंका शत्रुहरू तपाईं देखि भागुन्।”
36 अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैँ मोशाले भन्थे,
“हे परमप्रभु आउनु होस्,
इस्राएलका हजारौं-हजार मानिसहरू भएको ठाँउमा आउनु होस्।”
मानिसहरूको नालिश
11 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो। 2 मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए। 3 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।
सत्तरी बूढा-प्रधानहरू
4 इस्राएलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाँडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला? 5 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ। 6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।” 7 देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ। 8 मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो। 9 जब राती भूँइ शीतले भिज्छ मन्न भूईँमा झर्थ्यो।
10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए। 11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो? 12 के मैले गर्भधारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ। 13 जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ? 14 यी मानिसहरूको हेरचाह गर्न म आफैं योग्य छैनँ कारण ममाथि जिम्मावारी एकदमै धेरै भयो। 15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ। 17 अनि म तल आएर त्यहाँ तिमीसँग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।
18 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैंलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ। 19 तिमीहरूले एक दिन, अथवा दुइ दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ। 20 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहेनौं?’”
21 तब मोशाले भने, “अहिले मसित पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’ 22 के यी सबै भेंडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”
23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”
24 यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए। 25 तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिनीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
26 त्यहाँ छाउनी भित्र दुइजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे। 27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
29 तर मोशाले उत्तर दिए, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई खन्याउनुँ हुनेछ अनि सबै मानिसहरू अगमवाणी गर्न सक्छन्।” 30 त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
बट्टाई चराहरू आउँछन्
31 तब परमप्रभुले बतास चलाउनु भयो र बतासले समुद्रतिरबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिँडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो। 32 तिनीहरूले दिन भरि अनि रात भरि बट्टाई चराहरू बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।
33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो। 34 यसकारण त्यस ठाँउको नाम ‘किब्रोथ-हत्तावा’ राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।
35 किब्रोथ-हत्तावाबाट तिनीहरू हसेरोत तिर लागे र तिनीहरू त्यहाँ बास बसे।
मरियम र हारूनले मोशाको विरोधमा नालिश गरे
12 मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे। 2 तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”
परमप्रभुले यो कुरा सुन्नुभयो। 3 मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए। 4 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।”
यसकारण ती तीन जना त्यहाँ गए। 5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो। उहाँले बोलाउनु भयो, “हारून र मरियम!” तब यी दुइजना बाहिरा उहाँ भएको ठाउँमा आए। 6 परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु। 7 तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु। 8 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जेसुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”
9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। 10 बादल पालबाटमाथि उठ्यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।
11 तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस्। 12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।)
13 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”
14 परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
15 यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्। 16 त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरुभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।
कनान देशको अन्वेषण
13 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
3 यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरुभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए। 4 ती नायकहरूको नाम यी नै हुन्;
रूबेनको कुलबाट जक्करको छोरो शम्मू,
5 शिमोनको कुलबाट होरीको छोरो साफात,
6 यहूदाको कुलबाट यपून्नेको छोरो कालेब,
7 इस्साकारको कुलबाट यूसुफको छोरो यिगाल,
8 एप्रैमको कुलबाट नूनको छोरो होशे (यहोशू),
9 बिन्यामीन कुलबाट रफूको छोरो पलती,
10 जबूलूनको कुलबाट सोदीको छोरो गद्दीएल,
11 मनश्शे कुलबाट सूसीको छोरो गद्दी,
12 दानको कुलबाट गमल्लीको छोरो अम्मीएल,
13 आशेरको कुलबाट माइकलको छोरो सतूर,
14 नप्तालीका कुलबाट वोफ्सीको छोरो नहबी,
15 गादको कुलबाट माकीको छोरो गूएल।
16 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। (मोशाले नूनको छोरो होशेलाई यहोशू भनी बोलाउँथे।)
17 यद्यपि तिनीहरूलाई कनान देश जासूस गर्न पठाउँदा मोशाले भन्यो, “तिमीहरू पहाडतिर जाऊ। 18 अनि हेर, भूमि हेर्दा कस्तो देखिन्छ। त्यहाँ बस्ने मानिसहरू बलिया छन् अथवा दुर्वल, अथवा कम्ती छन् अथवा ठूलो जनसँख्यामा तिनीहरू बस्ने जग्गा राम्रो छ अथवा खराब, हेर र बुझ। कस्तो शहरमा तिनीहरू बसेका छन्? 19 तिनीहरू राम्रो कि नराम्रो छन्? तिनीहरू कस्तो किसिमका शहर भित्र बस्छन्? शहरहरू अत्यन्तै सुरक्षित छन्। तिनीहरू खुल्ला गाउँहरूमा बस्छन् अथवा किल्लाहरूमा बस्छन् हेर? 20 अनि जमीन मलिलो छ वा रूखा छ, त्यहाँ रूखहरू छन् कि छैनन्? त्यस भूमिबाट केही फलहरू ल्याउनु जतिसक्दो कोशिस गर।” (त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।)
21 यसकारण तिनीहरू सीनको मरुभूमि देखि रहोबद्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे। 22 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात बर्ष अघि बनिएको थियो। 23 त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए। 24 इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो।
25 चालीस दिनको अन्तमा तिनीहरू त्यो भूमिको बारेमा खोजी गरी फर्के। 26 पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए। 27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। 28 जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं। 29 नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”
30 त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।”
31 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।” 32 यसकारण तिनीहरूले त्यस भूमिको विषयमा खोजी गरेर नैराश्यपूर्ण वृतान्त इस्राएली मानिसहरूको निम्ति ल्याएका थिए। तिनीहरूले भने, “त्यस भूमिमा धेरै बलिया-बलिया मानिसहरू रहेछन् र त्यस भूमिमा जाने कुनै पनि मानिसहरूलाई तिनीहरूले सजिलै जित्न सक्छन्। 33 हामीले त्यहाँ नपीलीहरू अनाकका सन्तान देख्यौं र तिनीहरूको अगाडी हामीहरू त मसिनो फट्यांग्राहरू झैं देखिन्थ्यौं। साँच्चै तिनीहरूको सामुन्ने हामी फट्यांग्राहरू झैं लाग्थ्यौं।”
मानिसहरू फेरि गनगनाए
14 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। 2 इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरुभूमिमा मरेको भए राम्रो हुनेथियो। 3 किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”
4 तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।”
5 सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। 6 नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। 7 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। 8 यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। 9 यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”
10 तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो। 11 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्? 12 तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”
13 तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो। 14 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ। 15 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्, 16 ‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरुभूमिमा मार्नुभयो।’
17 “यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्। 18 तपाईंले भन्नुभयो, ‘परमप्रभु क्रोधगर्न ढिलो हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’ 19 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”
20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। 21 तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ, 22-23 ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्, यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। 24 तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुशरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ। 25 अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरुभूमिमा फर्की जाऊ।”
परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ
26 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 27 “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। 28 तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। 29 तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। 30 यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्। 31 तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ। 32 तर तिनीहरूको निम्ति तिमीहरू यही मरुभूमिमा नै मर्ने छौ।
33 “‘तिमीहरूका नानीहरू मरुभूमिमा चालीस बर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरुभूमिमा सबै जना नमरून्जेल सम्म कष्ट भोग्नेछन्। 34 त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक बर्षको हिसाबले तिमीहरूले चालीस बर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’
35 “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।”
36 ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जाँच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए। 37 ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो। 38 तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुइजनालाई परमप्रभुले रक्षा गर्नुभयो।
मानिसहरूको पुनःविरोध
39 जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए। 40 बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”
41 तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ। 42 त्यस भूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन। 43 त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लड्नेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाईँमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”
44 तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन। 45 त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।
बलिको विषयमा नियमहरू
15 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन जब तिमीहरू मैले दिन्छु भनेको भूमिमा पस्छौ, 3 तिमीहरूले परमप्रभुलाई आगोद्वारा विशेष बलिदान चढाउनु पर्छ। त्यो विशेष बलिदानको सुगन्धले परमप्रभुलाई आनन्द दिनेछ। तिमीहरूले होमबलि अथवा कुनै पनि बाख्रा, भाकल बलिदानको बलि, विशेष बलि, मेलबलि राजीखुशीको बलि अथवा कुनै चाडको निम्ति विशेष बलिमा गाई-वस्तु र भेंडा अथवा बाख्राहरू चढाउनेछौ।
4 “एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ। 5 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।
6 “यदि तिमी भेंडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ। 7 अनि अर्घबलिको निम्ति हीनको तीन खण्डको एक खण्ड दाखरस राख्नु पर्छ र यसले परमप्रभुलाई मीठो वास्ना दिनेछ।
8 “तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ। 9 त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ। 10 अर्घबलिको निम्ति आधा हीन दाखरस पनि ल्याउनु पर्छ। यो बलि आगोद्वारा चढाइन्छ र यसको सुगन्धले परमप्रभुलाई प्रसन्न पार्छ। 11 प्रत्येक साँढे अथवा भेंडा अथवा थुमा अथवा बाख्राको पाठो परमप्रभुलाई बलि स्वरूप चढाउँदा यसरी तयार पार्नु पर्छ। 12 यी कुनै आवश्यक छैन कति पशुहरू तिमीहरूले तयार गर्छौ, तर तिमीले यो प्रत्येक को निम्ति गर्नु पर्छ।
13 “इस्राएलका प्रत्येक नागरिकले परमप्रभुलाई प्रसन्न गराउन बलि चढाउँदा यही तरिकाले अगोद्वार चढाउनु पर्छ। 14 यदि तिनीहरू बीचमा बस्ने विदेशीहरूले आगोद्वारा बलि चढाएर परमेश्वरलाई खुशी पार्न चाहन्छ भने, तिमीहरूले तिनीहरूले जस्तै बलि चढाउनु पर्छ। 15 यही नियमहरू इस्राएलका मानिसहरू र तिनीहरूसित यो देशमा बसो-बास गर्ने विदेशीहरू प्रत्येकको निम्ति लागू हुनेछ। यही कानून सदा-सर्वदा लागू रहनेछ। तिमी र तिमीहरूसित बसो-बास गर्ने विदेशीहरू परमप्रभुको उपस्थितीमा एकै हुन्। 16 त्यही नियम र विधि तिमीहरूको निम्ति र विदेशीहरूको निम्ति लगाइन्छ जो तिमीहरूसित बसो-बास गर्छन्।”
17 परमप्रभुले मोशालाई भन्नुभयो, 18 “इस्राएलका मानिसहरूलाई भनः ‘जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ, 19 अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ। 20 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ। 21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।’
22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्सियौ भने के गर्नुपर्छ? 23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्। 24 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।
25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्। 26 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।
27 “तर यदि एउटाले अन्जानमा पाप गर्छ भने, एक बर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ। 28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रयाश्चित गराउने छ जसले अन्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ। 29 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।
30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ। 31 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडेर परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”
विश्रामको दिन एकजना व्यक्तिले काम गर्छ
32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। 33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए। 34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।
35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।” 36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
परमेश्वरले आफ्ना मानिसहरूलाई नियम याद गर्न सहयोग गर्नुहुन्छ
37 परमप्रभुले मोशालाई भन्नुभयो, 38 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् ‘आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध। 39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ। 40 तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।’ 41 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
केही नेताहरू मोशा विरोधी भए
16 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। 2 इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए। 3 तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चको सम्झनु हुन्छ?”
4 जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए। 5 त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ। 6 यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ। 7 त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।”
8 मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन। 9 इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन? 10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ। 11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”
12 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुइजना मानिसहरूले भने, “हामी आउने छैनौ। 13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ। 14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”
15 यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”
16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुवाईहरू र हारून परमप्रभुको अघि खड़ा हुनुपर्छ। 17 प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुइ सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”
18 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून सँगै उभिए। 19 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।
20 तब परमप्रभुले मोशा र हारूनलाई भननुभयो, 21 “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।”
22 मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”
23 तब परमप्रभुले मोशालाई भन्नुभयो, 24 “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”
25 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए। 26 मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”
27 यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दातान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू सँग छाउनी बाहिर गए।
28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो। 29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधैँ मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्। 30 तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”
31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो। 32 धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो। 33 सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसँगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।
34 अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”
35 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।
36 परमप्रभुले मोशालाई भन्नुभयो, 37 “पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्। 38 ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धुपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धुपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।”
39 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यहीं थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे। 40 तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।
हारूनले मानिसहरूलाई बचायो
41 अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”
42 सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखापर्यो। 43 तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए।
44 परमप्रभुले मोशालाई भन्नुभयो, 45 “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीघ्र ध्वंश पार्न सकुँ।” यसर्थ मोशा र हारूनले शिर निहुराए।
46 त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”
47 यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। 48 तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। 49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। 50 त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।
परमेश्वरले हारूनलाई प्रधान पूजाहारी निश्चीत गर्नुभयो
17 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख। 3 लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु। 4 ईमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण 5 उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”
6 त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो। 7 मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।
8 करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो। 9 मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।
10 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैँ मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।” 11 यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।
12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं। 13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?”
पूजाहारीहरू र लेवीहरूको काम
18 परमप्रभुले हारूनलाई भन्नुभयो, “अब उसो तिमी, तिम्रा छोराहरू अनि तिम्रा परिवारिक समूहका मानिसहरू पवित्र स्थानमा केही खराबी गरिए जिम्मावारी हुनेछौ। तिमी र तिम्रा छोराहरू पूजाहारीहरू विरूद्ध गरिएको खराबीको निम्ति जिम्मावारी हुनेछौ। 2 तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्। 3 लेवी कुलमा भएका ती मानिसहरू तिम्रो नियन्त्रणमा रहनेछन्। पालभित्र गरिनु पर्ने भैपरी आँउने कामहरू तिनीहरूले गर्नेछन्। तर पवित्र स्थान अथवा वेदीमा राखिएको कुनै पनि चीजको नजिक तिनीहरू जानु हुँदैन। यदि तिनीहरू गए भने तिनीहरू मर्नेछन् अनि तिमी पनि मर्ने छौ। 4 तिनीहरूले तिमीसित भेट गर्नेछन् र तिमीसितै काम गर्ने छन्। भेट हुने पालको रेख-देख गर्ने तिनीहरूको काम हुनेछ पाल भित्र गरिने सबै काम तिनीहरूले गर्ने छन्। कोही पनि तिमी जहाँ छौ त्यहाँ आउनु साहस गर्नेछैन।
5 “तिमीले पवित्र स्थान र वेदीको रक्षकको काम गर्नेछौ ताकि मैले इस्राएलका मानिसहरूसित रिसाउन नपरोस्। 6 हेर! म आफैंले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्। 7 तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारियोस्।”
8 तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु। 9 वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्। 10 तिमीहरूले ती चीजहरू महा-पवित्र स्थानमा मात्र खानु पर्छ। तिम्रो परिवारको प्रत्येक पुरूषले खान सक्छन् तर तिमीले याद राख्नु पर्छ कि ती चीजहरू अत्यन्तै पवित्र हुन्।
11 “यो पनि तिम्रै हुनेछ कुनै पनि विशेष उपहार इस्राएलका मानिसहरूले मलाई चढाउँछन्, तिमीसित भएका तिम्रा छोरा-छोरीहरू र तिम्रो निम्ति स्थायी अंशको रूपमा दिन्छु। तिम्रो परिवारका प्रत्येक शुद्ध व्याक्तिले त्यो खान सक्छन्।
12 “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु। 13 तिनीहरूको खेतमा पाकेको कुनै पनि अन्न जो तिनीहरूले परमप्रभुलाई चढाउन ल्याउँछन् त्यो तिम्रो हो र तिम्रो परिवारको कुनै पनि शुद्ध व्याक्तिले त्यो खान सक्छ।
14 “इस्राएलमा प्रत्येक चीज जो परमेश्वरलाई पूर्णरूपले समर्पण गरिन्छ त्यो तिम्रो हो।
15 “प्रत्येक जेठो चाहे व्यक्ति होस अथवा पशु जो आफ्नो आमाको प्रथम गर्भमा आँउछ र परमेश्वरलाई समर्पण गरिन्छ भने त्यो तिम्रो हुनेछ। तर जेठो जन्मेको पशु होस् अथवा मानिस त्यसको तिमीले मोल तिर्नु पर्छ। 16 जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ।
17 “तर पहिले जन्मेको गाई, भेंडा अथवा बाख्राको मोल तिर्नु पर्दैन। यी पशुहरू पवित्र हुन र यिनीहरूको रगत वेदीमा छर्किईन्छ अथवा बोसो पोलिन्छ। यो उपहार आगोमा पोलेर दिइन्छ र यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट पार्छ। 18 तर यी पशुहरूको मासु भने तिम्रो हुनेछ अनि डोलाइने बलिको ह्याकुलो तिम्रो हुनेछ र अरू बलिको दाहिने सर्प्रा पनि तिम्रो हुनेछ। 19 मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”
20 परमप्रभुले हारूनलाई पनि भन्नुभयो, “तिमीले भूमि पाउनेछैनौं। अनि अरू मानिसहरूले झैं तिमीले त्यहाँ केही आफ्नो बनाउनु पाउने छैनौ। म परमप्रभु नै तिम्रो हुनेछु। प्रतिज्ञा गरिएको अनुसार इस्राएली मानिसहरूले जग्गाजमीनहरू पाउनेछन् तर तिम्रो निम्ति म नै उपहार हुँ।
21 “इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिन्छन्। यसकारण त्यो एक दशांश भाग म लेवीका सन्तानहरूलाई दिन्छु। यो तिनीहरूले भेट हुने पालमा छँदा त्यहाँ काम गरे बापत पारिश्रमिक हो। 22 तर अन्य मानिसहरू भेट हुने पालको नजीक जानु हुँदैन। यदि गए तिनीहरू मारिनु पर्छ। 23 लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्। 24 तर तिनीहरू सँग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”
25 परमप्रभुले मोशालाई भन्नुभयो, 26 “लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ। 27 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्। 28 यस्तै प्रकारले इस्राएली मानिसहरूले तिमीहरूलाई दशांश दिए जस्तै तिमीहरूले पनि परमप्रभुलाई उपहार चढाउनु पर्छ अनि त्यसबाट तिमीहरूले पनि परमप्रभुलाई उपहार दिनु पर्छ अनि यो हारूनलाई दिनु पर्छ। 29 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ।
30 “मोशा, लेवी मानिसहरूलाई भन जब तिमीहरूले प्रत्येक असल चीज परमप्रभुलाई चढाउँछौ जे इस्राएली मानिसहरूले दिएका थिए, तब यो सम्झिन्छ कि लेवीहरूको आफ्नै अन्न र अर्धबलि हो। 31 त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो। 32 अनि यदि तिमीहरूले यसको असल सधैँ परमप्रभुलाई चढायौ भने तिमीहरू कदापि दोषी हुने छैनौ। तिम्रो आफ्नै निम्ति इस्राएलका मानिसहरूद्वारा चढाएका ती पवित्र उपहारहरूको भाग नलैजाऊ नत्र भने तिमीहरू मर्ने छौ।”
रातो गाईको खरानी
19 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन्। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ। 3 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ। 4 त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ। 5 तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ। 6 पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ। 7 त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ। 8 त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।
9 “केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। यो खरानी इस्राएलका मानिसहरूलाई शुद्ध गर्नेकाम निम्ति प्रयोग हुनेछ। यो मानिसहरूको पापबाट शुद्ध गर्नेकालागि पनि प्रयोग हुन्छ।
10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्।
“इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो। 11 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ। 12 तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा ऊ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन। 13 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैंलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।
14 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्। 15 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ। 16 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।
17 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ। 18 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।
19 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस् अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।
20 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो। 21 तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ। 22 प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”
मरियम को मृत्यु
20 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरुभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।
मोशाले एउटा गल्ति गर्छन्
2 त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए। 3 मानिसहरूले मोशासित झगड़ा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाइहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो। 4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ? 5 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”
6 यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो।
7 परमप्रभुले मोशालाई भन्नुभयो, 8 “तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”
9 यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए। 10 त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?” 11 तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
12 त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”[a]
13 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।
एदोमले इस्राएललाई जान नदिएका
14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाइ इस्राएलले यसो भन्छ,
“हामीमाथि आई परेका आपदहरू तपाईंलाई थाहा छ। 15 धेरै बर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए। 16 तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ।
“अहिले हामी तपाईंको सिमान कादेशमा छौं। 17 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।”
18 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लड्न आउनेछौं।”
19 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिँड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।”
20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।”
तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के। 21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।
हारूनको मृत्यु
22 इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे। 23 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो, 24 “अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।
25 “अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ। 26 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”
27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे। 28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे। 29 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक व्याक्त गरे।
कनानीहरूसित युद्ध
21 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे। 2 तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”
3 परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।
काँसाको सर्प
4 इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए। 5 मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा-खाँदा वाक्क भई सक्यो।”
6 यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे। 7 मानिसहरू आएर मोशासँग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।
© 2004, 2010 Bible League International