Bible in 90 Days
12 “तिमीहरूले छाउनी बाहिर यस्तो ठाउँ पनि बनाउनु पर्छ जहाँ तिमीहरू दिसा गर्न सक्छौ। 13 तिमीहरूले आफ्ना अरू हतियारसँगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ। 14 किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।
अरू नियमहरू
15 “यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन। 16 आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यहीं बस्न सक्छ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।
17 “एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुन सक्तैन। 18 त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।
19 “जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्। 20 तिमीहरूले आफ्नो इस्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सक्छौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ।
21 “परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ। 22 तर यदि भाकल गरेका छैनौं भने त्यो पाप लाग्ने छैन। 23 तर आफूले गर्छु भनेको कुरो पूरा गर्नै पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विषेश भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पुरा गर्नै पर्छ।
24 “जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सक्छौ त्यहीं टिपेर खान सक्छौ तर आफ्नो डालोमा हालेर घर लान सक्दैनौ। 25 जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सक्छौ तर हँसियाले अन्न काटेर घर लिएर जान सक्दैनौ।
24 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ। 2 जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे। 3 तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोग्नेको मृत्यु भएको खण्डमा, 4 पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।
5 “जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक बर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक बर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
6 “तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।
7 “यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।
8 “यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ। 9 परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।
10 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन। 11 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ। 12 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन। 13 साँझमा नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।
14 “तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन। 15 घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।
16 “केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।
17 “तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन। 18 सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।
19 “जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ। 20 जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। 21 त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फर्किएर नजाऊ, ती फलहरू विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। 22 सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु।
25 “जब दुइजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन। 2 यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ। 3 कुनै मानिसलाई पनि चालीस कोर्रा भन्दा वेशी लगाउनु हुँदैन, यदि तिमीले कसैलाई चालीसभन्दा धेरै कोर्रा लगायौ भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमीलाई केही महत्व छैन।
4 “जब गोरूहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।
5 “यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य पुरा गर्नु पर्छ। 6 त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्। 7 यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाइ भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’ 8 तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’ 9 तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थुक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाँहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’ 10 तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।
11 “यदि दुइ जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन। 12 यदि उसले त्यसो गर्छे भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान।
13 “मानिसहरूलाई ठग्न कम र ज्यादा दुइ प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुइ प्रकारका ठग्ने ढकहरू नराख। 14 आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुइ प्रकारको नाप दण्ड नराख। 15 तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ। 16 परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।
अमालेकीहरूलाई ध्वंश पार्नु पर्छ
17 “जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए। 18 तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्। 19 यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न नबिर्स।
पहिलो उब्जनी
26 “चाँडै तिमीहरू भूमिमा पस्ने छौ जो परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ। 2 परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ। 3 त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’
4 “तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघाडी राख्नेछन्। 5 तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो। 6 मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए। 7 तब हामीले परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो। 8 यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अद्भूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो। 9 यसकारण उहाँले हामीलाई यहाँ दूध र मह बगिरहेको भूमिमा ल्याउनु भयो। 10 अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’
“तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ। 11 त्यसपछि तिमीहरूले जति पनि असल चीजहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका परिवारलाई दिनु भएको छ तिमीहरूसितै बस्ने लेवीहरू र विदेशीहरूलाई पनि भाग लगाउनु पर्छ।
12 “प्रत्येक तेस्रो बर्ष दशांश भाग लगाउने बर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ। 13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भन्नु पर्छ, ‘मैले मेरो घरबाट मेरो बालीको पवित्र अंश निकालेर लेवीहरू, विदेशीहरू र विधवा तथा टुहुरा टुहुरीहरूलाई दिएँ। तपाईंले मलाई दिनु भएको सम्पूर्ण आज्ञाहरू पालन गरेको छु र कुनै पनि आज्ञा उलंङ्घन गरेको छैन। मैले ती आज्ञाहरू बिर्सेको छैन। 14 जब म दुःखमा थिएँ मैले यो बालीको अन्न खाइन म अशुद्ध थिइन जब यो अन्न बटुलें, यो अन्नबाट मैले मरेका मानिसहरूलाई पनि चढाएको छैन। मैले परमप्रभु मेरा परमेश्वर तपाईंले दिनु भएका सबै आज्ञा पालन गरें तपाईंले दिएका आज्ञाहरू सबै पालन गरेको छु। 15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि आशीर्वाद दिनुहोस्।’
परमप्रभुका आज्ञाहरू पालन गर
16 “आज परमप्रभु तिमीहरूका परमेश्वरले यी सब विधि र नियमहरू पालन गर्नु भनी आज्ञा तिमीहरूलाई दिनु हुनेछ। आफ्नो सम्पूर्ण हृदय र प्राणले यी सब पालन गर्न होशियार होऊ। 17 आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुशरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ। 18 अनि आज परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नो मानिसहरू भनी ग्रहण गर्नु भएको छ र यसको निम्ति उहाँले प्रतिज्ञा गर्नु भएको छ। परमप्रभुले तिमीहरूलाई उहाँका सबै आज्ञाहरू पालन गर्नै पर्छ भन्नु भएको छ। 19 परमप्रभुले तिमीहरूको राष्ट्रलाई सबै राष्ट्रहरूभन्दा अग्लो बनाउनु हुनेछ। उहाँले तिमीहरूलाई सम्मान, प्रशंसा र सुनाम दिनु हुनेछ। अनि उहाँको प्रतिज्ञानुसार तिमीहरू उहाँका आफ्नै विशेष पवित्र मानिसहरू हुनेछौ।”
मानिसहरूका लागि स्मारक ढुङ्गाहरू
27 मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर। 2 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ। 3 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
4 “यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ। 5 केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर। 6 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ। 7 तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ। 8 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
सरापका नियमहरू
9 “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ। 10 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
11 त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने, 12 “तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्। 13 अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
14 “लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्:
15 “‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’
“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
16 “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
17 “लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
18 “लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
19 “लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
20 “लेवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
21 “लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
22 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
23 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
24 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
25 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’
“तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
26 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’
“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
आज्ञा पालन गर्दा आशीर्वाद
28 “अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दा माथि राख्नु हुनेछ। 2 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।
3 “शहरमा र गाउँ-बस्तीमा
परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
4 परमप्रभुले तिमीहरूका धेरै नानीहरू
होस् भनी आशिष दिनु हुनेछ।
परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ,
जसले गर्दा उब्जाऊ बेशी हुनेछ।
परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ,
र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
5 परमप्रभुले तिमीहरूको डालाहरू
र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ,
अनि सधैँ खाद्य पर्दाथले भर्नु हुनेछ।
6 परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा
तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।
7 “तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।
8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ। 9 यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुशरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ। 10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।
11 “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ। 12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन। 13 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैँमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। 14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा देब्रे फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुशरण गर्नु हुदैन।
आज्ञा पालन नगर्नेहरूलाई सराप
15 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
16 “परमप्रभुले शहर र खेतहरूमा
तिमीहरूलाई सराप्नु हुनेछ।
17 परमप्रभुले तिमीहरूका डालाहरू
र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ
अनि तिनीहरूमा खाद्य हुने छैन।
18 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ
अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्।
उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ
अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ।
उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ
अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
19 परमप्रभुले तिमीहरूलाई प्रत्येक समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ,
तिमीहरूले जे गरे पनि।
20 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुन्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्यौ। 21 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ। 22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्। 23 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ। 24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।
25 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन् त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्। 26 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।
27 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई खटिराहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ। 28 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ। 29 तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।
30 “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ। 31 मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेंडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।
32 “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउन्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।
33 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्। 34 तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ। 35 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।
36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ। 37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।
असफलताको सराप
38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ। 39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ। 40 तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्। 41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्। 42 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ। 43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्। 44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।
45 “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ। 46 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।
47 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ। 48 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुन्जेल सम्म हटाउन सक्नेछैनौ।
शत्रु राष्ट्रको सराप
49 “परमप्रभुले तिमीहरूसित लडाँईं गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछन् तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। 50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन् अनि स-साना नानीहरूप्रति दया देखाउँदैनन्। 51 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुन्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।
52 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्। 53 तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।
54 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्। 55 यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।
56 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे। 57 त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।
58 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ। 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ। 60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ। 61 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुन्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ। 62 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एक्दमै थोरै संख्यामा रहने छौ।
63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्। 64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरूका थाहा नपाइएका देवताहरू पूज्ने छौ।
65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ। 66 तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैँ डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ। 67 बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो’ बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो।’ किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ। 68 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, ‘तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।’ मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।”
मोआबमा वाचा
29 परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।
2 मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिश्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ। 3 तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ। 4 तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ? 5 परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरुभूमिमा चालीस बर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन 6 तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सक्छौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।’
7 “तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं। 8 अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं। 9 यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ।
10 “आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्। 11 तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काट्ने अनि पानी बोकनेहरू यहाँ छन्। 12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ। 13 यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो। 14 परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन, 15 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्। 16 तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौं अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं। 17 तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ। 18 दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।
19 “कुनै मानिसले यी सरापहरू सुन्न सक्छ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु, गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन।’ त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ। 20-21 परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ। व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।
22 “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो। 23 त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।
24 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’ 25 उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे। 26 तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे। 27 अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्। 28 परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’
29 “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।
इस्राएलीहरू आफ्नो भूमिमा फर्कन्छन्
30 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। 2 त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ। 3 तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। 4 यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। 5 जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ। 6 अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।
7 “अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे। 8 अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ। 9 परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ। 10 व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुशरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ। यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।
जीवन र मृत्यु
11 “आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ। 12 यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सक्छौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सक्छौ।’ 13 यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सक्छौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’ 14 होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सक्छौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।
15 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। 16 म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुशरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिँजिनेछन्। 17 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, 18 तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।
19 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। 20 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”
यहोशू नयाँ नायक
31 तब मोशा अघि बढेर यी शब्दहरू इस्राएलका मानिसहरूलाई भने। 2 मोशाले तिनीहरूलाई भने, “म अहिले 120 बर्षको भएँ। अब म तिमीहरूको अगुवा हुनु सक्तिनँ। ‘तिमी यर्दन नदी तर्ने छैनौ,’ परमप्रभुले मलाई भन्नुभयो। 3 परमप्रभु तिमीहरूका परमेश्वर अगुवा हुनुहुनेछ र तिमी अघि ती जातिहरूलाई नष्ट पार्नु हुनेछ अनि तिमीले तिनीहरूको भूमि लिनेछौ। परमप्रभुको प्रतिज्ञा अनुसार यहोशूले तिमीहरूलाई पारि लैजान नेतृत्व गर्नेछन्।
4 “परमप्रभुले तिनीहरूलाई एमोरीहरूका राजाहरू सीयोन र ओग तथा तिनीहरूको भूमिलाई ध्वंश पार्दा जसो गर्नु भएको थियो तिनीहरूलाई पनि त्यस्तै गर्नुहुन्छ। 5 ती जातिहरूलाई परास्त पार्न परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ तर मैले आज्ञा दिए जस्तै तिनीहरूलाई प्रत्येक कुरो गर्नु पर्छ। 6 शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसँगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”
7 तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ। मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ। 8 परमप्रभु तिमीसँगै बसेर तिमीलाई नेतृत्व गर्नु हुनेछ। चिन्ता नगर उहाँले तिमीहरूलाई छोड्नु हुँदैन, नडराऊ।”
मोशाले व्यवस्था लेख्नुहुन्छ
9 तब मोशाले व्यवस्थाको पुस्तक लेखे र पूजाहारीहरूलाई दिए। पूजाहारीहरू लेवी कुल समूहका हुन्। तिनीहरूको काम परमप्रभुको करारको सन्दुक बोएनु हो। मोशाले त्यो व्यवस्था इस्राएलका सबै बूढा-प्रधानहरूलाई पनि दिए। 10 त्यस पछि मोशाले ती बूढा-प्रधानहरूलाई भने, “प्रत्येक सातबर्षको अवधिको अन्तमा यी शिक्षाहरू प्रत्येक आश्रयको उत्सवको दिन स्वतन्त्रताको बर्षमा पढ। 11 त्यस बेला परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा सबै इस्राएली मानिसहरू भेट-घाटको निम्ति आउँछन् तब सबैले सुन्ने गरी यी व्यवस्था पढ्नु पर्छ। 12 पुरूष, स्त्रीहरू, साना-साना नानीहरू र तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूलाई एकसाथ भेला गर। तिनीहरूले व्यवस्था सुनेर परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नु सिक्नेछन् अनि उपदेशमा भनिएको सबै कुराहरू गर्नु सक्षम हुनेछन्। 13 यदि तिनीहरूका सन्तानहरूले व्यवस्थाको शिक्षाहरू जान्दैनन् भने तिनीहरूले उपदेशहरू सुन्नेछन् र परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्न सिक्नेछन्। जबसम्म तिमीहरू आफ्नो देशमा बाँच्नेछौ तबसम्म तिनीहरूले उहाँको आदर गर्नेछन्। तिमीहरू चाँडै यर्दन तर्नेछौ अनि भूमि आफ्नो निम्ति ग्रहण गर्नेछौ।”
परमप्रभुले मोशा र यहोशूलाई बोलाउनु हुन्छ
14 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर, तिम्रो मृत्यु नजिकै आएको छ। यहोशूलाई ल्याऊ अनि भेट हुने पालमा आऊ। म यहोशूलाई उसले गर्नु पर्ने कार्यहरू बारे बताउनेछु।” यसकारण मोशा र यहोशू भेट हुने पालमा गए।
15 परमप्रभु लामो बादलको खामोमा देखा पर्नु भयो। त्यो लामो खम्बा प्रवेशद्वारमा खडा थियो। 16 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्। 17 त्यस समय म तिनीहरूसित अत्यन्तै क्रोधित हुनेछु र तिनीहरूलाई छोडी दिनेछु र तिनीहरूलाई सहायता गर्नेछैन र तिनीहरू ध्वंश हुनेछन्। तिनीहरूमाथि नाना प्रकारका आपत र विपदहरू ल्याउनेछु र त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हामीसँग नभएकोहुनाले नै यस्तो आफ्त र विपत्तिहरू आइलागेको हो?’ 18 तिनीहरूले मलाई छोडेर अरू देवताहरू पूज्ने जस्तो अनिष्ट कार्यहरू गरेको निम्ति म तिनीहरूलाई सहायता गर्न अस्वीकार गर्छु।
19 “यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्। 20 जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सक्दो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्। 21 तब धेरै डरलाग्दा कुराहरू तिनीहरूमाथि घट्नेछन् अनि तिनीहरूले धेरै कष्टहरू बेहोर्नु पर्छ। त्यस समयमा पनि तिनीहरूका मानिसहरूले त्यो गीत जान्दछन् र यसले तिनीहरू कति भूल गरिरहेका थिए बुझाउनेछ। मैले अहिलेसम्म तिमीहरूलाई भूमिमा ल्याएको छैन जो म दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, तर पहिला नै मैले जानिसकेकोछु तिनीहरूले के गर्ने योजना बनाउँदैछन्।”
22 यसकारण मोशाले त्यही दिन गीत लेखे अनि इस्राएलका मानिसहरूलाई यो पढाए।
23 तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”
इस्राएलीहरूलाई मोशा चेताउनी दिन्छन्
24 यी सबै व्यवस्था वचन मोशाले एउटा पुस्तकमा लेखे। जब तिनले लेखिसके, 25 तिनले लेवीहरूलाई आज्ञा दिए। (यी मानिसहरू परमप्रभुका करारको सन्दूक बोक्छन्।) मोशाले भने, 26 “व्यवस्थाको यो पुस्तक ल्याऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख। तब यो तिमीहरूको विरूद्धमा साक्षीको रूपमा हुनेछ। 27 म जान्दछु तिमीहरू अट्टेरी गर्नेछौ। 28 तिमीहरूका कुल समूहका सबै अगुवाहरू र बूढा-प्रधानहरूलाई लिएर आऊ। म तिनीहरूलाई यी सबै कुराहरू बताउनेछु अनि पृथ्वी र स्वर्गलाई तिनीहरूको विरूद्धमा साक्षी बस्न लगाउने छु। 29 म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुशरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”
मोशाको स्तुति गीत
30 तब मोशाले इस्राएलका सबै मानिसहरूलाई यो सम्पूर्ण गीत सकून्जेलसम्म सुनाए।
32 “हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी!
मेरो मुखको वचनहरू सुन।
2 मेरा शिक्षाहरू झरी झैं पर्नेछन्।
भूईँमा खस्ने तुषारो
जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी
जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
3 किनभने म परमप्रभुको नाउँ घोषणा गर्छु,
हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।
4 “उहाँ चट्टान हुनुहुन्छ,
कारण उहाँका बाटाहरू सही छन्,
परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ।
उहाँ असल,
र इमानदार हुनुहुन्छ।
5 अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ,
तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ,
कारण तिमीहरू धूर्त झूटा छौ।
6 के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा
कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ?
होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ।
परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ।
उहाँले तिमीहरूको सृष्टि गर्नुभयो।
उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।
7 “उहिले नै के भएको थियो सम्झना गर,
धेरै-धेरै बर्षअघि भएका कुराहरू सम्झना गर।
तिमीहरूका पितालाई सोध
तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
8 सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी
प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो।
परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो,
जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
9 परमप्रभुको निज हिस्सा उहाँका
मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।
10 “परमप्रभुले याकूबलाई बीरानो
अनि बतासले भरिएको मरुभूमिमा भेट्नुभयो।
परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो।
उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।
11 इस्राएलको निम्ति परमप्रभु गरूड़ झैं हुनु हुन्थ्यो।
गरूड़ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ,
सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उड्छे।
उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पखेंटा फिँजाउँछे।
अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे।
परमप्रभु त्यस्तै हुनुहुन्छ।
12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन्
परमप्रभु एक्लैले याकूबको नेतृत्व गर्नु भयो।
13 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो
अनि याकूबले खेतको उब्जनी लगे।
परमप्रभुले उसलाई पहराको मह दिनुभयो,
अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट
र भेंडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो;
उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेंडाहरू र अति असल गहुँ दिनुभयो।
इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।
15 “तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने।
(हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ।)
तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे,
अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे।
तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए।
त्यो तिनीहरूले जान्दैन थिए,
ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोड्यौ
तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।
19 “परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो।
उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
20 यसकारण परमप्रभुले भन्नुभयो,
‘म तिनीहरूलाई त्याग गर्नेछु
तब हेरौं के हुन्छ!
तिनीहरू विद्रोही मानिसहरू हुन्।
तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिक्दैन।
21 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन्
तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए।
म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्।
म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
22 मेरो रीस आगो जस्तै बल्नेछ।
चिहानको तल्लो सतहसम्म बलेर।
पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै
बलेर पहाडको तलसम्म जलाई दिन्छु।
23 “‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु,
म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
24 तिनीहरू भोकले, दुर्बल हुनेछन्
अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्।
तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु।
विषालु सर्पहरू र छेपाराहरूले तिनीहरूलाई टोक्ने छन्।
25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्।
तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्।
सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्।
तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरूलाई मार्नेछन्।
26 “‘मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें।
यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्।
शत्रुहरूले बुझ्ने छैनन्।
तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्,
“परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन
हामीले हाम्रै शाक्तिले जित्यौं।”’
28 “इस्राएलका मनिसहरू मूर्ख छन्,
तिनीहरूले केही बुझ्दैनन्।
29 यदि तिनीहरू ज्ञानी भए
तिनीहरूले बुझ्ने थिए,
तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
30 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेट्न सक्छ?
के दुइजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सक्छन्?
यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ।
यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
31 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन
शत्रुहरूलाई पनि यो थाहा छ।
32 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ।
तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
33 तिनीहरूको दाखरस सर्पको विष झैं छ।
34 “परमप्रभु भन्नुहुन्छ,
‘म त्यस दण्डलाई साँच्दैछु।
मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।
35 तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति,
म नै तिनीहरूलाई दण्ड दिन्छु।
तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु
जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्।
तिनीहरूको निम्ति कष्टको समय नजिकै छ।
तिनीहरूको दण्ड चाँडै आउनेछ।’
36 “परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ।
तिनीहरू उहाँका सेवकहरू हुन्
अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ।
उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ।
कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि,
असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
37 तब परमप्रभुले भन्नु हुनेछ,
‘झूटा देवताहरू कहाँ छन्?
त्यो “चट्टान” कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ?
38 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए
अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए।
यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून्
तब तिमीहरूको रक्षा गरून्।
39 “‘अब हेर, एक मात्र म नै परमेश्वर हुँ!
अरू कुनै ईश्वर छैन।
म नै मानिसलाई मार्दछु,
अनि मानिसहरूलाई जीवित पार्दछु,
म मानिसहरूलाई चोट पुर्याउन सक्छु,
अनि तिनीहरूलाई निको पार्न सक्छु।
कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँन सक्दैन।
40 म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु।
म सधैँ निश्चित हुन्छु
यी कुराहरू हुनेछन्।
41 म प्रतिज्ञा गर्छु,
म मेरो चम्किने तरवार उधाउँनेछु,
मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु।
म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।
42 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्।
मेरो काँडहरू तिनीहरूको रगतले रंगीने छन्।
मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।’
43 “सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ।
किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ,
उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्।
उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ।
अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
मोशाले मानिसहरूलाई आफ्नो गीत सिकाउँछन्
44 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए। 45 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके, 46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ। 47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सक्छौ।”
मोशा नबो डाँडामा
48 त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो, 49 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सक्छौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु। 50 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरे र आफ्नो मानिसहरूसित मिले। 51 किनभने जब तिमी सीनको मरुभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ’, भनी मानिसहरूलाई बुझाएनौ। 52 यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सक्छौ तर त्यहाँ पस्न सक्दैनौ।”
मोशाले मानिसहरूलाई आशीर्वाद दिन्छन्
33 परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो। 2 मोशाले भने,
“परमप्रभु सीनैबाट आउनुभयो,
परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो।
उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो।
परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो।
परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।
3 हो, परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,
उहाँका सबै पवित्र मानिसहरू उहाँको अधीनमा छन्।
तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्नेछन् उहाँको शिक्षाहरू सिकेर, उहाँको अनुशरण गर्छन्।
4 मोशाले हामीलाई व्यवस्था दिए।
ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्।
5 त्यस समयमा, इस्राएलका मानिसहरू
र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए
अनि परमप्रभु यशूरूनका राजा हुनुभयो।
रूबेनको आशीर्वाद
6 “रूबेन जीवित रहुन्, र नमरोस्,
तर त्यहाँ उनको कुलमा मात्र केही मानिसहरू रहुन्।”
यहूदाको आशीर्वाद
7 मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः
“परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ।
उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्,
उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।”
लेवीको आशीर्वाद
8 मोशाले लेवीहरूको विषयमा यी कुराहरू भनेः
“लेवी तपाईंको साँच्चो चेला हो।
उसले तुम्मीम र ऊरीम राख्छ।
तपाईंले मस्सामा लेवीको मानिसहरूको परीक्षा लिनु भएको थियो।
मरीबाको पानीमा तपाईंले प्रमाण गर्नु भएको थियो लेवीहरू तपाईंका हुन्।
9 आमा-बाबुको विषयमा लेवीले भने,
‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’
उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन,
आफ्नो बाल-बच्चाहरू चिनेन।
तर उसले तपाईंका आज्ञाहरू पालन गरे,
तपाईंको करार माने।
10 तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्,
तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्।
तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्,
तपाईंको वेदीमा होमबलि चढाउनेछन्।”
11 “परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्।
उसले गरेका कुराहरू ग्रहण गर्नु होस्।
उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्।
उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”
बिन्यामीनको आशीर्वाद
12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने:
“बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ।
बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ।
परमप्रभुले उसलाई सधैँ रक्षा गर्नुहुन्छ।
अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”
यूसुफको आशीर्वाद
13 मोशाले यूसुफ विषयमा यसो भनेः
“परमप्रभुले उसको भूमिमा
आशिष दिऊन माथि आकाश
र तल पृथ्वीबाट परमप्रभु पानी पठाउनु होस्।
14 घामले उत्तम फल उसैलाई देओस्।
चन्द्रमाले दिएको उत्तम फल उसैलाई होस्।
15 पहाड प्राचीन पर्वतहरूले
उत्तम फल तिनीहरूलाई उब्जाऊन्।
16 पृथ्वीले उब्जाउने उत्तम चीजहरू उसैलाई देओस्।
यूसुफलाई उसको दाज्यू-भाइहरूबाट अलग्ग गराइएको थियो।
यसकारण पोथ्रामा बल्दै गरेका परमप्रभुले यूसुफलाई आफ्नोमा भएका सम्पूर्ण उत्तम चीजहरू दिऊन्।
17 यूसुफ शक्तिशाली साँढे जस्तै हो।
उसका दुइ छोराहरू साँढेका सींगहरू जस्तै छन्।
तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन्
अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्।
हो मनश्शेसित हजार मानिसहरू छन्
अनि एप्रेमसित दश हजार मानिसहरू छन्।”
जबूलून र इस्साकारको आशीर्वाद
18 जबुलूनको बिषयमा मोशाले भनेः
“ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ,
अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ।
19 तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्,
त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्।
तिनीहरूले सागरबाट ऐश्वर्य
अनि सागरको किनारबाट सम्पत्ति भेट्नेछन्।”
गादको आशीर्वाद
20 गादको विषयमा मोशाले भनेः
“परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो!
गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्।
तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।
21 उनले आफ्नो निम्ति सबभन्दा असल अंश छान्छन्।
उनले राजाको भाग नै लैजान्छन्।
उनीकहाँ मानिसहरूका अगुवाहरू आउँछन्।
परमप्रभुले बताउनु भएको असल कार्यहरू उनी गर्छन्।
उनी इस्राएलका मानिसहरूका लागि के राम्रो हुन्छ त्यही गर्छन्।”
दानको आशीर्वाद
22 दानको विषयमा मोशाले भनेः
“दान सिहंको छोरो हो
जुन बाशानबाट उफ्रिन्छ।”
नप्तालीको आशीर्वाद
23 नप्तालीको विषयमा मोशाले भनेः
“नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ।
परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ।
तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।”
आशेरको आशीर्वाद
24 मोशाले आशेरको विषयमा यसो भनेः
“छोराहरूमध्ये आशेर सबैभन्दा बढी आशीर्वाद पाउने हो।
ऊ आफ्ना दाज्यू-भाइहरूको खूबै प्यारो होस्।
अनि उसले आफ्नो गोडाहरू तेलले धुन सकोस्।
25 तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्।
तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”
मोशा परमेश्वरको प्रशंसा गर्छन्
26 “यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन।
परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर
आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढ्नुहुन्छ।
27 परमेश्वर सधैँ बाँच्नु हुन्छ।
उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ।
परमेश्वरको क्षमता सधैँका लागि रहन्छ।
उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ।
परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ।
उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’
28 यसकारण इस्राएल सुरक्षित रहनेछन्
अनि याकूबको इनार तिनीहरूको हुनेछ।
तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन्
अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।
29 हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ,
अरू कुनै जाति तिमी जस्तो छैन।
परमप्रभुले तिमीलाई जोगाउनु भयो।
परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ।
परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ।
तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन्
अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
मोशाको मृत्यु
34 मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो। 2 नप्ताली, एप्रैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहूदाको भूमि, 3 नेगेब दक्षिण भाग र खजूरका रूखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो। 4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”
5 तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6 परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन। 7 मोशा 120 बर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए। 8 इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुन्जेलसम्म बसे।
यहोशू नयाँ अगुवा हुन्छन्
9 मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।
10 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखा-मुख चिन्नु भएको थियो। 11 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे। 12 अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।
© 2004, 2010 Bible League International