Bible in 90 Days
30 “परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ। 31 समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइन्जेलसम्म जीउने छैनन। 32 इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुन्जेल बाँच्ने छैन। 33 तर तेरा सन्तानको एकजना व्यक्ति मेरो वेदीको पूजाहारीको रूपमा रहनेछ। उसको आँखाको शक्ति रहुन्जेल र शारीरिक शाक्ति कम्ती नहुन्जेल सम्म ऊ रहनेछ। तेरा सन्तान तरवारले काटिएको उसले देख्नेछ। 34 म तँलाई यो चिन्ह दिनेछु जसले गर्दा तैंले यो साँचो हो भनी जान्नेछस्। तेरा दुवै छोरा होप्नी र पीनहास एकै दिनमा मर्नेछन्। 35 म एउटा विश्वासयोग्य पूजाहारी नियुक्त गर्नेछु, जसलाई मैले आदेश गरे अनुसार काम गर्नेछ। म त्यस पूजाहारीको परिवारलाई शक्तिशाली बनाउनेछु। उसले जीवनभरी मैले चुनेको राजाको सामु सेवा गर्नेछ। 36 त्यसपछि तेरो परिवारमा कोही बाँचे भने तिनीहरूले पूजाहारीको अघि आएर झुक्नेछन् र भन्नेछन्, “दया गरी मलाई पूजाहारीको रूपमा नियुक्त गर्नुहोस् ताकि म सँग केही खाने चीज होस्।”’”
परमेश्वरले शमूएललाई बोलाउनु भयो
3 एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।
2 एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। 3 शमूएल चाहिँ पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो। 4 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। 5 शमूएलले सोचे एलीले उसलाई बोलाएको हो। यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”
तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइनँ। आफ्नो ओछ्यानमा गएर सुत।”
शमूएल आफ्नो ओछ्यानमा गए। 6 परमप्रभुले फेरि बोलाउनु भयो, “शमूएल!” शमूएल फेरि एलीको ओछ्यानमा गएर भने, “तपाईंले मलाई बोलाउनु भएको हो, म यहाँ छु।”
एलीले भने, “मैले बोलाएको छैन मेरो छोरा! जाऊ, गएर सुत।”
7 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।
8 परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।”
त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। 9 एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।’”
यसकारण शमूएल ओछ्यानमा गए। 10 परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!”
शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।”
11 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। 12 मैले एली र त्यसको परिवारको विरूद्धमा जे-जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु। 13 मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैँको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्। 14 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”
15 बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।
16 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।”
शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”
17 एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।”
18 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्।
एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”
19 शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन। 20 त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए। 21 शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफैं शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।
4 इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे।[a]
पलिश्तीहरूले इस्राएलीहरूलाई हराए
त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले। 2 पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए।
पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए। 3 बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”
4 त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए।
5 जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो। 6 पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुनें। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?”
पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ। 7 पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन। 8 हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए। 9 पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।”
10 पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए। 11 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।
12 त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे। 13 त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले। 14-15 एली अन्ठानब्बे बर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे, “मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रुँदैछन्?”
उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए। 16 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!”
एलीले फेरि सोधे, “के भयो हँ छोरा?”
17 बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”
18 जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस बर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।
महिमाको अन्त भयो
19 एलीकी बुहारी, पीनहासकी पत्नी त्यस समय गर्भवती थिईन्। तिनीको नानी जन्माउने समय पुगिसकेको थियो, परमेश्वरको पवित्र सन्दूक कब्जा गरेको घटना साथै ससुरा र लोग्नेको पनि मृत्यु भएको खबर सुन्नेबित्तीकै प्रसववेदना शुरू भयो, यसकारण उसले घुँडा टेकी र तत्कालै एउटा छोरा जन्माईन्। 20 जब तिनी मर्नै लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिम्रो एउटा छोरा भयो।”
तर एलीकी बुहारीलाई त्यस दुःखको खबरले कुनै असर गरेन। 21 तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ “ईकावोद” राखिन्, जसको अर्थ “इस्राएलको महिमा लगियो!” उनले यो नाउँ राखीन् कारण परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुराको संकेत गराउँछ। 22 तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।
पवित्र सन्दूक पलिश्तीहरूका निम्ति समस्या बन्यो
5 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए। 2 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे। 3 भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे।
अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए। 4 अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो। 5 त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।
6 परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले। 7 जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”
8 अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”
शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।
9 फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो। 10 यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।
जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?” 11 एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”
एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो। 12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।
परमेश्वरको पवित्र सन्दूक फेरि घर लगियो
6 पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे। 2 पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”
3 पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”
4 पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”
पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर। 5 गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ। 6 फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।
7 “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्। 8 परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाडा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ। 9 त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफैं फैलिएको हो भनेर जान्नुपर्यो।”
10 पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए। 11 त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे। 12 गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।
13 बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए। 14-15 गाडा सोझै बेत-शेमेशका यहोशूको खेतमा एउटा ठूलो चट्टान अगाडि रोकियो।
बेत-शेमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे। गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए।
लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थौला उठाएर त्यो चट्टानमाथि राखे।
त्यस दिन बेत-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए।
16 पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।
17 यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन। 18 पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए।
बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ। 19 जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले। 20 यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”
21 किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”
7 किर्यात्-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए। 2 किर्यात्-यारीमा उक्त सन्दूक बीस बर्षसम्म रह्यो।
परमप्रभुले इस्राएलीहरूलाई रक्षा गर्नुहुन्छ
इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे। 3 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समर्पित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”
4 यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले।
5 शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”
6 इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।
7 पलिश्तीहरूले इस्राएलीहरू मिस्पामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिश्ती शासकहरू इस्राएलीहरू विरूद्ध युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिश्तीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले। 8 इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”
9 शमूएलले एउटा भेंडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेंडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो। 10 जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। 11 इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे।
इस्राएलमा शान्ति फर्कियो
12 त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान”[b] नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”
13 पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो। 14 पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए।
त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।
15 शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए। 16 शमूएलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक बर्ष देशको एक कूनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्पाको फेरो मार्थे। यसरी शमूएलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे। 17 शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी सधैँ त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।
इस्राएलीहरूले राजाको माग गरे
8 शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे। 2 शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए। 3 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे। 4 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। 5 बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”
6 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे। 7 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्। 8 तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्। 9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”
10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए। 11 शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।
“राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।
13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।
14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्। 15 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।
16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्। 17 तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्।
“अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ। 18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”
19 तर मानिसहरूले शमूएलको कुरा सुन्दैसुनेन्। तिनीहरूले भने, “होइन! हामीलाई शासन गर्ने एउटा राजा नै चाहिन्छ। 20 तब हामी पनि अरू देश सरह हुनेछौ, हामीलाई नेतृत्व दिने, हाम्रो अघि युद्ध लड्ने, हाम्रा निम्ति युद्ध गर्ने हाम्रा राजा हुनेछन्।”
21 शमूएलले मानिसहरूको भनाइ सुने पछि शमूएलले परमप्रभुलाई तिनीहरूका कुरा दोहोर्याइदिए। 22 परमप्रभुले जवाफ दिनु भयो, “तिनीहरूले चाहे जस्तै! तिनीहरूलाई एउटा राजा देऊ।”
तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “ठीकै छ! तिमीहरूले एउटा राजा पाउँने भयौ। अहिले सबै तिमीहरूको शहरमा जाऊ।”
शाऊलले पिताका गधाहरूको खोजी गर्छ
9 कीश बिन्यामिनी कुलका एकजना महत्वपूर्ण मानिस थिए। कीश अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए। जरोर बकोरतका छोरा थिए। बकोरत, बिन्यामीन परिवारका मानिस ओपीहकका छोरा थिए। 2 कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए।
3 एक दिन शाऊलका पिता कीशले आफ्ना गधाहरू हराए। यसकारण कीशले आफ्ना छोरा शाऊललाई भने, “एकजना नोकरलाई साथमा लिएर गधा खोज्न जा।” 4 शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।
5 अन्त्यमा, शाऊल र उनका नोकर सूप नाउँका शहरमा पुगे। शाऊलले आफ्ना नोकरलाई भने, “हामीहरू फर्कौ। अब पिताजीलाई गधाहरूको भन्दा हाम्रो चिन्ता ज्यादा भइसक्यो होला।”
6 तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔं। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनु हुन्छ होला।”
7 शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौं र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केही भेंटी पनि छैन। हामीसँग दिने लायकको के छ र!”
8 फेरि पनि त्यस नोकरले शाऊललाई भन्यो, “हेर्नुहोस्, मसँग अलिकति धनको रूपमा चाँदीको एक चौथाइ शेकेल छ। यही हामीले ती परमेश्वरका मानिसलाई चढायौं भने उहाँले हामीलाई कता जानुपर्ने हो बताउनुहुन्छ।”
9-11 शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!” यसरी तिनीहरू शहरमा गए जहाँ परमेश्वरका मानिस थिए।
शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्त्रीहरूलाई बाटोमा भेटे जो पानी भर्न आएका थिए। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)
12 ठिटीहरूले जवाफ दिए, “ज्यू, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरू भन्दा अघि जादै हुनहुन्छ। उहाँ आजै शहरमा आउनुभयो। मानिसहरूले भेला भएर उच्च स्थानहरूमा मेलबलि चढाउने भएका छन्। 13 कृपया जानुहोस् र उहाँलाई शहरमा भेट्नुहुन्छ। यदि तपाईंहरूले चाँडो गर्नुभयो भने उहाँ दर्शीलाई आराधनालयमा खान जानुभन्दा पहिले भेटिहाल्नुहुन्छ। किनभने दर्शीले बलिदानलाई आशीर्वाद दिनुपर्छ। मानिसहरूले उहाँ त्यहाँ नपुगन्जेल भोजन ग्रहण गर्दैनन्। यसकारण चाँडो जानुहोस्।”
14 शाऊल र तिनका नोकर शहर पुग्न पहाडको बाटो उक्लन थाले। जस्तो तिनीहरू शहरभित्र पस्दै थिए, त्यस्तै शमूएल उनीहरूका अघिल्तिर देखा परे। शमूएल आराधना स्थानतिर जानलाग्दै थिए।
15 एक दिन अगाडि परमप्रभुले शमूएललाई भन्नुभएको थियो, 16 “भोलि म यही समय पारेर एउटा मानिसलाई तँ कहाँ पठाउनेछु। यो मानिस बिन्यामिनी कुलको सदस्य हो। तैंले त्यसलाई अभिषेक गरिदिनुपर्छ। त्यसपछि त्यो मानिस मेरा इस्राएली मानिसहरूका प्रमुख हुनेछ। त्यस मानिसले हाम्रा मानिसहरूलाई पलिश्तीहरूबाट बचाउँने छ। मैले मेरा मानिसहरूको कष्ट देखे र रोदन सुनेकोछु।”
17 शमूएलले शाऊललाई देखे अनि परमप्रभुले भन्नु भयो, “मैले तँलाई भनेको मानिस यही हो। यसले नै मेरो मानिसहरूलाई शासन गर्नेछ।”
18 शाऊलले मूल-द्वारमा शमूएल कहाँ आएर भने, “कृपया दर्शी कहाँ हुनुहुन्छ, बताइ दिनुहुन्छ कि?”
19 शमूएलले भने, “म नै दर्शी हुँ। म भन्दा पहिले नै आराधनाको ठाउँमा जाऊ। तिमी र तिम्रा सेवकले आज मसित खाना खानेछौ। म तिमीलाई भोलि बिहान घर जानदिनेछु र जे सोध्नु छ बिहानै सोध्नु। 20 ती गधाहरूको चिन्ता नगर जो तीन दिन पहिले हराएका थिए। ती गधाहरू फेला परिसकेका छन्। अब तिमीलाई सारा इस्राएलले नै खोजिरहेकोछ। तिनीहरूले तिमी र तिम्रा पिताका परिवारलाई नै चाहान्छन्।”
21 शाऊलले जवाफ दिए, “तर म त बिन्यामिनी कुलको सदस्य हुँ। हाम्रो परिवार इस्राएलको सबै भन्दा सानो परिवार समूह हो। त्यस माथि पनि बिन्यामिनी कुलभित्र पनि हाम्रो परिवार समूह सबैभन्दा सानो छ। तपाई किन भन्नुहुन्छ कि इस्राएलले मलाई चाहन्छ?”
22 त्यसपछि शमूएलले शाऊल र तिनका नोकरलाई भोजनालयतिर लिएर गए। लगभग तीस जना मानिसहरू एकसाथ खाना खान र बलिदानमा भाग गर्न निम्त्याइएका थिए। शमूएलले शाऊल र तिनका नोकरलाई महात्वपूर्ण स्थानमा बसाए। 23 शमूएलले भान्सेलाई भनें, “जो मैले तिमीलाई दिएको थिएँ त्यो मासु ल्याउ जुन मासुको अंश मैले तिमीलाई सुरक्षित राख्न भनेंको थिएँ।”
24 भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसँगै खाना खाए।
25 खाना खाइसके पछि आराधनालयबाट झर्दै तिनीहरू शहरतिर लागे। शमूएलले शाऊलका निम्ति कौसीमा ओछ्यान लगाए शाऊल त्यहीं सुतें।
26 भोलिपल्ट बिहानै शमूएलले शाऊललाई उठाउँदै भनें, “उठ, म तिमीलाई बाटो देखाइदिन्छु।” शाऊल उठे अनि शमूएलकासाथ घरबाट बाहिरिए।
27 शहरको किनारतिर शाऊल, तिनका नोकर र शमूएल अघि बढ्दै थिए। शमूएलले शाऊललाई भने, “तपाईंको नोकरलाई हामी भन्दा अघि हिँड्न भन्नुहोस्। मैले तपाईंलाई परमेश्वरको संदेश सुनाउन बाँकी नै छ।” नोकर तिनीहरू भन्दा केही अघि हिँड्न थाल्यो।
शमूएलले शाऊललाई अभिषेक गरिदिए
10 शमूएलले एक ढुँग्रो विशेष तेल लिए र शाऊलको टाउकोमा खन्याई दिए। शमूएलले म्वाई खाँदै भने, “परमप्रभुले तपाईंलाई आफ्ना मानिसहरूका अगुवाको रूपमा अभिषेक गर्नुभएको छ। तपाईंले परमप्रभुका मानिसहरूलाई शासन गर्नुहुनेछ तपाईंले तिनीहरूलाई चारैतिरका शत्रुबाट रक्षा गर्नुपर्छ। परमप्रभुले तपाईंलाई आफ्नो मानिसहरूको शासकको रूपमा अभिषेक गर्नुभएको हो। यहाँ एउटा संकेत छ त्यसले यो सत्य हो भनि प्रमाण दिइने छ। 2 आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ: अब म मेरो छोराको लागि के गरूँ?’”
3 तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइन्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्। 4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। 5 त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्। 6 त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ। 7 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।
8 “म भन्दा पहिले गिलगाल जानुहोस्। त्यसपछि म तपाईं भएकोमा आउने छु। म त्यहाँ होमबलि र मेलबलि चढाउँनेछु। तर तपाईंले सात दिन पर्खनु पर्नेछ। तब म आउनेछु अनि तपाईंले के गर्नुपर्छ म बताउँनेछु।”
शाऊल अगमवक्ताको रूपमा
9 जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे। 10 शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो। 11 ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”
12 गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?”
शाऊल घर पुग्छन्
13 शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।
14 शऊलका काकाले शाऊललाई र त्यस नोकरलाई भने, “कता गएका थियौ?”
शाऊलले भने, “हामी गधाका खोजीमा थियौं। जब हामीहरूले तिनीहरूलाई पाउँन सकेनौ त्यसपछि हामी शमूएललाई भेट्न गयौं।”
15 शाऊलका काकाले भने, “मलाई भन त, शमूएलले के-के भने?”
16 शाऊलेले भने, “शमूएलले हामीलाई गधाहरू पाइसकेको छ भने।” शाऊलले प्रत्येक कुराहरू बताएनन्। राज्यको बारेमा शमूएलले भनेको कुरा बताएनन्।
शमूएलले शाऊललाई राजा घोषित गर्छन्
17 शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए। 18 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’ 19 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ।’ यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”
20 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। 21 शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो।
जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्। 22 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?”
परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”
23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।
24 शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”
त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
25 शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।
26 शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही बीर पुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो। 27 तर कोही बद्माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।
अम्मोनीहरूका राजा नाहाश
अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।
11 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”
2 तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”
3 याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”
शाऊलले याबेश गिलादलाई बचाउँछन्
4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले। 5 शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूलाई के कष्ट भयो? किन रोइरहेकाछन्।”
मानिसहरूलाई याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए। 6 शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए। 7 शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!”
परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के। 8 शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।
9 शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्ह भित्र तिमीहरूको उद्धार हुनेछ।”
दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए। 10 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”
11 भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।
12 तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”
13 तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”
14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”
15 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा उत्सव मनाए।
शमूएलले राजाबारे बताए
12 शमूएलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरें। 2 अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। 3 अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।”
4 सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”
5 शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!”
6 तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हारूनलाई चुन्नुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो। 7 अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।
8 “याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।
9 “तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे। 10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’
11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ। 12 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लड्न आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो। 13 अब तिमीहरूले चुनेका राजा यहाँ छन्। परमप्रभुले तिमीहरूमाथि राजालाई नियुक्ति गर्नुभयो। 14 यदि तिमीहरूले उहाँलाई सम्मान गर्यौ भने परमप्रभुले तिमीहरूको रक्षा गर्नु हुन्छ। तर तिमीहरूले परमप्रभुको डर राख्दै सम्मान गर्नु पर्नेछ। आदेश पालनगर्दै सेवा गर्नुपर्ने छ। उहाँको विरूद्धमा जाने छैनौ। तिमीहरूका साथै तिमीहरूलाई शासन गर्ने राजाले पनि परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्नुपर्छ। यदि तिमीहरूलाई भनेका कुराहरू पालन गर्छौ भने परमेश्वरले तिमीहरूलाई रक्षा गर्नुहुनेछ। 15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ।
16 “अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ। 17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।”
18 यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्षाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए। 19 सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।”
20 शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्उन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर। 21 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिनीहरू केहि होइनन्।
22 “तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन। 23 अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोड्ने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ। 24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं। 25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”
शऊलले पहिलो भूल गर्छन्
13 त्यसबेला शाऊलले राजाको रूपमा एक बर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुइ बर्ष भएको थियो, 2 तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।
3 जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।”
शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।” 4 सबै इस्राएलीहरूले यो खबर सुने। तिनीहरूले भने, “शाऊलले पलिश्तीका अगुवाहरूलाई मारे। अब भने पलिश्तीहरूले साँच्चै इस्राएलीहरूलाई घृणा गर्नेछन्।”
इस्राएलीहरूलाई शाऊलसँग भेट्नका निम्ति गिलगालमा बोलाइयो। 5 पलिश्तीहरू इस्राएलसित लड्नलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)
6 इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके। 7 कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए।
8 शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे। 9 त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए। 10 तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।
11 शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?”
शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए। 12 मैले सोचें, ‘पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।’”
13 शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो। 14 अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्टाउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।” 15 त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए।
मिकमाशको युद्ध
शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्। 16 शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए।
पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए। 17 पलिश्तीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिश्ती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओप्रा जाने सडकबाट शूआल तर्फ लागे। 18 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो।
19 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ। 20 पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो। 21 पलिश्ती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बञ्चरो र गोरू धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाईं लाग्थ्यो। 22 यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो।
23 पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।
जोनाथनले पलिश्तीहरूमाथि आक्रमण गर्छन्
14 एक दिन शाऊलका छोरा जोनाथनले तिनका हतियार बोक्ने युवकलाई भने, “हिंडे र बेंसीको पल्लो पट्टि पलिश्तीहरूको छाउनीमा जाऔं।” तर जोनाथनले यो कुरा आफ्ना पितालाई भनेन।
2 शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए। 3 एकजनाको नाउँ अहियाह थियो। अहिया ईकाबोदका भाइ अहीतूबका छोरा थिए। ईकाबोद पीनहासका छोरा थिए। पीनहास एलीका छोरा थिए। अहिले एली शीलोमा परमप्रभुको पूजाहारी थिए। अहियाह पूजाहारी थिए अनि तिनले एपोद लगाएका थिए।
यी मानिसहरूले जोनाथन गइसकेको कुरा चाल पाएनन्। 4 वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो। 5 एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।
6 जोनाथनले आफ्नो हतियार बोक्ने युवा सहयोगीलाई भने, “आऊ, ती विदेशीहरूको छाउनीमा जाऔ। हुन सक्छ, परमप्रभुले तिनीहरूलाई डराउनको निम्ति हामीलाई प्रयोग गर्नुहुनेछ। हामीसँग ज्यादा सैनिक होस् कि नहोस् परमप्रभुलाई कसैले रोक्न सक्दैन।”
7 जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस्। म त तपाईंको साथमा छँदैछु।”
8 जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं। 9 यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं’ भन्छन् भने हामी जहिंको तहीं उभिनेछौं। हामी अघि बढ्दैनौं। 10 तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढ्छौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”
11 यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।” 12 किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।”
जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।”
13-14 जोनाथन हात खुट्टा टेकेर पहाडमाथि उक्ले। तिनका सहायक पनि पछि लागे। जोनाथन र तिनका सहायकले पलिश्तीहरूलाई आक्रमण गरे। पहिलो आक्रमणमा तिनीहरूले बीसजना पलिश्तीहरूलाई आधा एकर जमीनमा मारे। जोनाथनले उसको अघाडि आएकाहरूसित लडाई गरिनै रहे। पछाडिबाट तिनका सहायक आए अनि घाईतेहरूलाई मारे।
15 मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।
16 शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे। 17 शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।”
तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।
18 शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” (त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।) 19 शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।”
20 शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिश्ती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा़ गर्न शुरू गरे। 21 केही हिब्रूहरू पनि पलिश्तीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिश्तीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले। 22 पलिश्ती सैनिकहरू भाग्दै छन् भन्ने खबर एप्रैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिश्तीहरूलाई खेद्न थाले।
23 यसरी परमप्रभुले इस्राएलीहरूलाई त्यस दिन रक्षा गर्नुभयो। तिनीहरूले बेत-आवेनको पारिसम्मै लडाँईं लडे। सबै सैनिकहरू शाऊलका साथ थिए त्यहाँ झण्डै 10,000 पुरूष थिए। एप्रैमका पहाडी देशको प्रत्येक शहरमा युद्ध फैलियो।
शाऊलले दोस्रो चोटि भूल गर्छन्
24 त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरून्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
25-26 युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए। 27 तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरजस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
28 एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”
29 जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ। 30 आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”
31 त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए। 32 तिनीहरूले पलिश्तीहरूबाट भेंडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।
33 शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरूद्धमा पाप गर्दैछन्। तिनीहरूले रगतै समेत मासु खाँदैछन्!”
शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौ। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।” 34 फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेंडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेंडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।”
त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे। 35 शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैंले वेदी बनाउन शुरू गरे।
36 शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्ने छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।”
सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।”
तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”
37 यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।
38 यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ। 39 म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।
40 यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।”
सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”
41 तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।”
यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्। 42 शाऊलले भने, “अब म र मेरो छोरामा कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।
43 शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।”
जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”
44 शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”
45 तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।
46 शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए।
शाऊल इस्राएलका शत्रुसँग लडे
47 शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसँग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए। 48 शाऊल अत्यन्तै साहसी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए।
49 शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो। 50 शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्।
शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए। 51 शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए।
52 शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।
शाऊलले अमालेकीहरूलाई नष्ट गरे
15 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन। 2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘जब इस्राएलीहरू मिश्रबाट बाहिर आए तब अमालेकीहरूले तिनीहरूलाई कनान जानलाग्दा रोक्ने चेष्टा गरे। अमालेकीहरूले जे गरे मैले देखे। 3 अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेंडा ऊँट गधा केही बाँकी नराख।’”
4 शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए। 5 त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे। 6 शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे।
7 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए। 8 शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे। 9 शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेंडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे।
शमूएलले शाऊलबाट भएको पाप बताइदिए
10 शमूएलले परमप्रभुबाट खबर पाए। 11 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।
12 शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।”
त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।[c] 13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”
14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?”
15 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”
16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।”
शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”
17 शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। 18 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ 19 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।”
20 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। 21 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”
22 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेंडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो। 23 आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”
24 शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिनँ। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने। 25 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।”
26 तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”
27 जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो। 28 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ। 29 परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूटो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।”
30 शाऊलले भने, “ठीक छ, मैले पाप गरें। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकुँ।” 31 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।
32 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।”
अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।”
33 तर शमूएलले अगागलाई भने, “तेरो तरवारले नानीहरूलाई आमाको काखबाट खोस्यो। त्यसकारण अब तेरो आमाले तिनका छोरा-छोरीहरू गुमाउने छन्।” यति भनेर गिलगालमा परमप्रभुको अघि शामूएलले अगागलाई टुक्रा-टुक्रा बनाएर काटिदिए।
34 त्यसपछि शमूएल त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के। 35 त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो।
© 2004, 2010 Bible League International