Bible in 90 Days
बलिदानहरू अनि भेटीहरू
1 परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो, 2 “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेंडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।
3 “यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ। 4 उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।
5 “पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्। 6 तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्। 7 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्। 8 हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउकाका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्। 9 त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।
10 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ। 11 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्किउन्। 12 तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस। 13 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।
14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ। 15 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्। 16 त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली[a] निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्। 17 त्यसपछि त्यसलाई पूजाहारीले नटुक्र्यइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।
अन्नबलिहरू
2 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्। 2 तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ। 3 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।
पकाएको अन्नबलिहरू
4 “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्। 5 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्। 6 त्यो मसिनो गरी पिंध अनि त्यसमा तेल खन्याऊ। त्यो अन्नबलि हो। 7 यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।
8 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्। 9 पूजाहारीले अन्नभेटीको केही भाग छुट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ। 10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।
11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।) 12 तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन। 13 तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ।
अगौटे फलहरूबाट अन्नबलि
14 “यदि तिमीहरू बर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ। 15 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो। 16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।
मेलबलि
3 “यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाहीं निष्खोट होस्। 2 अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्। 3 आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा-भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो। 4 दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्। 5 तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो नजलाउन्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।
6 “यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेंडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्। 7 यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ। 8 तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्। 9 तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ। 10 दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको बोसो पनि निकाल्नु पर्छ। मृगौलासहित कलेजा छोप्ने मासु पनि निकाल्नु पर्छ। 11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो निकाल्नु पर्छ। यो परमप्रभुको निम्ति भोजन बलि हो।
12 “यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्। 13 तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्। 14 तब उसले उसको आफ्नो बलि परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो, 15 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्। 16 अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो। 17 यो नियम तिमीहरूका सन्तानहरू रहून्जेलसम्म सधैँ रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”
संभोगले भएका पापहरूको निम्ति बलिहरू
4 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।
3 “यदि कुनै अभिषिक्त पूजाहारीले पाप गर्यो भने त्यो मानिस आफैं पापको दोषी हुन्छ, त्यसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ। 4 अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ। 5 त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्। 6 त्यसपछि पूजाहारीले आफ्नो औंला रगतमा चोपोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्। 7 त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याउन्। 8 अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ। 9 दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मृगौलाहरूसँगै पापबलिको साँढेबाट निकाल्नु पर्छ। 10 मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालियोस्। त्यसपछि पूजाहारीले त्यस बलिलाई होमबलिको वेदीमा जलाओस्। 11 तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत, 12 अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाऊराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।
13 “यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्। 14 जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ। 15 अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ। 16 तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्। 17 अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्। 18 अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ। 19 अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्। 20 उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ। 21 पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
22 “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ, 23 तर पछि आफ्नो दोष थाह भयो भने, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै-भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ। 24 तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुको अघि मारोस् यो शुद्धिकरणको बलि हो। 25 त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस् 26 उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रयाश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।
27 “यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ 28 अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै-भुत्ला भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्। 29 तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्। 30 तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्। 31 अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।
32 “यदि कसैले उसको पापबलिको निम्ति भेंडा ल्याउँछ भने, तब उसले निष्खोट भेंडाको पाठो ल्याउनु पर्छ। 33 उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ। 34 तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सींङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ। 35 तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।
विभिन्न संभोगका पापहरू
5 “यदि कसैले यस्तो प्रकारले पाप गरे जसमा त्यो मानिस आफ्नै आँखाले प्रत्यक्ष देखेको अथवा कानले सुनेको कुरोमा साक्षी भएर पनि भन्दैन भने ऊ त्यस कामको निम्ति पापी हो, अनि उसले त्यस पापको निम्ति सजाय भोग्नु पर्छ।
2 “अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उड्ने पंक्षीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।
3 “एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब ऊ दोषी हुनेछ।
4 “अथवा एकजना मानिसले केही राम्रो अथवा नराम्रो काम गर्ने प्रतिज्ञा गर्छ। उसले विचार अनि आफ्नो प्रतिज्ञा बिर्सन्छ। तर जब पछि उसले आफ्नो प्रतिज्ञाको सम्झना गर्छ, तब उसलाई दोषी ठहराइनेछ। 5 जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्यो त्यो स्वीकार गर्नुपर्छ। 6 अनि उसको पाप प्रायश्चितको निम्ति, उसले एउटा जवान भेंडा अथवा बाख्राको पाठी उसको बथानबाट एउटा दोषबलि जस्तै परमप्रभु कहाँ ल्याउनु पर्छ। यस प्रकारले पूजाहारीले त्यो मानिसको पापबाट मुक्त गराउनको लागि प्रायश्चित कार्य गर्नेछ।
7 “यदि उसले आफ्नो दोषबलि चढाउन भेंडा अथवा बाख्राको पाठीको व्यवस्था गर्न सक्तैन भने, उसले परमप्रभुलाई दोषबलि चढाउनलाई अथवा पापबाट मुक्त हुन र अर्को होमबलिको निम्ति एक जोडी परेवा अथवा ढुकुर ल्याउनुपर्छ। 8 उसले त्यो ढुकुर अथवा परेवाको जोडी पूजाहारीकहाँ ल्याउनुपर्छ र पूजाहारीले एउटा चाँहि पहिले पापबलिको निम्ति चढाओस्। उसले त्यसको घाँटी अँठ्ठाएर टाउको निमोठोस तर त्यसलाई चुँढाई नहालोस्। 9 तब उसले पापबलिको केही रगत शुद्धताको निम्ति वेदीको पाटामा छर्कियोस अनि बाँकी रगत वेदीको आधारमा खँन्याई दियोस्। यो पापबलि हो। 10 त्यसपछि पूजाहारीले अर्को चाँहि ढुकुर परेवा नियमानुसार होमबलि चढाओस्। यस्तो प्रकारले पूजाहारीले त्यस पाप गर्ने मानिसलाई उसको पापबाट शुद्ध गराओस् अनि त्यो मानिसले क्षमा पाउँछ।
11 “यदि कुनै मानिसले दुइवटा ढुकुरहरू अथवा दुइवटा परेवाहरू किन्न सक्दैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलिको निम्ति हुनुपर्छ। 12 उसले त्यो पिठो पूजाहारीकहाँ ल्याओस् अनि पूजाहारीले त्यसबाट सम्झना स्वरूप एक मुठ्ठी पीठो निकालेर परमप्रभुको निम्ति अग्निहोममाथि वेदीमा जलाओस्। यो पापबलि हो। 13 यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”
14 तब परमप्रभुले मोशालाई भन्नुभयो, 15 “जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा ल्याउनुपर्छ। भेंडाको मोल आधिकारिक नाप अनुसार उसको 16 पवित्र चीजहरूसित गरेको पापको निम्ति उसले अपराध बीस प्रतिशत जोडेर फिर्ता दिनुपर्छ। अनि दोषबलिको भेंडाद्वारा चढाएकोमा पूजाहारीले उसको पापको निम्ति प्रायश्चित गर्नेछ अनि उसलाई पाप क्षमा दिनेछ।
17 “जब कुनै व्यक्तिले परमप्रभुले नगर्नु भनेको कामगर्छ तर उसलाई त्यो थाहा हुँदैन, तब पनि त्यो मानिस दोषी हुनेछ। 18 तब उसले गरेको पापको ओजन बराबरको मूल्यमा एउटा निष्खोट भेंडा पूजाहारीकहाँ दोष बलिको निम्ति ल्याउनुपर्छ। जुन पाप उसले नजानी गरेको थियो पूजाहारीले त्यसले गरेको पापबाट उसलाई क्षमा गराउनेछ। 19 यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।”
अरूको निम्ति दोषबलि
6 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “जब एकजना मानिस परमप्रभुको विररूद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ। 3 अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन। 4 यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरेको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्यो। 5 जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ। 6 उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ। 7 अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”
होमबलिहरू
8 परमप्रभुले मोशालाई भन्नुभयो, 9 “यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुन्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्। 10 पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्। 11 पूजाहारीले लगाएको वस्त्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्। 12 आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाऊरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ। 13 वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।
अन्नबलिहरू
14 “अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्। 15 पूजाहरीले परमप्रभुलाई स्मारक भेटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मूठ्ठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।
16 “रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ। 17 त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ। 18 परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सधैँको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”
पूजाहारीको अन्नबलि
19 परमप्रभुले मोशालाई भन्नुभयो, 20 “यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा। 21 तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।
22 “अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सधैँको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ। 23 पूजाहरीले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।”
पापबलिको नियम
24 परमप्रभुले मोशालाई भन्नुभयो, 25 “हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुको अघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो। 26 जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ। 27 जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ।
“यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ। 28 अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको भए त्यो माझेर पानीले पखाल्नु पर्छ।
29 “पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो। 30 तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।
दोषबलिहरू
7 “दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ। 2 जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।
3 “त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो, 4 दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ। 5 पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।
6 “अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ। 7 दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो। 8 जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ। 9 अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ। 10 तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ।
मेलबलिहरू
11 “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने, 12 उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्। 13 उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ। 14 मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ। 15 धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।
16 “यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ। 17 तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ। 18 यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ त्यसले दण्ड पाउँनेछ।
19 “कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्। 20 तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्याउनु पर्छ।
21 “जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”
22 परमप्रभुले मोशालाई भन्नुभयो, 23 “इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेंडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन। 24 तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन। 25 परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।
26 “चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु। 27 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”
डोलाउने बलिको निम्ति नियम
28 परमप्रभुले मोशालाई भन्नुभयो, 29 “इस्राएलका मानिसहरूलाई भन: जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैं लिएर आउनुपर्छ। 30 परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ। 31 पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ। 32 मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्। 33 हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ। 34 किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”
35 जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्। 36 परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो।
37 यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्। 38 जुनदिन परमप्रभुले सीनै मरुभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सीनै पर्वतमा दिनु भएको थियो।
मोशाले पूजाहारीहरू तयार पार्छन्
8 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेंडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ। 3 तब तिनीहरूलाई सम्पूर्ण मानिसहरूसँग भेट हुने पालमा लैजाऊ।”
4 यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए। 5 मोशाले मानिसहरूलाई भने, “यो परमप्रभुले आज्ञा दिनु भएको कुरा यही हो।”
6 तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए। 7 तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए। 8 तब उनले हारूनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुम्मीम राखिदिए। 9 परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए।
10 मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। 11 उनले अभिषेक तेल वेदीमा सात पल्ट छर्किदिए। उनले अभिषेक तेल वेदी अनि भाँड-कुँडाहरू हातमुख धुने भाँडो अनि कचौरा राख्ने ठाउँलाई पवित्र बनाउन छर्किदिए। 12 त्यसपछि हारूनलाई शुद्ध पार्न अभिषेक तेलको केही अंश तिनको शिरमा खन्याइ दिए। 13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए र बुनेको कमिज पहिराई पटुका बाँधिदिएर तिनीहरूलाई टोपी लगाइदिए अनि यी सबै मोशाले परमप्रभुको आज्ञा अनुसार गरेका थिए।
14 यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे, 15 अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए। 16 मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए। 17 त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए।
18 त्यसपछि तिनले होमबलिको निम्ति एउटा भेंडा ल्याए अनि हारून अनि तिनका छोराहरूले त्यस भेंडाको शिरमाथि तिनीहरूको हात राखे। 19 तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। 20-21 भेंडालाई तिनले टुक्रा-टुक्रा पारेर काटे अनि टाउको, टुक्राएको मासु अनि बोसो आगोमा जलाए। तिनले भेंडाको आन्द्रा-भुँडी र खुट्टाहरू पानीले धोए अनि सम्पूर्ण भेंडालाई नै वेदीको आगोमाथि राखे। यो सुगन्धित बास्नाको लागि होमबलि थियो। यो परमप्रभुले मोशालाई दिएको आदेश अनुसार आगोद्वारा दिइने होमबलि थियो।
22 त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेंडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेंडाको टाउकोमाथि राखे। 23 त्यसपछि तिनले त्यो भेंडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए। 24 मोशाले हारूनका छोराहरूलाई अघि ल्याए अनि तिनीहरूको दाहिने कानको लोती दाहिने हातको औंलो र दाहिने खुट्टकाको बुढी औंलाहरूमा राखिदिए अनि रहेको रगत वेदी वरिपरि छर्किदिए। 25 तिनले बोसो, बोसे पुच्छर आन्द्रा-भुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए। 26 परमप्रभु अघि राखिएको खमीर रहित रोटीको डालोबाट उनले एउटा मोटो अखमीर रोटी, अर्को एउटा अखमीरे रोटी तेल मिसाएको र अखमीरे फुलौरो अनि तिनीहरूलाई बोसो र दाहिने तिघ्रामाथि राखे। 27 तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए। 28 तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो। 29 परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेंडाको भाग थियो।
30 तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरूसँगै पवित्र पारे।
31 तिनले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ। 32 तिमीहरूले खाएर उब्रेको मासु र रोटी आगोमा जलाइ देऊ। 33 तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउन्जेल भेट हुने पाल छोड्नु हुँदैन। 34 तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो। 35 मलाई आज्ञा गरिएको छ तिमीहरू सात दिनसम्म रात-दिन भेट हुने पालको प्रवेशद्वारमा बस्नुपर्छ अनि परमप्रभुको आज्ञा पालन गर्नुपर्छ जसले गर्दा तिमीहरूको मृत्यु हुने छैन।”
36 परमप्रभुले मोशा मार्फत जे जति आज्ञा गर्नु भएको थियो हारून र तिनका छोराहरूले सबै पालन गरे।
परमेश्वरले पूजाहारीहरूलाई ग्रहण गर्नुभयो
9 आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए। 2 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेंडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ। 3 इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक बर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक बर्षको पाठा ल्याऊ। 4 अनि एउटा थुमा, एउटा साँढे र एउटा भेंडा मेलबलिको निम्ति अनि अन्नबलि तेलसित मिसाएका उपहारहरू परमप्रभु कहाँ लिएर आऊ किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”
5 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए। 6 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
7 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रयाश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”
8 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे। 9 पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए। 10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए। 11 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।
12 त्यसपछि तिनले होमबलि स्वरूप भेंडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के। 13 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए। 14 फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।
15 त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए। 16 त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए। 17 तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।
18 अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेंडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के। 19 अनि साँढे र भेंडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए। 20 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए। 21 अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रा डोलाउने बलिको रूपमा चढाए।
22 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।
23 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो। 24 परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।
परमेश्वरले नादाब अनि अबीहू नष्ट पार्नु हुन्छ
10 त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन। 2 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।
3 त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”
5 यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।
6 तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्। 7 भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।
8 त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, 9 “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुँदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सधैँ रहोस्। 10 किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ। 11 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”
12 मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ। 13 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।
14 “तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्। 15 तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सधैँको निम्ति हुनेछ।”
16 जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने, 17 “तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो। 18 तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”
19 तब हारूनले मोशालाई भने, “आज कै दिन तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?”
20 जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।
सामूहिक भोजनको नियम
11 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः 3 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।
4-6 “तिमीहरूले ऊँट खानु हुँदैन किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको छैन, भुइँभालु किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको हुँदैन। खरायो यद्यपि यो उग्राउँछ। यसको खुर चिरिएको हुँदैन किनभने यी अशुद्ध हुन्। 7 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ। 8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।
समुद्री खाद्य विषयमा नियम
9 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेंटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ। 10-11 नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेंटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु। यस्ता पशुहरू तिमीहरूको निम्ति घृणित हुन अनि तिमीहरूले तिनीहरूको मासु खानु हुँदैन तिमीहरूले तिनीहरूको मृत शरीरहरूलाई छुनु हुँदैन। 12 जलचर प्राणीहरू मध्ये जसको पखेंटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
चराहरू जो खानु हुँदैन
13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन: गरूड़, गिद्ध, कालो गिद्ध, 14 रातो चील र सबै प्रकारका कालो चील, 15 सबै थरीका कागहरू, 16 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू, 17 सानो लाटोकोसेरो, पानी काग, भुल्का, 18 सेतो लाटोकोसेरो, मरुभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील, 19 साँरस, सबै प्रकारको बकुल्ला, फाप्रेचरो र चमेरो।
किराहरूको मासु खाने नियम
20 “तिमीहरूले प्रत्येक पखेंटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ। 21 तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पखेंटा भएका किराहरू खान सक्छौ। 22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेंटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।
23 “चार खुट्टे तर पखेंटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ। 24 निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ। 25 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
पशुहरूको विषयमा धेरै नियमहरू
26-27 “कुनै प्राणी जसको चिरिएको खुर त छ तर उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अपवित्र हो। जसले पनि यसलाई छुन्छ अशुद्ध हुन्छ। चार खुट्टाले हिंड्छ तर पन्जाले टेकेर हिंड्छन् भने त्यस्तो प्रत्येक पशु तिमीहरूको निम्ति अपवित्र हो। कुनै पनि मानिस जसले त्यसलाई छुन्छ त्यो साँझसम्म अपवित्र हुन्छ। 28 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।
घस्रने पशुहरूको विषयमा नियमहरू
29 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू, 30 माउसुली, गोहोरो, भालेमुँग्रो, बालुवामा हुने छेपारो अनि रंग बद्लने छेपारो। 31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।
अशुद्ध पशुहरूको विषयमा नियमहरू
32 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा), अथवा कुनै काम आउने भाँडो किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ। 33 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाँडोमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ। 34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ। 35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।
36 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ। 37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ। 38 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।
39 “यदि तिमीहरूलाई खानको निम्ति अनुमति दिइएको पशुहरू मध्ये कुनै पशु मर्यो भने, र जसले त्यो मृत पशुको शरीरलाई छोयो भने त्यो व्यक्ति साँझसम्म अशुद्ध हुनेछ। 40 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।
41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन। 42 कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ। 43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन। 44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन 45 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्। 47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।
सुत्केरीका नियमहरू
12 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई भनः
“यदि कुनै स्त्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे। 3 अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ। 4 सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन। 5 यदि कुनै स्त्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुइ हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।
6 “शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। 7 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो। 8 यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”
चर्म रोग संबन्धी नियमहरू
13 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाऊ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ। 3 पूजाहारीले उसको चर्मरोग जाँच गर्नु पर्छ, अनि यदि पूजाहारीले घाउमा भएका रौं फुलेको थाहा पए र घाऊ छालाभन्दा गहिरो छ भन्ने थाहा भयोभने तब त्यो हानिकारक चर्मरोग हो। तब पूजाहारीले त्यस मानिसलाई जाँचि सकेपछि त्यस मानिसलाई अशुद्ध घोषणा गरिनु पर्छ।
4 “तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरू मानिसहरूदेखि अलग्गै राख्नु पर्छ। 5 यदि उसको जाँचमा त्यो घाउमा परिर्वतन नभए, अथवा घाउ नफैलिएको भए, पूजाहारीले त्यस मानिसलाई अरू सात दिन अलग्ग राख्नु पर्छ। 6 अनि सातौं दिनमा पूजाहारीले त्यो घाउलाई एक पल्ट फेरि जाँच गर्नु पर्छ, र यदि त्यो घाउ मत्थर भएको छैन अनि छालाको अरू ठाउँतिर फिंजिएको छैन भने तब पूजाहारीले उसलाई शुद्ध घोषणा गर्नु पर्छ। त्यो केवल खटिरा हो। अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ अनि ऊ शुद्ध हुनेछ।
7 “तर यदि त्यस मानिसले पत्तो लगाउँछ पूजाहरीले जाँच गरेपछि उनले घोषणा गर्नु अघि घाउ बढेको छ, तब ऊ फेरि जाँच गराउनकालागि पूजाहारीकहाँ जानु पर्छ। 8 अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्। यो एक हानिकारक रोग हो।
9 “यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ। 10-11 यदि पूजाहारीले जाँच गर्दा रोगीको छालामा सेतो सुनिएको पाउनु भयो र त्यसको रौं सेतो भएको र सुनिएको ठाऊँमा आलो घाउ रहेछ भने, यो धेरै समय सम्म रहने छालाको रोग हो र पूजाहारीले त्यसलाई अशुद्ध ठहराउन्।
12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने 13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो। 14 तर त्यस मानिसमा आलो मासु देखिने बित्तिकै अशुद्ध हुनेछ। 15 आलो मासु अशुद्ध हो र पूजाहारीले जाँच गर्ने बित्तिकै त्यो अशुद्ध भनी ठहराउने छन्। त्यो सरूवा रोग हो।
16-17 “अनि फेरि आलो मासु सेतो हुन्छ तब मानिसले पूजाहारीकहाँ अवश्यै जानुपर्छ अनि पूजाहरीले त्यस मानिसलाई जाँच गर्नु पर्छ, यदि आलो मासु सेतो भएको छ, तब पूजाहारीले त्यस मानिसलाई अवश्यै शुद्ध घोषणा गर्नु पर्छ, किनभने त्यो मानिस शुद्ध छ।
18 “यदि कसैको छालामा एक प्रकारको फोका छ अनि यो निको भएको छ, तब त्यस ठाउँमा सेतो दाग अथवा रातो-सेतो चहकिलो दाग बनिन्छ। 19 पछि त्यस ठाउँमा सेतो वर्णान्तर रातो सेतो उज्जवल दाग बनिन्छ, तब त्यो मानिस पूजाहारीकहाँ जाओस्। 20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो 21 तर यदि पूजाहारीले सेतो रौं भेट्दैनन् अनि घाउ छालाभन्दा गहिरो छैन तर नरम भएको छ, तब उनले उसलाई अरू मानिसहरूबाट सात दिनसम्म छुट्याएर राख्नु पर्छ। 22 यदि त्यो घाउ छालामा फैलिएको पाए त्यो मानिस अशुद्ध भएको घोषणा गर्नुपर्छ कारण त्यो एक सरूवा रोग हो। 23 तर यदि त्यो रातो दाग त्यहाँ फैलिएनँ भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।
24 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए, 25 यो पोलेको घाउबाट फैलिएको हानिकारक रोग हो। तर घाउ सुकेको पाए। त्यस मानिसलाई अरूबाट सात दिनसम्म यो हानिकारक चर्मरोग हुनाले पूजाहारीले अशुद्ध घोषणा गर्नुपर्छ। 26 तर यदि पूजाहारीले जाँच गर्दा त्यो चहकिलो दागमा सेतो रौं भेट्दैनन् र घाउ पनि छालाभन्दा गाडिएको पनि भेट्दैनन्, तर घाउ नरम भएको भेट्छन्, तब उनले मानिसलाई अरूबाट सात दिन लागि छुट्याउनु पर्छ। 27 त्यसपछि सातौं दिनमा पूजाहारीले रोगीलाई जाँच गरून्, यदि रातो दाग छालामा फैलिएको भए उनले त्यस रोगीलाई अशुद्ध घोषणा गरून् कारण यो एक हानिकारक चर्मरोग हो। 28 तर यदि त्यो रातो दाग आफ्नै स्थानमा रही अरूतिर फैलिएन भने र त्यो नरम रहे, पोलिएको बाट भएको वर्णान्तर हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध घोषणा गरून् किनभने उसको त्यो पोलिएको घाउबाट बनिएको दाग मात्र हो।
29 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ। 30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ। 31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्याउन पर्छ। 32 सातौं दिनको दिन पूजाहारीले घाउ जाँच्नु पर्छ। यदि घाउ फैलिएको छैन। त्यसमा पहेलो रौं छैन अनि बाहिरी छालाभन्दा दाग गहिरिएको छैन। 33 त्यस मानिसले दारी आफैं काटोस्। तर उसले दाग चाँहि नकाटोस्। पूजाहारीले त्यस रोगी मानिसलाई सात दिनको निम्ति फेरि अरू मानिसहरूबाट अलग राखून्। 34 सातौं दिनको दिन पूजाहारीले उसको दाग जाँचून् अनि यदि उसले त्यो दाग छालामा फैलिएको नभेटे र दाग निस्केको ठाउँको छाला नदबिएको भए पूजाहारीले उसलाई शुद्ध घोषित गरून्। त्यस मानिसले आफ्नो लुगा धोओस् र शुद्ध होस्। 35 तर यदि त्यो मानिस शुद्ध घोषित भए पछि दाग छालामा फैलिए। 36 यदि दाग छालमा फिँजिएको छ भने पूजाहारीले उसको जाँच गर्नु पर्छ यदि छालामा दाग फिँजिएको भेट्नेछन्, पहेंलो कपालको खोजी गर्ने आवश्यकता छैन। त्यो मानिस अशुद्ध छ। 37 तर यदि दाग निको भएको घाउ देख्दा त्यसमा केही परिवर्त्तन नपाए अनि कालो रौं पलाएको भए त्यो दाग निको भएको हो। त्यो मानिस शुद्ध छ अनि पूजाहारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गरून्।
38 “यदि कुनै पुरूष अथवा स्त्रीको शरीरै भरि सेतो दाग भए, 39 पूजाहारीले जाँच गर्नु पर्छ र यदि उनी भन्छन् त्यस मानिसको जिउको दाग मात्र धमिलिएको सेतो दाग हो, तब यो एउटा डाबर मात्र हो जो छालामा निस्किएको छ। डाबर हानिकारक हुँदैन। त्यो मानिस शुद्ध छ।
40 “जब कुनै मानिसको टाउकोको कपाल झर्छ भने त्यो मानिस खुइले मात्र हो अशुद्ध होइन। 41 यदि उसको टाउकोको अगिल्तिर एक भाग खुइलियो भने त्यो मानिस शुद्ध हो, ऊ तालु खुइले मात्र हो। 42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ। 43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने, 44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्।
45 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ। 46 त्यो मानिस अशुद्ध रहनेछ जबसम्म उसमा यो रोग रहन्छ। उसले एक्लै बस्नु पर्छ अनि उसले आफ्नो घर शिबिर बाहिर बनाउनु पर्छ।
47 “जब कुनै लुगामा, त्यो लुगा ऊनी अथवा सूती जे होस्, 48 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र 49 पलाएको ठाउँ हरियो अथवा रातो भयो भने, पूजाहारीलाई जाँच गराउनु पर्छ कारण त्यो ढुस्सी फैलिएको हो। 50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्। 51 सातौं दिनमा फेरि पूजाहारीले त्यस चीजलाई जाँच गरून् र यदि त्यो दाग[b] लुगामा, वा कुनै पनि चीजमाथि (ऊनी, सूती वा छाला जे होस्) ढुस्सी फैलिएको पाए त्यो अशुद्ध हो। 52 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ।
53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए, 54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन। 55 लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई ढुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।
56 “यदि त्यो वस्तु पूजाहारीले जाँच गर्दा त्यो धोएपछि त्यसमा दाग हराएको पाए लुगा चाहे सूती, ऊनी वा छाला जे सुकैको होस्, दाग भरिको ठाउँ काटेर फ्याँकोस्। 57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ। 58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।”
59 लुगा चाहे बुनेको अथवा सिलाएको होस् त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुस्सी लागे शुद्ध वा अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।
चर्मरोग लागेको मानिस निको हुँदाको नियमहरू
14 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।
3 “पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले 4 उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्रा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्। 5 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्। 6 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्। 7 अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।
8 “तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन। 9 सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।
10 “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेंडाको दुइवटा निष्खोट पाठो अनि एक बर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्। 11 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ। 12 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ। 13 उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो, यो अत्यन्तै पवित्र हुन्छ।
14 “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ। 15 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्। 16 त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्। 17 हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो। 18 उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।
19 “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ। 20 पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
21 “तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्था गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेंडा दोष बलिको रूपमा ल्याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ। 22 अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।
23 “उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्। 24 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ। 25 त्यसपछि दोषबलिको निम्ति भेंडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्। 26 अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ। 27 त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्। 28 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी औंला र दाहिने खुट्टाको बूढी औंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यहीं लगाई दिऊन्। 29 पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।
30 “तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ। 31 एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”
32 एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन् जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।
© 2004, 2010 Bible League International