Bible in 90 Days
परमप्रभु सुलेमान कहाँ आउनु हुन्छ
11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। 12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो,
“सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। 13 जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। 14 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु। 15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। 16 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ। 17 अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने। 18 तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पितासँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’
19 “तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने। 20 तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्। 21 प्रत्येक व्यक्ति, जो यो मन्दिर भएर पार हुन्छ जो यति उच्च रूपले सम्मानित थियो, आश्चर्यमा पर्ने छ। तिनीहरूले भन्ने छन्, ‘परमप्रभुले यो देश अनि यो मन्दिर माथि किन यस्तो भयानक कुरो गर्नु भयो?’ 22 त्यस बेला मानिसहरूले उत्तर दिने छन्, ‘किनभने इस्राएलका मानिसहरूले परमप्रभु परमेश्वर तिनीहरूको पिता-पूर्खाहरूका परमेश्वरलाई त्यागे। उहाँ उही परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई मिश्रदेश देखि बाहिर ल्याउनमा अगुवाइ गर्नु भएको थियो। तर इस्राएलका मानिसहरूले अन्य देवताहरूलाई स्वीकार गरे। तिनीहरूले ती अन्य देवताहरूको पूजा अनि सेवा गरे। त्यही कारण हो कि परमप्रभुले इस्राएली मानिसहरूमाथि यी सबै भयानक कुराहरू घट्न दिनु भयो।’”
सुलेमानले निर्माण गरेका शहरहरू
8 परमप्रभुको मन्दिर अनि आफ्नो भवन निर्माण गर्नका निम्ति सुलेमानलाई बीस बर्ष लाग्यो। 2 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए। 3 त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे। 4 सुलेमानेले मरुभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू सँग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे। 5 सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए। 6 सुलेमानले वालात शहर अनि अन्य सबै शहरहरू फेरि निर्माण गरे जहाँ तिनले धेरै चीज बीजहरू सँग्रह गरेका थिए। तिनले सबै शहरहरू निर्माण गरे जहाँ रथहरू राखिएका थिए अनि सबै शहरहरू जहाँ घोड-सवारहरू बस्थे। सुलेमानले जे चाहे यरूशलेममा त्यही निर्माण गरे उसले यरूशलेम, लबानोन अनि ती सबै क्षेत्रहरूमा जहाँ तिनीले शासन गर्थे।
7-8 त्यहाँ धेरै संख्यामा विदेशीहरू बाँकीरहेका थिए, जहाँ इस्राएलका मानिसहरू बस्थे। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबूसीहरू थिए। सुलेमानले तिनीहरूलाई सबै दास-कर्मीहरू बन्न बाध्य तुल्याए। यो आजसम्म चलिरहेको छ। ती मानिसहरू इस्राएलका मानिसहरूबाट थिएनन्। ती मानिसहरू तिनीहरूका सन्तान थिए, जो देशमा बाँकी रहेकाहरू थिए। अनि त्यस बेलासम्म इस्राएलका मानिसहरूद्वारा नष्ट गरिएका थिएनन्। 9 सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए। 10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए।
11 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, “मेरी पत्नी राजा दाऊदको भवनमा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।”
12 तब सुलेमानले परमप्रभुको वेदीमा परमप्रभुलाई होमबलि अर्पण गरे सुलेमानले त्यो वेदी मन्दिरको दलानको सामुन्ने निर्माण गरेका थिए। 13 सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विश्रामको दिन, औंसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन बार्षिक विदाहरू अखमीरी रोटीको चाड, साप्ताहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए। 14 सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए। 15 इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अवज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्त्तन गरेनन्।
16 सुलेमानका सबै कार्यहरू पूरा भए। परमप्रभुको मन्दिरको कार्य शुरू भएदेखि समाप्त नभए सम्मको योजना ठीक बनेको थियो। यसरी परमप्रभुको मन्दिरको निर्माण कार्य समाप्त भयो।
17 त्यस पछि सुलेमान एसोन-गेबेर अनि एलोत शहरहरूमा गए। ती शहरहरू एदोम देशको लाल समुद्र नजिक थिए। 18 हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।
शबाकी रानीले सुलेमानलाई भेट्छिन्
9 शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए। 2 सुलेमानले तिनका सबै प्रश्नहरूका उत्तर दिए। सुलेमानका निम्ति व्याख्या गर्न वा उत्तर दिन कठिन पर्ने कुनै कुरा थिएन। 3 शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्। 4 तिनले सुलेमानको मेचमा भोजन र तिनका अनेकौं महत्हपूर्ण अधिकारीहरू देखिन्। तिनले तिनका सेवकहरूले काम गरेको बस्त्र पहिरेको तरिका देखिन्। तिनले सुलेमानका दाखरस तयार गर्ने सेवकहरू अनि तिनीहरूले पहिरेका बस्त्रहरू देखिन्। तिनले परमप्रभुको मन्दिरमा सुलेमानले होमबलि अर्पण गरेका देखिन्। जव शबाकी रानीले यी सबै कुराहरू देखिन् तब तिनी आश्चर्य भइन्।
5 तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्। 6 म यहाँ आएर आफ्नै आँखाले नदेखुन्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ। 7 तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्। 8 परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”
9 तब, शबाकी रानीले सुलेमानलाई एक सय बीस तोडा सुन, प्रचुर मात्रामा मसला, अनि बहुमूल्य रत्नहरू दिइन्। शबाकी रानीले जस्तै उत्तम मसलाहरू कसैले सुलेमानलाई दिएका थिएनन्।
10 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य पत्थरहरू पनि ल्याए। 11 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।
12 राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए।
सुलेमानको अपार सम्पत्ति
13 सुलेमानले एक बर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो। 14 घुमन्ते पैकारीहरू अनि व्यापारीहरूले सुलेमान कहाँ अझ अधिक सुन ल्याए। अरबका सबै राजाहरू अनि देशका शासकहरूले पनि सुलेमान कहाँ सुन अनि चाँदी ल्याए।
15 राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल-ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो। 16 सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।
17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुनद्वारा मोहोरे। 18 सिंहासनमा छःवटा सिंढीहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए। 19 छःवटा सिंडीमा बाह्रवटा सिंहका मूर्तिहरू उभिएका थिए। प्रत्येक सिंडीको प्रत्येक छेउमा एउटा सिंह थियो। यस प्रकारले बनाएको सिंहासन जस्तो अन्य कुनै राज्यमा थिएन।
20 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।
21 किनभने राजा सुलेमानका जहाजहरू थिए जो हूरामका मानिसहरूले तर्शीश तिर चलाएर लान्थे। अनि प्रत्येक तीन-तीन बर्षमा सुन, चाँदी हस्ती-हाड अनि ढेंडु र बाँदरहरू लादिएर तर्शीशबाट फर्किन्थे।
22 राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान भए। 23 संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे। 24 हरेक साल ती राजाहरूले सुलेमानका निम्ति भेटी ल्याउँथे। तिनीहरूले चाँदी अनि सुनले बनेका चीज बीजहरू, बस्त्रहरू, हतियारहरू, मसालाहरू, घोडाहरू अनि खच्चरहरू ल्याउँथे।
25 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे। 26 सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए। 27 राजा सुलेमानसित यति विघ्न चाँदी थियो कि त्यो यरूशलेमका ढुङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्जीरका रूखहरू जस्तै साधरण थिए। 28 मानिसहरूले मिश्रदेशबाट अनि अन्य सबै देशहरूबाट सुलेमान कहाँ घोडाहरू ल्याउँथे।
सुलेमानको मृत्यु
29 सुलेमानद्वारा अन्य कुराहरू शुरू देखि अन्तसम्म गरिएका, अगमवक्ता नातानका लेखहरूमा, शीलोका अहियाहका अगमवाणी अनि दर्शी इद्दोका दर्शनमा लेखिएका छन्। इद्दोका दर्शनहरू नबातका छोरा यारोबामको बारेमा थिए। 30 सुलेमान चालीस बर्षसम्म यरूशलेममा सम्पूर्ण इस्राएलका राजा थिए। 31 त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।
रहबामले मूर्खता पूर्ण काम गर्छन्
10 रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए। 2 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए।
रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए। 3 इस्राएलका मानिसहरूले यारोबामलाई तिनीहरूसित आउनु भनी बोलाए। त्यस पछि यारोबाम इस्राएलका सबै मानिसहरू अनि रहबाम कहाँ गए। तिनीहरूले तिनलाई भने, “रहबाम, 4 तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।”
5 रहबामले तिनीहरूलाई भने, “मकहाँ तीन दिन पछि फर्केर आऊ।” यसर्थ मानिसहरू फर्किए।
6 तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”
7 ती अग्रजहरूले रहबामलाई भने, “यदि तपाईं ती मानिसहरू प्रति दयालु हुनुभयो अनि तिनीहरूलाई खुशी पार्नुभयो अनि तिनीहरूलाई राम्रो कुरा भन्नुभयो भने तिनीहरूले सदा सर्वदा तपाईंको सेवा गर्नेछन्।”
8 तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए। 9 रहबामले तिनीहरूलाई भने, “तिमीहरू मलाई के सल्लाह दिन्छौ? ती मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु पर्ने? तिनीहरूले मलाई तिनीहरूको काम सजिलो बनाइ दिनु भने अनि तिनीहरू चाहन्छन् कि मेरा पिताले तिनीहरू माथि लदाएको भार मैले कम गरिदिनु भनी।”
10 तब, ती युवाहरू जो रहबामसितै बढेका थिए, “तिनीहरूले तिनलाई भने, जुन मानिसहरूले तपाईं सित कुरा गरे तिनीहरूलाई तपाईंले यसो भन्नु पर्छ। ती मानिसहरूले तपाईंलाई भने, ‘तपाईंका पिताले हाम्रो निम्ति जीवन कठिन बनाउनु भयो। त्यो गह्रौ भार बोकेको जस्तै थियो। तर हामी तपाईंले त्यो भारलाई हल्का पारिदिनु होस् भनी चाहन्छौं।’ तर रहबाम, तपाईंले यो कुरा ती मानिसहरूलाई भन्नुपर्छः तिनीहरूलाई भन्नुहोस्। ‘मेरो कान्छी औंला मेरा पिताको कम्मर भन्दा मोटो हुनेछ। 11 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।’”
12 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।”
13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्। 14 राजा रहबामले ती मानिसहरूसित युवाहरूले दिएको सल्लाह अनुसार कुरा गरे। तिनले भने, “मेरा पिताले तिमीहरूको बोझ भारी बनाउनु भएको थियो, तर म त्यसलाई अझ भारी बनाउने छु। मेरा पिताले तिमीहरूलाई कोर्राद्वारा दण्ड दिनु भएको थियो। तर म तिमीहरूलाई धातुका तीखा टुप्पा भएको कोर्राद्वारा दण्ड दिने छु।” 15 यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।
16 इस्राएलका मानिसहरूले देखे राजा रहबामले तिनीहरूका कुरा सुनेनन्। तब तिनीहरूले राजालाई भने, “के हामी दाऊदका परिवारका अंश हौं? अँहँ। हामीले यिशैका कुनै भूमि पाउने छौं? अँहँ। यसर्थ इस्राएलीहरू हो, हामी हाम्रा आफ्नै घर जाऔं। दाऊदका छोराले तिनका आफ्नै मानिसहरू माथि शासन गरोस्।” तब इस्राएलका सबै मानिसहरू आफ्ना घरतिर गए। 17 तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।
18 हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए। 19 त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।
11 जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे। 2 तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो, 3 “शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः 4 परमप्रभु यसो भन्नु हुन्छः ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हुँ।’” यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।
रहबामले यहूदालाई शक्तिशाली बनाउँछ
5 रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले। 6 तिनले बेतलेहेम, एताम, तको, 7 बेतसर, सोको, अदुल्लाम, 8 गात, मरेशा, जीप, 9 अदोरेम, लाकीश, अजेका, 10 सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो। 11 जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आपूर्तिको व्यवस्था पनि गरिदिए। 12 रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।
13 इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले। 14 लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।
15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने। 16 जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए। 17 ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन बर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुशरण गरे।
रहबामका परिवार
18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए। 19 महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम। 20 तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत। 21 रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।
22 रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए। 23 रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आपूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।
मिश्रदेशका राजा शीशकले यरूशलेममाथि आक्रमण गर्छन्
12 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।
2 रहबामको राज्यकालको पाँचौं बर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्। 3 शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए। 4 शीशकले यहूदाका सुदृढ शहरहरूलाई परास्त गरे। त्यसपछि शीशकले आफ्ना सैन्यलाई यरूशलेममा ल्याए।
5 तब शमायाह अगमवक्ता रहबाम अनि यहूदाका प्रमुखहरू कहाँ आए। यहूदाका ती प्रमुखहरू यरूशलेममा भेला भएका थिए किनभने तिनीहरू सबै शीशकसित भयभीत थिए। शमायाहले रहबाम अनि यहूदाका प्रमुखहरूलाई भने, “परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः ‘रहमबाम तँ अनि यहूदाका मानिसहरूले मलाई त्यागेका छौ मेरो व्यवस्था पालन गर्न अस्वीकार गरेका छौ। यसर्थ अब म मेरो सहायता बिनानै तँलाई शीशकको सामना गर्न छोड्ने छु।’”
6 तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो।
7 परमप्रभुले शमायाहलाई भन्नुभयो, “राजा अनि प्रमुखहरू स्वयं नम्र भएका छन्। यसर्थ म तिनीहरूलाई नष्ट गर्ने छैन, म तिनीहरूलाई चाँडै बचाउँने छु। म मेरो रीस यरूशलेम माथि पोख्नलाई शीशकको प्रयोग गर्ने छैन। 8 तर यरूशलेमका मानिसहरू शीशकका सेवक हुने छन्। यस्तो हुने छ जसद्वारा तिनीहरूले यो सिक्ने छन् कि मेरो सेवा गर्नु अन्य राष्ट्रहरूका राजाहरूको सेवा गर्नु भन्दा भिन्न हो।”
9 शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए। 10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए। 11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।
12 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।[a]
13 राजा रहबामले स्वयंलाई यरूशलेममा एक शक्तिशाली राजा बनाए। तिनी एकचालीस बर्षका थिए जब तिनी राजा भए। रहबाम यरूशलेममा सत्र बर्षसम्म राजा थिए। यरूशलेम त्यो शहर हो जसलाई परमप्रभुले इस्राएलका समस्त कुल समूहबाट चुन्नु भएको हो। परमप्रभुले आफ्ना नाउँ यरूशलेममा राख्न रोज्नु भयो। रहबामकी आमा नामा थिइन्। नामा अम्मोन देशकी थिइन्। 14 रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।
15 रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकाल भरी युद्ध चलिरह्यो। 16 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।
अबियाह यहूदाका राजा
13 जब राजा यारोबाम अठाह्रौं बर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए। 2 अबियाह तीन बर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो। 3 अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।
4 तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन। 5 तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करारद्वारा यो दिनु भएको हो। 6 तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए। 7 तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभव हीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।
8 “अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरूसँग धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनका बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए। 9 तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ- ती ‘झूटा देवताहरूको’ सेवा गर्ने पूजाहारी।
10 “तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्। 11 तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उज्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमीहरूले उहाँलाई त्यागेका छौ। 12 परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”
13 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए। 14 जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए। 15 त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरूद्वारा परास्त भए। 16 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो। 17 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए। 18 यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।
19 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका स-साना गाउँहरू अधिकारमा ल्याए।
20 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो। 21 अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए। 22 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।
14 अबियाहको मृत्यु भयो अनि उसलाई पिता-पुर्खाहरूसितै गाडियो। मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडे। त्यसपछि अबियाहका छोरा आसा अबियाहका स्थानमा नयाँ राजा भए। आसाका समयमा देशमा दश बर्षसम्म शान्ति थियो।
आसा यहूदाका राजा
2 आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे। 3 आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए। 4 आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुशरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए। 5 आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी जब आसा राजा थिए उनको राज्यमा शान्ति थियो। 6 आसाले यहूदामा त्यो समय सुदृढ शहरहरू निर्माण गरे जब यहूदामा शान्ति थियो। आसाले यी बर्षहरूमा कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई शान्ति प्रदान गर्नु भएको थियो।
7 आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुशरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।
8 आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले स-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।
9 तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे। 10 आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।
11 आसाले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे अनि भने, “परमप्रभु, तपाईंले मात्र बलवान मानिसहरूको विरूद्ध कमजोर मानिसहरूलाई सहायता गर्न सक्नु हुन्छ। परमप्रभु हाम्रा परमेश्वर। हामीलाई सहायता गर्नु होस्। हामी तपाईं माथि निर्भरछौं। हामी तपाईंको नाउँमा यी विशाल सेनाको विरूद्ध लडछौं। परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंको विरूद्ध कसैलाई पनि जित्न नदिनु होस्।”
12 तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे। 13 आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे। 14 आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहूमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहूमूल्य चीजहरू ती शहरहरूबाट लगे। 15 आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेंडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के।
आसाका परिवर्त्तनहरू
15 परमेश्वरको आत्मा अजर्याहमाथि उत्रनुभयो। अजर्याह ओदेदका छोरा थिए। 2 अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ। 3 धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। 4 तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए। 5 दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो 6 एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो। 7 तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”
8 जब आसाले यी वचनहरू अनि संन्देशहरू ओबेद, अगमवक्ताबाट सुने तिनी खूबै उत्साहित भए। त्यसपछि उसले ती घृणित मूर्तिहरू यहूदा अनि बिन्यामीनका सबै स्थानबाट हटाए। आसाले ती घृणित मूर्तिहरू एप्रैमका पहाडी देशका अधिकारमा ल्याएका शहरहरूबाट पनि हटाए। अनि तिनले परमप्रभुको वेदी मरम्मत गरे जो परमप्रभुको मन्दिरको दलान अघि थियो।
9 त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
10 आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं बर्षको तेस्रो महीनामा एकत्रित भए। 11 त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेंडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए। 12 तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्माद्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ। 13 कुनै पनि व्यक्ति जसले परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्न अस्वीकार गर्थे त्यसलाई मारिन्थ्यो। यसको केही महत्व थिएन त्यो व्यक्ति मुख्य होस् वा साधारण होस्, यदि त्यो व्यक्ति पुरूष होस् वा स्त्री होस्। 14 तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए। 15 यहूदाका सबै मानिसहरू शपथबारे खुशी थिए। किनभने तिनीहरूले आफ्ना हृदयबाट प्रतिज्ञा गरेका थिए। तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले परमेश्वरको अनुशरण गरे। तिनीहरूले परमेश्वरलाई खोजे अनि उहाँलाई पाए। यसरी परमप्रभुले सबै देशमा तिनीहरूलाई शान्ति प्रदान गर्नु भयो।
16 राजा आसाले आफ्नी आमा माकालाई पनि राजमाताको पदबाट हटाए। आसाले यसो गरे, किनभने तिनले अशेरा देवीको सम्मानमा ती भयानक स्तम्भहरू मध्ये एक स्तम्भ खडा गरेकी थिइन्। आसाले त्यो अशेरा-स्तमभ काटेर त्यसलाई स-साना टुक्रा पारिदिए। त्यसपछि तिनले ती टुक्राहरूलाई किद्रोन बेंसीमा जलाइदिए। 17 उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आसाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।
18 अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे। 19 आसाको पैंतीस बर्ष सम्मको शासनमा अरू कुनै युद्ध भएन।
आसाका अन्तिम बर्षहरू
16 आसाका राज्य कालका छत्तीसौं बर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे। 2 आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो। 3 “बेनहदद, तिमी अनि म माझ एक सन्धि होस्। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस्, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजासँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस् जसद्वारा तिनले मलाई एक्लो छाडने छन् अनि मलाई दिकदारी दिन बन्द गर्ने छन्।”
4 बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु सँग्रह गरिएको थिए। 5 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए। 6 तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित गराए। तिनीहरू रामा शहरमा गए ढुङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।
7 त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए। 8 कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो। 9 परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”
10 आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।
11 आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 12 आसा राजा भएको उन्चालीस बर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे। 13 आफ्नो राज्य कालको एकचालीसौं बर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुर्खाहरूसित गाडिए। 14 मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरूद्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।
यहोशापात यहूदाका राजा
17 यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लड्न सकुन्। 2 तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।
3 परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुशरण गरेनन्। 4 यहोशापातले तिनका पुर्खाहरूले अनुशरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे तिनी इस्राएलका मानिसहरू बसेका तरिकाले बसेनन्। 5 परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो। 6 यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।
7 यहोशापातले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहूदाका शहरहरूमा पठाए। यहोशापातको शासनको तेस्रो बर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मीकायाह थिए। यहोशापातले यी प्रमुखहरू सित लेवीहरूलाई पनि पठाए। 8 ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए। 9 ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।
10 यहूदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरूद्ध युद्ध शुरू गरेनन्। 11 केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेंडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।
12 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे। 13 तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे। 14 ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः
यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः
अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
15 योहोहानान 2,80,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
16 अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिंक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई समर्पण गर्नमा खुशी थिए।
17 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः
एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।
18 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।
19 ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।
मीकायाले राजा आहाबलाई चेताउनी दिन्छन्
18 यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए। 2 केही बर्ष पछि, यहोशापात आहाब सित भेट गर्न सामरिया शहरमा गए। आहाबले यहोशापात अनि तिनी सित भएका मानिसहरूका निम्ति धेरै भेंडा अनि गाईहरू बलि चढाए। आहाबले रामोत गिलाद शहर माथि आक्रमण गर्न यहोशापातलाई उत्साहित तुल्याए। 3 आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।” 4 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।”
5 यसर्थ राजा आहाबले 400 अगमवक्ताहरू एकत्रित गरे। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरूद्ध लडाई गर्न जाऊँ कि नजाऊँ?”
अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”
6 तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।”
7 तब राजा आहाबले यहोशापातलाई भने, “यहाँ अझ पनि एक व्यक्ति छ। हामी तिनीद्वारा परमप्रभुसित सोध्न सक्छौं। तर म यो मान्छेलाई घृणा गर्छु, किनभने परमप्रभुबाट मेरो बारेमा तिनीसित असल संन्देश कहिल्यै हुँदैन। तिनीसित मेरा निम्ति सदैव नराम्रो संन्देश हुन्छ। त्यो मान्छेको नाउँ मीकाया हो। तिनी यिम्लाका छोरा हुन्।”
तर यहोशापातले भने, “आहाब, तपाईंले त्यसो भन्नु हुँदैन।”
8 तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”
9 आहाब इस्राएलका राजा अनि यहोशापात यहूदाका राजाले आफ्ना राज-पोशाक लगाएका थिए। तिनीहरू सामरिया शहरको सामुन्नेको द्वारको नजिक ढिकीमा आफ्ना सिंहासनमा बसेका थिए। ती 400 जना अगमवक्ताहरू दुइ राजाहरूका सामुन्ने आफ्ना संन्देश भनीरहेका थिए। 10 सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सींङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छः ‘तपाईंहरूले यी फलामका सींङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंश नहुन्जेल घोच्नलाई प्रयोग गर्नु हुनेछ।’”
11 सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरूले भने, “रामोत गिलाद शहरमा जानु होस्। तपाईंहरूले सफलता पाउनु हुनेछ अनि जित्नु हुनेछ। परमप्रभुले राजालाई अरामी मानिसहरूलाई परास्त पार्न दिनु हुनेछ।”
12 मीकायालाई लिन गएका संन्देश वाहकले तिनलाई भने, “मीकाया, सुन, सबै अगमवक्ताहरूले एकै कुरा भने। तिनीहरू राजाले सफलता प्राप्त गर्नु हुनेछ भनी भन्दै छन्। यसर्थ तिनीहरूले जे भन्दै छन् त्यही कुरा भन। तिमीले पनि राम्रो कुरा भन।”
13 तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझैं म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
14 तब मीकाया राजा आहाब कहाँ आए। राजाले तिनलाई भने, “मीकाया युद्ध गर्नका निम्ति हामी रामोत-गिलाद शहर जानु कि नजानु?” मीकायाले उत्तर दिए, “जानु होस् अनि आक्रमण गर्नु होस्। परमेश्वरले तपाईंलाई ती मानिसहरूमाथि परास्त गर्न दिनु हुनेछ।”
15 राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”
16 तब मीकायाले भने, “मैले इस्राएलका सबै मानिसहरूलाई पर्वतहरूमा छरिएका देखें। तिनीहरू गोठाला बिनाका भेंडाहरू जस्तै थिए। परमप्रभुले भन्नुभयो, ‘तिनीहरूका कुनै अगुवा छैन। प्रत्येक व्यक्तिलाई सकुशल घर फर्किन देऊ।’”
17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।”
18 मीकायाले भने, “परमप्रभुको संन्देश सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा बस्नु भएको देखें। स्वर्गका सम्पूर्ण सेनाहरू उहाँका वरिपरि उभिएका थिए, कोही उहाँका देब्रेतिर कोही उहाँको दाहिनेतिर। 19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने। 20 तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने उभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो, ‘कसरी?’ 21 त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूटो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि त्यसै गर।’”
22 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूटो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”
23 त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?” 24 मीकायाले उत्तर दिए, “सिदकियाह तिमी भित्रको एक कोठामा लुक्न गएको दिन तिमीले थाहा पाउनेछौ।”
25 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ। 26 आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।’”
27 मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु मद्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरू पनि मेरो कुरा सुन।
रामोत-गिलादमा आहाब मारिए
28 यसर्थ इस्राएलका राजा आहाब अनि यहूदाका राजा यहोशापातले रामोत-गिलाद शहर माथि आक्रमण गरे। 29 राजा आहाबले यहोशापातलाई भने, “म लडाइँमा जानुको अघि आफ्नो रूप परिवर्त्तन गर्छु। तर तपाईं तपाईंको आफ्नै राज बस्त्र लगाउनु होस्।” यसर्थ आहाब इस्राएलका राजाले आफ्नो रूप परिवर्त्तन गरे अनि दुइ राजाहरू युद्धमा गए।
30 अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।” 31 जब रथका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले ठाने, “त्यहाँ इस्राएलका राजा आहाब छन्।” तिनलाई आक्रमण गर्न तिनीहरू यहोशापात तिर फर्के। तर यहोशापात कराए अनि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। परमेश्वरले रथका सेनापतिहरूलाई यहोशापात देखि टाढा हुन दिनु भयो। 32 जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।
33 तर एक सैनिकले केही कुरामा लक्ष्य नगरी आफ्ना धनुबाट एक काँढ हाने। त्यो काँढले आहाब, इस्राएलका राजालाई लाग्यो। त्यसले आहाबको कवचको खुल्ला भागमा लाग्यो। आहाबले आफ्ना रथका साराथिलाई भने, “घुम, अनि मलाई युद्धबाट बाहिर लैजाऊ। मलाई चोट लाग्यो।” 34 त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफैं उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।
19 यहूदाका राजा यहोशापात कुशलै आफ्ना घर यरूशलेममा फर्कि आए। 2 दर्शी येहू यहोशापातलाई भेट्न आए। येहूका पिताको नाउँ हनानी थियो। येहूले राजा यहोशापातलाई भने, “किन तपाईंले नराम्रा मानिसहरूलाई सहायता गर्नु भयो? किन तपाईंले ती मानिसहरूलाई प्रेम गर्नु हुन्छ जो परमप्रभुलाई घृणा गर्छन्? परमप्रभु तपाईं सित क्रोधित हुनु भएको कारण त्यही हो। 3 तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुशरण गर्ने निश्चय गर्नु भयो।”
यहोशापातले न्यायकर्ताहरू चुने
4 यहोशापात यरूशलेममा बस्थे। उनी मानिसहरूसित रहन बेर्शेबा शहर देखि लिएर एप्रैमको पहाडी देशसम्म गए। यहोशापातले तिनीहरूलाई तिनीहरूका पिता-पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वर तर्फ फर्काएर ल्याए। 5 यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने। 6 योशापातले ती न्यायकर्त्ताहरूलाई भने, “तपाईंहरू जे गर्नुहुन्छ त्यसमा होशियार हुनुहोस्, किनभने तपाईंहरूले मानिसहरूका निम्ति न्याय गरिरहनु भएको होईन तर परमप्रभुको निम्ति न्याय गर्नु हुँदैछ। परमप्रभु तपाईंहरूसित हुनुहुन्छ जब तपाईंले केही निर्णय गर्नुहुन्छ। 7 अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।”
8 अनि यरूशलेममा, यहोशापातले केही लेवीहरू, पूजाहारीहरू अनि इस्राएली परिवारहरूका अगुवाहरूलाई न्यायकर्ता हुन चुने। मानिसहरूले यरूशलेममा बस्ने मानिसहरूका समस्याहरू समाधान गर्नका निम्ति परमप्रभुको नियम प्रयोग गर्नु पर्ने थियो। तब तिनीहरू यरूशलेममा फर्केर आए। 9 यहोशापातले तिनीहरूलाई आदेश दिए। यहोशापातले भने, “तपाईंहरूले सम्पूर्णहृदयले विश्वसनीय रूपले सेवा गर्नु पर्छ। तपाईंहरू परमप्रभुसित डराउनु पर्छ। 10 तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाइहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।
11 “अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिमीहरूसाथ रहून् तिमीहरूले त्यही गर्नु जे गर्न उचितछ।”
यहोशापातले युद्धको सामना गर्छन्
20 पछि मोआबी, अम्मोनी अनि केही मिनुई मानिसहरू यहोशापातसित युद्ध शुरू गर्न आए। 2 केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” (हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।) 3 यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। 4 यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। 5 यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। 6 तिनले भने,
“हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। 7 तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। 8 अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। 9 तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’
10 “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। 11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। 12 हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।”
13 यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। 14 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा। 15 यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो। 16 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। 17 यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’”
18 यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे। 19 कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो।
20 यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिंड्न थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
21 यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए,
“परमप्रभुको स्तुति गर!
किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।”
22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू जो यहूदा माथि आक्रमण गर्न आएका थिए। 23 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक-अर्कालाई पनि मारे।
24 यहूदाका मानिसहरू मरुभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइईँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्। 25 यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए। 26 चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका-बेंसी” भन्छन्।
27 त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए। 28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए।
29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो। 30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।
यहोशापातको शासनको अन्त
31 यहोशापातले यहूदादेश माथि शासन गरे। यहोशापात पैंतीस बर्षका थिए जब तिनले शासन गर्न शुरू गरे। तिनले पच्चीस बर्षसम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ अजूबा थियो। अजूबा शिल्हीकी छोरी थिइन्। 32 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुशरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे। 33 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमेश्वरको अनुशरण गर्न देखि हटाएनन्।
34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।
35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे। 36 तर्शीशमा जाने जहाजहरू निर्माण गर्नका निम्ति यहोशापात अहस्याहसित मिले। तिनीहरूले जहाजहरू एसोन-गेबेर शहरमा बनाए। 37 तब एलाजार यहोशापातको विरूद्ध बोले। एलाजारका पिताको नाउँ दोदाबाहु थियो। एलाजार मरेशा शहरका थिए। तिनले भने, “यहोशापात तपाईं अस्याहसित मिल्नु भयो, त्यसै कारणले परमप्रभुले तपाईंका कार्यहरू नष्ट गरिदिनु हुनेछ।” जहाजहरू भत्किए, यसर्थ यहोशापात अनि अहस्याह तिनीहरूलाई तार्शीश पठाउन समर्थ भएनन्।
21 तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए। 2 योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए। 3 यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए।
योराम, यहूदाका राजा
4 योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे। 5 योराम बत्तीस बर्षका हुँदा तिनले शासन गर्न शुरू गरे। उसले आठ बर्ष यरूशलेममा शासन गरे। 6 तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाँचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेर परमप्रभुको दृष्टिमा नराम्रो काम गरे। 7 तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।
8 योरामको समयमा, एदोम यहूदाको विरूद्ध बागी भए अनि यहूदाका अधिकारबाट एदोम छुट्टियो। एदोमका मानिसहरूले आफ्नो लागि राजा आफैं चुने। 9 यसर्थ योराम आफ्ना समस्त सेनापतिहरू अनि रथहरू सहित एदोममा गए। एदोमी सैनिकले योराम अनि तिनका रथ-सेनापतिहरूलाई घेरे। तर योरामले राती युद्ध गरेर एदोमीहरूमाथि आक्रमण गरे। 10 त्यस समय देखि अहिलेसम्म एदोम देश यहूदाका विरूद्ध विद्रोही रहेको छ। लिब्ना शहरका मानिसहरू पनि योरामका विरूद्ध भए। यस्तो भयो किनभने योरामले परमप्रभु परमेश्वरलाई त्याग गरे। उहाँ योरामका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। 11 योरामले यहूदाका पहाडहरूमाथि उच्च स्थानहरू पनि निर्माण गरे। योरामले यरूशलेमका मानिसहरूलाई ती कामहरू गर्नबाट रोके जो परमेश्वर चाहनु हुन्थ्यो। तिनले यहूदाका मानिसहरूलाई परमप्रभु देखि टाढा डोह्राए।
12 योरामले एलिया अगमवक्ताबाट एउटा संन्देश पाए। संन्देशमा यो भनिएको छः
“परमप्रभु परमेश्वरले भन्नु भएको कुरा यस्तो छ। उहाँ तपाईंका पिता दाऊदले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। परमप्रभु भन्नुहुन्छ, ‘योराम, तँ तेरा पिता यहोशापात जुन प्रकारले बसे त्यस प्रकारले बसिनस्। तँ त्यस प्रकारले बसिनस् जुन प्रकारले यहूदाका राजा आसा बसे। 13 तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए। 14 यसकारण अब परमप्रभुले चाँडै तेरा मानिसहरूलाई अधिक दण्डबाट दण्डित तुल्याउने छन्। परमप्रभुले तेरा छोरा-छोरी, पत्नीहरू अनि तेरा सबै सम्पत्तिलाई दण्ड दिनु हुनेछ। 15 तँलाई पेटको भयानक रोग लाग्ने छ। त्यो हरेक दिन झन्-झन् नराम्रो हुनेछ। त्यसपछि तेरो भयानक रोगको कारणले आन्द्रा भुँडी बाहिर निस्कनेछ।’”
16 परमप्रभुले कूशी मानिसहरूका छेउ छाउमा बस्ने पलिश्ती अनि आरबी मानिसहरूलाई योराम प्रति क्रोधित तुल्याइ दिनु भयो। 17 ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहज[b] थियो।
18 ती घट्नाहरू घटे पछि परमप्रभुले योरामको भुँडीमा यस्तो रोग उत्पन्न गरिदिनु भयो जसलाई निको पार्न सकिंदैन थियो। 19 तब दुइ बर्ष पछि रोगको कारणले योरामको आन्द्रा-भुँडी बाहिर निक्लियो। तिनी नराम्रो पीढाले मरे। मानिसहरूले योराम प्रति सम्मान जनाउन तिनका पिताको सम्मानको निम्ति जस्तै विशाल ज्योति बालेनन्। 20 योराम बत्तीस बर्षका थिए जब तिनी राजा भए। तिनले आठ बर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखीत भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।
अहज्याह यहूदाका राजा
22 यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले। 2 अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो। 3 अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्। 4 अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रा कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहले तिनलाई मृत्यु तर्फ डोर्यायो। 5 अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुशरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए। 6 योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।
7 परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो। 8 येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए। 9 त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुशरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।
रानी अतल्याह
10 अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्। 11 तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लगिन् अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिनन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्। 12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः बर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्।
पूजाहारी यहोयादा अनि राजा योआश
23 छ बर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिंक्रीका छोरा एलीशापात थिए। 2 तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए। 3 एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।
यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो। 4 अब तिमीहरूले गर्नु पर्ने यही होः तिमीहरू मध्ये एक तिहाइ पूजाहारी अनि लेवीहरू जो विश्रामको दिनमा काममा जान्छन्, तिनीहरूले द्वारहरूको रक्षा गर्ने छन्। 5 अनि तिमीहरू मध्ये एक-तिहाइ राज महलमा रहने छौ। अनि तिमीहरू मध्ये एक-तिहाइ घडेरी-द्वारमा रहने छौ। तर सबै अन्य मानिसहरू परमप्रभुको मन्दिरको आँगनमा बस्नु पर्ने छ। 6 कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ। 7 लेवीहरू राजाको समीपमा बस्नु पर्छ। हरेक मानिससँग आफ्नो तरवार हुनु पर्छ। यदि कोही व्यक्ति मन्दिर भित्र पस्ने चेष्टा गर्छ भने त्यस व्यक्तिलाई मारि दिनु। तिनी जहाँ कही गए ता पनि तिमीहरू राजाको साथ रहनु पर्छ।”
8 लेवीहरू अनि यहूदाका सबै मानिसहरूले पूजाहारी यहोयादाले दिएका आदेशहरू पालन गरे। यसकारण प्रत्येक कप्तान र सबै मानिसहरू दिनमा तिनीहरूले काम गर्नु पर्छ कि पर्दैन भने सूचना सुन्न भित्र आए, किनभने पूजाहारी यहोयादले केही पनि तिनीहरूको समूहहरूलाई पदयाच्युत गराएका थिए। 9 पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए। 10 तब यहोयादाले मानिसहरूलाई कहाँ उभिनु पर्ने सो बताए। प्रत्येक मानिसको हातमा आफ्ना हतियार थिए। ती मानिसहरू मन्दिरको दाहिने देखि मन्दिरको देब्रे सम्म उभिएका थिए। तिनीहरू वेदीका अनि मन्दिरको नजिक र राजाका नजिकमा उभिएका थिए। 11 तिनीहरूले राजाका छोरालाई बाहिर ल्याए र तिनलाई मुकुट लगाई दिए। तिनीहरूले नियमका पुस्तकको एक प्रति तिनलाई दिए। तब तिनीहरूले योआशलाई राजा बनाए। यहोयादा अनि तिनका छोराहरूले योआशको अभिषेक गरे। तिनीहरूले भने, “राजा लामो समय सम्म बाँचून्।”
12 अतल्याहले मानिसहरू मन्दिर तर्फ दगुरेका अनि राजाको प्रशंसा गरेको आवाज सुनिन्। तिनी परमप्रभुको मन्दिरमा मानिसहरू कहाँ आइन्। 13 तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेका थिए। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”
14 पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।” 15 तब मानिसहरूले राजमहलको घोडा-द्वारमा आउँदा तिनलाई पक्रिए जुन चाहिं एउटा राज महलको प्रेवशद्वार हो। तब तिनीहरूले तिनलाई तत्कालै त्यही स्थानमा मारिदिए।
© 2004, 2010 Bible League International