Bible in 90 Days
बिल्दद अय्यूबसँग बोल्दछ
8 तब शुहाबाट आएका बिल्ददले उत्तर दिए:
2 “कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ?
तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
3 परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ।
सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बद्लनु हुन्न जुन ठीक छन्।
4 यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने
तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने छ।
5 तर अब अय्यूब, परमेश्वर पट्टिहेर,
अनि सर्वशक्तिमानप्रति प्रार्थना गर।
6 यदि तिमी निर्दोष अनि ईमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ।
उहाँले तिम्रा घर पुनःर्निर्माण गरिदिनुहुनेछ।
7 तब तिमीसँग पहिले जति थियो
त्यो भन्दा अझ ज्यादा हुनेछ।
8 “बूढा-प्रधानहरूलाई सोधखोज गर,
तिनीहरूका पिता-पुर्खाहरूले के सिके।
9 हामी हिजै मात्र जन्मे जस्तो प्रतीत हुँदछ,
त्यो पक्का बुझ्नका लागि हामी अझ कलिलै छौं।
यस पृथ्वीमा हाम्रा आयु छायाँ जस्तै छोटो छन्।
10 हुनसक्छ बूढा-प्रधानहरूले तिमीलाई पढाउन सक्छन्।
हुनसक्छ उनीहरूले जे सिकेका छन् त्यही शिक्षा दिनसक्छन्।”
11 “बिल्ददले भन्यो, ‘के सिमसार अग्लो सुक्खा ठाउँमा उम्रिन सक्छ?
के निगालाहरू पानीबिना उम्रन सक्छ?’
12 अँहँ! यदि पानी सुकाइयो भने,
तब तिनीहरू पनि अरू उद्भिद्हरू भन्दा चाँडो ओइलाउने छैन।
13 मानिसहरू ज-जसले परमेश्वरलाई भुल्छन,
तिनीहरू मसिना र सुख्खा निगालाहरू जस्तो हुनेछन्।
जुन मानिसले परमेश्वरलाई भुल्छ उसले आफ्नो सम्पूर्ण आशा हराउनेछ।
14 त्यो मानिसको अडेस लाग्ने ठाउँसम्म हुँदैन।
उसको सुरक्षाको घर माकुराको जालो जस्तो हुन्छ।
15 यदि त्यो मानिस माकुराको जालोमा अडेस लाग्यो भने
त्यो जालो फाट्छ।
माकुराको जालमा झुण्डिन्छ
तर त्यसले उसलाई थाम्न सक्तैन।
16 त्यो मानिस एक उद्भिद् जस्तो छ
जसमा प्रशस्त पानी र घामको किरण छ
त्यसको हाँगाहरू सबै बगैंचा भरि फैलिएको छ।
17 त्ययसले आफ्नो जराहरू वरिपरि ढुङ्गाहरूको थुप्रोले लपेट्छ।
ढुङ्गामा बढ्नका निम्ति ठाउँहरू खोजिरहन्छ।
18 तर यदि उद्भिदलाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ,
र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
19 तर उद्भिद् खुशी थियो
अनि यसको ठाउँमा अर्को उम्रिनेछ।
20 परमेश्वरले निर्दोष मानिसहरूलाई त्याग्नु हुन्न।
उहाँले दुष्ट मानिसहरूलाई मद्दत गर्नुहुन्न।
21 परमेश्वरले सधैँ तिम्रो मुख हाँसोले भरिदिनुहुन्छ
अनि तिमीहरूका ओंठहरू खुशीका आवाजले भरिदिनुहुन्छ।
22 तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ
अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”
अय्यूबले बिल्ददलाई जवाफ दिन्छन्
9 तब अय्यूबले जवाफ दिए,
2 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो।
तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?
3 एक मानिसले परमेश्वरसँग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ
तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।
4 परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ।
परमेश्वरसँग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
5 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।
6 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ।
परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।
7 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न।
उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ।
यसकारण तिनीहरू चम्कन सक्तैनन्।
8 परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो।
उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।
9 “परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो।
उहाँले दक्षिणी तारागण बनाउनु भयो।
10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्।
परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।
11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन।
जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।
12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने
कसैले उहाँलाई रोक्न सक्दैन।
कसैले पनि उहाँलाई केही भन्न सक्तैनन्,
‘तपाईं के गरिरहनु भएको छ?’
13 परमेश्वरले आफ्नो क्रोध फर्काउनु हुन्न।
रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।
14 यसैले म परमेश्वरसँग तर्क गर्न सक्तिनँ।
उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।
15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ।
म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।
16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो,
म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।
17 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो।
उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।
18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन।
उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।
19 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ।
म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ!
अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।
20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ।
म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।
21 म निर्दोष छु तर म जान्दिन के सोच्ने।
म आफ्नै जीवनलाई घृणा गर्छु।
22 म आफैंलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्।
निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’
23 जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ?
24 जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ?
यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?
25 “दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ
अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन।
26 मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्।
मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ।
27 “यदि म भन्छु ‘म गुनासो गर्ने छैन
म आफ्ना पीडाहरू भुल्छु, म मेरो अनुहारमा मुस्कानले भर्छु।’
28 म मेरा पीडाले अझै भयभीत छु।
म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।
29 यदि म दोषी ठहरी सकेको छु भने
आफ्नो परीक्षा किन गरिरहने।
म भन्छु, ‘यो भुलिदेऊ।’
30 यदि मैले स्वयंलाई हिऊँले धोएँ भने,
अनि साबूनले हातहरू सफा राखें भने पनि,
31 परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ।
तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।
32 परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ।
हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।
33 म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्।
म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।
34 म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्।
तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।
35 तब परमेश्वरको भयबाट स्वतन्त्र भएर
मैले चाहेको कुरा म भन्न सक्थें।
10 “म आफ्नो जीवनलाई घृणा गर्दछु।
यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु।
मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु।
2 म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्।
मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु?
मसित विरोध गर्ने तपाईंसँग के कारण छ?
3 परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ?
यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न।
अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ।
4 परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्?
तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ?
5 के तपाईंको आयु मानिसको जस्तै छोटो छ?
के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ?
6 तपाईंले मेरो दोष खोज्नु हुन्छ
अनि मेरो पाप खोज्नु हुन्छ।
7 म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ
तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन।
8 परमेश्वर,
तपाईंको हातले मलाई बनाउनु भयो
अनि मेरो शरीरको आकार बनाउनु भयो।
के तपाईंले मलाई नष्ट गर्नु हुन्छ?
9 परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो।
के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?
10 तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो
र पनीर बनाए जस्तै निचोर्नु भयो।
11 तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो।
अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो।
12 तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो।
तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो।
13 तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ।
हो तपाईंको मनमा के छ म सो जान्दछु।
14 यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ।
यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ।
15 जब म पाप गर्छु,
म दोषी हुन्छु
अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ।
तर म निर्दोष भएता पनि
आफ्नो शिर उठाउन सक्तिनँ।
म अपमानित तथा चिन्ताग्रस्त छु।
16 यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो,
जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ
त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो।
17 तपाईंसँग मेरो गल्ती प्रमाणित गर्न,
सधैँ एकजना साक्षी पठाउनु हुन्छ।
एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै
तपाईंले ममाथि घरि-घरि रीस देखाउनु हुन्छ।
18 यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो?
म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो।
19 म इच्छा गर्छु म नबाँचेको भए हुने थियो।
आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो।
20 मेरो जीवन प्रायः बितिसकेको छ।
यसकारण मलाई एक्लो छोडी दिनु होस्,
र अब बाचेको थोरै समय आनन्द गर्न पाउँ।
21 जुन अँध्यारो, मृत्यु स्थान, जहाँबाट कुनै मानिस फर्कदैन
त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्।
22 अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन
अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ,
म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला,
अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्।’”
सोपर अय्यूबसित बोल्दछ
11 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,
2 “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ।
के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
3 अय्यूब के तिमी सम्झन्छौ
कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्?
जब तिमी परमेश्वरलाई खिसी गर्छौ,
तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
4 अय्यूब तिमीले परमेश्वरलाई भन्छौ,
‘मेरो तर्कहरू यथार्थ छन्
अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
5 अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ
अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।
6 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो।
उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्।
अय्यूब, मेरो कुरा सुन।
तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
7 “अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं?
तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
8 माथि स्वर्गमा के छ?
त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ
मृत्युलोकको बारेमा तिमीले
केही पनि जान्दैनौ।
9 परमेश्वर पृथ्वी भन्दा महान
अनि सागर भन्दा विशाल हुनुहुन्छ।
10 “यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने,
कसैले उहाँलाई रोक्न सक्तैन।
11 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ।
जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
12 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन्
एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
13 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख
अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ।
तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ।
तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ।
तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ,
जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ
अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन।
अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
20 नराम्रा मानिसहरूले सहयोग खोज्लान,
तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्,
तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”
अय्यूबले सोपरलाई जवाफ दिंदछ
12 तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः
2 “निःसन्देह तिमी सोच्छौ,
तिमी मात्र ज्ञानी पुरूष हौ,
तिमी सोच्छौ जब तिमी मर्छौ,
ज्ञान पनि तिमीसँगै जानेछ।
3 तर मेरो मन तिम्रो जस्तै नै छ।
तिमी जतिकै होशियारी म पनि छु।
कसैले पनि यो सत्यलाई देख्न सक्छ।
4 “मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ।
तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि
उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’
म एक असल मानिस हुँ, म निर्दोष छु।
तर तिनीहरू अझ ममाथि हाँस्छन्।
5 दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन।
जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्।
6 तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन।
मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ,
अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।
7 “तर पशुहरूलाई सोध,
तिनीहरूले तिमीहरूलाई सिकाउने छन्।
अथवा हावामा उड्ने चराहरूलाई सोध,
तिनीहरूले तिमीहरूलाई भन्नेछन्।
8 अथवा पृथ्वीसँग बोल,
त्यसले तिमीलाई भन्नेछ।
अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान
तिमीलाई बताउनेछ।
9 प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
10 प्रत्येक प्राणीहरू जो बाँच्दछन्,
अनि प्रत्येक मानिस जसको प्राण छ,
सबै परमेश्वरकै शक्तिको अधीनमा छ।
11 तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै,
कानहरूले शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र?
12 हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ
लामो जीवनले बुद्धि ल्याउँछ।’
13 तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो।
राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्।
14 यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने
मानिसहरूले यसलाई फेरि बनाउँन सक्दैन।
यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने
मानिसले त्यसलाई मुक्त पार्न सक्दैन।
15 यदि परमेश्वरले बर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ।
यदि परमेश्वरले बर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ।
16 परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैँ जित्नु हुन्छ।
एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।
17 परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ
अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ।
18 राजाहरूले मानिसहरूलाई कैदमा राख्छन,
तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ
अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
19 उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ
अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ।
20 परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ।
उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ।
21 परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ।
उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ।
22 परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ।
उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ।
23 परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ,
अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ।
उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ
त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ।
24 परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ।
उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ।
25 ती मुखियाहरू त्यस मानिस जस्ता हुन,
जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ।
तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”
13 अय्यूबले भन्यो,
“यी सबै मैले पहिल्यै देखेको छु।
तिमीले भनेका सबै कुरा पहिल्यै सुनेको छु।
म ती सबै कुराहरू बुझ्छु।
2 तिमीले जाने जति म पनि जान्दछु।
म तिमी जतिकै तेज छु।
3 तर म तिमीसँग तर्क गर्न चाहन्न।
म सर्वशक्तिमान परमेश्वरसँग बोल्न चाहन्छु।
म परमेश्वरसँग आफ्ना सङ्कट विषयमा बहश गर्न चाहन्छु।
4 तर तिमीले हाम्रो बातचीतलाई झूटो कुराले कलंकित पार्छौ।
तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।
5 म चाहन्छु तिमीहरू चूपचाप बस।
त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
6 “अब, मेरो तर्कमा ध्यान देऊ।
म के भन्छु त्यसमा ध्यानदेऊ।
7 के तिमीहरू परमेश्वरसित झूटो बोल्छौ?
के तिमीहरू विश्वास गर्छौ कि तिमीहरूका झूटा कुराहरू परमेश्वरले चाहनु भएका कुराहरू हुन्छ?
8 उहाँ परमेश्वर हुनुहुन्छ भन्ने खातिरमा मात्र तिमीहरूले परमेश्वरको पक्ष लिइरहेका होइनौ?
के तिमीहरू उहाँकै पक्षमा मेरो विरूद्धमा मामलामा बहश गर्ने चेष्टा गरिरहेका छौ?
तिमीहरूले निष्पक्ष भएका छैनौ।
9 यदि परमेश्वरले तिमीलाई गहिरिएर जाँच गर्नुभयो भने,
के तिमीहरूलाई उहाँले सही देखाउनु हुन्छ?
जसरी अन्य मानिसहरूलाई तिमीहरूले मूर्ख बनाउँछौ के
परमेश्वरलाई त्यसरी मूर्ख बनाउनु सक्छौ?
10 यदि तिमीहरूले कुनै विवादमा पक्षपात गर्यौ भने
तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूलाई हप्काउनु हुनेछ।
11 परमेश्वरको महा-महिमाले तिमीहरूलाई भयभीत पार्नेछ।
तिमीहरू उहाँदेखि डराउँछौ।
12 तिमीहरूको ज्ञानका कुराहरू अर्थहीन छन्।
तिमीहरूका बहशहरू बेकामे छन्।
13 “चूपचाप बस र मलाई बोल्न देऊ।
जेसुकै ममाथि आईपरे तापनि म स्वीकार गर्छु।
14 म स्वयंलाई सङ्कटमा राख्ने छु,
अनि आफ्नो जीवन आफ्नै हातमा लिनेछु।
15 हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छ,
तै पनि म उहाँलाई विश्वास गरिरहनेछु।
म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु।
तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
16 अनि यदि मलाई परमेश्वरले बाँच्न दिनुभए,
त्यस्तै हुनेछ किनभने उहाँसँग बोल्न सक्ने मसँग क्षमता थियो।
कुनै पनि दुष्ट मानिसले परमेश्वरको समक्ष सामना गर्न सक्तैन।
17 मैले भनेको कुरा ध्यान दिएर सुन।
मलाई व्याख्या गर्न देऊ।
18 म आफैं मेरो मामिलामा बचाऊ गर्न तत्पर छु।
म होशियारी साथ आफ्नो बहश प्रस्तुत गर्नेछु।
म जान्दछु म उचित नै ठहरिनेछु।
19 यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न सक्छ भने,
तब म तुरन्तै चुप लाग्नेछु।
20 “हे परमेश्वर, मलाई यी दुइ कुराहरू मात्र दिनुहोस्
अनि म तपाईंबाट लुक्ने छैन।
21 मलाई दण्डदिन रोकिनु होस्
अनि तपाईंका आतंकीहरूले मलाई भयभीत पार्न छोडाउनु होस्।
22 तब मलाई डाक्नु होस् अनि म जवाफ दिनेछु।
अथवा मलाई बोल्न दिनुहोस् अनि मलाई जवाफ दिनुहोस्।
23 मैले कति पाप कामहरू गरेको छु?
मैले के गल्ती कामहरू गरें?
मेरा पापहरू र गल्तीहरू देखाउनु होस्।
24 हे परमेश्वर, तपाईंले किन मलाई त्याग्नु हुन्छ?
अनि मलाई आफ्नो शत्रु झैं व्यवहार गर्नुहुन्छ?
25 के तपाईंले मलाई भयभीत पार्नु हुन्छ?
म हावामा उड्ने पत्कर झैं हुँ।
तपाईंले परालको एउटा सानो टुक्रालाई आक्रमण गरिरहनु भएको छ।
26 हे परमेश्वर, तपाईंले मेरो विरूद्ध तिक्त कुराहरू गर्नुभयो।
तपाईंले मलाई ठिटौले हुँदा गरेको दुष्कर्मको लागि दुःख दिनुहुन्छ।
27 तपाईंले मेरो खुट्टामा साङ्गलाहरू बाँधिदिनु भयो,
मेरो प्रत्येक पाइला याद गर्नु भयो।
तपाईंले मेरो प्रत्येक चाल चलनलाई याद गर्नु भयो।
28 यसैले म कमजोर भन्दा कमजोर भई रहेछु
सड्दै गएको काठको टुक्रा जस्तो,
माऊ किराले खाँदै नष्ट भएको लुगाको टुक्रा जस्तो।
14 अय्यूबले भने,
“हामी सबै मानिसहरू हौं।
हाम्रो आयु छोटो अनि सङ्कटहरूले भरिएको छ।
2 मानिसको जीवन एउटा फूल जस्तो छ।
चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ।
यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो छोटो समयको लागि छ।
अनि त्यसपछि यो बिलाएर जान्छ।
3 त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ,
अनि न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ?
4 “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस।
तर कसैले पनि त्यसो गर्न सक्तैन।
5 मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ?
तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो,
अनि कसैले पनि परिवर्तन गर्न सक्दैन।
6 यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु होस्।
हामीलाई एक्लो छोडि दिनुहोस्,
ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं।
7 “त्यहाँ एउटा रूखको आशा छ।
यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ।
त्यसमा नयाँ हाँगाहरू पलाउनेछ।
8 यसको जराहरू भूईंमा बुढो भएर उम्रेला
अनि यसको ठुटो मैलोमा सड्नेछ।
9 तर पानीमा यो फेरि उम्रनेछ।
यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ।
10 तर जब मानिस मर्छ, ऊ लोप हुन्छ।
जव मानिस मर्छ, उसको अन्त हुन्छ।
11 नदीहरू सूख्खा नभइन्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला,
अनि मानिस अझ मृत नै हुनेछ।
12 जब कुनै मानिस मर्छ,
ऊ तल ढल्छ,
अनि ऊ उठ्दैन।
मृत मानिस उठ्न अघाडी
आकाश विलिन हुनेछ।
तर मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।
13 “म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ।
मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु।
जबसम्म तिमीहरूका रीस मर्दैन्।
तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ।
14 यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ?
तब सम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला?
15 परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ
अनि म तपाईंलाई जवाफ दिनेछु।
तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न
तपाईंले इच्छा गर्नुहुनेछ।
16 तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ,
तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न।
17 तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ।
मेरा अपराधहरू ढाक्नु हुनेछ।
18 “पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ।
विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्।
19 पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ
बाढीहरूले मैदानको माटो काटिदिन्छ।
त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
20 तपाईंले तिनीहरूलाई,
पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ।
तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ।
अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।
21 यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन।
यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न।
22 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,
अनि उ आफ्नै लागि चिच्याएर रून्छ।”
एलीपजले अय्यूबलाई जवाफ दिंदछ
15 त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः
2 “अय्यूब, यदि तिमी साँच्चि नै ज्ञानी हुँदो हौ त
तिमीले यसरी आफ्ना अर्थहीन व्यक्तिगत विचारहरूले जवाफ दिने थिएनौ।
तिमी किन आफैंलाई तातो हावाले भराई रहन्छौ?
3 के तिमी सोच्दछौ कि एकजना ज्ञानी मानिससित त्यस्तो बेकामे तर्क
अनि त्यस्ता विवेकशुन्य क्षमा-याचना हुन्छ।
4 अय्यूब, यदि तिमीले यस्तै गर्दै गयौ भने
कसैले पनि परमेश्वरलाई श्रद्धा अनि आराधना गर्ने छैन।
5 जे कुराहरू तिमीले भन्छौ त्यसले तिम्रो पाप छर्लङ्ग देखाउँछ।
अय्यूब, तिमीले चतुर शब्दहरू चलाएर आफ्नो पापहरू छोप्न खोजिरहेछौ।
6 म तिमी गल्ती छौ भनेर प्रमाणित गर्न खोज्दिनँ।
तिमीले आफ्नो मुखबाट उच्चारण गरेका शब्दहरूले नै तिमी गल्ती भएको देखाउँछ।
तिम्र ओठहरू तिम्रै विरूद्ध बोल्छ।
7 “अय्यूब, के तिमी सोच्छौ कि प्रथम जन्मिने मानिस तिमी मात्र थियौ?
तिमी यो पहाडहरू भन्दा पहिल्यै जन्मेका थियौ?
8 के तिमीले परमेश्वरको गोप्य योजनाहरू सुन्यौ?
के तिमी आफै मात्र ज्ञानी मानिस भनेर सोच्छौ?
9 अय्यूब, तिमीले गरे भन्दा धेरै कुराहरू हामी जान्दछौ
हामी बुझ्छौ अनि त्यही तिमी बुझ्दैनौ
10 केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्।
हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।
11 परमेश्वरले तिमीलाई सान्तवना दिनु हुन्छ
तर त्यति मात्र तिमीलाई प्रशस्त छैन
हामी परमेश्वरको सन्देश तिमीलाई शिष्ट भाषामा भन्छौ।
12 अय्यूब, तिमी किन बुझ्दैनौ?
किन हामी सत्य देख्दैनौ?
13 जब तिमी त्यस्ता क्रोधपूर्ण शब्दहरू भन्छौ,
तिमी परमेश्वरको विरूद्धमा छौ।
14 “मानिस साच्चै नै निर्दोष हुन सक्तैन।
मानिस परमेश्वर भन्दा धर्मी हुन सक्तैन।
15 परमेश्वरले आफ्ना दूतहरूलाई त विश्वास गर्नुहुन्न।
परमेश्वरसँग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
16 मानिस अत्यन्तै निम्न हुन्छ।
मानिस मैलो र भ्रष्ट छ।
उसले अधर्म पानी सरह पिउँछ।
17 “मेरो कुरा ध्यान दिएर सुन अय्यूब,
अनि म यो तिमीलाई व्याख्या गर्नेछु।
मैले के बुझें त्यही तिमीलाई भन्नेछु।
18 म तिमीलाई ती कुराहरू भन्नेछु,
जुन ज्ञानी मानिसहरूले मलाई भनेका छन्
ती ज्ञानी मानिसहरूका पिता-पुर्खाहरूले
ती कुराहरू तिनीहरूलाई भनेका हुन्।
19 तिनीहरू मात्र आफ्ना देशमा बस्थे।
त्यहाँ कुनै विदेशीहरू बसोवास गर्न पाउँदैन थिएँ,
यसकारण तिनीहरूलाई कसैले नौलो विचारहरू भनेन्।
20 दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ।
निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
21 प्रत्येक कोलाहलले उसलाई तर्साउँछ।
उसका शत्रुहरूले उसलाई सताउँछ,
शत्रुले आक्रमण गर्छ जब उसले आफूलाई सुरक्षित सम्झन्छ।
22 दुष्ट मानिसहरू अत्यन्त निराश हुन्छन्,
अनि अन्धकारदेखि छुटकारा पाउने तिनीहरूसँग कुनै मौका नै हुँदैन।
त्यहाँ कतै तिनीहरूलाई मार्नका लागि तरवार छ।
23 रोटीको खोजीमा ‘त्यो कहाँ छ’ भनी यता उता घुमिरहन्छ।
उसले जान्दछ कि उसको मृत्यु अब नजिक छ।
24 चिन्ता र पीडाहरूले उसलाई भयभीत बनाउँछ।
राजा ध्वंश गर्न तम्से जस्तो ती कुराहरूले तिनीहरूलाई आक्रमण गर्छ।
25 किनभने दुष्ट मानिसहरूले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ
उसले आफ्नो मुक्का परमेश्वरमा नचाउँछ,
अनि सर्वशक्तिमान परमेश्वरलाई पराजित गर्ने कोशिश गर्छ।
26 त्यो दुष्ट मानिस साह्रै हठी हुन्छ।
उसले मोटो बलियो ढालसँग परमेश्वरलाई आक्रमण गर्ने कोशिश गर्छ।
27 उसको अनुहार बोसोले ढाकिएको छ।
धनी अनि मोटा भएको छ।
28 तर उसको शहर ध्वंश हुनेछ,
उसको घर ध्वंश हुनेछ,
उसको घर रित्तो हुनेछ।
29 दुष्ट मानिस सधैँलाई धनी भई रहँदैन।
उसको सम्पत्ति सधैँलाई रहँदैन
उसको अन्नबालि सबै उम्रिंन्दैन।
30 ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन।
उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ।
अनि बतासले सबै उडाई लैजाईनेछ।
31 दुष्ट मानिसले स्वयंलाई मूर्ख बनाउनु पर्दैन,
जब उसले महत्वहीन कुराहरूमा विश्वास गर्छ।
किनभने उसले केही पनि पाउँने छैन।
32 उसको जीवन अन्त हुन अघि नै त्यो दुष्ट मानिस बृद्ध र निराश भइजान्छ।
उ सुकेको हाँगा जस्तो हुन्छ, फेरि कहिल्यै हरियो हुनेछैन।
33 त्यो दुष्ट मानिस दाखको रूख जस्तो हुनेछ,
जसले पाक्न अघिनै दाख गुमाउँछ।
त्यो मानिस भद्राक्षेको रूख जस्तै हुनेछ जसले आफ्नो कोपिलाहरू गुमाउँछ।
34 किनभने परमेश्वर नभए मानिसहरूसँग केही पनि रहँदैन।
मानिसहरू जसले पैसालाई प्रेम गर्छ आगोले आफ्नो घर खरानी बनाउँछ।
35 दुष्ट मानिसहरूले कष्ट गर्भधारण गर्छन्, दुष्ट्याईं जन्माउँछन्
अनि तिनीहरूको कोखले खाली कपट उब्जाउँछ।”
अय्यूबले एलीपजलाई जवाफ दिंदछ
16 तब अय्यूबले जवाफ दिए,
2 “मैले पहिलाबाट यी कुराहरू सुनेको हुँ।
तिमीहरू तीनजनाले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
3 तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइनन्।
किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ?
4 तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें
यदि तिमीहरूसँग मेरो जस्तै सङ्कटहरू भए।
म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थें
अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें।
5 तर म तिमीलाई उत्साह दिउँला,
अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला।
6 “मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन,
तर चुपचाप बसिरहनु पनि लाभ छैन।
7 हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो।
तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो।
8 तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो,
अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
9 “परमेश्वर क्रोधित हुनुभयो,
अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो।
मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो।
अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे।
10 मानिसहरूले मेरो वरिपरि थुप्रेर,
तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए।
11 परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो।
मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो।
12 जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन
अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन
तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो।
तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो
र मलाई उहाँको तारोको रूपमा प्रयोग गर्नुभयो।
13 परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्।
उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो।
उहाँले ममाथि दया देखाउनु भएन
उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो।
14 घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ।
उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दौड्नु हुन्छ।
15 “म अत्यन्त उदास छु,
यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु।
म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु,
अनि म पराजित भएको ठान्छु।
16 रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो।
मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्।
17 मैले कसैलाई नोक्सान गरेको छैन।
तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो।
मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
18 “पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो।
मेरो न्यायको पुकारलाई नरोक।
19 अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ।
त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ।
20 मेरो साथीहरूले मलाई हप्काउँछ।
मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ।
21 तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि
न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ।
22 “केही बर्षमा म नफर्किने ठाउँमा जानेछु।
17 “मेरो आत्मा टुक्रियोः
म त्याग्न तयार छु।
मेरो जीवन प्रायः बितिसक्यो,
चिहानले मलाई पर्खिरहेछ।
2 मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि ममलाई देखेर हाँस्छन्।
जब तिनीहरूले मलाई जिस्काउँछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।
3 “हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ।
अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
4 तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो
अनि तिनीहरूले बुझ्दैनन्।
दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।
5 तपाईंहरूलाई यो भनाई थाहा छ,
‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक-भोकै राखी साथीलाई मद्दत गर्छन्।’
6 परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो।
मानिसहरूले मेरो मुखमा थुक्छन्।
7 मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु।
मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।
8 धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्।
अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।
9 तर ईमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्।
विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
10 “तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर।
तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिनँ।
11 मेरो जीवन बितिरहेछ।
मेरो योजनाहरू नष्ट भइरहेछ।
मेरो इच्छा मर्यो।
12 तर मेरो सारा मित्रहरू सालेमाले भए।
तिनीहरू रातलाई दिन सोच्छन, तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।
13 “म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला
अँध्यारो चिहानमा मेरो ओछ्यान बनाउँने आशा गरौंला।
14 म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ,’
अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी’ भन्न सक्छु।
15 तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्।
यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।
16 के मेरो आशा मसँगै मरेर मृतलोकमा जानेछ?
के हामी साथ-साथै मैला धूलोमा सँगै जानेछौं?”
बिल्ददले अय्यूबलाई जवाफ दिंदछ
18 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः
2 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ?
चुपलाग अनि सुन, हामीलाई केही भन्नदेऊ।
3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?
4 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ।
के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ?
के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?
5 “हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ।
उसको आगो जल्न छाड्नेछ।
6 उसको घरको प्रकाश अँध्यारो हुनेछ।
उसको छेउको बत्ती पनि निभ्ने छ।
7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्।
उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।
8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ
उ पासोमाथि हिँडनेछ र फँस्नेछ।
9 पासोले उसको एढी पक्रने छ।
पासोले उसलाई कस्सेर समात्ने छ।
10 भूईँमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ।
पासोले उसको बाटो पर्खनेछ।
11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ।
त्रासले त्यसको बढ्दो प्रत्येक पाईलालाई पछ्याई रहेछ।
12 भोकले उसको शक्ति दुर्बल पार्छ।
जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।
13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ।
त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।
14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ।
उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।
15 उसले आफ्नो घरमा केही पनि छाडने छैन।
किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।
16 उसको मुनिका जराहरू सुकेर जानेछन्
अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।
17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्।
कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।
18 मानिसहरूले उसलाई
उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।
19 उसको न छोरा-छोरीहरू हुनेछ,
न त नाति-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ,
जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा,
पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।
21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ।
त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”
अय्यूबले जवाफ दिंदछ
19 तब अय्यूबले जवाफ दिएः
2 “कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ
अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?
3 तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ।
ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?
4 यो मेरो समस्या हो।
यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।
5 तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ।
तिमीहरूले मेरा सङ्कटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।
6 तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो।
मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।
7 म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन।
मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
8 परमेश्वरले मेरो बाटो रोकि दिनु भयो।
यसकारण म बाटोबाट जान सक्तिन।
उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।
9 परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो,
उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।
10 परमेश्वरले म शेष नहोउन्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो।
उहाँले मेरो आशा खोसेर लैजानु भयो
जसरी जराहरूले रूखलाई तान्दछ।
11 परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो।
उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।
12 परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो।
तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए
तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।
13 “परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो।
म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।
14 मेरो आफन्तहरूले मलाई त्यागेर गए।
मेरो मित्रहरूले मलाई बिर्से।
15 मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन्
मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।
16 मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन।
मैले उसित माफ माग्नु पर्छ।
17 मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे।
मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।
18 साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्।
जब म तिनीहरूको छेउमा जाँदछु,
तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।
19 मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्।
जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।
20 “म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्।
मसँग अब अलिकति मात्र प्राण छ।
21 “मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ।
किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
22 किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ?
तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।
23 “म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु।
म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
24 म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस्,
ताकि सदासर्वदा रहनेछन्।
25 म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ।
अनि अन्तमा ऊ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।
26 म जान्दछु कि म मरे पछि
अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।
27 म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु।
म मात्रै परमेश्वरलाई देख्नेछु, अरू कसैले पनि परमेश्वरलाई देख्न सक्दैन।
मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।
28 “हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ।
हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’
29 तर तिमीहरू आफैं नै तरवारदेखि डराउनु पर्नेछ।
किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ।
परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ।
तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”
सोपरले जवाफ दिन्छ
20 तब नमाबाट आएका सोपरले जवाफ दिएः
2 “मेरा दोधारे विचारहरू मभित्रै सङ्घर्ष गर्छन्
तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।
3 तिम्रो जवाफले हामीलाई अपमान गर्यो!
तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु।
4-5 “तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन।
त्यो पहिल्यै देखिको सत्य थियो, आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो
त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
6 हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला,
अनि उसको शिरले बादलहरूलाई छोला।
7 तर ऊ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिँदै गए जस्तो।
ती मानिसहरू जसले उसलाई चिन्दछन् तिनीहरूले भन्नेछन्, ‘ऊ कहाँ छ?’
8 उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन।
नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ।
9 मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्।
उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।
10 दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए।
त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काई दिनुपर्नेछ।
11 जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए,
तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।
12 “दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ,
यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मुनि राख्छ।
13 दुष्ट मानिसहरूले पाप लुट्दछ।
उसले यसलाई फुत्काउन चाँहदैन।
त्यो त्यस्तो मिठो मिश्री जस्तो हुँदछ उसले आफ्नो मुखमा चेपी राख्दछ।
14 तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ।
त्यो उसको पेटभित्र एउटा सर्पको विष जस्तै तितो हुन्छ।
15 दुष्ट मानिसले धनीहरूलाई निल्छ।
तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ।
परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ।
16 दुष्ट मानिसहरूको पेय पदार्थ सर्पबाट निकालिएको विष झैं हो।
तर सर्पको जिब्रोले उसलाई मार्नेछ।
17 तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि
आनन्द उपभोग गर्नेछैन।
18 दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ।
उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।
19 किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ।
उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो।
अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।
20 “दुष्ट मानिस कहिले सन्तुष्ट हुँदैन।
उसको धनले उसको रक्षा गर्न सक्तैन।
21 जब उसले खाँदछ, त्यहाँ केही पनि छाड्दैन।
उसले सफलता पाउने छैन।
22 जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई सङ्कटहरूले थिचेर राख्नेछ।
उसको समस्याहरू उमाथि नै खनिन्छ।
23 जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ,
ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ।
परमेश्वरले त्यस दुष्ट माथि दण्ड बर्षाउनु हुनेछ।
24 हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला।
तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ।
25 त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ,
अनि उसको ढाडबाट त्यो निस्कने छ।
यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ,
अनि ऊ त्रासले मुर्छा पर्नेछ।
26 उसका सारा धन सम्पत्ति नष्ट हुनेछ।
आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्।
आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरू पनि जलाएर खरानी बनाउँनेछ।
27 दुष्ट मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ।
पृथ्वी स्वंय त्यसको विरूद्ध उठ्नेछ।
28 उसको घरमा भएको सम्पूर्ण सामानहरू
परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ।
29 हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ।
त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।”
अय्यूबले जवाफ दिन्छन्
21 तब अय्यूबले जवाफ दिएः
2 “म के भन्छु सुन,
मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।
3 जब म बोल्दछु, धैर्य राख्नु
मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।
4 “म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन,
त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिनँ।
5 म प्रति हेर अनि शोकले आघात बन
तिम्रो हात मेरो मुखमा राख,
अनि शोकले आघात भएको आँखाले मलाई हेर।
6 जब मलाई के भएको थियो भनी सोच्छु
मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।
7 किन पापीहरू दीर्धायु हुन्छ?
किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?
8 दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन
र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।
9 तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्।
परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।
10 तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्।
तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।
11 दुष्टहरूले आफ्नो नानीहरूलाई भेंडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन।
तिनीहरूका नानीहरू वरिपरि नाँच्छन्।
12 तिनीहरू वीणा र बासुरीको धुनमा गाउँछन र नाँच्छन्।
13 दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्।
त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।
14 तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्।
हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।’
15 अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो?
हामीलाई उसको सेवा गर्ने खाँचो छैन।
उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’
16 “यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफैं बनाउँदैनन्,
म तिनीहरूको परार्मशको पछि लाग्दिन।
17 तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ?
प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ?
कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
18 हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै
के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ?
19 तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति
परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’
परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन्
तब तिनीहरू तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।
20 दुष्टहरूले आफ्नै सजाय देखुन्।
सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैंले देखुन।
21 जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ,
उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।
22 “कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन।
परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।
23 एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ।
ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।
24 उसको शरीरका हड्डीहरू बलिया थिए
कारण उसले भोजन प्रशस्त पाएको थियो।
25 तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ।
उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।
26 अन्तमा, ती दुवै मानिसहरू सँग-सँगै फोहोरमा ढल्नेछन्।
ती दुबैलाई कीराहरूले पुर्नेछन्।
27 “तर, म जान्दछु तिमीहरू के सोची रहेछौ
अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।
28 तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ।
अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।’
29 “तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ
अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।
30 जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू सधैँ जोगिन्छन्।
जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
31 कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन।
कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।
32 जब दुष्ट मानिसलाई चिहानमा लगन्छि
उसको चिहानको छेउमा चौकिदार उभिन्छ।
33 यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ।
अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।
34 “त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ,
तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”
एलीपजले जवाफ दिन्छ
22 तेमानीबाट आएका एलीपजले जवाफ दिए;
2 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अँहँ।
ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
3 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अँहँ!
यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अँहँ।
4 अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो?
के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”
5 होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो।
अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।
6 हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ,
अनि तिमीलाई उसले केही देओस् भनेर बाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो।
हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो।
हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
7 हुन सक्छ तिमीले ती थकित
र भोकोहरूलाई पानी र भोजन दिएनौ।
8 अय्यूब, तिमीसँग खेती गर्ने थुप्रै जमीनहरू छन्।
अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।
9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठायौ।
अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन्
अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।
11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ,
अनि बाढीले तिमीलाई बगाउँछ।
12 “परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ।
हेर ताराहरू कतिमाथि छन्।
परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।
13 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ?
के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?
14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ,
यसैले जब उहाँ आकाशको उच्च भागमा हिँड्नु हुन्छ,
माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’
15 “अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिँडिसकेका थिए,
तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
16 ती दुष्टहरू नष्ट भए
तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्,
सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’
18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो।
अँहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।
19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन,
अनि ती धर्मी मानिसहरू खुशी हुनेछन।
निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।
20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए।
आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’
21 “अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस।
त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।
22 उहाँबाट शिक्षा लेऊ।
उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।
23 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःर्स्थापित हुनेछौ
तर अहिले तिमीले आफ्नो घरबाट दुष्ट-आत्मालाई खेदी हाल।
24 सोंच, तिम्रो जति सुनहरूछन् तर ती धुलो हुन्
अति उत्तम सुन खोलाका स-साना ढुङ्गाहरू जस्ता।
25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।
26 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ।
तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।
27 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ।
अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
28 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ
अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ।
तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
30 तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्।
तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ
अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ।
किनभने तिमी एकदमै पवित्र हुनेछौ।”
अय्यूबले जवाफ दिंदछ
23 तब अय्यूबले जवाफ दिएः
2 “म थाकेर कमजोर भएता पनि
अझै म विद्रोही कुरा गरिरहेको छु।
3 म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनुहुन्छ,
तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ।
4 अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए।
म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथिएँ।
5 अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ।
अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ?
6 के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ?
होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ।
7 उहाँसँग मेरो ईमान्दार त्यहाँ छलफल हुनेथियो,
अनि म मेरो मामला जित्ने थिएँ।
8 “यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन।
यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।
9 अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिनँ।
अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन।
10 तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ,
उहाँले मलाई जाँच्न सक्नुहुन्छ अनि म त्यो जाँचमा शुद्ध सुन जस्तो उत्तीर्न हुनेछु।
11 म परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिँडे।
परमेश्वरको बाटोबाट म भड्किनँ।
12 मैले सधैँ परमेश्वरको आज्ञाको पालन गरे।
परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
13 “तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न।
परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्।
परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।
14 परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो
अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्।
15 यसकारण म परमेश्वरसँग डराउँछु।
म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु
16 परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो।
सर्वशक्तिमान परमेश्वरले मलाई त्रासित पार्नुभयो।
17 अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो,
तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्।
तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन।
24 “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन,
तर को आँउदैछ भनेर उनका अनुवाईहरूलाई थाहा हुँदैन।
2 “मानिसले आफ्नो जमीन बढाउन सिमाना सार्छन्,
अनि अर्काको बगाल चोरेर टाढा खर्कमा चराउँछन्।
3 तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन।
तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ, जबसम्म उसले ऋण तिर्न सक्तिनँ।
4 तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्।
तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमि हिँड्न बाध्य गराउँछन्।
सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।
5 “गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरुभूमिमा घुमिरहेका छन।
भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुन्जेलसम्म काम गर्छन्।
6 गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन्
अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
7 गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ।
जाडोबाट जोगिनँ तिनीहरूसित केही हुँदैन्।
8 तिनीहरू पर्वतहरूमा बर्षाले निथ्रुक्क भिज्छन्।
चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीने कुनै उपाय छैन।
9 खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन।
तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
10 गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन यसैले तिनीहरू नाङ्गै छन्।
तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सधैँ भोको हुन्छन्।
11 गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्।
मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
12 शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ।
ती पीडित मानिसहरू गुहार माग्दै चिच्याउँछन् तर परमेश्वरले सुन्नुहुन्न।
13 “कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन।
तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ।
तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
14 हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ।
अनि रातमा त्यो चोर हुन्छ।
15 एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ।
उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’
तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।
16 जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन,
अनि मानिसहरूको घरहरू फोर्छन्।
तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ
अनि प्रकाशलाई मन पराउँदैन।
17 ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो।
हो, तिनीहरू डरलाग्दो अँध्यारो रात मन पराउँछन्।
18 “तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्।
तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।
19 तिनीहरूको निम्ति हिउँदको हिउँबाट पानी आउँछ तर गरमको सुख्खा मौसमले सुकाइदिन्छ।
अनि ती पापीहरू चिहानमा लगिन्छन्।
20 त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे।
कीराहरू उसको प्रियसी हुन्छन् जसले शरीर खान्छन्।
मानिसहरूले उसलाई सम्झने छैनन्।
त्यो दुष्ट मानिस कुहेको लट्ठी जस्तै भाँचिएको छ।
21 दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन्।
अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
22 दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्।
दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
23 दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्।
उसले आफैंमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
24 नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन।
तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
25 “म कसम खान्छु कि ती कुराहरू सत्य हुन्।
कसले प्रमाणित गर्ला मैले ढाँटे भनेर?
कसले देखाउन सक्छ म गल्ती छु भनेर?”
© 2004, 2010 Bible League International