Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 48 - विलाप 1

मोआबको बारेमा सन्देश

48 यो सन्देश मोआब देशसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ:

“नबो पर्वतको दुर्भाग्य सामुन्ने छ।
    यो नष्ट हुनेछ।
किर्यातैमको शहर लज्जित हुनेछ
    अनि कब्जामा पर्नेछ।
ती बलिया किल्लाहरू लज्जित
    तथा हतोत्साही हुनेछन्।
मोआबलाई फेरि प्रशंसा गरिने छैन।
    हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे।
तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्ट पारौं,
    ताकि अब उसो एउटा जाति नरहोस्।’
हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ।
    तरवारले तिम्रो खेदो गर्नेछ।
होरोनैमबाट आएको चिच्याहट सुन।
    तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
मोआब नष्ट हुने नै छ।
    उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
मोआबका मानिसहरू रूँदै
    लूहीतको उकालो बाटो जान्छन्।
होरोनैम तिर जाने ओह्रालो बाटोमा
    नष्टको परितापमा क्रन्दन सुनिन्छ।
भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ,
    मरुभूमिको जङ्गलमा हुने पोथ्रा झैं बन।

“तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ।
    यसकारण तिमीहरू कैदमा पर्यौ।
उसका अधिकारीहरू र पूजाहारीहरूसितै,
    कमोशलाई देश निष्कासन गरियो।
प्रत्येक शहर नष्ट पारिनेछ
    अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन।
हरेक खाल्टाहरू समतल पारिनेछ,
    समतल भुमी नष्ट हुनेछ।
परमप्रभुले भन्नु भएको कुरा पुरा हुनेछ।
    अनि समतल देश नष्ट पारिनेछ।
मोआबमा खेत बारि भरि नून छरिदेऊ
    किनभने यो निश्चय नष्ट हुनेछ
अनि बासिन्दा कोही नभएर
    मोआब शून्य मरुभूमि हुनेछ।
10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ।
    धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

11 “मोआबले अनिष्ट कहिल्यै देखेको छैन।
    मोआब ढुङ्ग्रोमा रहेको र एउटा भाँडादेखि
अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ।
    ऊ कैदी भएर कहिले पनि बसेको छैन,
यसकारण ऊ पहिल्यै जस्तै ताजा नै छ,
    अनि उसको स्वादमा बद्ली आएको छैन।”
12 तब परमप्रभु भन्नुहुन्छ,
“हेर, समय आइरहेछ जब म,
    उसलाई तिम्रो भाँडाबाट खन्याउँन,
अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा
    परिणत गराउन मानिसहरू पठाउनेछु।”

13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।

14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं
    अथवा हामी वीर योद्धाहरू हौं।’
15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्,
    र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्।
उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।”
यो सन्देश महाराजाको हो,
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
16 “मोआबको अन्त नजिकै छ।
    मोआबलाई चाँडै ध्वंस पारिनेछ।
17 मोआबका वरिपरि बस्ने मानिसहरू
    तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ।
    तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ।
यसर्थ त्यसको लागि रूनु
    ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’

18 “तिमीहरू दीबोनमा बसिरहेका छौ।
    आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ
सुखा जमीनमा बस,
    किनभने विनाश आइरहेछ,
अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।

19 “हे अरोएरमा बस्ने मानिसहरू हो।
    बाटोको किनारमा उभ र हेर,
पुरूष मानिसहरू भागिरहेका हेर,
    स्त्री मानिसहरू भागिरहेका हेर,
    तिनीहरूलाई के भयो सोध।

20 “मोआब धराशायी भएको छ
    लाजले पूर्ण भएको छ।
विलौना गर अनि रोऊ।
    अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
21 समतल देशमाथि न्याय हुने समय आएको छ।
होलोन, यहसा र मेपात शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
23 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
24 करियोत र बोज्रा र छेउ,
    टाढाका अनि नजिकका
मोआब सबै शहरहरूमा
    न्याय गरिने समय आएकोछ।
25 मोआबको सिंग काटियो
    अनि मोआबको पाखुरा भाँचिएको छ।”
परमप्रभुले यो कुरा भन्नुभयो।

26 “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो।
अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ।
    मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ।
मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।

27 “मोआब तिमीले इस्राएलको हाँसो उडायौ
    इस्राएललाई एउटा चोरका समूहले पक्रे।
प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ।
    अनि इस्राएलभन्दा असल छु भनी बाहना गर्यौ।
28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड।
    जाऊ ढुङ्गाहरूमा बस,
ढुकुर जस्तो होऊ,
    जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”

29 “हामीले मोआबको घमण्ड सुनेकाछौं,
    ऊ अत्यन्तै घमण्डी थियो।
र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो।
    ऊ आफैं गर्वाम्बित थियो।
    ऊ अतिनै घमण्डी थियो।”

30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ सो म जान्दछु,
    उसले आफ्नै प्रशंसाको गीत गाउँछ।
    तर ऊ झूटो अंहकार गर्छ
    ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु,
    म सम्पूर्म मोआबको लागि रून्छु।
    म कीर-हेरेसका मानिसहरूका लागि शोक गर्छु।
32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु।
    हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू
    चारैतिर फैलिंदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो।
तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ।
    मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ।
यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्।
    स्वर छ तर आनन्दको स्वर होइन।

34 “मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो। 35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो। 37 प्रत्येक मानिसको केश खौरेको छ, प्रत्येकले दाह्री काटेको छ।[a] प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ। 38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।

39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”

40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ।
    यसले आफ्नो पखेंटाहरू मोआब भरि फैलाई रहेछ।
41 शहरहरू कब्जा गरिनेछ,
    बलिया किल्लाहरू घेरामा पर्नेछन्।
त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु,
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
42 मोआब देश नष्ट गराइनेछ।
    किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।”

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ:
    “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
44 मानिसहरू डराउने छन् र भाग्ने छन्,
    तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्।
यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन्
    किनभने म मोआबमाथि दण्डको बर्ष ल्याउनेछु।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।

45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ।
    तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो
र सिहोनबाट ज्वाला गएको छ।
    यसले मोआबको निधार र ती अहिले आनन्द
    मनाउँदै गर्नेहरूको शिरलाई काटेर
    नास पारिदिनेछ।
46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ!
    कमोशका मानिसहरू नष्ट भइरहेका छन्।
तिम्रा छोरा-छोरीहरूलाई,
    कैदी बनाएर लगिनेछ।
47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्।
    तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।”
    यो सन्देश परमप्रभुबाट थियो।

यसरिनै मोआबको सजाय पूर्ण हुनेछ।

अम्मोनवंशीहरूको बारेमा एउटा सन्देश

49 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ:

“अम्मोनवासी हो, के तिमीहरू ठान्छौ कि
    इस्राएलका मानिसहरूका नानीहरू छैनन्?
के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्?
    तब किन मल्कामले गादको जमीन लियो?
किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”

परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले,
    युद्धको स्वर सुन्ने समय आउनेछ।
रब्बा एउटा नष्ट पहाड हुनेछ।
    वरिपरिका सबै गाउँहरू जलाइनेछन्
    र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए
तिनीहरूलाई इस्राएलका मानिसहरूले,
    बाहिर निकाल्नेछन्।”
यो सन्देश परमप्रभुबाट थियो।

“हे हेशबोनका मानिसहरू! विलाप गर।
    किनभने ‘ऐ’ शहर नष्ट भएको छ।
हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ।
    विलाप गर अनि पर्खालतिर दगुर।
मल्कम आफ्नो पूजाहारी,
    र अधिकारीहरूसित निष्कासन हुन्छ।
तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ।
    तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ।
हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्यौ,
    अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन।”
सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ:
“प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउँनेछु।
तिमीहरू सबैलाई खेदिनेछ,
    अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”

“त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

एदोमको बारेमा एउटा सन्देश

यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

“के तेमानमा केही ज्ञान बाँचेको छैन?
    के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो?
    के तिनीहरूले आफ्नो बिवेक हराए?
हे ददानका मानिसहरू हो, भाग, लुक!
    किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु।

“जब मानिसहरूले अङ्गुर बटुल्छन्,
    तिनीहरूले केही छाडछन्।
जब राती चोरहरू आउँछन्
    तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्।
10 तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु।
    म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु
    अनि उ मबाट लुक्न पाउने छैन।
उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सड्नेछन्,
    अनि एसाव अस्तिवहिन हुनेछ।
11 आफ्ना अनाथहरूलाई छाडिदेऊ,
    म तिनीहरूलाई सुरक्षा दिनेछु।
तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”

12 परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।” 13 परमप्रभु भन्नुहुन्छ, “म आफैं यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”

14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु:
    उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ,
उक्त संदेश यो होः
“आफ्ना सिपाहीहरूलाई भेला गर!
    र युद्धकोलागि तयार होऊ!
    अनि एदोम विरूद्ध अघि बढ!
15 एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु।
    प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्।
16 एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ,
    अनि स्वयंलाई महान ठानेका छौं।
तर तिमीहरू आफैंलाई मूर्ख बनायौ।
    तिम्रा घमण्डले तिमीलाई धोका दियो।
    तिमी फुटेको चट्टानमा बस्छौ, उच्च पहाडहरूमा बस्छौ।
तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि,
    बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।”
यो परमप्रभुले भन्नुभएको हो।

17 “एदोम शोकको दृश्य बनिने छ
    अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन्,
    अनि यसका घाऊहरूमा खिसी गर्नेछन्।
18 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन्
    अनि त्यहाँ कोही पनि बस्ने छैन्।”
परमप्रभुले यसो भन्नुभयो।

19 “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेंडा़ र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।”

20 एदोमका मानिसहरूका निम्ति
    परमप्रभुले बनाउनु भएको योजना सुन।
सुन, तेमानका मानिसहरूका निम्ति
    परमप्रभुले के निर्णय लिनु भएको छ।
तिनीहरूले थुमाहरू घिसार्नेछन्।
    उसले सम्पूर्ण तिमीहरूको खेत नष्ट पार्नेछ।
21 एदोमको पतनको आवाजले पृथ्वी थर्किनेछ।
    तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।

22 अक्कासिने चील उँभो बेगले तल झरी
    आफ्नो पखेंटा बोज्रामाथि फिँजाउनेछ।
त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय
    प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

दमिशकको बारेमा सन्देश

23 यो सन्देश दमिशक शहरसित सम्बन्धित छ:

“हमात र अर्पादका शहरहरू भयभीत छन्
    किनभने तिनीहरूले कुलक्षिणको खबर सुनेका छन्।
तिनीहरू डरले पग्लिए।
    तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।
24 दमिशक शहर कमजोर भयो।
    मानिसहरू भाग्न चाहन्छन्।
    आंतकले तिनीहरूलाई समातेको छ।
तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं
    वेदना अनुभव गरिरहेका छन्।

25 “मानिसहरूले प्रसिद्ध शहर,
    ‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्।
26 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा।
    उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।”
सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ।
27 “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु।
    त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”

केदार र हासोरका बारेमा सन्देश

28 यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे, परमप्रभु भन्नुहुन्छ:

“जाऊ र केदारलाई आक्रमण गर।
    पूर्व दिशाका मानिसहरूलाई नष्ट पार।
29 तिनीहरूको पालहरू, भेंडा़का बगालहरू,
    पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ।
    शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्।
मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्।
    डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।
30 भाग! छिटो भाग!
    हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज
किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु
एउटा युक्ति रचेकाछ।”
    यो सन्देश परमप्रभुबाट हो।

31 “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ।
    तिमीहरूको न कुनै फाटक छ नत कुनै पर्खालनै छ।
तिनीहरू एक्लो बस्छन्।
    यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।”
32 “शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्।
    आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई
म हावामा तितर-बितर पारिदिनेछु।
    सबै तिरबाट म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु।”
यो परमप्रभुको सन्देश हो।
33 “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ।
त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिँडडुल गर्ने छैन।
    सधैँका निम्ति यो एक शून्य उजाड मरुभूमि जस्तै हुनेछ।”

एलामको बारेमा सन्देश

34 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।

35 सेनाहरूका परमप्रभु भन्नुहुन्छ,
“हेर, म एलामको धनु भाँचिदिनेछु।
    धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो।
36 म आकाशको चारै कुनाबाट,
    एलामको विरूद्ध हावा ल्याउनेछु।
म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा
    जहाँ चारैदिशाबाट हावा बहन्छ,
    त्यहाँ छरपष्ट पारिदिन्छु,
कैदीहरूलाई हरेक जातिमा खेदी पठाउनेछु।
37 म एलामलाई तिनीहरूका शत्रुहरू
    जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन्
तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु।
    म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु।
मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।”
    यो परमप्रभुबाट आएको सन्देश हो।
“म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु
अनि त्यो तरवारले तिनीहरू सबैलाई
    शेष नपारन्जेल सम्म खेद्नेछ।
38 म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु
    र त्यहाँका राजा अनि भारद्वारहरूलाई ध्वंस पार्नेछु।”
यो परमप्रभुको सन्देश हो।
39 “तर पछिल्ला दिनमा एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।”
यो परमप्रभुले भन्नुभयो।

बाबेलको बारेमा सन्देश

50 यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।

“प्रत्येक जाति-जातिलाई यो घोषण गर,
    झण्डा उठाऊ र सन्देश प्रचार गर।
सम्पूर्ण सन्देश सुनाऊ र भन,
    ‘बाबेलको राज्य कब्जा गरिनेछ।
    बाल देवता लाजको पात्र हुनेछ।
    मरोदक देवता भयभीत हुनेछ।
बाबेलका मूर्तीहरू लज्जित हुनेछन्।
    उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ।
    त्यो जातिले बाबेललाई, जन-शून्य मरुभूमि तुल्य पार्ने छ,
कुनै मानिस पनि त्यहाँ बस्ने छैन्।
    दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”
परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू
    अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्।
तिनीहरू सँग-सँगै रूने छन्।
    अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्।
    तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्।
ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौं।
    एक त्यस्तो करार गरौं जुन सदा-सर्वदा रहनेछ।
    एक त्यस्तो करार गरौं जुन कहिल्यै भूलिने छैन्।’

“मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्।
    तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए।
तिनीहरूका अगुवाहरूले तिनीहरूलाई,
पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए।
    यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए।
    तिनीहरूका शत्रुहरूले भने,
‘हामीले गल्ती काम गरेका छैनौ
    किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे
जो तिनीहरूका साँचो आश्रय (घर) थियो।
    तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।’

“बाबेलबाट भाग।
    कल्दीहरूका भूमि छाडिदेऊ।
    बगालको अघि साँढ भेंडा़ जस्तै होऊ।
म उपद्रव मच्चाउनेछु
र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु।
यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्।
तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्।
तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन्
    र एउटै काँड पनि व्यर्थ जाँदैन्।
10 ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्।
    लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।

11 “बाबेल, तिमी उत्तेजित र खुशी छौ।
    किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ।
तिमी हरियो घाँसमाथि कोरली गाई झैं नाचिरहेका छौ।
    तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
12 तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन
    तिनी धेरै लज्जित हुनेछन्।
बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ।
    ऊ उदास र सूख्खा मरुभूमि हुनेछ।
13 परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ।
    बाबेल पूर्ण रूपले उजाड हुनेछ
    अनि त्यहाँ कोही पनि बस्ने छैन।
प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्मित हुनेछ
    र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।

14 “बाबेलसित युद्धको लागि तैयार होऊ।
    बाबेलमाथि काँडहरू हान,
    तिमीहरूको एउटा काँड पनि नजोगाऊ,
किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ।
15 सिपाहीहरूले बाबेललाई घेरे
    अनि विजय ध्वनि सुनाऊ।
बाबेलले आत्मासमर्पण गरेकोछ।
    उसका पर्खालहरू
र धरहराहरू धराशायी गराइयो।
    यो परमप्रभुबाट प्रतिशोध हो।
ऊमाथि वैरशुद्धि गर।
    अन्य जातिहरूलाई उसले के गर्यो
तिमीहरू उसलाई त्यसै गर।
16 तिनीहरूलाई अन्न रोप्न नदेऊ।
    तिनीहरूलाई बाली काट्न नदेऊ।
अहिले शत्रुका सिपाहीहरू आएका छन्।
प्रत्येक मानिस र तिनीहरू
    आफ्नो-आफ्नो गाऊँमा जाउन,
आफ्नो-आफ्नो देशमा जाउन।

17 “इस्राएल भेंडा़को बथान जस्तो छ,
    जो देशभरि नै छरिएका थिए।
इस्राएल भेंडा़को बथान जस्तो छ
जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ।
    जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो।
अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो
    त्यो बाबेलका राजा नबूकदनेस्सर हो।
18 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ:
‘म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु,
    त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।

19 “‘म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु।
    तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्।
    तिनीहरू खाएर तृप्त हुनेछन्।
    तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।’”
20 परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म,
खोज्ने प्रयास गर्नेछन्।
    तर तिनीहरूले कुनै अधर्म पाउने छैनन।
तिनीहरूले यहूदाको पापहरू खोज्ने प्रयास गर्नेछन्
    तर तिनीहरूले कुनै पापहरू पाउने छैनन
किनभने जसलाई मैले बचाएँ,
तिनीहरूको पाप क्षमा गरेकोछु।”

21 परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर।
    पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर।
    तिनीहरूमाथि आक्रमण गर
    तिनीहरूलाई मार अनि सर्वनाश पार।
    मैले जुन कुरो दिएँ ती सब गर।

22 “सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ।
    यो विनाशको कोलाहल हो।
23 त्यो देश जसले सारा पृथ्वीलाई नै
    मार्तोलले हिर्कायो,
त्यो कटिएको छ र टुक्रिएको छ।
    बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।
24 हे बाबेल, मैले तिमीलाई पासो थापें
    अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ।
तिमी परमेश्वरको विरूद्ध लड्‌यौ,
    यसकारण तिमी बन्दी भयौ।
25 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो
    अनि क्रोधको हात-हतियार निकाल्नु भयो।
मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो,
    किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।

26 “सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ।
    अन्न-भण्डारहरू तोडी देऊ,
अन्नको थुप्रो झैं बाबेललाई थुपार
    अनि बाबेललाई पूर्ण नष्ट पार,
र कसैलाई पनि बाँच्न नदेऊ।
27 सारा साँढेहरू मार।
    तिनीहरूलाई कसाइकहाँ जानदेऊ।
तिनीहरूलाई धिक्कार!
    तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।
28 मानिसहरू बाबेलबाट भागिरहेका छन्।
    मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन्
तिनीहरू भन्दैछन्,
    ‘परमप्रभु हाम्रा परमेश्वरले उहाँको
    र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।’

29 “काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ,
    तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन।
शहर घेराबन्दी गर्नु भन।
    कसैलाई पनि नछोड।
तिनीहरूका कुकर्मका फल देऊ।
    अन्य जातिहरूलाई जसो गरेकी थिई
त्यसलाई त्यसै गर,
    किनभने इस्राएलका एक मात्र पवित्र
    परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।
30 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ
    र सेनाहरू मर्नेछन्।”
परमप्रभुले यो कुरा भन्नुभयो।

31 “बाबेल तिमी अति अंहकारी छौ
    अनि म तिम्रो विरूद्ध छु।”
    हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ,
“तिम्रो दिन आएकोछ,
    म तिमीलाई दण्ड दिनेछु।
32 घमण्डी बाबेल ठोकिएर लड्नेछ
    अनि कसैले पनि उनलाई उठाउने छैन।
म उसको शहरहरूमा आगो लगाउनेछु
    अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”

33 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो।
    तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन्,
    र मुक्त पार्न अस्वीकार गरे।
34 तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ।
    उहाँको नाउँ ‘सेनाहरूका परमप्रभु’ हो।
उहाँले तिनीहरूको मामलामा वकालत गर्नुहुनेछ,
    र पृथ्वीलाई आराम दिनुहुनेछ।
तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”

35 परमप्रभु भन्नुहुन्छ,
“बाबेलका बासिन्दाहरू,
राजाका हाकिमहरू
    र ज्ञानीहरूको विरूद्ध तरवार छ।
36 हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ
    ताकि तिनीहरू मूर्ख बनुन्,
बाबेलका सिपाहीहरूलाई मार
    ताकि तिनीहरू भयभीत हुन्।
37 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार।
अन्य देशका भाडाका सिपाहीहरूलाई मार
    ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन्।
तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग
    ताकि तिनीहरू लुटिउन्।
38 तरवार! पानीको मुहानहरू काट
    ताकि मुहानहरू सुकुन।
किनभने बाबेलमा धेरै मूर्तिहरू छन्
    अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्।
39 बाबेल फेरि मानिसहरूले भरिने छैन।
जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्,
    तर त्यहाँ फेरि कोही मानिस रहने छैन।
40 परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो
    अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो।
अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन।
    त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन्।
अनि कोही मानिस त्यहाँ बस्न जाने छैन।
परमप्रभु परमेश्वरले यो कुरा भन्नु भयो।

41 “हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्।
    एक शक्तिशाली जाति
र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।
42 तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्।
    सिपाहीहरू निष्ठूर छन्।
    तिनीहरूमा दया छैन।
सैनिकहरू घोडाहरूमा चढेर आउनेछन्
    अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ।
तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन।
    हे बाबेलकी छोरी।
43 बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए।
    उनका हातहरू चल्न छाडे।
उसलाई डरले घेर्यो,
    अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”

44 परमप्रभु भन्नुहुन्छ,
    “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही,
यर्दन नदी छेऊको घना जङ्गलबाट बाहिर निस्कन्छ।
    म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु।
म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु।
    म जस्तो को छ?
मलाई कसले बोलाउन सक्छ।
    गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”

45 बाबेलको विरूद्ध परमप्रभुले रच्नुभएको योजना सुन।
    “बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ,
र परमप्रभुले तिनीहरूको चरणभूमि
    पूर्णरूपले नष्ट पार्नु हुनेछ।
46 बाबेलको पतन हुनेछ,
    अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ।
हरेक जातिहरूका मानिसहरूले
    बाबेलको विनाशको बारेमा सुन्ने छन्।”
51 परमप्रभु भन्नुहुन्छ,
“म एक शक्तिशाली हावा बाबेल
    र ‘लेब कामीका’[b] बासिन्दाहरू माथि बहाउनेछु।
म बाबेलमा विदेशीहरू पठाउनेछु
    अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ
र उसको जमीन नष्ट पार्नेछ।
    तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।
बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन्
    ती सिपाहीहरूले कवच सम्म लगाउने छैन।
बाबेलका सैनिकहरूमाथि दया नराख।
    उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।
बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन्
    तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”

इस्राएलका एकमात्र पवित्रको अघि
    तिनीहरूको भूमि
दोषले भरिएको भए पनि
    सेनाहरूका परमप्रभुले इस्राएल
र यहूदालाई एक्लै छोड्नु हुन्न।
    तर तिनीहरूले उहाँलाई छोडिदिएका छन्।

बाबेलदेखि भाग प्राण बचाऊ।
    बाबेलको पापको कारणले ध्वंस नहोऊ।
यो समय परमप्रभुले बद्ला लिने समय हो।
    उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो।
    बाबेलले सारा पृथ्वीलाई मतायो।
सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे।
    यसकारण तिनीहरू पागल भए।
तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ।
    उसको लागि विलाप गर,
अनि उसको घाउमा मलहम लगाऊ।
    हुन सक्छ ऊ निको हुन्छे।

हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ,
    तर त्यो निको हुन सकेन,
यसकारण हामीले त्यसलाई छोडौं
    अनि हामी आफ्नै देशमा जाऊँ।
किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ,
    अनि बादलसम्म पुग्नेछ।
10 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो।
    आऊ, हामी सियोन जाऊँ,
र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।

11 काँडहरू तीखो पार ढालहरू लगाऊ।
परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ।
    किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ।
बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए।
    यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
12 बाबेलको पर्खालहरूका विरूद्ध
    झण्डा माथि उठाऊ।
अझ प्रहरीहरू ल्याऊ।
    तिनीहरूका ठीक-ठीक ठाउँमा चौकीदार राख।
धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ
    जुन उहाँले योजना बनाउनु भएकोछ।
13 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ।
    तर तिम्रो अन्त आएको छ।
    यो तिम्रो ध्वंस हुने बेला हो।
14 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो:
“बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु।
    तिनीहरू सलहहरू जतिकै हुनेछन्।
तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन्,
    र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”

15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो।
    उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो
    र उहाँले आफ्नो समझ र बुद्धिले आकाशलाई फैलाउनु भयो।
16 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ,
    उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ।
उहाँले बर्षासँग बिजुली चम्काउनुहुन्छ।
    उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।
17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्।
    परमेश्वरले के गर्नुभयो सो जान्दैनन्,
हरेक मानिस जसले मूर्ति बनाउँछ,
    उसलाई लज्जित पारिन्छ।
किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्।
    तिनीहरूमा जीवन छैन।
18 तिनीहरू मूल्याहीन छन्,
    छलको काम मात्र गर्छन्।
जब तिनीहरूलाई सजाय दिइन्छ
    तिनीहरू सड्नेछन्।
19 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न।
मानिसहरूले परमेश्वर बनाएनन्।
    परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो।
    उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो।
उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

20 परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं,
    मेरो युद्धको हतियार।
    मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
21 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ।
    मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें।
22 मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ।
    मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ।
    मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।
23 मैले तिमीलाई गोठालो र भेंडा़वथान माथि प्रहार गर्न चलाएँ।
    मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ।
    मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।
24 तर म बाबेल र सबै कल्दीहरूलाई
    तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।”
परमप्रभु ती कुराहरू भन्नुहुन्छ।

25 परमप्रभु भन्नुहुन्छ,
“बाबेल! हे पर्वत नष्ट छ जसले सारा भूमि नै नष्ट पार्छ म तिम्रो विरोधमा छु।
    म तिम्रो विरोधमा मेरो हात उठाउँछु।
म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु,
    म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।
26 आफ्नो मन्दिरको लागि कुने ढुङ्गा,
    अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्।
किनभने तिमी सधैँका निम्ति काममा नआउने भूमि हुनेछौ।”
परमप्रभुले घोषणा गर्नु भयो।

27 “भूमिमा युद्धको झण्डा उठाऊ।
    सबै जाति-जातिहरूमा युद्धको तुरही फुक।
जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार।
अरारत, मिन्नी र अशकनज राज्यहरूलाई
    बाबेलको विरूद्ध लडाइँ गर्न डाक।
उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर।
संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
28 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार।
    मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू
र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे
    ती जम्मै देशहरूलाई तैयार पार।
29 जब बाबेललाई जन शून्य,
    उजाड भूमि बनाउन परमप्रभुको काम
धर्ती थर-थराउनेछ
    अनि बेदनामा परे झैं माडिनेछ।
30 बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे।
    तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे।
तिनीहरू थकित भए।
    तिनीहरू स्त्री जस्तै भए।
बाबेलका घरहरू जलिरहेका छन्।
    अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
31 एक सन्देशवाहकको पछि,
    अर्को सन्देशवाहक जान्छ,
अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर
    बाबेलका राजाकहाँ पुर्याइन्छ।
32 चाँचरहरू घेरामा परे;
सिमसारहरू आगो लगाइए;
    सिपाहीहरू भयग्रस्त भए।”

33 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ,
“बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ।
    बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्।
    अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”

34 सियोनका मानिसहरूले भन्नेछन्,
“बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो।
    हामीलाई चोट पुर्यायो।
हाम्रा मानिसहरूलाई टाढा पुर्यायो।
    उसले हामीलाई खाली भाँडाजस्तै बनायो।
हाम्रा असल-असल थोकहरू सबै लग्यो।
    राक्षसलेझैं उसले हामीलाई निल्यो।
हाम्रो राम्रो भोजनले उसले आफ्नो पेट भर्यो।
    तब उसले हामीलाई बाहिर थुक्यो।
35 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो।
    अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौं।”

सियोनका मानिसहरू यो कुरा भन्छन्,
“हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्।
    तिनीहरूले बिगतमा जे गरेका थिए तिनीहरूमाथि त्यस्तै दण्ड होस्।”
यरूशलेमका वासिन्दाहरूले यो कुरा भन्छन्।
36 यसकारण परमप्रभु भन्नुहुन्छ:
“यहूदा! म तिमीहरूको मामला लिनेछु
    र प्रतिशोध गर्नेछु।
म बाबेलको समुद्र सुकाइदिनेछु,
    अनि झरनाहरू सुकाइदिनेछु।
37 बाबेल मन्दिरहरूका भग्नावशेषहरूको थुप्रो मात्र भएको छ।
    अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ।
मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्।
बाबेलको विषयमा सोचेर मानिसहरू टाउको हल्लाउने छन्।
    यो कोही नबस्ने सुनसान ठाऊँ बनिनेछ।

38 “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्।
    तिनीहरू डम्मरूहरूझैं गर्जिन्छन्।
39 जब तिनीहरू उत्तेजित हुन्छन्
    म तिनीहरूलाई एक प्रीति भोज दिनेछु।
    म तिनीहरूलाई मताउनेछु।
तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्।
    तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।”
    तिनीहरू कहिल्यै उठ्ने छैनन्।

परमप्रभुले यी कुराहरू भन्नुभयो।
40 “बाबेल भेंडा़-भेंडी़ र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछ।
    तिनीहरूलाई म कसाइखानमा डोर्याउँनेछु।

41 “शीशक परास्त हुनेछ।
    सारा पृथ्वीको गौरव र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ।
अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन्
    अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
42 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ र ढाकिने छ।
    यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
43 बाबेलका शहरहरू नष्ट पारिनेछन्।
बासिन्दाहरू बिना ती शहरहरू
    सुख्खा मरुभूमि र उदास हुनेछन,
    बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्।
44 म बाबेलको बाललाई दण्ड दिनेछु।
    उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु।
बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्।
    बाबेलको पर्खाल ढल्नेछ।
45 हे मेरो मानिसहरू हो।
    बाबेलका शहरबाट बाहिर निस्क र आफ्नो प्राण बचाउँन भाग।
    परमप्रभुको भयानक रीसदेखि भाग।

46 “हे मेरा मानिसहरू हो, नडराऊ।
    उड़न्त कुराहरू फैलिनेछ तर नडराऊ।
यो बर्षमा एउटा उड़न्त कुरा आउँनेछ;
    अनि अर्को बर्षमा अर्को आउँनेछ,
यस भूमिमा हिंसाको उड़न्त खबरहरू
र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
47 निसन्देह समय आउने छ
    जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु
अनि बाबेलका सारा देश लाजले पानी हुनेछ।
बाबेलका गल्लीहरूमा
    धैरे लाशहरू लडिरहेका हुनेछन्।
48 तब स्वर्ग र पृथ्वी
    अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन्
किनभने ध्वंसकहरू बाबेलसित लड्न
    उत्तर दिशाबाट आउनेछन्।”
परमप्रभुले यो कुरा भन्नुभयो।

49 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे।
    बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे।
यसकारण बाबेलको पतन हुनै पर्छ।
50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ।
    एकदम चाँडो बाबेल छोड, नपर्ख।
तिमीहरू घेरै टाढा ठाउँमा छौ
    परमप्रभु र यरूशलेमलाई सम्झ।

51 “हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं।
    हामी अपमानित भएकाछौं
र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ,
    किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”

52 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ,
    जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु।
त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।
53     स्वर्गसम्म बाबेल बढ्न सक्छ।
उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ।
    तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।”
परमप्रभुले यो कुरा भन्नुभयो।

54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौं।
    बाबेलको देशमा मानिसहरूले नष्ट पारिरहेको आवाज हामी सुन्छौ।
55 परमप्रभुले बाबेललाई नष्ट गरिदिनु हुन्छ,
    उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ,
शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्।
    पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्।
56 सेना आउने छ अनि बाबेल नष्ट पार्नेछ।
    बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन्
तिनीहरूका धनुहरू भाँचिने छन्।
    किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले परिशोधन माँग गर्नुहुन्छ।
    उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।
57 म बाबेलका ज्ञानी मानिसहरू
    र मुख्य हाकिमहरूलाई मताईदिनेछु
म राज्यपालहरू, हाकिमहरू
    र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु।
तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन्
    तिनीहरू कहिल्यै ब्यूँझिने छैनन्।”
महाराजाले यी कुराहरू भन्नुभयो।
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
    “बाबेलको बाक्लो, बलियो पर्खाल झारिनेछ।
उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ।
    बाबेलका मानिसहरू व्यर्थमा
कठोर परिश्रम गर्दछन्।
    जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”

यर्मियाले बाबेललाई एक सन्देश पठाउँछन्

59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेलतर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो बर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य भारदार थिए। 60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।

61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु। 62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल नष्ट गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’ 63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ। 64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’”

यर्मियाका सन्देश यहाँ समाप्त हुन्छ।

यरूशलेमको पतन

52 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 बर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार बर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए। यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे। डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।

सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे। यसर्थ सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए। शहर घेराव सिदकियाहको राज्यकालको एघारौं बर्षसम्म रह्यो। चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन। शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।

तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे। बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए। 10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए। 11 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।

12 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं बर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए। 13 नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो। 14 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए। 15 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे। 16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।

17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घडेरीहरू, काँसाको ट्याँङ्का तोडे अनि काँसा बाबेलमा लगे। 18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे। 19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे। 20 ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसक्ने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।

21 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो। 22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाको दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए। 23 त्यस्का छेऊ-छाऊमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।

24 राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे। 25 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाउँथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठ्ठी जना पुरूषहरूलाई पनि लगे। 26-27 विशेष रक्षकका कप्तान नबूजरदानले तिनीहरूलाई बाबेलका राजा जो रिब्लामा थिए तिनकहाँ पुर्याए। रिब्ला हमात देशमा छन्। राजाले तिनीहरू सबैलाई मार्ने आदेश दिए। यसर्थ तिनले तिनीहरूलाई मारे।

यसरी यहूदाका मानिसहरूलाई कैदी जस्तै आफ्नो देशबाट बाहिर लगियो। 28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः

नबूकदनेस्सर राजा भएको सातौं बर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।

29 नबूकदनेस्सरको राज्यकालको अठारौं बर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।

30 नबूकदनेस्सरको राज्यकालको तेईसौं बर्षमा प्रहरीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो।

जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो।

यहोयाकीनलाई मुक्त गराए

31 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैंतीस बर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस बर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही बर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए। 32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए। 33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए। 34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।

सियोनको उजाड र दु:ख

हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो।
    तर अहिले यो शहर नितान्त शुन्य भएको छ।
यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो,
    तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएकी छे।
यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई।
    तर अहिले यो नोकर जस्तो भएकी छे।
त्यो रातभरी साह्रै दु:ख मानी रून्छे।
    उसको गालामा आँसुको धारा बगिरहन्छ।
    उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन
यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू
    यसका साथीहरू हुने गर्थे।
उसका सारा मित्रहरूले उसपट्टि पिठ्यूँ फर्काए।
    तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।
यहूदा अति नै पीडीत भयो,
    अनि यहूदालाई कैदी बनाइयो।
यहूदा अन्य जातिहरू माझमा बस्थे।
    तर उनले कतै शान्ति पाएनन्।
मानिसहरू जसले उनलाई खेदे
    अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।
सियोन जाने बाटो एकदम उदास छ।
    तिनीहरू दु:खी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन्।
सियोनका सारा प्रवेशद्वारहरू भत्काईए।
    सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन्
सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो।
    अनि यी सबै कुराहरूले सियोनप्रति आघात पार्छ।
यरूशलेमका शत्रुहरू विजय भएका छन्।
    उनीहरू सफल भएका छन्।
यरूशलेमले थुप्रै पापहरू गरेकाले
    परमप्रभुले दण्ड दिनुभएको छ।
उसका नानीहरू
    शत्रुहरूद्वारा पक्रेर टाढा लगिए।
छोरी सियोनको सुन्दरता लोप भएको छ।
    यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए।
दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।
यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको,
    अतीतमा उसित राम्रा-राम्रा चीजहरू भएको सम्झन्छे।
उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको,
    र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे।
जब उसलाई आफ्नो शत्रुहरूले देखे र तिनीहरू हाँसे।
    किनभने ऊ ध्वंश भएकी थिई।
यरूशलेमले धेरै पापहरू गरेकी थिई।
अनि त्यसैले गर्दा ऊ नष्ट भएकी छे।
    यसलाई देखेर मानिसहरूले मुन्टो फर्काउँछन्।
विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे।
तर अहिले उनीहरू उसलाई घृणा गर्छन्।
    उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन्
यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्।
    भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन।
उसको दुर्दिनलाई यसको पतन भयङ्कर भयो।
    उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्।
ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दु:खित छु।
    हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”

10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्।
    तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्।
हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी,
    तपाईंले भन्नुभएको थियो,
कि ती मानिसहरू हामीहरूसँग मिसिनु हुँदैन।
11 यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्।
    उसका सबै मानिसहरू भोजन खोज्दैछन्।
तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू,
    खाने कुराहरूसित साट्दैछन्।
तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्।
    यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्।
    म तुच्छ ठानिन्छु।
12 यताबाट भएर जाने सबै मानिसहरू,
    तिमीहरू पर्वाह गर्दैनौ।
तर म प्रति हेर्नुहोस्,
    के मेरो जस्तो पीडा कसैको छ?
    जुन मलाई आई पर्यो?
    के त्यहाँ मेरो जस्तै पीडा,
परमप्रभुले अरू कसैलाई दिनु भएको छ र?
    उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको छ।
13 परमप्रभुले माथिबाट आगो पठाउनु भयो।
    त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो।
उहाँले मेरो खुट्टातिर जाल फिँजाउनु भयो।
    उहाँले मलाई फर्काउनु भयो
र मलाई बाँझो भूमि तुल्य बनाउँनु भयो।
    म दिनभरि शिथिल भएँ।

14 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्।
    ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्।
परमप्रभुको जुवा मेरो गर्दनमाथि छ।
    परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ।
जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ
    परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।
15 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई
    परमप्रभुले रद्द गर्नु भएको थियो।
अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो।
    उहाँले ती मानिसहरू
मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो।
    कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।

16 “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु।
    मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्।
तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन।
    मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन।
मेरा नानीहरू बाँझो भूमि जस्तै छन्।
    तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”

17 सियोनले आफ्ना हातहरू फैलाई
    तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्।
परमप्रभुले याकूबका शत्रुहरूलाई
    आदेश दिनुभएको थियो।
परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो।
    यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।
18 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें।
    यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ।
यसकारण तिमीहरू सबैले सुने।
    हेर मेरा पीडाहरू।
मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।
19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ।
    तर तिनीहरूले मलाई धोका दिए।
मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे।
तिनीहरू खानाको खोजीमा थिए।
    तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थें।

20 “हे परमप्रभु मलाई हेर्नुहोस्!
म दु:खमा परेकोछु!
    मेरो प्राण अस्वस्थ छ।
मेरो हृदय अस्वस्थ छ
    किनभने म विद्रोही भएको छु।
मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए।
    घर भित्र मृत्युशोक व्याप्त छ।

21 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु।
    मलाई सान्त्वना दिने कोही पनि छैन।
सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन।
    त्यसेले तिनीहरू सुखी छन्।
किनभने तपाईंले मलाई यस्तो गर्नु भयो।
    तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि,
मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ।
    अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्।
अब त्यही गर्नुहोस्।
    मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ,
त्यही अवस्थामा होउन्।

22 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्,
    तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुन्छ,
    मैले जस्तो पाप गरेको थिएँ मसित त्यस्तो व्यवहार गर्नु भएको थियो,
तिनीहरू संग पनि त्यस्तौ गर्नु होस्।
    किनभने मेरो हृदय निर्बल छ, म व्यावस्थामा कराइरहेकीछु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International