Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 52:13-66:18

परमेश्वरको सेवक तड्पी रहेछ

13 “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। 14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। 15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”

53 हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?

ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगाडी हुर्कियो। ऊ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन। मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।

तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो। हामी सबै भेंडा़ जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौ।

उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन। मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो। ऊ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।

10 परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ। 11 मनमा ऊ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट ऊ सन्तुष्ट हुनेछ।

परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ। 12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”

परमेश्वरले आफ्ना मानिसहरूलाई घर ल्याउनु हुन्छ

54 “ए बाँझी स्त्रीहरू हो, खुशी होऊ!
तिमीहरूका नानीहरू छैनन्,
    तर तिमीहरू खुशी हुनुपर्छ।”

परमप्रभु भन्नुहुन्छ,
    “त्यो स्त्री जो एक्लै छे,
लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”

“तिमीहरूका डेरालाई ठूलो बनाऊ,
    तिमीहरूका ढोकाहरू फराकिलो पार।
    तिमीहरूको घर बढाउन नरोक।
तिम्रा डेरा ठूलो र बलियो बनाऊ।
    किनभने तिमीहरू एकदम बडी हाल्नेछौ।
तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्,
    तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।
नडराऊ!
    तिमीहरू निराश हुनेछैनौ।
मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्।
    जब तिमीहरू जवान थियौ,
तिमीहरू लज्जित थियो।
    तर तिमीहरूले अहिले त्यो लाज बिर्सियौ।
तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ।
    तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मरे।
किनभने तेरा लोग्ने तेरा सृष्टिकर्ता हुनुहुन्छ।
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो!
उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ।
उहाँ इस्राएलको एकजना परम-पवित्र हुनुहुन्छ।
    अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।

“तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो।
    तिमी एकदमै दु:खित थियौ,
    तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो।
तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई।
अनि उसको लोग्नेले परित्याग गरेको थियो।
    तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।”
परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ।
    तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।
म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके।
    तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।”
    परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।

परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई,
जलप्रलयद्वारा दण्डित गरेको थिएँ।
    तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई,
    जलप्रलय द्वारा विध्वंश गर्ने छैन।
त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि,
म तिमीहरूसँग रिसाउने छैन
    अनि नराम्रा कुराहरू गर्ने छैन।”

10 परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्,
    अनि डाँडाहरू धूलो हुनसक्छन्,
तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्।
    म तिमीहरूसँग शान्ति कायम गर्नेछु,
अनि यसको कहिल्यै अन्त हुनेछैन्।”
    परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ।
अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।

11 “तिमी गरीब शहर!
    शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे।
    अनि कसैले पनि सान्त्वना दिएनन्।
तर म फेरि तिमीलाई निर्माण गर्छु,
    ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु।
    म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु।
    मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु।
    तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जड्नेछु।
13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्,
अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ।
    तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
14 तिमी धार्मिकतामाथि निर्माण हुनेछौ।
    यसैले तिमी सुरक्षित हुनेछौ।
केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्।
    तिमी डराई रहनु पर्नेछैन्।
15 मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन।
    यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ।

16 “हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।

17 “मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफैं दोषी रहेको प्रमाणित गर्नेछन्।”

परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट क्षमा पाउँनेछन्।

परमेश्वरले तृप्त गराउने “भोजन” दिनुहुन्छ

55 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!
    तिम्रोलागी पानी यहाँछ, आएर पिऊ!
पैसा छैन भनेर सुर्ता नगर।
    आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ!
तिमीहरूलाई पैसा चाहिन्दैन,
    खान र पिऊनुको ज्याला लाग्दैन।
किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन?
    किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन?
एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ।
    तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्।
    मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्।
मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ।
यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ।
    मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ।
    अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।
    मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”

ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,
    तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ।
ती जातिहरूले तिमीहरूलाई जान्दैनन्
    तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्।
यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ।
    इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ
    एकदमै ढिलो हुनु अघि नै।
तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ
    उहाँ नजिक भएको बेला।
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ।
    तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ।
तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ।
    तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ।
ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ,
    किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।

मानिसहरूले परमेश्वरलाई बुझ्न सक्तैनन्

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्।
    तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
आकाश पृथ्वी भन्दा अल्गो छ।
    त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन्
    अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।”

10 “पानी र हिँऊ आकाशबाट बर्षिन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्।
    जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्।
तब धर्तीले बिऊमा टुसा उमार्छ।
ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन्
    अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
11 यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ,
    अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्।
मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु।
    मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।

12 “तिमी खुशी साथ बाहिर जानेछौ
    अनि शान्त रहनेछौ।
पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्।
    खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
13 जहाँ पोथ्राहरू छन् त्यहाँ विशाल सल्लाका रूखहरू उम्रनेछन्।
    वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्।
ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ।
ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ।
    यो चिन्ह कहिल्यै नाश हुने छैन्।”

सारा जातिहरूले परमप्रभुलाई पछ्याउने छन्

56 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ। त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन खुशी हुनेछ।”

केही मानिसहरू जो यहूदी होइनन् आफैं परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ, म कुनै नानी जन्माउन सक्दिनँ।”

ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुशरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँच्चो हृदयले अनुशरण गर्छन्। यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ। हो, म ती नपुसंकहरूलाई केही चीज दिनेछु जुन नानीहरू भन्दा राम्रो हुन्छ। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैँ रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।”

“कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुशरण गर्नेछन्। परमप्रभु भन्नुहुन्छ, ‘म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।’” परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो।

जसलाई आफ्नो देश छोड्न बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एकपल्ट भेला गर्नेछु।”

जङ्गलमा भएका जङ्गली जानवरहरू,
    आउँछन् र खान्छन्।
10 पहरादारहरू सबै अन्धा छन्।
    के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्।
तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्।
    तिनीहरू भूइँमा सुत्छन्।
    अहो! तिनीहरू सुत्न मन पराउँछन्।
11 तिनीहरू भोको कुकुरहरू जस्ता छन्।
    तिनीहरू कहिल्यै सन्तुष्ट हुँदैनन्।
गोठालाहरूले जान्दैनन तिनीहरू के गरिरहेछन्।
    तिनीहरूले आफ्ना भेंडाहरू मन पराउँछन्,
    जो भडकिएर टाढा गएकाछन्।
तिनीहरू लोभी छन्।
    तिनीहरू सबै जना आफूलाई सन्तुष्ट पार्न चाहन्छन्।
12 तिनीहरू भन्नेछन्,
    “आऊ म केही मद ल्याउनेछु
    अनि हामीले केही निगार पनि लिनु सक्नेछौ।
भोलि हामीले यस्तै गर्ने छौं,
    किनभने हामीसँग यस्तो प्रशस्ती छ।”

इस्राएलले परमेश्वरलाई पछ्याउँदैन

57 धर्मी मानिसहरू गइसकेकाछन्,
    तर यसमा कसैले पनि ध्यान दिएन्।
मानिसहरू बुझ्दैनन के हुँदैछ।
    धर्मी मानिसहरू भेला भईरहनेछन्।

मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्।
    तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि,
    धर्मी मानिसहरू भेला गरिएकोछ।
तर ती मानिसहरूमा शान्ति आउनेछ,
    अनि तिनीहरू आफ्नौ ओछ्‌यानमा आराम गर्नेछन्,
    किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।

“बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ।
    तिम्रो पिता व्यभिचारका दोषी छन्।
    अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।
तिमीहरू पापी र झूटो बेच्ने नानीहरू हौ।
    तिमीहरूले मसँग ठट्टा गर्यौ।
तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो।
    तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ।
तिमीहरू सबै हरियो रूख मुनि
    झूटा देवताहरू पूज्न चाहन्छौ।
तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा
    अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।
तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूज्न मन पराउँछौ।
    तिमीहरू दाखमदद्य चढाएर तिनीहरूलाई पूज्छौ।
तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ।
    तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउँनेछौ।
के तिमीहरू सोच्छौ ती कुराहरूले मलाई खुशी पार्छ? अँहँ!
    तिनीहरूले मलाई खुशी पार्दैनन्।
तिमीहरू प्रत्तेक पहा़ड,
    र अग्ला डाँडाहरूमा आफ्नो ओछ्यान लगाउँछौ।
तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ,
    र ती ठाँहरूमा बलि चढाउँछौ।
तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ,
    र ती देवताहरूलाई प्रेम गरेर मेरो विरूद्ध पाप गर्छौ।
तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौ,
    तिमीहरू तिनीहरूका नाङ्गो शरीरहरू हेरेर खुशी हुन्छौ।
तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ,
    तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ।
तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ।
    त्यसपछि तिमीहरू गयौ र ती झूटा देवताहरूसँग करार बाँध्यौ।
तिमीहरूले आफ्नो झूटा देवता मोलेक अघि सुन्दर देखिनलाई
    आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ।
तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ,
    तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।
10 तिमीहरूले ती कामहरू गर्नलाई पूरा परिश्रम गर्यौ,
    अनि कहिल्यै थाकेनौ।
तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ,
    किनभने तिमीहरू निराश र थकित भएनौ।
11 तिमीहरूले मलाई सम्झना गरेनौ।
    तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ।
यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ?
    कससँग डराएका थियौ, किन झूट बोल्यौ?
हेर, म लामो समयदेखि चुपचाप छु
    अनि तिमीहरूले मलाई सम्मान गरेनौ।
12 म तिमीहरूका असल कार्यहरू बारेमा
    अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें,
    तर ती सबै निरर्थक हुन्छन्।
13 जब तिमीहरूलाई सहायताको खाँचो पर्यो,
    तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्यौ,
    जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ।
तिमीहरूलाई त्यही मूर्तिहरूले सघाओस्।
    तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ।
बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ।
    तर त्यो मानिस जो ममाथि आश्रित छ,
त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु।
    त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।”

परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ

14 बाटो शुद्ध पार, बाटो शुद्ध पार!
    मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।

15 परमेश्वर उच्च हुनुहुन्छ र माथि उठ्नु भएको छ।
    परमेश्वर सदा सर्वदा जीवित हुनुहुने
परमेश्वरको नाउँ नै पवित्र हो।
    परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु,
साथै ती दु:खी र नम्र मानिसहरूसँग बस्दछु।
    जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु।
जो हृदयमा पश्चाताप गर्छन
    तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।
16 म सधैँ लडाईँ गर्ने छैन।
    म सधैँ नै क्रोधित भई रहने छैन।
यदि म लगातर क्रोधित भई रहें भने
    मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्।
17 ती मानिसहरूले पाप काम गरे
    अनि त्यसैले मलाई क्रोधित बनाए।
यसैले मैले इस्राएललाई दण्ड दिएँ,
    उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ।
अनि इस्राएलले मलाई त्यागेर गयो,
    उसले जता इच्छा गर्यो उतै गयो।
18 इस्राएल कहाँ गयो, मैले देखें।
    यसकारण मैले उसलाई क्षमा दिएँ।
मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने।
    त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।
19 तिनीहरूलाई मैले एक नयाँ वचन सिकाएँ “शान्ति”।
    मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु,
म ती मानिसहरूलाई क्षमा दिनेछु।”
    परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्।
    तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्।
तिनीहरू क्रोधित छन् छाल उठेका समुद्र जस्ता
    त्यसले हिलो माटोहरू उछिटाउँछ।
21 मेरा परमेश्वर भन्नुहुन्छ,
    “दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”

मानिसहरूलाई परमेश्वरलाई पछ्याऊ भन्नु पर्छ

58 तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकन चिच्याऊ।
    तुरही बजे जस्तै चिच्याऊ।
मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ।
    याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।
तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफैं प्रत्येक दिन मलाई पूज्न आउँछन्।
    अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्।
तिनीहरू धार्मिक-विधानमा बाँचेको
    अनि परमेश्वरका असल आज्ञा अनुशरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्।
तिनीहरू मसित सही न्याय माँग्छन्।
    तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।

अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?”

तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ। तिमीहरू भोको छौ, तर भोजनको लागि होइन। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छौ। जब तिमीहरूले भोजन खान छोडयौ त्यो मेरो लागि होइन। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउनँ प्रयोग गरेनौ। के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थें र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्तो चाहनु भएको हो?

“म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ। म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिँड्नेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ। त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।”

तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ। 10 तिमीहरूले भोको मानिसहरूसँग दु: ख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दु: ख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

11 परमप्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुख्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछौ।

12 तिमीहरूका शहरहरू धेरै बर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेंछन्।”

13 त्यस्ता कुराहरू हुनेछन् जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ। 14 त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए। परमप्रभु आफैंले ती कुराहरू भन्नुभयो।

दुष्ट मानिसहरूले आफ्ना जीवाईहरू परिवर्तन गर्नु पर्छ

59 हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ। तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फर्काउनु हुन्छ। तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्। कसैले पनि अरूहरूको बारेमा साँच्चो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झूटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन् अनि पापलाई जन्म दिन्छन्। तिनीहरूले अनिष्ट कर्म जन्माउँछन् जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खायौ भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु सर्प बाहिर निस्कनेछ।

झूटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ। माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन्। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाक्न सक्दैनौ।

कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन् र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्। तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दगुर्न चलाउँछन्। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव र चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

पापले इस्राएलमा सङ्कट ल्याउँदछ

सबै न्याय र धार्मिकता हराएर गयो।
यहाँ हाम्रा सामु अन्धकार मात्र छ।
    यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ।
हामी चहकिलो प्रकाशको आशा गर्दछौं
    तर हामी सबैमा अन्धकार मात्र छ।
10 हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं
    हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँड्छौ।
हामी ठोकिन्दै लड्छौं मानौ यो रात हो,
    हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ
    मध्यदिनमा हामी मृत मानिस जस्तै लड्छौं।
11 हामी सबै अत्यन्त उदास छौं,
    ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकाल्छौ।
मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं।
    तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन।
हामी सुरक्षित हुन पर्खिरहेका छौं
    तर मुक्ति भने अझै टाढा छ।
12 किनभने हामीले धेरै पल्ट,
    गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ।
हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ।
    हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।
13 हामीले पाप गर्यौ
    र परमप्रभुको विरोधमा कर्म गर्यौ।
हामीले उहाँबाट मुख फर्कायौं
    र उहाँलाई त्याग्यौं।
हामीले परमेश्वरको विरूद्ध
    पापपूर्ण कुराहरू गर्यौं।
हामीले त्यस्ता कुभलो हुने कुराहरू
    मनमनै सोच्यौं त्यस्तो योजना बनायौं।
14 न्याय हामीबाट फर्केर टाढा गयो।
    सत्य टाढा नै उभिन्छ।
सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे।
    धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।
15 सत्य हराएर गयो।
    अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए।

परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्।
    परमप्रभुले ती सबै मन पराउनु भएन।
16 परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले
    उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ।
यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो
    र साथै आफ्नै धार्मिकता चलाउनु भयो,
    अनि मानिसहरूलाई उद्धार गर्नु भयो।
17 परमप्रभुले युद्ध तयार गर्नुभयो।
    परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो।
मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक
    र प्रबल प्रेमको लुगा लगाउनु भयो।
18 परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ।
    यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ,
    जसको हकदार तिनीहरू छन्।
परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ।
    यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।
19 तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन्
    अनि उहाँलाई सम्मान गर्छन्।
पूर्वका मानिसहरू डराउनेछन्,
    अनि उहाँको महिमाको आदर गर्नेछन्।
तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं,
    परमप्रभु झट्टै आउनु हुनेछ।
20 तब सियोनमा मुक्तिदाता आउनेछ।
    उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ,
    जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।

21 परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।

परमेश्वर आउनु हुँदैछ

60 “मेरो प्रकाश, यरूशलेम उठ!
    तेरो प्रकाश आइरहेछ!
    परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
अब अन्धकारले पृथ्वी ढाक्छ,
    अनि मानिसहरू अन्धकारमा पर्नेछन्।
तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ
    अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।
तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ,
    राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।
आफ्नो वरिपरि हेर!
    देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ।
ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्।
    अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।

“यो भविष्यमा पूरा हुनेछ।
    अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ।
अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्।
    पहिला तिमीहरू डराउनेछौ तर पछि तिमीहरू खुशीले उत्तेजित हुनेछौ।
समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन्,
    जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
मिद्यान र एपाबाट आएका ऊँटहरूले
    तिमीहरूका धर्ती पार गर्ने छन्।
शेबाबाट आएका ऊँटहरूका लस्करले सुन
    र सुगन्धित वस्तु लिएर आउनेछन्।
    मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
केदारबाट आएका सारा भेंडा, मानिसहरूले जम्मा गर्नेछन,
    अनि तिमीहरूकहाँ ल्याइदिनेछन्,
नबायोतका भेंडा़हरूले तिम्रो सेवा गर्नेछन्।
    तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ।
अनि म ती सबै ग्रहण गर्नेछु।
    म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
मानिसहरूलाई हेर!
    बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन्
    मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।
टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ।
    समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्।
ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्।
    तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परम-पवित्र हुनुहुन्छ,
श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्।
    परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्।
    तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्।

“जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु।
    तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु
    यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।
11 तिमीहरूका प्रवेशद्वारहरू सधैँ खोलिनेछन्।
    ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन
    जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।
12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन्
    तर तिनीहरू नाश हुनेछन्।
13 लबानोनका सबै महत्वपूर्ण कुराहरू
    तिमीहरूलाई दिइनेछ।
मानिसहरूले देवदारू, धूपी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्।
    ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ,
यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ।
    अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।
14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए,
    ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्।
विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे
    ती मानिसहरू तिम्रा खुट्टामा निहुरिनेछन्।
ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’
    ‘इस्राएलको परम-पवित्र “सियोन” भन्ने छन्।’

15 “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ।
    तिमीहरू फेरि हेला हुनेछैनौ।
    तिमीहरू फेरि रित्तो हुनेछैनौ।
म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु।
    तिमी सदा-सर्वदा खुशी हुनेछौ।
16 जाति-जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्।
    यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ।
तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ।
    तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ।
    तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।

17 “तिमीमा अहिले काँसा छ,
    म सुन ल्याई दिनेछु।
तिमीसँग अहिले फलाम छ,
    म तिमीलाई चाँदी ल्याई दिनेछु।
म तिम्रो काठलाई काँसा बनाई दिनेछु।
    म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु।
जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ
    तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।
18 त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्।
    मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्।
तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ।
    तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।

19 “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्।
    चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्।
किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ।
    तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
20 तिम्रो सूर्य कहिल्यै अस्ताउने छैन,
    फेरि तिम्रो चन्द्रमा कहिल्यै अन्ध्यारो हुनेछैन
किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ।
    अनि तिम्रो शोकका दिन अन्त हुनेछ।

21 “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्।
    ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्।
मैले ती मानिसहरू सृजना गरें।
    तिनीहरू अद्भूत बिरूवा हुन्,
    त्यो मैले आफ्नै हातले बनाएको हुँ।
22 स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्।
    स-साना परिवार एक दरिलो जाति हुनेछ।
जब समय अनुकूल हुन्छ,
    म परमप्रभु चाँडै आउनेछु।
    म ती कुराहरू घटित गर्नेछु।”

परमप्रभुको मुक्तिको समाचार

61 परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो। परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।

त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै बर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।

तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेंडा़को हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ। तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर गर्वित हुनेछौ।

बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढ्ता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले आनन्द मनाउनेछौ जुन अनन्तसम्म रहनेछ। यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउँछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु। सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।

परमेश्वरको सेवकले मुक्ति ल्याउँछ

10 परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो।
    म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु।
परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो।
    ती पोषाकहरू अत्यन्तै सुन्दर छन्,
    जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्।
परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो
    त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
11 पृथ्वीले नै बिरूवा उर्माछ।
    मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्,
    अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ।
त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ।
    परमप्रभुले प्रत्येक जातिबाट महिमा लिनुहुन्छ।

धार्मिकताले भरिएको शहर नयाँ यरूशलेम

62 म सियोनलाई प्रेम गर्छु,
    यसैले म उसँग लगातार कुरा गर्ने गर्छु।
म यरूशलेमलाई प्रेम गर्छु।
    यसैले म कुरा गर्नु रोकिने छैन।
जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु।
    जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।
तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्।
    सबै राजाहरूले तेरो गौरव देख्नेछन्।
त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ।
    परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।
परमप्रभुले तिमीलाई देखेर अत्यन्त गर्वित हुनु हुनेछ।
    तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।
तिमीलाई ‘परमेश्वरले त्यागेका मानिसहरू’ फेरि कहिल्यै भनिने छैन।
    तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन,
    ‘परमेश्वरले नाश गर्नु भएको देश।’
तिमीहरू ‘परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू’ भनी डाकिनेछौ।
    तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला’[a] भनिने छ।
किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ
    अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।
जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ,
उसले त्यही स्त्रीलाई विवाह गर्छ।
    यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै,
    तिमीहरूका स्वामी पनि हुनु हुनेछ।
एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ।
    यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।

यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु।
    ती रक्षकहरू चुप लागेर बस्ने छैनन्।
    तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्।

रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ।
    तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ।
    कहिल्यै प्रार्थना गर्न नचुक।
जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न
    तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

परमप्रभुले शपथ ग्रहण गर्नुभयो। उहाँले प्रमाण स्वरूप आफ्नै शक्ति चलाउनु भयो
    अनि परमप्रभुले त्यो आफ्नो शक्ति त्यही वचनहरू कायम राख्न चलाउनु हुनेछ।
परमप्रभुले भन्नुभयो, “प्रतिज्ञा गर्छु कि,
अब कहिल्यै तिमीहरूका खाद्यान्न तिमीहरूका शत्रुहरूलाई दिइने छैन।
    म वचन दिँन्छु कि तिमीहरूले बनाएका दाखरस,
    तिम्रा शत्रुहरूले लैजाने छैनन्।
जुन मानिसले अन्नहरू थुपारेकाछन् त्यसैले खानेछ,
अनि त्यस मानिसले परमप्रभुको प्रशंसा गर्नेछ।
    जुन मानिसले दाखहरू थुपार्दछ, ती दाखहरूबाट उसले दाखरस पिउनेछ,
    अनि ती कुराहरू मेरो पवित्र देशमा हुनेछ।”

10 मूल ढोकाहरूबाट आऊ!
    मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ।
बाटो तयार पार।
    बाटोको सारा ढुङ्गाहरू हटाई देऊ।
मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।

11 सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग
    बोली रहनु भएकोछ।
“सियोनका मानिसहरूलाई बताऊ
    ‘हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनुहुन्छ।
उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ
    उहाँले त्यो इनाम आफैसँग लिएर आउनु हुँदैछ।’”
12 उहाँका मानिसहरूलाई “पवित्र मानिसहरू,”
    या “परमप्रभुका सुरक्षित मानिसहरू” भनेर बोलाईने छ।
अनि यरूशलेमलाई “परमेश्वरले चाहनु भएको शहर,”
    या “परमेश्वरसँगै भएको शहर” भनिने छ।

परमप्रभुले आफ्नो मानिसको न्याय गर्नुहुन्छ

63 एदोमबाट को आइरहेछ?
    ऊ बोज्राबाट आउँदछ।
अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्।
    उसको तेजस्वी उसकै पोशाकहरूमा छ।
ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ।
    उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ।
    अनि म सत्य बोल्छु।”

“किन तिम्रो पोशाकहरू चहकिलो रातो छ?
    तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन्,
    जो दाखहरूमाथि हिंड्छन् र त्यसको दाखरस बनाउँदछन्।”

उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिएर हिँड्दै पिस्दैछु।
    मलाई कसैले पनि सहायता गरेनन्।
म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिँडे।
    मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिएर पर्यो।
    यसैले मेरा लुगाहरू मैला भयो।
मैले मानिसहरूलाई दण्ड दिने समय रोजें।
    मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सहाअता गर्ने देखिएनन्।
    मलाई कसैले सहाअता नगरेको देखेर छक्क परें।
यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें।
    मेरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।
म रिसाएको बेला, मानिसहरूमाथि हिँडें।
    म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ।
    मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”

परमप्रभु आफ्ना मानिसहरू प्रति कृपालु हुनुहुन्छ

मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु।
    म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु।
परमप्रभुले इस्राएलका मानिसहरूलाई
    धेरै राम्रो चीजहरू दिनु भयो।
परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ।
    परमप्रभुले हामीलाई दया देखाउनु भयो।
परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्।
    तिनीहरू मेरा खास मानिसहरू हुन्।”
    यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।
मानिसहरूसँग धेरै कष्टहरू थिए,
    तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्।
परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो।
अनि उनीहरू प्रति दु:खी हुनुभयो।
    यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो,
उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो।
    उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो,
    अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
10 तर मानिसहरू परमप्रभुको विरूद्ध उठे।
    तिनीहरूले पवित्र आत्मालाई दु:खित बनाए।
यसकारण उनीहरू परमप्रभुको शत्रु भए
    परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।

11 तर धेरै बर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ।
    उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ।
परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो।
    परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो।
तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो,
    अहिले कहाँ हुनुहुन्छ?
12 परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो।
मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो।
    परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो
ताकि मानिसहरू समुद्रबाट हिँड्न सकुन्।
    त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।
13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो।
    मानिसहरू नडुबीकन पानीमाथि हिंडे
    जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
14 एउटा गाई खेतमा हिँड्दा सजिलै लड्दैन।
यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्।
    परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो।
    सब समय मानिसहरू सुरक्षित थिए।
परमप्रभु त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो
    अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।

आफ्ना मानिसहरूलाई साथ दिनलाई परमेश्वरप्रति प्रार्थना

15 परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्।
    ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ।
तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस।
    तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहाँछ?
तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ?
तपाईंको दया म प्रति छ?
    किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?
16 हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ!
    अब्राहामले हामीलाई जान्दैनन्।
    याकूबले हामीलाई चिन्दैन।
हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ।
    तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैँ बचाउनु हुन्छ।
17 हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ?
    तपाईंको अनुशरण गर्न हामीलाई किन वन्चित गराउनु भयो?
हामीकहाँ फर्केर आउनु होस् परमप्रभु।
    हामी तपाईंका दासहरू हौं।
हामीकहाँ आएर हामीलाई साथ दिनुहोस्,
    हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।
18 तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे।
    त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।
19 केही मानिसहरू तपाईंद्वारा शासित भएनन्।
    ती मानिसहरू तपाईंको नाउँ लिँदैनन्।
अनि धेरै समय पहिला,
    हामी त्यस्ता खालका मानिसहरू थियौं।

64 यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने
    प्रत्येक कुराहरू परिवर्तित हुने थियो।
    पर्वतहरू तपाईं समक्ष पग्लने थिए।
पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए।
    पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए।
तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए।
    तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।
जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ,
    पर्वतहरू तपाईं अघि पग्लन्छन्।
तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्।
    तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्।
कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्।
    तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्।
यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए,
    तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।

तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे।
    ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्।
तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ।
यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो।
    अब हामीहरू कसरी बचाइन सक्नेछौं?
हामी सबै पापले अशुद्ध भएका छौं।
    हाम्रा असल कामहरू पनि शुद्ध छैनन्।
    तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्।
हामी ओइलएर झरेका पातहरू झैं छौं।
    हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ।
हामी तपाईंलाई पूज्दैनौं।
हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं।
    हामी तपाईंलाई अनुशरण गर्न उत्साहित हुँदैनौं।
यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ।
    हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।
तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ।
    हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ।
    तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।
परमप्रभु, हामीसित अब यसरी क्रोधित भइ नरहनु होस्।
    हाम्रा पापहरूलाई सधैँ ध्यानमा नराखी भुलि दिनु होस्।
दया गरेर हामीमाथि हेर्नुहोस्
    हामी तपाईंका मानिसहरू हौं।
10 तपाईंका पवित्र शहरहरू रित्तो छन्।
    ती शहरहरू उजाड र निर्जन छन्।
    सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
11 हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई हाम्रा पवित्र मन्दिरमा पूज्थे।
    हाम्रा मन्दिरहरू एकदम अचम्मका थिए, तर अहिले यो आगोमा जलेर गयो।
    हाम्रा सारा बहुमूल्य सम्पत्तिहरू विनाश भए।
12 के यी सबै कुराहरूले हामीलाई तपाईंको प्रेमदेखि टाढा लानेछ?
    के तपाईं सधैँ चूपचाप बस्नु हुन्छ?
    के तपाईं हामीलाई सधैँ दण्ड दिनुहुन्छ?

सम्पूर्ण मानिसहरूले परमेश्वरको बारेमा जान्नेछन्

65 परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरें जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’

“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे। ती मानिसहरू मसित छन अनि मलाई सधैँ रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्। ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुँगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्। तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारून्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”

इस्राएल दण्डित हुनै पर्छ

“हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउँछ। यो हिसाब नतिरून्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु। तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”

परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन। म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ। 10 तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।

11 “तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ। 12 तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”

13 यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:
“मेरा दासहरूले खानेछन्।
    तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ।
मेरा दासहरूले पिउनेछन्
    तर दुष्ट मानिसहरू तिर्खाउनेछन्।
मेरा दासहरू खुशी हुनेछन्,
    तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।
14 मेरा दासहरू आनन्दले खुशी हुनेछन्,
    तर दुष्ट मानिसहरू दु:खले रूनेछन्।
तिमीहरूका आत्माहरू टुटेका छन्
    अनि तिमीहरू दु:खी छौ।
15 तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।
परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ,
    अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले बोलाउनु हुन्छ।
16 अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशीर्वाद दिइरहेका छन्।
    तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ,
    उहाँको नाउँमा आशीर्वाद दिनेछन्।
मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्,
    तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्।
किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ।
    मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।”

नयाँ समय आइरहेछ

17 “म नयाँ आकाश र पृथ्वी बनाउनेछु।
मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्।
    तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।
18 मेरा मानिसहरू खुशी हुनेछन्।
    तिनीहरू सदा-सर्वदा आनन्दित हुनेछन्।
किनभने म नै बनाउनेछु,
म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु,
    अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।

19 “तब म यरूशलेमसँग आनन्दित हुनेछु।
    म मेरा मानिसहरूसँग खुशी हुनेछु।
त्यहाँ फेरि कहिल्यै पनि कोलाहल,
    र कष्ट हुनेछैन्।
20 त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन,
जुन जन्मेर केही दिन मात्र बाँच्दछ।
    त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन।
प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ,
    अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ।
सय बर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ।
    अनि जुन मानिस सय बर्ष सम्म पनि बाँच्दैन,
    उसलाई श्रापित भएको ठानिन्छ।

21 “त्यस शहरमा यदि कसैले घर बनाउँछ भने,
त्यो मानिस त्यहीं बस्नेछ।
    यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने,
    त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ।
22 कहिल्यै पनि एकजनाले घर बनाउने छैन,
    अनि अर्को मानिस त्यसमा बस्ने छैन्।
कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन
    अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्।
मेरा मानिसहरू रूखहरू बाँचुन्जेल सम्म बाँच्नेछन्।
    मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्।
23 स्त्रीहरू मरेका नानी जन्माउँनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्।
    स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्।
मेरा सारा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।
24 तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु।
    अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।
25 ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्।
    सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्।
    मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने
अनि चोट पुर्याउनेछैन्।”
परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

परमेश्वरले सारा जातिहरूका न्याय गर्नु हुनेछ

66 परमप्रभु भन्नुहुन्छ,
“स्वर्ग मेरो सिंहासन हो,
    र पृथ्वी मेरो पाउदान हो।
यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अँहँ!
तिमीहरूले मेरा निम्ति घर बनाउन सक्तैनौं।
    के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अँहँ!
म आफैंले सम्पूर्ण चीजहरू बनाएँ।
    सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो।
मैले गरीब, दु:खी मानिसहरूलाई हेरचाह गरें,
    मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।
कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्।
    तर तिनीहरूले मानिसहरूलाई पनि कुट्छन्।
ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन्
    तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्।
    ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्।
तर तिनीहरूले साथ-साथै सुँगुरको रगतहरू चडाउँछन्।
ती मानिसहरू धूपहरू जलाउँदछन्
    तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्।
ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन्
    साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें।
    मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ,
तिमीहरूले असाध्य डराउने चीजहरू चलाएँ।
    मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्।
म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले।
    यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु।
तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें।
    तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”

तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने,
    परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ।
“तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे,
    तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ।
तिमीहरूका दाज्यू-भाइहरूले भने,
    ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौं जब परमप्रभु सम्मानित हुनुहुन्छ।’
    ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।”

दण्ड र नयाँ राष्ट्र

सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनुपर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।

7-8 “एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्। कुनै मानिसले पनि एकै दिनमा नयाँ राष्ट्र प्रारम्भ भएको सुनेनन्। त्यो देशले नयाँ शिशु जन्माउँदा जस्तै प्रथम पीडा पाउनै पर्छ। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ राष्ट्र। त्यसरी नै, म कसैलाई प्रसव वेदनाको अनुभव नगरी नानी जन्माउने अनुमति दिँदिनँ।”

परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो:

10 हे यरूशलेम खुशी हौ! सारा मानिसहरू,
जसले यरूशलेमलाई प्रेम गर्छ, तिमीहरू पनि खुशी हौ!
    दु:खका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दु:खी छौ।
11 तिमीहरू खुसी हौ किनकी तिमीहरूले दया प्राप्त गर्नेछौ,
    जसरी स्तनबाट “दूध” आउँदछ।
त्यसरिनै यरूशलेमको “दूधले” तिमीहरूलाई सन्तुष्ट पार्नेछ।
    तिमीहरूले दूध पिउँनेछौ अनि यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।

12 परमप्रभुले भन्नुहुन्छ:
“हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु त्यो शान्ति ठूलो नदी सरह बग्नेछ।
    पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बाढी जस्तो बग्दै तिमीहरूकहाँ आउनेछ।
अनि स-सना शिशुहरू जस्तै तिमीहरूले त्यो ‘दूध’ पिउनेछौ,
    म तिमीहरूलाई मेरो आफ्नै पाखुराहरूमा उठाउनेछु,
    अनि मेरो गोडाहरूमा उफार्नेछ।
13 म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु।
    अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”

14 तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँच्चै आनन्दित तुल्याउनेछ।
    तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ।
परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्,
    तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।
15 हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ।
    परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्।
परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
    परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ।
16 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ।
    तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ।
    परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।

17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफैं धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुशरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ। ती मानिसहरूले सुँगुरहरू, मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

18 “म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International