Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
हितोपदेश 20:22 - उपदेशक 2:26

22 यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

23 परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

24 मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25 परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, ताकि पछि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ” भनेर पछुताउनु नपरोस्।

26 एकजना ज्ञानी राजाले दुष्टहरूलाई भूस निफने झैं गरी छुट्याउँनेछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ।

28 यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29 एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30 कुटाइले चोट पुर्याउँछ र खराबी हटाउँछ अनि मुक्काहरूले भित्रि जीवलाई सफा गर्छ।

21 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।

मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।

बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।

घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्।

लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

10 दुष्ट मानिसहरू सधैँ खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।

11 दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझै ज्ञानी हुन्छन्।

12 परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।

13 यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

14 गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।

15 न्यायले ईमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।

16 जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरूसँग समाप्त हुन्छ।

17 जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

18 एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ।

19 छिटो रिसाउने र झगडा़लु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरुभूमिमा रहनु असल हुन्छ।

20 बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

21 जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

22 एकजना ज्ञानी मानिसहरूले स-शस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।

23 जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

24 जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।

25 एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।

26 लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।

27 दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दुष्ट अभिप्रायले चढाएको त झन् घृणित हुन जान्छ।

28 झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैँको निम्ति बोल्छ।

29 एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा ईमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।

30 कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।

31 मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।

22 धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।

सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।

नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।

दुष्ट मानिस नाना थरीका फन्दामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।

नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।

धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।

अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

एकजना उद्धार योग्य मानिसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।

10 यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडा़हरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।

11 एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।

12 परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।

13 अल्छे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”

14 व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।

15 नानीहरूको मनमा मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई उबाट भगाइन्छ।

16 आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।

तीस ज्ञानपूर्ण भनाईहरू

17 राम्रोसँग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें। 18 यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ। 19 अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर। 20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्। 21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।

—1—

22 गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट वन्चित नगर 23 परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।

—2—

24 झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर। 25 नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ।

—3—

26 कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्। 27 तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढ्ने ओछ्याउने सम्म गुमाउनु पर्नेछ।

—4—

28 तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ।

—5—

29 यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।

—6—

23 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ। तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोऊ किनभने उसको भोजन छलपूर्ण हुन्छ।[a]

—7—

धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।

—8—

एउटा कन्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।

—9—

मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर।

—10—

10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। 11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लड्नु हुन्छ।

—11—

12 तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ।

—12—

13 आवश्यकता अनुसार नानीलाई सधैँ सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन। 14 यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ।

—13—

15 हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु। 16 यदि तिमीले सही कुराहरू गरेको सुन्न पाए म हृदयबाट नै खुशी हुने थिँए।

—14—

17 पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर। 18 तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन।

—15—

19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैँ सही बाटोमा हिँड्ने कुरा ख्याल गर। 20 धेरै भोजन गर्ने तथा दाखरस पिउँने मानिस सित मित्रता नराख। 21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।

—16—

22 तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर। 23 सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन। 24 ईमान्दार मानिसका बाबु अति सुखी मानिस हुन्। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ। 25 यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।

—17—

26 हे मेरो छोरो! म जे भन्दैछु ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर। 27 एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो। 28 एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।

—18—

29-30 कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा़ टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्? तिनीहरू ती हुन् जो रात दिन दाखमद्यको सेवनमा बिताउँछन् अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्।

31 दाखद्यद्वारा दाखको रातो रंगद्वारा यसको प्याला भित्रको चमकद्वारा मोहित नहोऊ। यो बिना अवरोध घाँटीबाट तल स्वाट्टै जान्छ। 32 तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।

33 तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कुद्ने छन्। 34 तिमीलाई यस्तो लाग्नेछ महासमुद्रको माथिल्लो सतहमा सुतिरहेछौ, तिमी जहाज माथि सुतिरहेछौ। 35 तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु।

—19—

24 दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर। तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्।

—20—

एउटा घर ज्ञानद्वारा निर्माण गरिन्छ र समझशक्तिद्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ। अनि ज्ञानद्वारा यसको भण्डार कोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्।

—21—

एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मानिस भन्दा असल हो। यसकारण तिमीले लडाईँ लड्न। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चाहन्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।

—22—

मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन।

—23—

दुष्ट षड्यन्त्र सधैँ गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्। मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।

—24—

10 यदि तिमीले आफैंलाई संकटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।

—25—

11 यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ। 12 यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ।

—26—

13 हे मेरो छोरा, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ। 14 यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन।

—27—

15 एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ। 16 धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ।

—28—

17 शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन। 18 यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला।

—29—

19 दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर, 20 किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।

—30—

21 हे मेरो छोरा! परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ। 22 किनभने त्यस्ता मानिसहरू एक्सी नासहुनेछन्। अनि तिमीलाई थाहा हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।

23 यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। 24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। 25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।

26 निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओंठमा लिएको चुम्बन झैं हो।

27 पहिले बाहिरी काम गर, खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।

28 तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ, झूटो नबोल।

29 यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”

30 म एकजना अल्छे मानिसको भूमि भएर हिँड्दै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे। 31 त्यो भूमि काँडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ। 32 मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें। 33 एक छिनको सुताईले अनि एक छिनको आरामले गराई। 34 दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउँनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।

सुलोमानका केही अरू हितोपदेशहरू

25 सुलेमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्।

परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।

जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं।

यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्। यस्तै प्रकारले, यदि दुष्ट अनि बेईमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ।

राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट। एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो।

न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।

तिम्रो कसै सित दुइ मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन। 10 यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।

11 सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो। 12 एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।

13 एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।

14 कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो।

15 धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।

16 मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ। 17 त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ।

18 जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काँडा झैं खतरा हुन्छ। 19 झूटो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लङ्गडे खुट्टा जस्तै हो र आवश्यक्ताको समयमा धोका दिन सक्छ।

20 शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।

21 तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। 22 यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ। यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ।

23 उत्तरबाट वहने हावाले पानी बर्षाउँछ अनि त्यसरी नै निन्दाले क्रोध जगाउँछ।

24 झगडा़लु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।

25 टाढा ठाउँ बाट आएको शुभसमाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ।

26 यदि असल मानिस दुर्बल हुन्छ र दुष्ट मानिसलाई पछ्याउँछ भने यो शुद्ध पानीमा फोहर मिसिनु जस्तै हो।

27 मह पनि धेरै खाए तितो हुन्छ, त्यसरी नै धेरै मान नखोज।

28 आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो।

ज्ञानले मुर्खहरूको विषयमा भन्छ

26 ग्रीष्म ऋतुमा हिउँ बर्षनु राम्रो होइन, बाली काट्ने समयमा पानी बर्षनु ठीक होइन अनि त्यसरी नै मूर्खलाई सम्मान गर्नु अनुचित हो।

तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चञ्चल चरा उडेर गए जस्तै हो।

जसरी घोडा चाबुकले काबुमा आउँछ, खच्चर लगामले आउँछ, त्यसरीनै एकजना मूर्ख डण्डाले काबुमा आउँछ।

4-5 मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ।

मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुँयेत्रोमा ढुङ्गा बाँध्नु हो।

मूर्खले केही उपदेशका कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

10 कुनै मूर्खलाई अथवा नचिनेको मानिसलाई काम अह्राउनु विपद मोल्नु हो। तिमीलाई थाहा हुँदैन कता नोक्सान हुन्छ।

11 कुकुरले केही खाएर बिमार भयो भने त्यसले उल्टी गर्छ औ केही समय पछि त्यही उल्टी खान्छ। मूर्ख मानिस पनि त्यस्तै हो औ त्यसले पनि एउटै काम घरी-घरी गरिरहन्छ।

12 यदि कोही मानिस ज्ञानी होइन तर आफैंलाई ज्ञानी मान्छ भने त्यो जत्तिको मूर्ख अर्को हुँदैन।

13 अल्छेले भन्छ, “सडकमा सिंह बसेकोछ, यसकारण म घरबाट निस्कन सक्तिनँ।”

14 अल्छे मानिस कही जाँदैन, ढोका आफ्नो कब्जामा अल्झेर यता उति भइरहेको झैं, अल्छे आफ्नो ओछ्यानमा यता उति पल्टि रहन्छ।

15 अल्छे मानिसलाई यति अल्छी लाग्छ कि उसलाई आफ्नो थालबाट गाँस उठाउनु पनि गाह्रो पर्छ।

16 एउटा अल्छेले आफैंलाई बुद्धिमान सम्झन्छ। उसले आफैंलाई विवेकपूर्ण जवाफ दिने ती सात जाना बुद्धिमान मानिसहरू भन्दा पनि ज्ञानी सम्झन्छ।

17 दुइजना मानिसहरूको विवादमा पक्ष लिनु त्यति नै विपद जनक हो जति गल्लीमा कुकुरको कान तानेर हिँड्नु।

18-19 छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जस्तै हो, जसले प्राणनाशक काँडहरू हान्छ।

20 जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा़ आफैं अन्त हुनेछ।

21 जस्तो कोइलाले अँगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडा़लु मानिसले झगडा़ चम्काउँछ।

22 बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।

23 माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ। 24 द्वेषपूर्ण मानिसले उसका मिठा कुराहरूले आफ्नो दोषलाई ढाक्छ तर उसले दोषलाई आफ्नो हृदयमा पालेको हुन्छ। 25 उसको मिठो कुरामा विश्वास नगर, किनभने उस भित्र सातओटा घिनलाग्दो विचारहरू जागिरहेको हुन्छन्। 26 उसले उसको द्वेष छलहरूद्वारा लुकाउन सकेतापनी उसको दुष्टता सबैको सामुन्ने प्रकट हुन्छ।

27 अर्कालाई जाक्नु खाडल खन्ने मानिस आफैं त्यही खाडलमा पर्छ। अरूलाई ढुङ्ग पल्टाउने मानिस आफैं ढुङ्गले चेपिएर मर्छ।

28 जुन मानिसले झूटो बोल्छ, त्यसले आफूले हानि पुर्याएको मनिसहरूलाई नै घिनाउँछ, अनि एउटा मानिस जसले चाप्लुसी गर्छ उसले आफैंलाई हानी गर्छ।

27 तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।

आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन।

ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ।

रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?

लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।

साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।

अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।

आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।

अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददगयता हृदय देखि दिएको सल्लाहबाट आउँछ।

10 आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।

11 हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।

12 बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए र सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।

13 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

14 प्रभात स्वागतको लागि जसले छिमेकीको निन्द्रा बिच्क्याउँन जान्छ उसले श्राप पाउँछ।

15 एउटा कचकचे, झगडा़लु, पत्नी बर्षाको दिनमा पानी चुहुने छाना जस्तै हो। 16 उसलाई रोक्न कोशीष गर्नु हावालाई चल्नुबाट रोक्न कोसिस गर्नु जस्तै अथवा हातहरूले तेल व्यर्थै समात्न प्रयास गर्नु जस्तै हो।

17 जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।

18 जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।

19 जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।

20 जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।

21 सुन र चाँदी आगोद्वारा जाँचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।

22 मूर्खलाई जाँतोमा पिँधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोड्दैन।

23 तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। 24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। 25 जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ। 26 तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेंडाहरूबाट खेत किन्न सक्ने छौ। 27 बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।

28 दुष्टको मनमा सधैँ डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागि हिँड्छ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।

जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ।

एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे बर्षा जस्तै हो, जसले अन्न बालि को विनाश गर्छ।

जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। त्यसले तिनीहरूको विरोध गर्छ।

दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।

ईमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।

जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।

जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।

यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ, परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।

10 धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्।

11 धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ।

12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।

13 जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।

14 त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ।

15 एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गर्जने सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो।

16 जब एउटा शासकको विवेक हुदैन त्यहाँ धेरै अत्याचार हुन्छ, तर जसले भ्रष्टचारको उपायबाट कमाएको धनलाई घृणा गर्छ उसले लामो शासन गर्नेछ।

17 मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।

18 यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ।

19 एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ।

20 एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।

21 न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्।

22 एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ।

23 चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ।

24 एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो।

25 एकजना लोभि मानिसले झगडा़ उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले उन्नति गर्छ।

26 जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ।

27 जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ।

28 जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सत्तामा आउने छन्।

29 यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन।

जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।

यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।

एकजना राजाले आफ्नो राज्यलाई न्यायद्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।

जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिँजाउँछ।

पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।

धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।

बुद्धिमान मानिस जब मूर्खसित झगडा़ गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।

10 हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ र उसलाई मार्न चाहान्छ।

11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।

12 यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।

13 गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन् कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो।

14 यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।

15 दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।

16 खराब मानिसले राष्ट्रलाई शासन गर्छ भने पाप र अपराध बढ्दो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्।

17 तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।

18 जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।

19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।

20 नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।

21 यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैँ दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन।

22 क्रोधी मानिसले धेरै विवाद उठाउँछ अनि क्रोधित मानिस धेरै पापहरूको अपराधी हुन्छ।

23 मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।

24 चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।

25 अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

26 धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।

27 धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमान्दार मानिसलाई घृणा गर्छन्।

याकेको छोरा आगूरका हितोपदेशहरू

30 यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्:

अरू कुनै मानिस भन्दा म धैरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु। मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ। स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ। यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूटा प्रमाणित हुनेछौ।

हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुइओटा चीज माग्नेछु औ ती हुन्, मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ। यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसँगको सम्बध छोड्ने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

10 मालिकको अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।

11 कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।

12 केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन् तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।

13 केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

14 मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

15 जूकाका दुइ जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन्। चौथोले कदापि प्रयाप्त भयो भन्दैन। 16 चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”

17 जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।

18 तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ। 19 आकाशमा उड्ने गरूड़को चाल, चट्टानमा घस्रने सर्पको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल।

20 यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”

21 यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन। 22 एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ। 23 माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।

24 पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्।

25 कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।

26 पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

27 सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

28 अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।

29 तीनओटा प्राणीहरू आकर्षक ढङ्गले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्।

30 सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।

31 लचकमा हिँड्ने कुखुराको भाले,

र बोका,

अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।

32 यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयौ भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ भने, तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।

33 जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउँदा झगडा़ मच्चिन्छ।

राजा लमूएलका हितोउपदेशहरू

31 यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;

तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ। स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम। लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन। तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्। गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ। मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।

तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ। न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।

आदर्श पत्नी

10 असल पत्नी पाउनँ अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी,
    बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।
11 तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ,
    अनि कहिल्यै गरीब हुनु पर्दैन।
12 आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्,
    अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।
13 तिनी सधैँ ऊनी को लुगा,
    तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्।
14 तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै,
    कहींबाट पनि भोजन लिएर घर आउँछिन्।
15 तिनी बिहानै उठी भोजन पकाउँछिन्,
    अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्।
16 तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन्
    आफूले कमाएको पैसाबाट दाख रोप्छिन्।
17 तिनी अत्यन्तै परिश्रमी छिन्,
    अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।
18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन्
    अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्।
19 तिनीले आफैं धागो कात्छिन
    अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्।
20 गरीबलाई सधैँ दान दिन्छिन्
    अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्।
21 हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्।
    तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।
22 तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिँजाउँछिन्,
    अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्।
23 उनका पतिलाई सबैले आदर गर्छन्
    किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।
24 तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्,
    र व्यापारीहरूलाई बेच्छिन्।
25 तिनी बलीयी अनि मर्यादित छिन्,
    तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
26 तिनको बोलीमा ज्ञान छ,
    र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्।
    तिनले कहिले अल्छी गर्दिनन्।
28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्,
    तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
29 “संसारमा धेरै असल स्त्रीहरू छन्
    तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।”
30 आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्,
    तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ
    अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।

यी उपदेशकका वचन हुन्। उपदेशकहरू दाऊदका पुत्र यरूशलेमका राजाका थिए।

उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ[b] अर्थात् सब कुरा व्यार्थै छ। यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?

चीजहरू साँच्चै नै परिवर्तन हुदैन

एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ। सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।

हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।

सबै नदीहरू एकै तिर बगिनै रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिदैन।

शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन।[c] मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्।[d] शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।

नयाँ भन्ने कुरा केही छैन

शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।

10 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।

11 धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।

के बुद्धिबाट आनन्द पाइन्छ?

12 म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ। 13 मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझें, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ। 14 सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।[e] 15 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।

16 मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?”

17 मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु। 18 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ।

के “हाँस-खेलबाट” साँच्चो आनन्द पाइन्छ?

मैले आफैंले विचार गरें, “म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझें, यो पनि व्यर्थै रहेछ। हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।

तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किनकि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजुन्।

कठोर परिश्रमबाट आनन्द पाइन्छ?

अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ। मैले फूलबारी र बगैंचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें। मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बड्न लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ। मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई, गोरू, भेंडा़ र बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।

मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। मसित थुप्रै नाँच्ने-गाउँने स्त्री-पुरूषहरू थिए।

म सित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैँ मेरो सहायता गर्ने गर्दथ्यो। 10 मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैँ त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।

11 मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।

यसको उत्तर बुद्धि हुनसक्छ

12 मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ। 13 मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो। 14 यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अँध्यारोमा हिँड्ने मानिस जस्तै हो।

तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्। 15 मैले आफ्नो मनमा सोचें, “कुनै मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँनेछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैंलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।” 16 बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सधैँ न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

के जीवनमा साँच्चो आनन्द होला?

17 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।

18 मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन। 19 जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।

20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। 21 एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुःख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।

22 आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ? 23 सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।

24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्। 26 यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन्, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International