Bible in 90 Days
19 मैले केही मानिसहरूमा चिन्ह लगाएँ, म तिनीहरूलाई बँचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्। 20 यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ। 21 म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।
नयाँ आकाशहरू र नयाँ पृथ्वी
22 “म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्। 23 सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।
24 “ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”
1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ। 2 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौं बर्षमा यस्तो शुरू भयो। 3 योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौं बर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निर्वासन गराईयो।
परमेश्वरले यर्मियालाई बोलाउनु हुन्छ
4 परमप्रभुको यो सन्देश मकहाँ आयो:
5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा,
गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें।
तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें।
मैले तिमीलाई जाति-जातिहरूमा
विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।”
6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”
7 तर परमप्रभुले मलाई भन्नुभयो,
“त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’
तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु।
तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
8 कसैसित नडराऊ!
म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।”
यो सन्देश परमप्रभुबाट आएको हो।
9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,
“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु।
तिनीहरूलाई उखेल्न, भत्काउन,
नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन
र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
दुइ दृश्यहरू
11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्छौं?”
मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”
12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछु अनि म यो गर्नेछु।”
13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”
मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”
14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ।
त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।
15 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।
“ती राज्यहरूका राजाहरू आउनेछन्
अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्।
तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्।
तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।
16 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको घोषणा गर्नेछु।
म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्।
तिनीहरू मेरो विरोधी भएका छन्।
मेरा मानिसहरूले मलाई छाडे।
तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए।
तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।
17 “यर्मिया तिमी चाहिँ तैयार होऊ,
उठ र मानिसहरूलाई भन।
मैले दिएको प्रत्येक आज्ञाहरू तिनीहरूलाई भन।
मानिसहरूसित नडाराऊ, नत्र म तिमीलाई भयभीत पार्नेछु।
18 आज म तिमीलाई फलामको खम्बा झैं
अनि काँसाको पर्खाल झैं बलियो
र दृढ शहर बनाउनेछु।
यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू
र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने
तिमी उभिन सक्नेछौ।
19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन्
तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्।
किनभने म तिमीसँग छु,
अनि म तिमीलाई बचाउने छु।”
यो सन्देश परमेश्वरबाट आएको हो।
यहूदा विश्वासी थिएन
2 परमेश्वरको यो सन्देश मकहाँ आयो: 2 “जाऊ अनि यरूशलेमका मानिसहरूलाई यो सन्देश भन:
“‘जब तिमीहरू युवा अवस्थामा थियौ,
त्यस बेला तिमीहरूको म प्रति
विश्वास अनि एउटी बेहुलीको झैं,
म प्रतिको माया मलाई सम्झना छ।
तिमीहरूले मलाई मरुभूमि भरि,
र बीऊ र्छनलाई नजोतिएको जमीन भरि पछ्यायौ।
3 इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए।
तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए।
अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए
उनीहरूलाई दोषी साबित गरियो,
अनि तिनीहरूमाथि कष्ट आइपर्यो।’”
यो सन्देश परमेश्वरबाट आएको थियो।
4 हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन।
र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन।
5 परमप्रभुले के भन्नुहुन्छ त्यो यो हो:
“तिम्रा पिता-पुर्खाहरूले ममाथि के दोष पाए
ताकि तिनीहरूले मलाई छाडिदिए?
तिम्रा पिता-पुर्खाहरूले मूल्यहीन मूर्तिहरू पूजे
अनि तिनीहरू स्वयं नै मूल्यहीन बनिए।
6 तिम्रा पिता-पुर्खाहरूले भनेनन्,
‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो।
परमप्रभुले हामीलाई अँध्यारो,
र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो।
परमप्रभुले हामीलाई सुख्खा र उजाड भूमिमा डोर्याउनु भयो।
परमप्रभुले हामीलाई अ न्घकार,
र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन,
र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्।
त्यहाँ डोर्याउनु भयो।
तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’”
7 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ,
त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले भरिपूर्ण छ।
मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ।
तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’
मैले तिमीहरूलाई त्यो जमीन दिएँ,
तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।
8 “पूजाहारीहरूले सोधेनन्,
‘परमप्रभु कहाँ हुनुहुन्छ?’
मानिसहरू जसले व्यवस्था जान्दछन्, मलाई जान्न चाहेनन्।
इस्राएलका मानिसहरूका शासकहरू मेरो विरूद्ध खडा भए।
अगमवक्ताहरूले झूटा देवता बालको नाउँमा अगमवाणी गरे।
तिनीहरूले महत्वहीन मूर्तिहरूलाई दण्डवत गरे।”
9 परमप्रभु भन्नुहुन्छ, “यसकारण म तिमीहरू
र तिमीहरूका छोरा-नातिहरू विरूद्ध फेरि दोषारोपण गर्नेछु।
10 समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ।
कसैलाई केदारको भूमिमा पठाऊ।
एकदमै होशियारी साथ हेर,
कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
11 के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर?
आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह।
अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्।
तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर,
महत्वहीन मूर्तिहरूलाई पूज्न थाले।
12 “यस्ता कुराहरू घट्दा आकाशहरूलाई आघात होस्।
भीषण भयले थर्थरियोस्।”
यो सन्देश परमप्रभुबाट आएको थियो।
13 “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे।
तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ,
अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्।
तिनीहरू अन्य देवताहरू प्रति फर्किए।
तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
14 “के इस्राएलका मानिसहरू कमारो भए?
के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो?
किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्?
15 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्।
तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए।
तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए,
यसर्थ त्यहाँ कोही बस्दैन।
16 नोप र तहपन्नेसबाट आएका मानिसहरूले
तिम्रो शिरको शीर्षभाग चकनाचुर पारिदिए।
17 यो समस्या तिम्रो आफ्नै दोषले हो।
परमप्रभु परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याउँदै हुनुहुन्थ्यो,
तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।
18 यहूदाका मानिसहरू यस विषयमा सोच
अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ?
परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?
19 तिमीहरूले नराम्रा कामहरू गर्यौ
अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ।
सङ्कटहरू तिमीकहाँ आउनेछ।
अनि त्यस सङ्कटले तिमीहरूलाई शिक्षा दिनेछ।
यस विषयमा विचार गर तब तिमीहरूले बुझ्नेछौ,
परमेश्वरबाट विमुख हुँदा कति नराम्रो हुँदोरहेछ।
मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।”
यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
20 “हे यहूदाका मानिसहरू हो!
धेरै अघि तिमीहरूले जुवा हटायौ।
मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें,
त्यो तिमीहरूले छिनायौ।
तिमीहरूले मलाई भन्यौ, ‘म तपाईंको सेवा गर्दिनँ।’
तिमी प्रत्येक अग्लो पर्वतमाथि,
र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।
21 यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थियें।
तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ।
कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याङ्ग भयौ?
जसले नराम्रो फल फलाउँदछ?
22 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर
खारयुक्त पानीले नुहाए पनि,
अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।”
यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।
23 “हे यहूदाका मानिसहरू हो!
तिमीहरूले कसरी मलाई भन्न सक्छौ,
‘म मैला छैन, मैले बाल मूर्तिहरू पूजेको छैन।’
तिमीहरूको कर्महरूलाई बेंसीमा हेर।
तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर।
तिमीहरू यता र उता दगुर्ने फुर्तिला ऊँटहरू जस्ता छौ।
24 तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं।
काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छ।
त्यो त्यति कामुक रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन।
काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने
प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।
25 खुट्टाहरू नाङ्गो नहुन्जेल,
अनि घाँटी नसुकुन्जेल दौडिन छोड।
तर तिमीहरू भन्छौ,
‘आशा छैन कारण मैले अन्य देवताहरूलाई प्रेम गरेको छु,
अनि म तिनीहरूकै अनुशरण गर्नेछु।’
26 “जसरी चोर पक्रा पर्दा लज्जित हुन्छ,
त्यसरी नै इस्राएलका घराना लज्जित भए।
तिनीहरूका राजाहरू र शासकहरू, पूजाहारीहरू
र अगमवक्ताहरू लज्जित हुनेछन्।
27 ती मानिसहरूले काठका टुक्राहरूसँग बात मार्छन,
अनि भन्छन्, ‘तिमी मेरा पिता हौ।’
ती मानिसहरू ढुङ्गासँग कुरा गर्छन्
अनि भन्छन्, ‘तिमीले मलाई जन्म दियौ।’
तिनीहरू आफ्नो ढाड मपट्टि फर्काउँछन्,
तर अनुहार चाँहि होइन।
तर जब तिनीहरू अप्ठेरामा पर्छन,
तिनीहरू मलाई भन्छन्,
‘आउनुहोस् र हामीलाई बँचाउनुहोस्।’
28 ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बँचाउन।
ती मूर्तिहरू जो तिमीहरू आफैंले बनाएका थियौ ती कहाँ छन्?
कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन् कि?
यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
29 “तिमीहरू सबै मसित किन वहश गर्छौ?
तिमीहरू सबैले मसित विद्रोह गर्छौ?”
परमेश्वरबाट आएको वचन यही हो।
30 “मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ।
तर त्यो वेकार भयो,
कारण तिनीहरूले त्यो ग्रहण गरेनन्।
जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए,
तिनीहरूलाई तिमीहरूले तरवारले काट्यौ।
संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
31 यस पुस्ताका मानिसहरू,
परमप्रभुको सन्देश तर्फ ध्यान देऊ।
“के म इस्राएली मानिसहरूको लागि मरुभूमि जस्तै भएको थिएँ?
के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ?
मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं।
हामी तपाईंकहाँ फर्की आउने छैनौं प्रभु।’
किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्?
32 तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्।
एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन।
तर मेरो मानिसहरूले मलाई,
धेरै पटक भुलेका छन्।
33 “हे यहूदा! झूटा देवताहरूको माया कसरी खोज्नु त्यो तिमी साँच्चै नै जान्दछौ।
वास्तवमा खराब स्त्रीहरूले तिम्रा तरिकाहरू पनि सिक्छन्।
34 तिमीले ती गरीब
र निर्दोष मानिसहरूलाई
तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ,
तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
35 तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु।
परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’
यसकारण म तिम्रो न्याय गर्नेछु
कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’
36 तिमी लक्ष्य सजिलै बद्लिन्छौ!
तिमी अश्शूर पट्टि फर्कियौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए।
यसकारण, तिमी मिश्रपट्टि फर्कियौ,
अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।
37 यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ।
अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ।
तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्नु भएको छ,
यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि
तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।
3 “यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ,
र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने
के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह।
यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ।
तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ,
अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।”
यो सन्देश परमप्रभुबाट आएको हो।
2 “माथि पहाडको चुचुराहरू हेर,
के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ?
अरबी मरुभूमिमा फिरन्ते झैं,
आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ।
तिमीले भूमि ‘दूषित’ पार्यौ।
किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ।
साथै तिमी मप्रति अभक्त भयौ।
3 तिमीले पाप गर्यौ, यसकारण पानी परेन।
त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन,
तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ।
तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निर्लज हुन्छे।
तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
4 तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’?
तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’
5 तिमीले यसो पनि भन्यौ, ‘परमेश्वर मसित सधैँ क्रोधित रहनु हुँदैन।
परमेश्वरको रीस धेरै बेर रहने छैन।’
“यहूदा, तिमीले यी त कुराहरू भन्यौ,
तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”
दुइ जना नराम्रा दिदी बहिनी, इस्राएल र यहूदा
6 योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई। 7 मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। 8 इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि। 9 यहूदाले आफू वेश्या झैं काम गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी। 10 इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
11 परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन। 12 यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर:
“‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’
यो सन्देश परमप्रभुबाट आएको थियो।
‘तिमीहरू माथि आँखा तर्न बन्द गर्छु,
किनकि म पूर्ण कृपालु छु।’
यो सन्देश परमप्रभुबाट आएका हो:
‘म अब उसो तिमीसित रीस गर्ने छैन।
13 तिमीले आफ्नो खराब काम स्वीकार गर्नु पर्छ।
तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरुद्ध
अपराध गरेका छौ।
प्रत्येक हरियो रूखमुनि तिमीले
पराई देवताहरू पुज्यौ।
तिमीले मेरो कुरा सुनेका छैनौं।’”
यो सन्देश परमप्रभुबाट आएको हो।
14 “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु। 15 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्। 16 त्यस समयमा देशमा तिमीहरूको संख्या बढ्नेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।
“त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्। 17 त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्। 18 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाटसँगै आउनेछन्। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेंछन्।”
19-20 यो सन्देश परमप्रभुबाट आएको हो:
“म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु।
म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिन चाहन्छु।
तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ
अनि सधैँ मेरो अनुशरण गर्नेछौ।
तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ।
हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।”
यो सन्देश परमेश्वरबाट आएको हो।
21 नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ।
इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्।
तिनीहरू एकदमै दुष्ट भए।
तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
22 “हे अविश्वासि छोराहरू हो, मकहाँ फर्की आऊ।
तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु।”
“मानिसहरूले भन्नै पर्छ, ‘हामी तपाईं कहाँ आउँदैछौं,
तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
23 डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो।
पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए।
निसन्देह इस्राएलको उद्धार
परमप्रभु परमेश्वरबाट आउँछ।
24 हामीहरू युवास्था देखि नै झूटो देवताले
हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए।
तिनीहरूका भेंडा़, गाई-गोरूका बथानहरू
अनि छोरा छोरीहरू पनि लगिदिए।
25 आफ्नौ लाजले हामी डुबौं
अनि हामीलाई अपमानले छोपोस्।
किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौं।
हाम्रा पिता-पुर्खाहरूले पाप गरे,
अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले
हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।’”
4 परमप्रभुले भन्नुभयो,
“हे इस्राएलका मानिसहरू!
यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ।
तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ।
मदेखि नबरालिओ।
2 ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ,
र त्यसलाई सरलता, ईमान्दारी,
अनि धार्मिकतासित पालन गर्छौ भने,
जाति-जातिहरू परमप्रभुको नाउँद्वारा आफैं धन्य हुनेछन्,
अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
3 परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो:
“तिम्रा खेतहरू जोत!
काँढाहरू माझ बीऊहरू नछर।
4 परमप्रभु अघि आफ्नै खतना गर
अनि हृदयको अपवित्रता आफैं हटाऊ।
हे यहूदा र यरूशलेमका मानिसहरू हो!
तिमीहरू परिवर्तित भएनौ भने
मेरो क्रोध अग्नि झैं फैलिनेछ।
कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन।
यो तिमीहरूको दुष्टकार्यको
कारण यस्तो हुनेछ।”
उत्तरदेखि महाविपद्
5 “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ:
यरूशलेम शहरका प्रत्येक मानिसलाई भन:
‘राज्यका चारैतिर तुरही फुक।’
चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ।
सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
6 सियोन तिर संकेतको झण्डा उठाऊ।
नपर्ख, आफ्नो जीवनको लागि भाग!
यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति
र ठूलो सत्यनाश ल्याउनेछु।”
7 एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ।
जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ।
तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ।
तिम्रा शहरहरू नष्ट पार्नेछ,
अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
8 यसकारण भाङ्गरा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ।
किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।
9 परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ,
राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ,
पूजाहारीहरू भयभीत हुन्छन्
अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”
10 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
11 त्यस समयमा यहूदा
र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ,
“मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट
तातो हावा बहने छ,
तर तिनीहरूलाई निफन्न
अथवा सफा पार्नु होइन।
12 यो हावा त्यो भन्दा पनि बलियो हुनेछ,
अनि यो मबाट आउँछ।
अब, यहूदाका मानिसहरूका विरूद्ध
म मेरो न्याय घोषणा गर्नेछु।”
13 हेर! शत्रु बादल झैं आउँदैछ।
उसको रथ हुरी झैं चल्छ,
घोडाहरू चीलहरू भन्दा छिटा छन्।
हामीलाई धिक्कार छ, हामी नष्ट भयौं।
14 हे यरूशलेमका मानिसहरू!
आफ्नो हृदयबाट पापहरू धोई पखाल
ताकि तिमीहरू बाँच्नेछौ।
कहिल्ये सम्म आफ्नो दुष्ट्याँइसित अड्किरहन्छौ?
15 दानका सन्देशवाहकको आवाज सुन।
एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ:
16 “जाति-जातिहरूलाई खबर गर।
यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ।
टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ।
यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाईँको घोषणा गरिरहेका छन्।
17 तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले
खेतालाहरूले खेत सुरक्षित पारे झैं
शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्।”
यो सन्देश परमेश्वरबाट आएको हो।
18 “तिमीहरूले जुन प्रकारले काम गर्यौ,
अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद् निम्त्यायो।
यो तिम्रो लागि सजाय हो।
यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
यर्मियाको विलाप
19 हाय मेरो वेदना, मेरो वेदना!
म मनोव्यथामा छु! हे मेरो हृदय!
मेरो मुटुले मभित्र प्रहार गरिरहेछ।
म चूपचाप बस्न सक्तिनँ,
किनभने मैले तुरहीको आवाज सुनेको छु।
अनि तुरहीले, सैनिकलाई युद्ध तर्फ बोलाइरहेछ।
20 ध्वंसपछि ध्वंस आउँछ।
सम्पूर्ण देशनै ध्वंस भयो।
हटात मेरा पालहरू पनि ध्वंस भए।
मेरा पर्दाहरू च्यातिए र तल झारिए।
21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ?
कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?
22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्।
तिनीहरूले मलाई चिन्दैनन्।
तिनीहरू अज्ञानी नानीहरू हुन्।
तिनीहरू बुझ्दैनन्।
तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्,
तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”
विपत्ति आईरहेछ
23 मैले पृथ्वीमा हेरें यो खाली थियो;
यसमा केही पनि थिएन्।
मैले आकाशमा हेरें,
अनि यसको प्रकाश धीमा भइसकेको थियो।[a]
24 मैले पर्वतहरूलाई हेरें,
अनि तिनीहरू कामिरहेका थिए।
सारा पहाडहरू हल्लिरहेका थिए।
25 मैले हेरें, तर त्यहाँ कोही पनि थिएन।
अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
26 मैले हेरें, अनि मलिलो भूमि, मरुभूमि भयो।
त्यस भूमिमा भएका सबै शहरहरू नाश भए।
यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो।
27 परमप्रभुले यी कुराहरू भन्नुभयो
“सारा देश नै नष्ट हुनेछ।
तर म पूर्ण रूपले यो भूमिलाई नष्ट पार्ने छैन।
28 त्यसै कारण त्यो भूमि रूनेछ,
अनि माथि आकाश कालो हुनेछ।
म बोलें अनि परिवर्तन हुने छैन्।
मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”
29 प्रत्येक शहरले घोडसवारी
र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ!
केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्,
कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्।
सबै शहरहरू शून्य हुनेछन्,
त्यहाँ कोही पनि बस्ने छैन।
30 यहूदा तिमी नष्ट भएकाछौ,
यसकारण अहिले तिमी के गरिरहेका छौ?
तिमी किन तिम्रो सब भन्दा राम्रो
रातो वस्त्र लगाईरहेका छौ?
किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ?
तिमी किन आफैंलाई सुन्दर पारिरहेकाछौ?
खाली यो समयको बर्बादी हो।
तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन।
तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु।
पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो।
त्यो सियोनकी छोरीले हावाको लागि कष्ट श्वास फेर्दै
र मद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो।
“हाय! म बेहोश हुन लागेकि छु,
अनि हत्याराहरू मेरा वरिपरि छन्।”
यहूदाका मानिसहरूका दुष्टता
5 परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोंच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो ईमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु। 2 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
3 हे परमप्रभु, म जान्दछु कि तपाईंप्रति,
मानिसहरू निष्ठावान भएको चाहनु हुन्छ।
तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो
तर तिनीहरूले अनुभव गरेनन्।
तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो,
तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन्
तिनीहरू साह्रै हठी थिए।
तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
4 तर मैले परमप्रभुलाई भनें,
“यिनीहरू गरीबहरू मात्र छन्।
तिनीहरू मूर्ख छन्, तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन्,
अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
5 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु,
र तिनीहरूसँग कुरा गर्नेछु,
कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन्,
अनि आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।”
तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट
अलग रहन एक भएका थिए।
6 तिनीहरू परमेश्वरको विरूद्ध उठे।
यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ,
मरुभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ।
एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ।
त्यस चितुवाले शहरबाट बाहिर जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ।
तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे,
अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।
7 परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन?
तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे।
तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँच्चो देवताहरू होइनन्।
मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ।
तर तिनीहरू मेरा विश्वासघाती भए।
तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
8 तिनीहरू खूब पोसिएका घोडाहरू,
काम-वासनाले मस्त भएका जस्तै छन्।
तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।
9 यी कर्महरूको लागि के म
सजाय नदिऊँ?”
यो सन्देश परमप्रभुबाट आएको हो।
“हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।
10 “यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ,
दाखका काट तर सम्पूर्ण प्रकारले नष्ट नगर।
तिनीहरूका सबै हाँगाहरू काटी फाल।
किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
11 इस्राएलका परिवारहरू
अनि यहूदा सम्पूर्णरूपले मप्रति अविश्वासी भए।”
यो सन्देश परमप्रभुबाट आएको हो।
12 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे,
तिनीहरूले विषयमा भने,
‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन।
कुनै नराम्रो घट्ना घट्ने छैन।
हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
13 झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्।
परमेश्वरको वचन तिनीहरूमा छैन।
तिनीहरूमाथि यही हुनेछ।”
14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो
“ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई।
यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्,
अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्।
त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
15 हे इस्राएलको घराना हो, यो सन्देश परमप्रभुबाट आएको हो,
“म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु।
यो एउटा सामर्थी जाति हो,
यो एउटा प्राचीन जाति हो।
त्यसको भाषा तिमीहरूले जान्दैनौ।
तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।
16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ।
तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू
र खाद्य जिनिसहरू खाइदिनेछन्।
तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्।
तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू
अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्।
तिनीहरूले तिमीहरूका पक्का शहरहरू तलवारले नष्ट पर्नेछन्।
तिनीहरूले तिमीहरूका पक्का शहरहरू नष्ट पर्ने छन् जसमा तिमीहरू भरोसा गर्थ्यौ।”
18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती सङ्कटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन। 19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुर्याउनेछौ।’”
20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ,
यो सन्देश यहूदाका राज्यमा फैलाऊ।
21 यो सन्देश सुन,
‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन,
तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ।
तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।’”
22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ?
तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँहँ।
त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ।
सागरले बालुवा ननागोस् भनी मैले यो एउटा स्थायी नियम बनाएँ।
सागरमा छालहरू उठेर आउँछन्,
तर तिनीहरूले नष्ट पार्न सक्तैनन्।
छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्।
तिनीहरूले मसित विद्रोह गरे
अनि मलाई छोडिदिए।
24 तर तिनीहरूले कहिल्यै भनेनन्,
‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौं।
उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ।
उहाँले हामीलाई शरद ऋतु र वसन्तको बर्षा ठीक समयमा दिनुहुन्छ।’
25 हे यहूदाका मानिसहरू हो!
तिमीहरूले खराब काम गर्यौ।
यही कारणले बर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन।
तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वन्चित गरायो।
26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्।
जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्।
तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
27 चराहरूले भरिएको पिँजडा जस्तै
दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ।
तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्।
तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ।
तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्।
तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
29 के मैले ती यहूदाका मानिसहरूलाई
तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?”
यो सन्देश परमेश्वरबाट आएको हो।
“के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं?”
30 “परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक
एउटा घटना यस देशमा घट्यो।
31 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्।
पूजाहारीहरूले आफू खुशी शासन गर्छन्,
अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्।
जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?
शत्रुले यरूशलेम घेर्दछ
6 “हे बिन्यामिनी हो, आफ्नो सुरक्षाको लागि भाग।
यरूशलेमको शहरदेखि भाग।
तको शहरमा युद्धको तुरही फुक
बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ।
ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ।
डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
2 सियोनकी छोरी!
तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।
3 गोठालाहरू यरूशलेमा भेंडा़का बथानहरू लिएर आउँदछन्,
तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन्
प्रत्येक गोठालोले आफ्ना भेंडा़ बथानको हेरचाह गर्छन्।
4 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ।
उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं।
तर अति ढिलो भइसकेको छ।
साँझको छाँयाहरू फैलिरहेका छन्।
5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ।
आऊ, यरूशलेमको पक्का महलहरू नष्ट पारौं।”
6 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ
“रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि
छेक्ने घेराहरू बनाऊ।
अत्याचार बाहेक त्यस शहरमा केही छैन।
यसलाई सजाय भोगाउनै पर्छ।
7 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ।
त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ।
सधैँ शहरमा दङ्गा र ध्वंशको विषयमा सुन्छु।
म सधैँ यरूशलेममा विराम चोटहरू देख्छु।
8 चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम।
यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्यूँ फर्काउँनेछु।
म तिम्रो भूमि रित्तो मरुभूमि जस्तै पारिदिने छु।
कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन।”
9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“खेतमा दाख बटुले झैं इस्राएलमा बाँकी रहेका मानिसहरू भेला गर।
दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”
10 म कोसित बोल्नु?
मैले कसलाई चेताउनी दिनु?
कसले मेरो कुरा सुन्छ?
इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्।
यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्।
परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ।
तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।
11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु।
म त्यसलाई लिएर थाकिसकेको छु।
“परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ।
जवानहरूमाथि परमेश्वरको क्रोध खन्याऊ।
लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्।
सबै बूढा-पाकाहरू पक्राऊ पर्नेछन्।
12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ।
तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ।
म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।”
यो सन्देश परमेश्वरबाट आएको हो।
13 “इस्राएलका सबै मानिसहरू लोभी छन्।
माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू,
घुसको लागि मरिमेटछन्।
अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ।
तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने।
तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ,
अनि प्रत्येक जग्गामा शान्ति छ’, जब कि त्यहाँ शान्ति छैन।
15 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका,
नराम्रा कुराहरूले लज्जित हुनु पर्ने।
तर तिनीहरू एकदमै लज्जित छैनन्।
तिनीहरू कसरी लज्जित हुनुपर्ने जान्दैनन्।
यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ।
जब म मानिसहरूलाई सजाय दिन्छु,
तिनीहरू भूईँमा फ्याँकिनु पर्छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
16 परमेश्वरले यी कुराहरू भन्नुभयो,
“दोबाटोमा उभ अनि हेर।
सोध पूरानो बाटो कहाँ छ।
सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिँड।
यदि तिमीले त्यसो गर्यौ भने तिमी स्वयंले विश्राम पाउनेछौ।
तर तिमीहरूले भन्यौ,
‘हामी असल बाटोमा हिँड्ने छैनौं।’
17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु।
मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’
तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।’
18 यसर्थ, सारा जाति-जातिहरू, सुन!
तिनीहरूको साक्षी-प्रमाण विषयमा ध्यान देऊ।
19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ!
यहूदाका मानिसहरूको लागि म नष्ट ल्याइरहेको छु,
किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन्,
अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन्,
अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”
20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ?
किन तिमीहरूले मेरो निम्ति सुदुर देशबाट सुगन्धित बेंत ल्यायौ?
तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन।
तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”
21 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ,
“म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु।
तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ।
बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन्,
मित्रहरू र छिमेकीहरू मर्नेछन्।”
22 परमप्रभु यसो भन्नुहुन्छ,
“हेर, सेना उत्तरबाट आईरहेछ।
घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
23 सेनाहरूले तिनीहरूसित धनु-काँड र भालाहरू ल्याउँछन्।
तिनीहरू निष्ठूर छन्।
तिनीहरूमा दया छैन।
तिनीहरूका आवाज घोडाहरूको आवाज जस्तै छ।
हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन्,
र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
24 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं।
हाम्रा हातहरू भयले दुर्बल भएका छन्।
प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै
हामीलाई दु:ख र पीडाले घेरेको छ।
25 खेतमा तिर नजाऊ।
अनि सडकतिर नआऊ,
किनभने शत्रुहरूसित तरवारहरू छन्
अनि जहीं-तहीं विपद छ।
26 मेरा मानिसहरू हो!
दु:ख प्रकट गर्ने पोषाक लगाऊ,
अनि खरानीमाथि लडी-बडी गर।
यस्तो प्रकारले विलाप गर कि,
मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ,
किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।
27 “यर्मिया, मैले तिमीलाई
मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाएँ।
तिमीले तिनीहरूलाई परीक्षा गर्नेछौ,
र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौ।
28 तिनीहरू सबै विद्रोही हुन्
र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्।
तिनीहरू सबै काँसा र फलाम जस्तै छन्
तिनीहरू विनाशकहरू हुन्।
29 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ,
तर मेरा मानिसहरूलाई केही गर्नु सकिंदैन,
कारण तिनीहरूबाट खराबी हटाउनु सकिंदैन।
30 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ।
तिनीहरूलाई त्यो नाउँ दिइने छ,
किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”
मन्दिरमा दिएको यर्मियाहको उपदेश
7 यो यर्मियालाई परमप्रभुको सन्देश हो: 2 “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर:
“‘हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन, 3 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।” 4 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।” 5 यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा ईमान्दार हुन पर्छ। 6 तिमीहरू परदेशीहरूसँग ईमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्नु पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुवायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्। 7 यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैँ भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।
8 “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्। 9 के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ? 10 यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू सम्झन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई? 11 यो मन्दिर मेरो नाउँद्वारा बोलाइन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।’” यो सन्देश परमप्रभुबाट आएको थियो।
12 “‘यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरें। 13 किनभने तिमीहरूले यी सब गर्यौ, परमप्रभु भन्नुहुन्छ, किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ। 14 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं नष्ट पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा बोलाइन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ। 15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेंछु, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।’
16 “सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन। 17 यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ? 18 छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउँछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउने छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्। 19 तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैंलाई चोट पुर्याका छन्। तिनीहरूले आफैंलाई लज्जित तुल्याइरहेका छन्।”
20 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
आज्ञाकारिता बलिदानहरू भन्दा असलहो
21 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ। 22 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउन अथवा बलि चढाउन भनिनँ नता केही आज्ञा दिएँ। 23 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’
24 “तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठ्ठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन् बरू पछि सरे। 25 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए। 26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
27 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्। 28 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ ‘यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।’
हत्याकाण्डको बेंसी
29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ। 30 त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे। 31 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन। 32 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन्। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाड्नेछन्। 33 लाशहरू चरा चुरूङ्गी र जङ्गली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जनावरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन। 34 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा हर्ष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”
8 यो सन्देश परमेश्वरबाट आएको हो, “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्। 2 तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुशरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिंजाएको गाईको गोबर जस्तै हुनेछ।
3 “म यहूदाका मानिसहरूलाई आफ्नो घरपरिवार छाड्न बाध्य गराउनेछु। ती मानिसहरूलाई विदेशमा लगिनेछ। यहूदाका केही मानिसहरू जो लडाँईमा मरेनन् तिनीहरूले लडाइँमा मरेको भए हुन्थ्यो भन्ने इच्छा गर्नेछन्।” यो परमप्रभुको सन्देश हो।
पाप र दण्ड
4 “यर्मिया, यो यहूदाका मानिसहरूलाई भन: ‘परमप्रभु यी कुराहरू भन्नुहुन्छ:
“‘तिमी जान्दछौ कि जब एकजना मानिस तल झर्छ,
फेरि माथि उठ्छ,
यदि एकजना मानिस विग्रन्छ भने,
फेरि सप्रिनेछ।
5 यहूदाका मानिसहरूले भूल बाटो समाते।
तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्?
तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन्।
तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
6 मैले तिनीहरूलाई खुब होशियारीसित हेरेको छु अनि सुनेको छु।
तिनीहरू सही कुरा बोल्दैनन्।
तिनीहरू आफूले गरेको पापमा दु:खी छैनन्,
अनि भन्दैनन्, मैले के गरें?
युद्ध भूमिमा दौडिरहेको घोडाहरू जस्तै तिनीहरू
आफ्नै बाटोमा हिँडिरहेका छन्।
7 आकाशमा उड्ने चरा-चुरूङ्गीहरूले पनि
आफ्नो ठीक समय जान्दछन्,
अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले,
आफ्नो नयाँ घरमा जाने समय जान्दछन्,
तर मेरा मानिसहरू जान्दैनन्,
परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ।
8 “‘तिमीहरू भन्छौ, “हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं!”
तर यो सत्य होइन, किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्।
9 “ज्ञानी मानिसहरूले” परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे।
यसकारण तिनीहरू वास्तवमा “ज्ञानी मानिसहरू” होइनन्।
ती “ज्ञानी मानिसहरूलाई” जालमा फँसाइएका छन्,
अपमान गराइएका छन् र लज्जित पारिएका छन्।
10 यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु।
म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु।
सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्।
सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्।
तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।
11 मेरो मानिसहरूका गहिरो घाउहरूलाई
तिनीहरूले केही जस्तो मानेनन्।
तिनीहरू भन्छन्, “यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।”
तर वास्तवमा केही पनि ठीक छैन।
12 तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ।
तर तिनीहरू पटक्कै लज्जित छैनन्।
कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्।
यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु
तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।’”
परमप्रभु यसो भन्नुहुन्छ।
13 “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु।
तिनीहरूका झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन,
नेभाराको बोटमा एउटै पनि फल रहने छैन।
पातहरू पनि ओइलिनेछन र सूख्खा हुनेछन्।
मैले दिएका प्रत्येक वस्तु लैजानेछु।’”
14 “किन हामी यहाँ बसिरहेका छौं? ‘आऊ, हामी बलिया शहरहरूमा जाऊँ।
त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर,
हाम्रा परमप्रभुले हामीलाई सड्नु भनी आदेश दिनु भएकोछ।
हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं,
यसकारण परमेश्वरले हामीलाई
विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
15 हामीले ब्यार्थमा शान्ति पाउने आशा गर्यौं।
हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।
16 दानबाट शत्रुहरूका घोडाहरूको स्वाँ-स्वाँ आवाज
हामी सुन्छौं।
घोडाहरूको हिनहिनाइले सम्पूर्ण जमीन काम्छ।
यो जमीन र यसमा भएका प्रत्येक वस्तु
नष्ट पार्न शत्रुहरू आएका छन्।
तिनीहरू यो शहर यसमा बसो-बास गर्ने सबै मानिसहरू
नष्ट पार्न आएका छन्।’”
17 “हेर, म तिमीलाई आक्रमण गराउन विषालु सर्पहरू पठाउँदैछु।
ती सर्पहरूलाई नियन्त्रणमा राख्नु सकिंदैन।
तिनीहरूले तिमीलाई डस्नेछन्।”
यो सन्देश परमप्रभुको हो।
18 हे परमेश्वर, शोकले मलाई ढाक्छ र मेरो हृदय दुर्बल भएको छ।
19 मेरा मानिसहरूको चित्कार सुन।
राष्ट्रको बिभिन्न ठाउँहरू बाट, मानिसहरू सहायताको निम्ति चिच्याई रहेका छन्।
तिनीहरू भन्छन्, “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ?
के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?”
तर परमेश्वर भन्नुहुन्छ, “यहूदाका मानिसहरूले,
बेकारका विदेशी देवताहरूलाई पूजे।
तिनीहरूले मलाई क्रोधित पारे।
तिनीहरूले किन त्यसो गरे?”
20 अनि ती मानिसहरू भन्छन्,
“फसल कटनीको समय बितिहाल्यो।
ग्रीष्मकाल समाप्त भयो।
अनि अझ हामी सुरक्षित भएका छैनौं।”
21 मेरा मानिसहरूले मलाई चक्कानाचूर पारेकाले म चक्कानाचूर भएको छु।
म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।
22 नि:सन्देह गिलादमा केही औषधी छ।
नि:सन्देह गिलादमा वैद्य छ,
यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
9 यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो,
अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भनें,
म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
2 यदि मरुभूमिमा यात्री झैं
रात बिताउने ठाँउ मेरो भए
म मेरा मानिसहरूलाई छाडिदिने थिएँ
र तिनीहरूबाट टाढो गएको हुन्थे।
किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्।
तिनीहरू सबै उहाँका विरोधमा उठे।
3 “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्ग्याउँछन्,
अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्।
झूटो मात्र, सत्य हैन।
त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन।
यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन।
तिनीहरूले मलाई चिन्दैनन्।”
परमप्रभुले यसो भन्नुभयो।
4 “आफ्ना छिमेकीहरूलाई हेर।
कुनै आफन्तहरूलाई विश्वास नगर।
किनभने हरेक आफन्तहरू कपटी छ।
हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
5 हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ।
कसैले पनि साँच्चो बोल्दैन।
यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई
झूटो बोल्न प्रशिक्षण गराउँछन्।
तिनीहरूले नथाकुन्जेल सम्म पाप गरे।
6 एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्यायो।
अनि झूटोले झूटै पछ्यायो।
मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।
7 सेनाहरूका परमप्रभु भन्नहुन्छ,
“म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।[b]
मेरोमा अन्य तरिका छैन।
मेरा मानिसहरूले पाप गरे।
8 यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्।
तिनीहरू मुखले झूटो बोल्दछन्।
हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्,
तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
9 मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।”
यो परमेश्वरबाट आएको सन्देश हो,
“के मैले यसप्रकारको जातिलाई
सजाय दिनु पर्दैन?”
10 म पर्वतहरूलाई चिच्याएर कराउनेछु।
म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु
कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन्,
र त्यहाँबाट कोही पनि हिँड्दैनन्।
गाई-गोरूहरू रमेको आवाजहरू अब त्यहाँ सुन्न सकिँदैन।
चराचुरूङ्गी सबै उडेर गइसके,
अनि पशुहरू पनि गइसके।
11 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु।
यो स्यालहरूको घर हुनेछ।
म यहूदाका शहरहरू विनाश गर्नेछु
ताकि त्यहाँ कोही बस्ने छैन।”
12 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्?
त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ
र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ?
किन यस भूमि नष्ट पारियो अनि
सूख्खा मरुभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
13 परमप्रभुले भन्नुभयो,
“किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे्
अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिँड्दैनन्।
14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए।
तिनीहरू हठ्ठी थिए।
तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले
जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ,
“म तिनीहरूलाई तीतो भोजन खाने
र विषालु पानी पिउने बनाउनेछु।
16 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा
जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले
जान्दथे तितर-बितर पारिदिनेछु।
तिनीहरू सम्पूर्ण रूपले नष्ट नहुन्जेलसम्म,
म तिनीहरूको पछि तरवार पठाउनेछु।”
17 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ
“अब, यी कुराहरूबारे विचार गर।
ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ।
ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
18 ‘तिनीहरूले हतार गरून
र हाम्रा निम्ति रोइदिउन।
तब हाम्रा आँखाहरू
आँसूले भरिनेछन्,
अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
19 “विलापको स्वरहरू सियोनबाट सुनियो,
‘हामी साँचि नै नष्ट भयौं।
हामी लज्जित छौं
कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ,
किनभने हाम्रो घरहरू भत्काइयो।
अहिले हाम्रा घरहरू ढुङ्गाका टुक्राहरू मात्र भएका छन्।’”
20 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन।
परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ।
हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ:
21 ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ।
हाम्रा किल्लाहरूमा मृत्यु आयो।
यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई
र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’”
22 यी कुराहरूको घोषणा गर:
“परमप्रभु भन्नुहुन्छ, ‘मतृ शरीरहरू भूईँमा गोबर जस्तै छरिएको हुनेछ।
तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन्
जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।’”
23 परमप्रभु भन्नुहुन्छ,
“ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्।
बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्।
धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
24 तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्।
म परमप्रभुलाई चिन्छु र जान्दछु
र उहाँ नै परमप्रभु हुनुहुन्छ,
जसले पृथ्वीमा न्याय, दया
र र्धमिकताको व्यवहार गर्नुहुन्छ।
किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
25 यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु। 26 म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन् अनि तिनीहरू सबै जो जङ्गलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
परमप्रभु र मूर्तिहरू
10 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन। 2 परमप्रभुले यही भन्नुहुन्छ:
“अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ।
आकाशका विशेष चिन्हहरूसित नडराऊ।
अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्।
तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
3 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्।
तिनीहरू जङ्गलमा रूख काट्छन्
शिल्पीकारले आफ्नो बञ्चरोले आकार बनाउँछ।
4 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाउँछन्।
तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अड्याउनलाई प्रयोग गर्छन्,
ताकि ती मूर्तिहरू तल नझरोस्।
5 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्।
तिनीहरू बोल्दैनन्।
तिनीहरूलाई बोक्नु पर्छ,
किनभने तिनीहरू हिंड्न सक्तैनन्।
तिनीहरूलाई आदर नगर!
तिनीहरूले नोक्सान
अथवा सहायता गर्नु सक्तैन।”
6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन!
तपाईं महान हुनुहुन्छ,
अनि तपाईंको नाउँ महान् र शक्तिशाली छ।
7 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ।
तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ।
तपाईं सम्मानको योग्य हुनुहुन्छ।
अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन्,
तर तपाईं समान कोही पनि ज्ञानी छैन।
8 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्।
तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।
9 तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी
अनि उपज देशबाट सुन ल्याउँछन्।
मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन्
र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्।
निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।
10 तर परमप्रभु चाँहि साँच्चो परमेश्वर हुनुहुन्छ।
उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ।
उहाँ राजा हुनुहुन्छ, जसले सदाकाल शासन चलाउनु हुन्छ।
परमेश्वरको रीसमा पृथ्वी काम्छ,
अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।
11 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर,
‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन्।
पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।’”
12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो।
परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो
अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनुभयो।
13 उहाँको वचनको आवाजले
आकाशमा पानी गर्जन्छ।
पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ।
उहाँले बर्षा सित बिजुली ल्याउनु हुन्छ।
उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।
© 2004, 2010 Bible League International