Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 25:1-45:14

दाऊदको भजन।

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
    र म कहिले निराशा हुने छैन।
    मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
    तर विश्वासघातीहरू निराशा हुनेछन्।
    तिनीहरूले केही पनि पाउने छैनन्।

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
    मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
    म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
    मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
    किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
    उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
    यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ
    जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु।
    तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,
    तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ,
    अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।
14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ।
    उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
15 म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु।
    उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

16 हे परमप्रभु, म पीडित र एक्लो छु,
    मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्।
    मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
18 हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस्
    र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्।
    तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्।
    म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।
21 हे परमेश्वर, तपाईं साँच्चै नै ईमान्दारी र धार्मिक हुनुहुन्छ
    म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
22 हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।

दाऊदको भजन।

हे परमप्रभु मेरो न्याय गर्नुहोस्।
म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्।
    म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।
    मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन,
    अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
म ती व्यर्थका मानिसहरू मध्येको होइनँ।
    म दुष्टहरूका संगतलाई घृणा गर्छु।
म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु।
    म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ।

हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्,
    म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ।
हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।
    म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।
    म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्।
    ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन।
    तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।
11 तर म निर्दोष छु।
    यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।
12 म सबै विपदहरूबाट सुरक्षित छु।
    हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु,
    त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
    मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
    यसैले म कोसैसँग डराउने छैन।
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
    तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
    अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
    यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
    किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
    “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
    अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

परमप्रभुले मलाई बचाउँनु हुन्छ।
    जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
    उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
    त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
    म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
    म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
    मलाई जवाफ दिनुहोस्।
    मलाई कृपादान गर्नुहोस्।
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
    म तपाईं समक्ष बोल्न आएँ।
हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
    मलाई साथ दिनुहोस्।
    मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
    मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
    तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
    मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
    मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
    परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
    बलियो र साहसी होऊ,
    अनि परमप्रभुको सहयोग पर्ख।

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
    मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
    मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
    जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
    मप्रति दया दर्शाउनु होस्।
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
    तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”[a] शब्दसँग स्वागत गर्दछन,
    तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
    यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
    तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
    उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
    अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।

परमप्रभुको प्रशंसा गर।
    उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
    म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
    र उहाँको प्रशंसाको गीत गाउँछु।
परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
    परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।

हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
    जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
    तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।

दाऊदको भजन।

परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[b] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।

हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
    तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
    यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
    र मलाई निको पार्नु भयो।
तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
    मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।

हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
    उहाँको पवित्र नाउँको प्रशंसा गर!
परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
    तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
    अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!

जब म जोगिएँ र सुरक्षित भएँ,
    सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
    मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
    म डराएँ र कामे।
यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
    मैले तपाईंलाई दयाको बिन्ती गरें।
मैले भने, “परमेश्वर के यदि म मरें,
    अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
    मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
    कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
    तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
    हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
    र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
    अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु
    मलाई निराश नपार्नुहोस्।
    मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
    हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्।
    चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्।
मेरो चट्टान हुनुहोस्।
मेरो सुरक्षाको ठाउँ भइदिनु होस्।
    मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ।
    यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्।
मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे।
मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्।
    तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं।
    मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ,
    मलाई बचाउनु होस्!
म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु।
    म परमप्रभुमा मात्र भरोसा गर्छु।
हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु।
    तपाईंले मेरो पीरहरू देख्नु भएको छ।
    मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन।
    तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउँनु भयो।
हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्,
    यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्।
यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्।
    मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ।
10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ।
    मेरो उमेर नैराश्यमा बितिरहेछ।
मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ।
    मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्,
    अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्।
सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्।
    तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्,
    तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै
    पूर्ण प्रकारले मलाई बिर्सेकाछन्।
13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु।
    तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे।

14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु।
    तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
15 मेरो जीवन तपाईंको हातमा छ,
    मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्।
कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्।
    मलाई तिनीहरूबाट बचाउनुहोस्।
16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्।
    ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें।
    यसर्थ म असन्तुष्ट हुँदिन।
दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।
    तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
18 ती दुष्टहरू अंहकार गर्छन्
    अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्।
ती दुष्टहरू घमण्डी छन्,
    तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।

19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ।
    तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ
    जसले तपाईंलाई विश्वास गर्छन्।
20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्।
ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्।
    तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ।
    तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
21 परमप्रभुको स्तुति होस्!
जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए,
    आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु,
    जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न।
तर मैले तपाईंलाई प्रार्थना गरें,
    अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”

23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ!
    परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्।
तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्।
    उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
24 बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।

दाऊदको मस्किल भन्ने भजन।

त्यो मानिस खुशी हुन्छ,
    जसका पापहरू क्षमा गरिएका छन्।
    त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
त्यो मानिस खुशी हुन्छ,
    जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
    त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
    तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
    जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
    म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
    परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
    अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
    तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
    तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
    यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
    र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
    म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
    ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
    तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
    जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ!
    उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
वीणा बजाएर परमप्रभुको स्तुति गर!
    दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।
    सुखमय सुन्दर वाद्यहरू बजाऊ!
परमेश्वरको वचन सत्य छ।
    उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।
परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
    परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ।
परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
    परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
    उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
    संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन।
    अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
    उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
    उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।
12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
    किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
    अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14 उहाँले उच्च-आसनबाट
    तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
    परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
    कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
    तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
    जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
    जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
    उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
    हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं।
    यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।

त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।

हर समय म परमप्रभुलाई धन्यको भन्छु।
    उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
नम्र मानिसहरू! सुन र खुशी बन।
    मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
मसँग-सँगै परमप्रभुको स्तुति गर!
    र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
    अनि उहाँले मलाई उत्तर दिनुभयो।
    मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
    तिमी लज्जित हुनु पर्ने छैन,
    उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
    अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
    उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
    अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
    जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।
    उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।
    तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
11 केटा-केटीहरू मलाई ध्यान देऊ,
    म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
    र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
    त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
    शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
    उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
    उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
    उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
    परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
    अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
    तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
    एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
    असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
    उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

दाऊदको भजन।

हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
    मेरा लडाईँहरू लडिदिनु होस्!
हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।
    उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
भाला र बर्छा लिनुहोस्
    अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”

कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।
    तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
    तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
    र लज्जित पार्नु होस्।
तिनीहरूलाई हावाले उडाउने भूस[c] जस्तो बनाउनु होस्।
    तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्।
    परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
    कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्।
    तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
    तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।
तब म परमप्रभुमा हर्षित रहनेछु।
    जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु।
10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
    “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्
    तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
    म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
    हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
    मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें।
    (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।)
14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।
    कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
    मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
    म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे।
    तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
    तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
    तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?
    तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्।
    परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्।
    मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।

18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,
    महासभामा म तपाईंको स्तुति गाउने छु।
19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।
    निःसन्देह मेरा शत्रुहरूले,
    आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्।
    तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति,
    अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।
    तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,
    यसैले मौन नबस्नुहोस्,
    मलाई छाडेर नजानुहोस्।
23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्!
    मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्।
    अनि मलाई न्याय ल्याई दिनुहोस्।
24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।
    तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
25 मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।
    हामीले उसलाई ध्वंश पारिदियौं!”
26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।
    जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्।
तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्!
    यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।
    भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्।
तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ।
    उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”

28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।
    म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।

प्रमुख संगीतकारलाई: परमप्रभुका दास दाऊदको भजन।

एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ,
    “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
त्यो मानिस आफैंसित झूटो हुन्छ।
    त्यस मानिसले आफ्नो गल्ती देख्दैन।
    यसैले उसले क्षमाको याचना गर्दैन।
उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्।
    त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
राती उसले दुष्ट योजना तयार पार्दछ।
    ऊ उठ्छ तर राम्रो काम गर्दैन।
    तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।

हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ।
    तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ।
    तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ।
परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
    तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन।
    मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्।
    तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ!
    तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन्
    अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
11 हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्।
    दुष्ट मानिसहरूले मलाई घचेट्न नदिनु होस्।

12 यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्:
“यहाँ दुष्ट मानिसहरू सुतेका छन्।
    तिनीहरूलाई धूलो पिठो पारियोस्।
    तिनीहरू फेरि कहिल्यै पनि जाग्न सक्ने छैनन्।”

दाऊदको भजन।

दुष्ट मानिसहरूप्रति उदास न होऊ।
    दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
    जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
    तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
आनन्दसित परमप्रभुको सेवा गर
    अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
परमप्रभुमाथि भरोसा गर।
    उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
तिमीहरूका असल कार्यहरू र निर्मलता,
    मध्य दिनको घाम झैं चम्कियोस्।
परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
    जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
    अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
    तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
    परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।
    तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्।
11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्
    अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।

12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।
    ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।
    उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।
    ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्।
    ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15 तर तिनीहरूको धनुहरू भाँचिने छन्
    र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,
    कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
    तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ,
    तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
19 जब सङ्कटहरू आउँछन्,
    धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्।
अनिकालको समयमा पनि
    धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्,
    अनि तिनीहरू नष्ट हुने नै छन्।
तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्।
    तिनीहरू सबै नाश हुनेछन्।
21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्,
    तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्।
    तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
    परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
    र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
    तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
    मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
    अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
    तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
    उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
    तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
    तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
    उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
    अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।

32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
    जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
    परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
    परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
    उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।

35 मैले एक बलवान कपटी मान्छे देखें।
    ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
    मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
    शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
    अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
    जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
    धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
    अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।

सम्झनाको निम्ति दाऊदको भजन।

हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
    तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
    तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
    मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
    म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
मैले मूर्ख कामहरू गरें।
    अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
    म दिनभरि हताश-हताश हुन्छु।
मलाई ज्वरो आएको छ,
    अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
    मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
    मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10 मेरो मुटु झन्-झन् ढुक्‌ढुक् गरिरहेको छ।
    मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11 मेरा बिमारीको कारणले गर्दा,
    मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
    मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
    तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
    सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
    म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
    म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
    हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
    तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
    म मेरो पीडा बिर्सिन सक्तिनँ।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
    म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
    अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
    अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
    तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21 हे परमप्रभु, मलाई नत्याग्नु होस्।
    हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
    हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!

प्रमुख संगीतकार, यदूतूनलाई: दाऊदको भजन।

मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु।
    म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन।
जब म कपटी मानिसको चारैतिर हुन्छु
    म मेरो मुख बन्द राख्ने छु।”

यसैले मैले केही भनिनँ।
    मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ।
    तर मेरो मनोव्याथा अझ बढ्‌यो।
म एकदमै रिसाएको थिएँ
    अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ,
    यसैले मैले केही भनें।

हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ?
    भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु?
    मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!
परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो।
    तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ।
प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन!

हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो।
    हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं,
    तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ?
    तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।
हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्।
    मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन,
    म आफ्नो मुख खोल्ने छैन।
    परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।
10 तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्,
    यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ!
11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो,
तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्।
    जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ।
    हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ।

12 हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्!
    मेरा ती विलापका शब्दहरू सुन्नुहोस्,
    मेरा आँसुहरू हेर्नुहोस्।
तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ।
    मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।
13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस्
    अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
    उहाँले मेरा विलापहरू सुन्नुभयो।
परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
    उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
    अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
    धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
    तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
    यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
    तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
    म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।

परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
    तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
    तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
    जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
    म तपाईंको व्यवस्था जान्दछु।
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।
    अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,
    मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ।
परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्।
    मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ।
11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!
    तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”

12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्।
    तिनीहरू अनगन्ती छन्!
मेरा पापहरूले मलाई पक्रियो,
    अनि म तिनीहरूबाट भाग्न सक्तिन।
तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्।
    मैले मेरो आँट हराएको छु।
13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्!
    हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!
14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्।
    हे परमप्रभु, ती मानिसहरूलाई लज्जित
    र निराश बनाई दिनुहोस्।
तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्,
    तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!
15 ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्।
    तिनीहरू बोल्नलाई पनि संकोच होस्!
16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन।
    तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।”

17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ,
    मलाई सहायता गर्नुहोस्।
मलाई रक्षा गर्नु होस्।
    हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ,
    त्यसैले धेरै आशीर्वादहरू पाउनेछ।
    जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ।
    त्यो मानिस पृथ्वीमा धन्य हुनेछ।
    परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा नष्ट हुन दिनु हुनेछैन।
जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ।
    त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।

मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्।
    मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे।
    तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”
मानिसहरू मलाई हेर्न आउँछन्।
    तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्।
तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्,
    अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।
मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्।
    तिनीहरूले मेरो विरूद्ध षड्‌यन्त्रहरू गरिरहेछन्।
तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो
    त्यसैले गर्दा ऊ बिमारी भयो।
    हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”
मेरो प्रिय साथीले मसँगै खायो, जसलाई म भरोसा गर्थें।
    तर अहिले, ऊ मेरो बिरोधी भएकोछ।
10 यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्।
    मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु।
11 हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्।
    तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
12 म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो।
    तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।

13 परमप्रभु, इस्राएल का परमेश्वर धन्यको हुनुहुन्छ।
    उहाँ सधैँ हुनुहुन्थ्यो, अनि उहाँ सधैँ हुनुहुनेछ।

आमेन, आमेन।

दोस्रो भाग

(भजनसंग्रह 42–72)

प्रमुख संगीतकारलाई: कोरह परिवारबाट मस्किल नाउँको भजन।

हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ।
    त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ।
    म उहाँलाई भेट्न कहिले जान सक्छु?
मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ।
ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ।
    आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।

जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु
    मेरो हृदय चर्किएर आउँछ।
तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु।
    ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।

5-6 म यति उदास किन हुनु पर्ने?
    म किन यति साह्रो विचलित हुने!
म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु।
    फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु।
    उहाँले मलाई बचाउनु हुन्छ!
किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ,
    यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।
पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै
    खोला बगेको आवाज म सुन्छु।
हे परमप्रभु, तपाईंका छालहरूले,
    मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।

प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ
    अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।
म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु,
    “हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो?
    शत्रुको क्रूरताको कारणले गर्दा?
    त्यस्तो उदासीनता मैले किन खप्नु?”
10 मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछन्,
    अनि मलाई सोध्दछन्, “तेरो परमेश्वर कहाँ छन्?
    के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”

11 मैले यति उदास किन हुन पर्छ?
    किन मैले यति विरक्तिनु पर्छ?
मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ।
    म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु।
    उहाँले मेरो रक्षा गर्नु हुनेछ!

हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
    त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
    हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
    मलाई त्यो मानिसबाट बचाउनु होस्।
हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
    किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
    कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
    तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
म परमेश्वरको वेदीमा जानेछु।
    हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
    म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।

किन म यति साह्रो तल झरें?
    किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
    म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
    उहाँले मलाई बचाउनु हुन्छ।

प्रमुख संगीतकारलाई: कोरह परिवारको मस्किल भन्ने भजन।

हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं।
    हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के-के गर्नुभयो उहाँहरूले बताउनु भयो।
    तपाईंले धेरै बर्ष अघि गरेका कार्यहरू, तिनीहरूले हामीहरूलाई बताए।
परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित
    अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो।
तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो।
    तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो।
    उनीहरूका पाखुराहरू बलिया थिएनन्, जसले तिनीहरूलाई विजयी गराए।
यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो।
    परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
    किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ।
    आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।
मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं।
    तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।
म मेरो धनु र तरवारमाथि भरोसा राख्दिनँ।
    मेरो तरवारले मलाई बचाउन सक्दैन।
हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो।
    तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।
हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं।
    अनि तपाईंको नाउँको प्रशंसा सदा-सर्वदा गर्नेछौं!

तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो।
    तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।
10 तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो।
    हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।
11 तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो।
    तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।
12 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो,
    तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।
13 तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो।
    तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।
14 हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्।
    आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।
15 म लाजले छोपिएको छु।
    सारा दिन आफ्नो लज्जित रूप हेर्छु।
16 मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे,
    तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैं लुक्छु।
17 परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं।
    अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ।
    हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!
18 परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं।
    हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।
19 तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्।
    तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।
20 के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं?
    के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!
21 निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ।
    उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।
22 हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं!
    हामी मार्न लगिएका भेंडा़ जस्तै छौं।
23 उठ्नु होस्, मेरो स्वामी!
    किन तपाईं सुतिरहनु भएको छ?
    उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
24 परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ?
    तपाईंले हाम्रो पीर र सङ्कटहरूलाई बिर्सिनु भयो?
25 हामीलाई फोहोर भित्र हुत्याइएको छ।
    हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।
26 हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्।
    तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।

प्रमुख संगीतकारलाई: “शोशन्निम” रागमा, कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन।

जब म यी कुराहरू राजाको निम्ति लेख्छु,
    सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्।
शब्दहरू मेरो जिब्रोबाट आउँछन्,
    मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।

तपाईं सबै भन्दा असल हुनुहुन्छ।
    तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ।
    यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
तिम्रो पटुकामा तरवार भिर।
    तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
तिमी अचम्मको देखिन्छौ।
धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित,
    तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्,
    जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।
हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ।
    धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ
    र दुष्टतालाई घृणा गर्नुहुन्छ।
    यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू[d] माथि राज गर्न चुन्नुभएको छ।
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ।
    यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्।
    तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।

10 हे मेरी स्त्री, मेरा कुरा सुन।
    ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ।
आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
11     यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्।
ऊ तिम्रो नयाँ लोग्ने हुनेछ।
    यसैले तिमीले उनको सम्मान गर।
12 टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन्
    यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।

13 राजकुमारी सुनको धागोले बुनेको पोशाकमा
    सजिएकी छिन्।
14 राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्,
    उनका लोकन्तीहरू पछि-पछि छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International