Bible in 90 Days
22 तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्।
तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्।
मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ।
23 तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्।
24 तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव
तिनीहरूले पनि गरून्।
25 तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्।
कोही पनि त्यहाँ बस्न नपाओस्।
26 तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्।
त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्।
27 तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्।
तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्।
28 जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्,
तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।
29 म दुःखीत र पीडित छु।
परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।
30 म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु।
म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
31 यसले परमेश्वरलाई खुशी पार्नेछ!
यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ।
32 नम्र मानिसहरू जो परमेश्वरलाई उपासना गर्न आएका छन्।
यी कुरा जानेर तिनीहरू खुशी हुने छन्।
33 किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ।
कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
34 स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्।
समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर।
35 परमप्रभुले सियोनलाई बचाउनुहुनेछ।
परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ
ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्।
36 उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्,
मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।
प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन।
1 हे परमेश्वर, मलाई बचाउनु होस्!
हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।
2 मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्।
तिनीहरूलइ अपमानित पार्नुहोस्।
मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्।
तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
3 मानिसहरूले मलाई हाँसोको पात्र बनाए।
ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।
4 ज-जसले तपाईंको उपासना गर्छन,
तिनीहरू खुबै खुशी होऊन्।
जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन्
सधैँ तपाईंको प्रशंसा गरून्।
5 हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ।
हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्!
हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ!
अझ विलम्ब नगर्नुहोस्!
1 हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु,
ताकि म कहिल्यै निराशा नहुँ।
2 तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ।
तपाईंले मलाई छुटकारा दिनु हुनेछ।
मेरो गुहार सुनी दिनुहोस्।
मलाई बचाउँनुहोस्।
3 मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु।
तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।
4 हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्।
मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।
5 मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ,
म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
6 म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ,
आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु।
मैले सधैँ तपाईंलाई प्रार्थना गरें।
7 तपाईं मेरो बलको श्रोत हुनुहुन्छ।
यसैले म अरूको निम्ति उदाहरण भएकोछु।
8 तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा मसधैँ गीत गाउँदछु।
9 म बूढो भएँ भनी मलाई नफ्याँक्नु होस्।
मेरो बल सकिँदैछ भनेर मलाई नत्याग्नु होस्।
10 मेरो शत्रुहरूले मेरो विरूद्धमा योजनाहरू तयार गरे,
तिनीहरू वास्तवमा एक-अर्कामा पहिल्यै भेला भए, अनि मलाई मार्ने योजना गरे।
11 मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं।”
परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।
12 हे परमेश्वर, मलाई नत्याग्नुहोस्।
हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!
13 मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्।
तिनीहरूलाई पूर्ण रूपले नष्ट पार्नुहोस्!
तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्।
तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।
14 तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु।
अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु।
15 तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु।
एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु।
ती समयहरूको गन्ती नै छैन।
16 हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु।
म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।
17 हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो।
अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका,
अद्भूत कार्यहरूका बारेमा घोषणा गर्दछु।
18 अब परमेश्वर! म बूढो भएँ अनि मेरा केश सेता छन्,
तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन,
म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानताको बारेमा बताउने छु।
19 हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ।
परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन
तपाईंले अद्भूत कामहरू गर्नुभयो।
20 यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो,
तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो।
यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।
21 मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्।
लगातार मलाई सान्त्वना दिनुहोस्।
22 अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु।
हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु।
इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति
म मेरो वीणा बजाएर गीत गाउने छु।
23 तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ।
मेरा ओंठहरूले तपाईंको स्तुति-गान गर्नेछन्।
24 मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ।
अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्।
तिनीहरू परास्त र अपमानित हुनेछन्।
सुलेमानको भजन।
1 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)
तेस्रो भाग
(भजनसंग्रह 73–89)
आसापको स्तुति-गान।
1 साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ।
परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।
2 म प्रायः चिप्लिएँ र नियन्त्रण हराएँ।
म प्रायः चुकें अनि पाप गर्न थालें।
3 मैले दुष्ट मानिसहरू सफल भएको देखें।
म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
4 ती मानिसहरू ह्रिष्टपुष्ट छन्।
तिनीहरूलाई बाँच्नको लागि सङ्घर्ष गर्नु पर्दैन।
5 ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्।
अन्य मानिसहरू जस्ता तिनीहरू सङ्कटमा छैनन्।
6 यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्।
तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।
7 यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए,
तिनीहरू जान्छन् र लिन्छन्,
तिनीहरूले जे चाहे पनि गर्दछन्।
8 तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन्,
तिनीहरू घमण्डी र हठी खालका छन्
अनि तिनीहरूले सधैँ नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
9 ती अहंकारीहरू आफूलाई देवता मान्दछन्।
तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।
10 यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए,
र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।
11 ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्!
सर्वोच्च परमेश्वरले जान्दैनन्।”
12 ती घमण्डी मानिसहरू दुष्ट छन्,
तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
13 यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु?
किन मैले मेरो हातहरू धोई सफा राख्नु।
14 हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु
अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।
15 हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु।
तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।
16 मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें।
तर ती सबै मेरो लागि एकदम कठिन थिए।
17 जबसम्म म परमेश्वरको मन्दिरमा गईनँ,
तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिनँ।
18 परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ।
सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
19 सङ्कट अचानक आउन सक्छ,
तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्।
भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन्
अनि तिनीहरू समाप्त हुन्छन्।
20 हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्,
हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्।
हाम्रो सपनाका राक्षसहरू जस्ता
तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।
21-22 म अज्ञानी थिएँ।
मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यार्थै खिन्न भएँ।
हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ।
मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।
23 म सधैँ नै तपाईंसँग साथमा छु।
हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
24 हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ।
त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।
25 हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु।
अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।
26 मेरो तन र मन नष्ट हुन सक्छ,
तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु।
मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
27 हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ।
तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
28 म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो।
मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ।
परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।
आसापको “मस्किल” भन्ने भजन।
1 हे परमेश्वर, के तपाईंले हामीलाई सधैँको निम्ति त्याग्नु हुन्छ?
के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?
2 तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्।
तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ।
जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।
3 परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्,
पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।
4 शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए।
तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।
5 शत्रुका सैनिकहरू यस्ता देखिन्छन्,
कि घाँस काट्ने मानिसहरू घाँस काटिरहे जस्तो।
6 हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै,
तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।
7 ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए।
जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो
तिनीहरूले त्यो मन्दिर भूईँमा लडाए।
8 शत्रुले हामीलाई पूर्ण रूपले तहस्-नहस् पार्ने निर्णय गरे,
तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
9 हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं।
अब त्यहाँ अगमवक्ताहरू छैनन्।
के गर्नु पर्ने कसैले जान्दैनन्।
10 हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो?
के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैँ दिइरहनुहुन्छ?
11 हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ?
तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
12 हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ,
तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।
13 हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो,
समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
14 तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो,
तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो,
अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।
15 तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो
अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
16 हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ।
तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
17 तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो।
अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
18 हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो।
ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
19 ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्!
तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!
20 हाम्रो करार याद गर्नुहोस्!
यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ।
21 हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्ब्हाबार गरियो।
तिनीहरू प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्।
दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्।
22 हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्!
सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
23 तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्,
तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।
प्रमुख संगीतकारलाई: “नष्ट नहोस्” भन्ने रागमा। दाऊदको भजन।
1 हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौं।
हामी तपाईंको प्रशंसा गर्छौ, तपाईं छेउमा हुनुहुन्छ,
अनि मानिसहरूले तपाईंले गर्नु भएको अचम्मका कुराहरूका बारेमा भन्दछन्।
2 परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु,
म निष्पक्ष न्याय गर्नेछु।
3 यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन्,
र धराशायी हुन तयार छ,
तर म यसलाई स्थिर पार्छु।”
4 “कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।
तिनीहरू स्वयंलाई शक्तिशाली र महत्वपूर्ण सोच्दछन्।
5 तर म ती मानिसहरूलाई भन्छु,
‘शेखी नगर! यति साह्रो अंहकारी नहौ!’”
6 पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन
जसले कुनै मानिसलाई महत्वपूर्ण पार्छ।
7 परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ।
अनि उहाँले नै को महत्वपूर्ण हुनेछ, भन्ने कुराको निर्णय गर्नुहुन्छ।
परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ,
उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
8 परमेश्वर सधैँ दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ।
परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ,
जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ।
उहाँले त्यो विषयुक्त दाखमद्य खन्याउनुँ हुन्छ,
अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
9 म यस बारेमा सधैँ मानिसहरूलाई भन्नेछु।
म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।
10 परमप्रभु भन्नुहुन्छ, “म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु,
अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।”
वाद्य-वादन साथ संगीतकारले गाउनु पर्ने आसापको भजन।
1 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्।
इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्छन्।
2 शालेममा परमेश्वरको मन्दिर छ।
परमेश्वरको घर सियोन पर्वतमा छ।
3 त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार
र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।
4 हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ,
जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो,
तपाईं गौरवमय देखिनु हुन्छ।
5 ती सिपाहीहरूले आफू बलियो भएको सोचे।
तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्।
तिनीहरूको शरीर लुटिएर लडिरहेको छ।
ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
6 जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो,
घोडसवारहरू र घोडाहरू मरे।
7 हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ!
जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
8-9 परमप्रभु न्यायकर्ता झौं उभिनु भयो र निर्णय घोषणा गर्नुभयो,
परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।
स्वर्गबाट उहाँले निर्णय दिनुभयो,
सम्पूर्ण पृथ्वी निस्तब्ध र भयभीत भए।
10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ,
तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्।
तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ,
अनि जीवित् रहनेहरू बलिया हुन्छन्।
11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ।
अब उहाँप्रति ती वचनहरू पूरा गर।
प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्।
तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
12 परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ।
पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।
प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति आसापको भजन।
1 मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।
हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
2 मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ,
तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
3 मैले परमेश्वरको बारेमा सोचें,
अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
4 तपाईंले मलाई सुत्न दिनु भएन,
म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
5 मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।
धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
6 रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें।
मैले आफैंलाई बुझ्ने कोशिश गरें।
7 म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?
के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न?
8 के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?
के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ?
9 करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो?
उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”
10 तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः
‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’”
11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।
परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु,
जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें।
म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्,
तपाईं बाहेक कोही पनि महान् छैन।
14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।
तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।
15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो
तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो।
गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
17 बाक्लो बादलहरूले पानी बर्षाए।
मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा
बिजुली चम्केको देखें।
18 त्यहाँ बिजुलीको गडगडाहट थियो,
तब बिजुलीको चमक्ले संसार नै उज्यालो पार्यो,
अनि पृथ्वी थर-थर काँप्न थाल्यो।
19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो,
तपाईंले गहन समुद्र पार गर्नुभयो,
तर तपाईंले कुनै छाप छोड्नु भएन।
20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ,
मोशा र हारूनलाई खटाउनु भयो।
आसापको “मस्किल” भन्ने भजन।
1 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
मैले भनेका कुराहरूमा ध्यान देऊ।
2 म तिमीहरूलाई यो कथा भन्ने छु।
म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
3 हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं।
हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
4 अनि हामी त्यो कथा भुल्ने छैनौं।
हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।
हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं,
अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो।
परमेश्वरले इस्राएल लाई नियम दिनुभयो।
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो।
उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि,
ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
6 अनि आउने भावि सन्तानहरूले पनि यो नियमको बारेमा जान्नेछन्
र तिनीहरू आफ्ना नानीहरूलाई सिकाउन सक्षम हुनेछन्।
7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्।
तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्।
तिनीहरूले परमेशवरको आज्ञा अनुसार उहाँको नियमहरू पालन गर्नेछन्।
8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका,
आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्।
तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए,
र उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे ती मानिसहरू हठ्ठी थिए।
तिनीहरू परमेश्वर प्रति विश्वासी थिएनन्।
9 एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए,
तर तिनीहरू युद्धभूमिबाट भागे।
10 तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्।
तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
11 एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले।
तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
12 परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा,
आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
13 परमेश्वरले लाल समुद्रलाई चिर्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो।
पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
14 प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो।
अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
15 परमेश्वरले चट्टानलाई मरुभूमिमा फोर्नु भयो।
जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
16 परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह
चट्टानबाट ल्याउनु भयो!
17 तर मानिसहरूले उहाँकै विरूद्ध लगातार पाप गरिरहे।
मरुभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्ने फैसला गरे,
र तिनीहरूले परमेश्वरलाई खाना मागे।
19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने,
“के मरुभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20 जब उहाँले चट्टानमा हिर्काउनुभयो,
तेजले पानी बाहिर आयो, र खोलाहरू बढेर आए।
निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो।
परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो।
इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्।
तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
23-24 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो,
अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो।
आकाश ढोकाहरू जस्तै खोलियो
अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो।
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो।
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
तिनीहरू समुद्रको बालुवा जस्तै थिए।
28 ती मानिसहरूका छाउनीका वरिपरि
र छाउनीको माझमा चराहरू झरे।
29 तिनीहरूलाई खाना प्रशस्त थियो,
तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
30 तिनीहरूले आफ्नो भोक खप्न सकेनन्।
यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
31 परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो,
अनि ती मध्ये धेरै जनालाई मार्नु भयो।
परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
32 तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे!
परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
33 यसकारण तिनीहरूको जीवन,
महा-विपदसँग समाप्त पारिदिनु भयो।
34 जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू,
उहाँप्रति फर्किए, तिनीहरूले परमेश्वर को खोजी गरे।
35 तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ।
तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
36 तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले।
तिनीहरू परमेश्वरसित ईमान्दार थिएनन्।
37 तिनीहरूको हृदय परमेश्वरसँग थिएन।
तिनीहरू करार[a] सँग आज्ञाकारी थिएनन्।
38 तर परमेश्वर दयालु हुनुहुन्थ्यो।
उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो।
अनि तिनीहरूलाई विनाश गर्नु भएन।
धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो,
उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
39 परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो।
मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
40 उफ! यी नै मानिसहरूले मरुभूमिमा परमेश्वरलाई खुब कष्ट दिए!
तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
41 घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे।
तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
42 ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से।
तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
43 तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले
अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
44 परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो।
जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
45 परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो।
जसले मिश्रीहरूलाई टोके।
परमेश्वरले भ्यागुताहरू पठाउनु भयो,
जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
46 परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो,
अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
47 परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो।
अनि हिम बर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
48 परमेश्वरले अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो
र चट्याङ्गले गाई-वस्तुहरू मारिदिनु भयो।
49 परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो।
उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
50 परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो।
उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन,
डरालाग्दो बिमारका कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
51 परमेश्वरले मिश्रवासीहरूका प्रथम जन्मने सन्तानलाई मार्नु भयो।
उहाँले हामको पहिले जन्मने सन्तानलाई मार्नुभयो।
52 त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झैं डोर्याउनु भयो।
उहाँले तिनीहरूलाई मरुभूमिमा भेंडा झैं डोर्याउनु भयो।
53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो।
उहाँका मानिसहरू डराउने कुनै कामै थिएन।
परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो,
उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु भयो।
परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो।
उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे,
अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे।
तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए।
तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे।
तिनीहरूले झट्टारो फ्याँके[b] जस्तै व्यवहार गरे।
58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए।
तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो।
अनि उहाँले इस्राएललाई पूर्ण नष्ट गर्नुभयो।
60 उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो।
परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो।
शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो।
उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
63 जवान पुरूषहरू जलेर मरे,
अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
64 पूजाहारीहरू मारिदिए,
तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
65 अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै,
धेरै मद पिएको सिपाही जस्तै,
हाम्रो स्वामी ब्यूँझनु भयो।
66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो।
उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो।
उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
68 अँहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो।
परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो।
परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा-सर्वदाको निम्ति बनाउनु भयो।
70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो।
दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
71 दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए तर परमेश्वरले दाऊदलाई,
उहाँका आफ्ना मानिसहरूलाई, हेरचाह गर्ने काम सुम्पनु भयो।
याकूबका मानिसहरूको हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने,
परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
72 दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए।
र खुब सतर्कता साथ तिनीहरूलाई अगुवाई गरे।
आसापको स्तुतिगान।
1 हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए।
ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए
तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।
2 शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले
र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।
3 परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे।
ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।
4 हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे।
हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।
5 हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ?
के तपाईंको बलिया भावनाहरू[c] आगो झैं अनवरत झल्दछ?
6 हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जुन सम्प्रदायले तपाईंलाई चिन्दैन।
तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस्
जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।
7 ती सम्प्रदायरूले याकूबलाई
र उसको देशलाई ध्वंश पारे।
8 हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्।
चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्,
कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
9 हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्!
बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ।
तपाईंको असल नाउँ सुनाउनको लागि,
हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
10 अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्,
“तिम्रो परमेश्वर कहाँ छ?
के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?”
परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्,
यसकारण हामी त्यो हेर्न चाहन्छौं।
तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।
11 कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्!
परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस्,
जसलाई मृत्युदण्ड दिइएकोछ।
12 हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति
हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्।
तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
13 हामी तपाईंका मानिसहरू हौं।
तपाईंको बथानका हामी भेंडाहरू हौं।
हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं,
परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।
प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।
1 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
हामी तपाईंलाई हेर्छौं।
2 इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
आएर हामीलाई बचाउनु होस्।
3 परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
4 परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
5 तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
6 ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
7 हे सर्वशक्तिमान् परमेश्वर,
हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।
8 बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नु भयो।
तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो।
तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो,
अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
9 तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो।
तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो।
चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
10 यसले पर्वतहरू ढाकेर गयो।
यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।
11 यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो।
यसको लहराहरू युफ्रेटिस् नदी तर्फ फैलिएर गए।
12 हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ?
अब बाटो हिँड्नेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।
13 जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ।
जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।
14 हे, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्।
स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याँङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।
15 हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्।
तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।
16 तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्।
तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।
17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,
हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बँचाउनु होस्।
प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।
1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
2 संगीत प्रारम्भ गर।
खैंजडीहरू बजाऊ।
सुरमय वीणा बजाऊ।
3 जब हाम्रो विश्राम शुरू हुन्छ।
पूर्णिमा लागेको बेला तुरही फुक,
औंसी परेको बेला नरसिङ्ग फुक।
4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
7 तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
त्यहींबाट मैले जवाफ दिएँ,
मैले तिनीहरूलाई मरीबा[d] को पानीद्वारा जाँच गरें।”
8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
9 कुनै पनि कृत्रिम देवताहरू नमान
जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
अनि म खुवाउने छु।
11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
चट्टान[e] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”
आसापको एउटा भजन।
1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ।
उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ?
कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर।
ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर।
दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचाऊ।
5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्।
तिनीहरू बुझ्दैनन्!
तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्,
तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
6 म सर्वशक्तिमान परमेश्वर भन्दछु,
“तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
7 तर तिमीहरू मर्नेछौ
जसरी अन्य अगुवाहरू मर्दछन्।”
8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्।
तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।
आसापले रचेको एउटा स्तुतिगान।
1 हे परमेश्वर, चुपचाप नबस्नुहोस्!
तपाईंको कानहरू नथुन्नु होस्,
कृपया केही त भन्नु होस्, परमेश्वर।
2 परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन्
अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।
3 तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्।
तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
4 ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वष्त गरीदिउँ।
तब कसैले पनि ‘इस्राएलको’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
5 परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन्
तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई,
जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
6-7 ती शत्रुहरू हामीसँग लड्नलाई एकजुट भएका छन्,
प्रदोम, इश्माएली मानिसहरू, मोआब
अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू,
एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह।
ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
8 असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे।
तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
9 परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्,
सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
10 तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो।
अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
11 परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्।
ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्।
जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
12 हे परमेश्वर, ती मानिसहरूले हामीलाई
तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
13 तिनीहरूलाई हावाले उडाएर लैजाने मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस्,
हावाले पराललाई छिन्न-भिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
14 जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्।
डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।
15 हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्।
हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
16 परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने थाहा होस्।
त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
17 हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्।
तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।
18 तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्।
तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन्,
तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्।
सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।
प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।
1 हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
2 हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु।
म एकदमै उत्तेजित छु।
मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
3 हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,
चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए।
तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन्
अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।
4 तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्।
तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।
5 मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हर्षका गीतहरू लिएर आउँछन्,
तिनीहरू धेरै खुशी छन्।
6 तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए,
जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
शरद ऋतुको बर्षाले ताल बनिन्छ।
7 ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए
जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।
8 हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।
9 हे परमेश्वर, हाम्रो रक्षक[f] को रक्षा गर्नुहोस्,
तपाईंका अभिषिक्त राजा[g] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।
1 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
2 हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!
3 हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्,
पागल नबन्नु होस्।
4 हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्,
अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
5 के तपाई हामीसँग सधैँ क्रोधित हुनुहुन्छ?
के तपाईंको क्रोध हामीहरूको छोरा-नाति सम्म रहनेछ?
6 दया गरी हमीलाई नयाँ जीवन दिनुहोस्!
तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।
7 हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनुँ होस्।
हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई कति प्रेम गर्नु हुन्छ।
8 उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
9 परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
दाऊदको प्रार्थना।
1 म दरिद्र र असहाय मानिस हुँ।
हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
2 हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
3 मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
4 हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
5 हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
6 परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
7 परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
8 हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
9 स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
कोरह परिवारहरूको एउटा भजन-स्तुतिगान।
1 परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
2 परमप्रभुले इस्राएलका अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मनपराउनु हुन्छ।
3 परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
4 परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।
ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्।
ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।
5 परमेश्वरले सियोनमा जन्मेका
प्रत्येक मानिसलाई चिन्नु हुन्छ।
सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
6 परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।
तिनीहरू कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।
7 परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्,
र सुखी छन्, तिनीहरू गाइरहेछन् र नाचिरहेछन्,
तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”
प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।
1 हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
2 मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
3 मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
म चाँडै मर्ने छु।
4 मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
5 मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ।
तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो।
6 तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
7 परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
अनि मलाई सजाय दिनुभयो।
8 मेरो साथीहरूले मलाई छाडी गए।
सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।
9 मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु,
मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।
11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
अनि सजायले मलाई मार्दै छ।
17 दुःखाई र पीडाहरू सधैँ मसँग छन्,
म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
खाली अन्धकार मात्र मसँग रहेको छ।
एज्री एथानबाट “मस्किल” भन्ने भजन।
1 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
2 हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
तपाईंको विश्वास आकाश झैं व्यापक छ।
3 परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
मैले मेरो दास दाऊदसँग कसम खाएँ।
4 ‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”
5 हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ।
जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्।
मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।
6 स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन।
कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
7 परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा-सर्वदा मिल्नु हुन्छ।
ती सबै स्वर्गदूतहरू उहाँका हुन्।
तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्,
तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
8 हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन।
हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौं।
9 तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ।
तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
10 परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो,
तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्र-तत्र पारिदिनु भयो।
11 स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्,
परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
12 उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो।
ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
13 हे परमेश्वर तपाईंसँग शक्ति छ।
तपाईंको शक्ति महान् छ,
विजय तपाईंकै हो।
© 2004, 2010 Bible League International