Bible in 90 Days
एउटा समय हुन्छ
3 प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।
2 जन्म लिने एउटा निश्चित समय छ,
र मृत्युको पनि।
रूख रोप्ने एउटा समय हुन्छ,
अनि त्यसलाई उखेल्ने एउटा समय छ।
3 त्यहाँ मार्ने एउटा समय छ,
निको पार्ने एउटा समय छ,
भत्काउने एउटा समय छ,
बनाउने एउटा समय।
4 कराउने र रूने एउटा समय हुन्छ,
अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ।
शोक मनाउने एउटा समय छ,
र नाच्ने र गाउने एउटा समय हुन्छ।
5 एक समय हुन्छ ढुङ्गा फ्याँक्ने,
एक समय हुन्छ ढुङ्गा थुपार्ने।
कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ,
त्यसै छोडिदिने एउटा समय हुन्छ।
6 कुनै चीज खोज्ने एक समय हुन्छ,
हराओस् भन्ने एकसमय हुन्छ,
कतै फालि दिने एक समय हुन्छ,
र राख्ने एक समय हुन्छ।
7 त्यहाँ लुगा च्यात्ने एउटा समय छ,
र लुगा सिलाउने एउटा समय।
त्यहाँ चुपचाप रहने एउटा समय छ,
बोल्ने एउटा समय छ।
8 एक समय हुन्छ माया गर्ने,
एक समय हुन्छ घृणा गर्ने,
एक समय हुन्छ झगडा़ गर्ने
र एक समय हुन्छ मेल-मिलाप गर्ने।
परमेश्वर आफ्नो संसारलाई नियन्त्रण गर्नुहुन्छ
9 के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? 10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। 11 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।
12 मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो। 13 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।
14 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्। 15 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।
16 यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ। 17 यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”
के मानिसहरू पशु जस्ता नै छन्?
18 मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, “परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्। 19 के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किनकि हरेक कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्। 20 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोबाट आएका हुन् अनि माटोमा नै मिल्छन्। 21 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?”
22 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसले अर्कालाई भविष्यमा के हुनेवाला छ सो देखाउँन सक्तैन।
के मरिजानु राम्रो हो?
4 मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुःखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन। 2 म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्। 3 अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।
यति कठोर परिश्रम किन?
4 मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
5 कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ। 6 धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा़ गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।
7 फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन: 8 एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुःखको र व्यर्थ कै कुरो हो।
मित्र र परिवारबाट शक्ति पाइन्छ
9 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।
10 यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लड्छ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।
11 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।
12 एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।
मानिस शासक र प्रसिध्दि
13 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन। 14 हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्। 15 तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रो युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ। 16 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।
भाकल गर्नमा होशियार
5 परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्। 2 परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ:
3 धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ,
र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।
4 यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा ढिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ। 5 बरू कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन। 6 यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैंलाई पापमा पतन नगराओस् पूजाहारीलाई[a] नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्यौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ। 7 धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।
प्रत्येक शासकको माथि शासक हुन्छन्
8 कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्। 9 यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।
धनले आनन्द किन्न सकिंदैन
10 जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।
11 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।
12 जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।
13 मैले यस जीवनमा धेरै दुःखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सन्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ। 14 अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन।
15 एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, ऊ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ ऊ आफूसित केही लिएर जान सक्दैन। 16 यो बडा दुःखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी ऊ आएको थियो। यसकारण “हावालाई पक्रने कोशिश गर्नाले के पाउन सक्छ”? 17 उसले यदि केही पाँउछ भने त्यो हो दुःख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।
आफ्नो जीवनको कर्ममा रमाऊ
18 मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।
19 यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिनु पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ। 20 यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटो छ भनी सोच्दैन। किनकि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।
धनबाट प्रसन्नता पाइँदैन
6 मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्। 2 त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र ब्यार्थ कुरो हो।
3 एकजना मानिस लामो समयसम्म बाँच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ। 4 त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ। 5 त्यस्ता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ। 6 त्यस्ता मानिसहरू दुइ हजार बर्ष बाँच्न सक्छन् तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।
7 एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर ऊ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन। 8 यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ? 9 एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैँ धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रन खोज्नु जस्तै हो।
10-11 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन। यसकारण ज्यादा बोल्नु व्यर्थ हो।
12 कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।
बुद्धि र शिक्षाको सूची
7 एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो।
मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।
2 भोजको घरमा जानु भन्दा मलामी जानु असल हो।
किनकि सबै एक दिन मर्नै पर्छ,
अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।
3 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो,
किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ।
4 ज्ञानीले सधैँ मृत्युबारे सोच्छ
तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।
5 मूर्खबाट प्रशंसा पाउनु भन्दा,
ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।
6 मूर्खहरूको हाँसो त बेकार हुन्छ,
काँढाको आगो बालेर भाँडा तताए जस्तो हो।
काँढाको आगो छिट्टै बल्छ,
तर भाँडा तात्दैन।
7 घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ,
अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।
8 शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो।
अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।
9 छिटै रीसाउने नगर,
किनकि रीसाहा बन्नु मूर्खता हो।
10 नभन, “बितेका दिनहरूमा के भयो।
तब चीजहरू अझ राम्रा थिए।”
यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।
11 जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो। 12 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।
13 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। 14 जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।
मानिस साँच्चै असल हुँदैनन्
15 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्। 16-17 यसकारण आफैंलाई किन मार्छौ? साह्रै राम्रो पनि नबन। साह्रै खराब पनि नबन। अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?
18 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो। 19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।
21 मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ। 22 अनि तिमी जान्दछौ, तिमी आफैंले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।
23 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असम्भव थियो। 24 किन म बुझ्न सक्दिनँ आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ। 25 साँच्चो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के?
मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो। 26 मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।
27-28 उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें। उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँच्चो पुरूष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।
29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैंले अनेकौं छलहरू बनाए।”
बुद्धि र शक्ति
8 ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।
2 म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ। 3 यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ। 4 आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन। 5 राजाको आज्ञा पालन जसले गर्छ ऊ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।
6 त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ। 7 उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।
8 कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।
9 मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा सङ्घर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।
10 मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।
न्याय, पुरस्कार र दण्ड
11 कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।
12 एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो। 13 खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाँयाँ झैं लामो हुँदैन।
14 यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरानै। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ। 15 यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।
परमेश्वरका सबै काम हामी बुझ्न सक्दैनौं
16 यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि। 17 परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भुमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून् बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँच्चो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।
के मृत्यु असल हुन्छ?
9 मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखें, भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।
2 तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, मृत्यु दुष्ट मानिसलाई पनि आउँछ, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि मृत्यु आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ।
3 यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ। 4 प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि:
एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो।
5 जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्। 6 कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ।
7 अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमद्य खाऊ र खुशी होऊ। तिमीहरूलाई यति गर्न परमेश्वरबाट अनुमति छ। 8 राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ। 9 तिम्रो पत्नीसँग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर। 10 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।
हामी के पो गर्न सक्छौं र? सौभाग्य या दुर्भाग्य?
11 यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैँ दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैँ जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैँ खान पाउँदैन, ज्ञानी मानिसले सधैँ सम्पत्ति पाउँदैन; अनि विवेकशील मानिसले सधैँ प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आउँछ।
12 कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।
विवेकको शक्ति
13 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ। 14 एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनाथ गरे। 15 तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले। 16 तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।
17 ज्ञानीले शान्तसित बोलेका थोरै शब्द,
मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो।
18 ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो।
तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।
10 मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धित बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।
2 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। 3 मूर्ख बाटोमा हिँड्दाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।
4 मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।
5 यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ। 6 मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउँछन् जसको कुनै महत्व हुँदैन। 7 नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।
हरेक काम जोखिमपूर्ण हुन्छ
8 आफूले खनेको खाडलमा आफैं पर्न सक्छन्। पर्खाल भत्काउनेलाई सर्पले डस्न पनि सक्छ। 9 ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।
10 तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।
11 लट्ठ्याउन अघिनै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।
12 ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्,
परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।
13 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुङ्ग्याउँछ। 14 मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुँदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा के हुनेवाला छ।
15 एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ,
यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।
कामको मूल्य
16 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ। 17 तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।
18 यदि कोही कामगर्न अति अल्छी छ भनें,
उसको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।
19 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।
निन्दा
20 राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किनकि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।
निर्धक्क बनी भविष्यको सामना गर
11 विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा[b] ल्याउँछ।
2 जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घट्न सक्छ।
3 कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा बर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि वा दक्षिण पट्टि, जता ढले पनि त्यहीं तेर्सिरहन्छ।
4 तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिऊ छर्न सक्दैन। अनि कोहीले हर बादल बर्षन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।
5 तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ, यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।[c]
6 यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।
7 उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउनको लागि असल हो। 8 तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।
उमेर छँदै परमेश्वरको सेवा गर
9 यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्। 10 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।
बुढेसकालको समस्या
12 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।
2 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।
3 त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चपाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ। 4 तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।
5 डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लड्छु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिँड्दा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाँच्ने इच्छा[d] पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।
मृत्यु
6 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि,
माटोको गाग्री इनारमा फुट्नु अघि,
अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै,
जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।
7 तिम्रो शरीर माटोबाट बनिएको हो।
मरेपछि पनि माटोमै फर्कन्छ।
तर आत्मा जुन परमेश्वरबाट आयो
मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।
8 सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो।
निर्ष्कष
9 उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे। 10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्।
11 ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्। 12 यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ।
13-14 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।
1 सुलेमानको सबैभन्दा उत्तम गीत।
उनले स्त्रीलाई प्रेम गर्छन्
2 चुम्बनहरूसँग मलाई छुनुहोस्,
तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले,
तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
3 तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ,
तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ।
यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं।
हामी तपाईंको पछि दगुर्ने छौं।
राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।
यरूशलेमको स्त्रीहरू मानिस प्रति
हामीहरू खुशी अनि आनन्दित हुन्छौं।
याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ।
यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
5 यरूशलेमकि छोरीहरू हो!
म काली तर सुन्दरी छु।
केदार र शाल्माको पाल झैं काली छु।
6 मलाई नहेर, म कति काली छु,
मलाई घामले काली पारेको हो।
मेरा दाज्यू-भाइहरू मसँग रिसाएका थिए,
त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए,
त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउँन पाइँन।
तिनले पुरूषलाई भन्छिन्
7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु।
मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ?
मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ?
म तिमीलाई भेट्न आउँनेछु,
अथवा तपाईंका साथीहरूको बगाल अघि,
म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?
पुरूषको स्त्री प्रति वचन
8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो?
स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ।
जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ,
आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।
9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ,
जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।
10 ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म,
राम्ररी सजाइएका छन्।
11 तिम्रो निम्ति हामी सुनको लुर्कन
चाँदीले मोरेर बनाउँने छौं।
स्त्री बोल्छे
12 जब राजा आफ्नो कोठामा थिए,
मेरो अत्तरको सुगन्ध फैलियो।
13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी,
मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ,
जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।
पुरूषले भन्छ
15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ,
आहा! तिमी साँच्चै राम्री छौ,
तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।
स्त्री बोल्छे
16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ!
साँच्चै तपाईं मनोहर हुनुहुन्छ!
हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।
17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्।
र डाँडा भाटाहरू सल्लाका छन्।
2 म भन्जायाङमा फुल्ने गुलाफ,
अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।
पुरूष बोल्छ
2 हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी
काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ।
स्त्री भन्छिन्
3 हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलको,
अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं हुनुहुन्छ।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु,
अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।
4 मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो
र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।
5 म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस,
र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।
6 उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ
अनि दाइने हातले मलाई अँगालेको छ।
7 हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर।
मसित प्रेम गर्न उत्तेजित नहौ,
जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।
प्रेमिका फेरि बोल्छे
8 मेरो प्रेमीकाको स्वर सुन, लौ हेर!
उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै
अनि डाँडाहरूमा दगुर्दै।
9 मेरा प्रेमी एउटा लघुमृग
अथवा जवान मृग झैं हुनुहुन्छ।
हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ,
झ्यालबाट हेरिरहनु भएकोछ,
आँखी झ्यालबाट चियाइरहनु भएकोछ।
10 मेरा प्रेमीले भन्नु भयो,
“हे सुन्दरी, मेरी प्यारी उठ,
कतै टाडा जाऊँ।
11 हेर! हिउँद बित्यो,
बर्षा काल पनि गई सक्यो।
12 भूमिमा फूलहरू फूलिरहेकाछन्,
चराहरूले गाउने समय आइसकेको छ।
पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके।
13 नेभाराका चिचिलाहरू लाग्न थाल्यो,
दाखका फूलहरूबाट वासना फैलिन थाल्यो।
मेरी प्रियतमा उठ,
हे मेरी सुन्दरी हिँड कतै टाढा जाऊँ।”
पुरूष बोल्छ
14 अग्लो चट्टानको गुफाहरूमा
र पहाडहरू माथि लुक्ने मेरो ढुकुर,
मलाई तिम्रो दर्शन देऊ,
मैले तिम्रो स्वर सुन्नु पाउँ।
कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ,
अनि तिमी अत्यन्तै सुन्दरी छौ।
ऊ स्त्रीहरूसित कुरा गर्छिन्
15 हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ,
किनभने ती साना स्यालहरूले
हाम्रो दाखबारी नष्ट गरिदिन्छन्
जो पूर्णरूपले फूलेकोछ।
16 मेरा प्रेमी मेरा हुनु हुन्छ,
अनि म उहाँकी,
मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
17 जबसम्म दिन बितेर छाँयाँ लामो हुँदैन,
फर्कि आऊ मेरा प्रेमी, हरिण झैं बन अथवा
मृगहरू झैं सुन्दर पहाडहरूमाथि।
संगीहरूसँग स्त्री
3 राती मेरो ओछ्यानमा,
म आफूले माया गरेको मानिस खोज्छु।
मैले उसलाई खोजें,
तर उसलाई पाउन सकिनँ।
2 अब म उठ्छु,
म शहर वरीपरी घुम्छु।
म मेरा प्रेमीलाई शहरको गल्ली,
र कुना कुनामा खोज्छु।
मैले शहरका पालेहरूलाई भेटें,
तर मैले उहाँलाई पाउँनु सकिनँ।
3 मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे,
मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
4 जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ,
तब मैले मेरा प्रेमीलाई भेटें,
मैले उहाँलाई समातें,
र उहाँलाई मेरी आमाको घरमा लगें,
अर्थात ती नारीको कोठामा,
जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
ऊ स्त्रीहरूसँग बोल्छे
5 हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर।
हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ
कि म तयार नभए सम्म तिमीले,
आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।
यरूशलेमका स्त्रीहरू बोल्छन्
6 यी नारी को हुन् जो धेरै मानिसहरू सित,
मरुभूमिबाट आइरहेकी छिन्?
तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ,
मानौं कि त्यो धूवाँको बादल हो,
जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप,
अथवा सुगन्धित मसला बाट निस्कन्छ।
7 सुलेमानको सवारी हेर!
इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले
त्यो पालकी रक्षा गरिरहेका छन्।
8 तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्,
रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न
तिनीहरू तत्पर छन्।
9 राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए।
तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
10 त्यसका खम्बाहरू चाँदीले बनिएको छ,
आधारहरू सुनको बनाएका छन्
आसन बैजनी रंगका लुगाले ढाकिएको छ।
त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
11 सियोनकी तरूणीहरू हो,
बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर,
त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्,
जुन दिन उनको विवाह भएको थियो।
त्यो दिन उनी अत्यन्तै खुशी थिए।
ऊ उनीसित कुरा गर्छन्
4 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।
आहा! तिमी सुन्दरी छौ।
घुम्टोभित्र लुकेका
ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन्
तिम्रा ती लामा केश
गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
2 तिम्रो दाँतहरू भेंडा़ झैं सेता छन्
जसलाई भर्खरै नुहाइएको र कत्रनु तयारी बनाएको छ।
तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन्
र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।
3 तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्।
तिम्रो मुख अति सुन्दर छ,
तिम्रो घुम्टोभित्रका गालाहरू
एउटा दारीमका दुइ फ्याकहरू जस्तै छन्।
4 तिम्रो घाँटी लामो अनि पातलो छ,
दाऊदको किल्ला जस्तै,
त्यो किल्ला सजाउनको निम्ति बनाएका
हजारौं ढालहरू यसको भित्ताहरूमा
शक्तिशाली सेनाहरूसँग छन्।
5 तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
हरिणको जुम्ल्याहा पाठा जस्तै
जुन लिली फूलहरू विच चरिरहन्छ।
6 म त्यो गन्धरसको पर्वत माथि जानेछु,
र सुगन्धितको पहाडमा जानेछु,
जब मैले आफ्नो अन्तिम सास लिनेछु
अनि छायाँहरू लामो भई लुक्नेछन्।
7 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
तिमीमा कुनै प्रकारको दाग छैन।
8 हे मेरी दुलही म भएकोमा आऊ,
तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
सनीरको उचाईबाट,
सिंहको गुफाबाट
अनि चितुवाको पाहाडबाट आऊ।
9 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ।
तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको
मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
तिम्रो माया कति सुन्दर छ।
तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ,
तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
11 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ,
दूध र मह तिम्रो जिब्रो मुनि छ,
तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आउँछ।
12 मेरी प्रेमिका, मेरी दुलही!
ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ।
बन्द गरेको ताल जस्तै शुद्ध छौ।
त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
13 तिम्रो शरीर दारीम जस्तै छ,
अनि अरू लोभ्याउने फलहरू,
फूलहरू र मसलाहरूको वासनाले भरिएको
बगैंचा झौं 14 जटामसी केश दालचिनी,
तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ
मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
तिमी कुवाको पानी झैं ताजा छौ,
लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।
ऊनी बोल्छिन्
16 उत्तरी हावा, तिमी उठ,
दक्षिणी हावा, तिमी आऊ।
मेरो बगैंचामा बह
अनि आफ्नो सुगन्ध छर्क।
मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन्।
अनि त्यहाँका मिठा फलहरू खाऊन्।
प्रियतम भन्छन्
5 मेरी प्रेमीका, हे मेरी दुलही,
म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें।
मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु।
मैले मेरो चाका महसँग खाएँ।
मैले आफ्नो दाखरस र दूध पिएकोछु।
स्त्रीहरू प्रेमीहरूसँग कुरा गर्छन्
हे साथीहरू हो, खाऊ! प्रेमीहरू हो, पिऊ!
र प्रेमको मद्यले मस्त हौ।
प्रेमिका भन्छे
2 म मस्त सुतें,
तर मेरो हृदय जाग्रित थियो।
मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु:
“ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर,
मेरी प्रियतमा, पूर्णता,
मेरो शीर शीतले भिजेकोछ,
मेरो केश मध्य रातले भिजाएकोछ।”
3 “मैले मेरा लुगाहरू फुकालिसकेकोछु।
म फेरि पहिरिन चाहाँदिनँ।
मैले मेरा पाऊ धोइसकेकोछु,
यसलाई म फेरि मैला हुन दिँदिनँ।”
4 तर उसको निम्ति म व्याकुल भएँ
मेरा प्रेमीले ढोकाको प्वालबाट हातहाल्दा।
5 म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें,
मेरा हातहरूबाट रस गन्ध,
अनि औलीहरूबाट
रस गन्धका थोपाहरू तल तिर चुहे।
6 जब मैले मेरा प्रेमीको लागि ढोका उघारें,
तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए।
म झण्डै मरें
जब उहाँ आएर गए पछि।
मैले उहाँलाई खोजी हिडें
तर भेटिनँ,
मैले उहाँलाई बोलाउँदै खोजे
तर उहाँले मेरो उत्तर दिनु भएन।
7 शहरका पहरेदारहरूले मलाई भेटे,
र तिनीहरूले मलाई पिटे,
अनि मलाई चोट पुर्याए।
पर्खाल माथि बसेका पहरेदारहरूले
मैले ओढेको घुम्टो खोसे।
8 हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु,
यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने,
भनिदेऊ म उहाँलाई यति साह्रो प्रेम गर्छु,
कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।
यरूशलेका स्त्रीहरूले उत्तर दिन्छन्
9 स्त्रीहरूमा तिमी अति सुन्दरी छौ,
तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ?
के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्?
के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि,
तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?
तिनले यरूशलेमका स्त्रीहरूलाई उत्तर दिन्छिन्
10 दश हजार मानिसहरूको बीचमा पनि
मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।
11 उहाँको शीर शुद्ध सुन जस्तै छ,
उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।
12 उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्,
उहाँका आँखाहरू दूधमा डुबेका
ढुक्कुरहरू जस्ता छन्।
13 उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं,
सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ।
उहाँका ओठहरू सुगन्धित रस चुहिरहने,
लिली फूलहरू जस्ता छन्।
14 उहाँका पाखुराहरू ढुङ्गा जडित
सुनका डन्डाहरू जस्ता छन्,
उहाँको शरीर नीलम जडित
हात्तिको चिल्लो दाँत जस्तो छ।
15 उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका
सङ्गमरमर जस्ता छन्।
उहाँ लेबनोनमा हुने राम्रो उद्भिद्
अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।
16 हो, यरूशलेमका स्त्रीहरू!
उहाँको मुख अधिक मिठास पूर्ण छ।
मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ।
मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।
यरूशलेमका स्त्रीहरू ऊ सित बोल्छन्
6 हे सुन्दरी स्त्री,
भन तिम्रा प्रेमी कहाँ गएका छन्?
भन तिनी कुन बाटो गएका छन्?
ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।
यरूशलेमका स्त्रीहरूलाई तिनी उत्तर दिन्छिन्
2 मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ।
उहाँ बगैंचालाई हेर्न
र त्यहाँबाट लिलीहरू
बटुल्न जानु भएको छ।
3 म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ।
उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।
उनी सित ऊ बोल्छ
4 तिमी तिर्सा जस्तै सुन्दरी छौ,
तिमी यरूशलेम जस्तै आकर्षक छौ।
तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं सहासी छौ।
5 तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्।
अनि तिम्रो केश लामो र घुम्रिएको छ।
गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं।
यसर्थ तिमीले मलाई नहेर।
6 तिम्रो दाँतहरू नुहाएर निस्केका
र कत्रन तयार रहेका भेंडा़हरू जस्तै छन्।
तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए
अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्।
7 घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि
जस्ता दारीमका फ्याकलाहरू हुन्।
8 उहाँका साठ्ठी रानीहरू छन्
अनि अस्सी रखौटीहरू
अनि अनगन्ती नयाँ तरूणीहरू छन्।
9 तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन्, मेरो सम्पूर्णता
जुन आमाले तिनलाई जन्माइन्, ती आमाकी प्रसिद्ध नानी,
जवान स्त्रीहरूले देखेर प्रशंसा गरे,
अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।
स्त्रीहरूले उसको प्रशंसा गर्छन्
10 ती कन्या स्त्री को हुन्?
अरूणोदय झैं चम्कन्छिन्
जुनझैं सुन्दरी छिन्।
तिनी घामझैं चहकिली छिन्
तिमी एउटा झण्डा बोक्ने
डरलाग्दा सेनाझैं साहासी छौ।
ऊ उनीसित बोल्छन्
11 म तल ओखरको बगैंचा तिर गएँ
बेंसीहरूको फल हेर्न
दाखहरू फूल्यो कि भनेर हेर्न
दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।
12 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा
चढ्न मन्जुरी दिएको अनुभव गरें।
यरूशलेमका स्त्रीहरूले तिनलाई बोलाए
13 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ,
फर्केर आऊ ताकि हामी तिमीलाई हेर्न सक्छौं,
किन तिमीहरूले शूलम्मेनीलाई,
सेनाहरूको युद्ध छाउनीमा नर्तकीलाई झैं हेरिरहेका छौ!
युवकको युवती सौन्दर्यमाथि प्रशंसा
7 हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्।
तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
2 तिम्रो नाभि गोलो बटुको झैं छ,
यसमा दाखरस बिना कहीले नहोस्।
तिम्रो पेट यस्तो छ कि
गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
3 तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।
4 तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो।
तिम्रा आँखाहरू यस्ता छन्,
मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्।
तिम्रो नाक यस्तो छ,
मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।
5 तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ
अनि टाउकोको केश रेशम जस्तो छ।
तिम्रो तल झरेको लामो केशले
राजाको पनि मन पग्लिन्छ।
6 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका!
तिमी कति राम्री र मनमोहक छौ।
7 तिमी खजुरको रूख जस्तै अग्ली छौ।
अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।
8 म खजुरको रूखमाथि चढ्नेछु,
र त्यसका हाँगाहरू समात्छु।
तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं
र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।
9 तिम्रो मुख विशेष दाखमद झैं होस्
जुन मेरो मायामा सोझै तल बगोस्
त्यो बिस्तारैसित मस्त निन्द्रामा परेका मानिसहरूको ओंठ सम्म बगोस्।
तिनले युवकलाई भन्छिन्
10 म मेरा प्रेमीकी हुँ
र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
11 आउँनु होस् मेरा प्रेमी,
हामी मैदानमा जाँऊ,
हामी गाँउमा रात काटौं।
12 हामी चाँडै दाखबारीमा जाँऊ,
हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि
हेरौं कतै फूल फुलिसकेको छन् कि
अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि
म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।
13 हे मेरा प्रेमी!
सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्,
दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन्,
नयाँ र पुरानो आनन्दमय बस्तुहरू,
मैले तिम्रो निम्ति साँचिराखेकीछु।
8 आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै,
तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ
अनि तिमीलाई म्वाई खाने थिएँ।
र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।
2 जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन्,
म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ।
म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको
रसले बनिएको मसला युक्त मद्य दिने थिए।
तिनले स्त्रीहरूलाई भन्छिन्
3 उनको देब्रे हात मेरो टाउको मुनि छ
अनि दाहिने हातले मलाई समात्नु भएको छ।
4 हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि
जबसम्म म यसको निम्ति तैयारी हुँदिन।
मलाई प्रेमले उत्तेजित पार्ने छैन।
यरूशलेमका स्त्रीहरू बोल्छन्
5 ती स्त्री को हुन्?
जो आफ्नो प्रेमीसित अढेसिएर मरुभूमिबाट आउँदै छिन्।
तिनले उसलाई भन्छिन्
मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ,
जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन्,
जहाँ तपाईंको जन्म भएको थियो।
6 मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्,
यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु,
प्रेम मृत्यु जस्तै प्रबल हुन्छ,
अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ,
कुनै ज्वालाभन्दा पनि कडा,
त्यो दन्केको आगो झैं दन्किन्छ।
7 के कसैले आफ्नो प्रेमका निम्ति,
आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने
ऊ उपेक्षित हुन्छ र?[e]
तिनका दाज्यू-भाइहरू बोल्छन्
8 हाम्री सानी बहिनी छ
अनि जसको स्तन विकाश भएकै छैन,
यदि कसैले तिनलाई विवाह गर्न खोजे,
हामीले बहिनीको लागि के गर्नु पर्ने?
9 यदि तिनी पर्खाल हुँदी हुन त,
तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं,
यदि तिनी ढोका हुँदी हो त,
हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं।
तिनले आफ्ना दाज्यूहरूलाई उत्तर दिन्छिन्
10 म एउटा पर्खाल हुँ,
मेरा स्तनहरू धरहराहरू जस्तै छन्।
म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।
उनी भन्छन्
11 बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो,
तिनले आफ्नो बगैंचा रखवालहरू दिए,
र प्रत्येक रखवालले
1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।
12 सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ।
उसले तिम्रोलागि ल्याएको दाखको सट्टामा!
प्रत्येक रखवालालाई 200 शेकेल देऊ,
तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु।
मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।
उनी स्त्रीलाई भन्छन्
13 बगैंचामा तिमी नै बस,
साथीहरूले तिम्रो आवाज सुनिरहेका छन्,
तिमी मलाई पनि सुन्न देऊ।
तिनी ऊसित बोल्छिन्
14 हे प्रियतम, चाँडो गर्नु होस्।
अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण,
अथवा मृगका पाठा जस्तै हुनु होस्।
© 2004, 2010 Bible League International