Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 135 - हितोपदेश 6

परमप्रभुको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर!
    परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर!
ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा,
    र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर।
परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भलो हुनुहुन्छ।
    उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।

परमप्रभुले याकूबलाई रोज्नु भयो,
    इस्राएल परमप्रभु कै हो।
म जान्दछु परमप्रभु महान् हुनुहुन्छ!
    हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!
परमप्रभुले चाहेका जे पनि,
    आकाशमा, पृथ्वीमा, पातालमा, समुद्रमा र गहिरा सागरहरूमा गर्नुहुन्छ।
परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ।
    परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ।
    परमेश्वरले हावा ल्याउनुहुन्छ।
परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू,
    अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो।
    परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।
10 परमेश्वरले धेरै ठूला-ठूला जातिहरूलाई परास्त पार्नुभयो।
    शक्तिशाली राजाहरूलाई पनि उहाँले मार्नुभयो।
11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो।
    परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो।
    परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो।
12 परमेश्वरले तिनीहरूका भूमि इस्राएल लाई सुम्पनु भयो।
    परमप्रभुले ती जग्गाहरू आफ्ना मानिसहरूलाई दिनुभयो।

13 हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ!
    हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्।
14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो,
    तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।
15 अन्य मानिसहरूका देवताहरू सुन र चाँदीका मूर्तिहरू थिए।
    तिनीहरूका देवताहरू मानिसहरूले बनाएका मूर्तिहरू मात्र थिए।
16 ती मूर्तिहरूका मुखहरू थिए तर बोल्न सक्दैनथे।
    ती मूर्तिहरूका आँखाहरू थिए तर देख्न सक्दैनथे।
17 ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे।
    ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे।
18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्।
    किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे।

19 हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर!
    हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
20 हे लेवीको परिवार, परमप्रभुको प्रशंसा गर!
    हे परमप्रभुको भक्तजनहरू हो, परमप्रभुको प्रशंसा गर!
21 सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो,
    हे यरूशलेम र उहाँको वास-स्थानबाट।

परमप्रभुको प्रशंसा गर।

हामी परमप्रभुको प्रशंसा गरौं! किनभने उहाँ भलो हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
देवहरूका परमेश्वरलाई प्रशंसा गरौं!
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौंष।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो,
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणाआ अनन्तसम्म रहनेछ।
11 परमेश्वरले मिश्रबाट इस्राएललाई ल्याउनु भयो,
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
12 परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
14 परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
15 परमेश्वरले फिरऊन र उनका सैनिकहरूलाई लाल समुद्रमा डुबाई दिनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
17 परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
18 परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
20 परमेश्वरले बाशानका राजा ओग्‌लाई हराउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएललाई दिनुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएललाई दिनुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
23 परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
26 स्वर्गका परमेश्वरको प्रशंसा गरौं।
    उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

हामी बाबेल नदीहरूका किनारमा बसेर
    सियोनलाई सम्झेर रोयौं।
हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
    तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने,
    तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
तर कसरी विदेशमा हामीहरू
    परमप्रभुका गीतहरू गाउन सक्छौं?
हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,
    मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
यरूशलेम यदि मैले तिमीलाई भुलेको भए,
    तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन।
म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ।
    हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार,
    त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।”
हे बेबिलोन, तिमी नाश हुनेछौ!
    त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ,
    जुन दण्डको निम्ति तिमी योग्य थियौ।
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते,
    र तिनीहरूलाई ढुङ्गामा थेचारे।

दाऊदको भजन।

हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

प्रमुख संगीतकारलाई, दाऊदको एक स्तुति-गान।

हे परमप्रभु, तपाईंले मलाई जाँच्नु भयो।
    तपाईं मेरो बारेमा सबै जान्नुहुन्छ।
म कहिले बस्छु र म कहिले उठ्छु तपाईं सबै जान्नुहुन्छ।
    धेरै टाढाबाट नै तपाईं मेरो विचारहरू बुझ्नुहुन्छ।
परमप्रभु, म कहाँ गईरहेको हुन्छ, र कहिले लम्पसार हुन्छु भन्ने सबै कुरा तपाईं जान्नुहुन्छ।
    मैले गर्ने प्रत्येक कुरा तपाईं जान्नुहुन्छ।
हे परमप्रभु, म के भन्न चाहँदछु भन्ने कुरा
    मेरो मुखबाट निस्कनु अघि नै तपाईं जान्नुहुन्छ।
हे परमप्रभु, तपाईं मेरो वरिपरि हुनुहुन्छ, मेरो अगाडि पछाडि र चारैतिर।
    तपाईंले माया गरेर मेरो शिरमा हात राख्नुहुन्छ।
तपाईं यी सबै कुरा जान्नुहुन्छ, भनेर म छक्क परें,
    मलाई यी कुराहरू बुझ्नलाई एकदम कठिन पर्यो।
म जता-जता जान्छु तपाईंको आत्मा त्यता-त्यतै हुन्छ।
    हे परमप्रभु, म तपाईंको सम्मुखबाट फुत्किन सक्दिनँ।
हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ।
    यदि म पातालतर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
परमप्रभु, जहाँ घाम उदाउँछ त्यतै पूर्वतिर गएँ भने, तपाईं त्यतै तिर हुनुहुन्छ।
    यदि म पश्चिम समुद्रतिर गएँ तपाईं त्यतै तिर हुनुहुन्छ।
10 त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ
    अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।

11 हे परमप्रभु, मैले तपाईं देखि लुक्ने कोशिश गरे र भन्छु,
    “दिन रातमा परिर्वतन भएको छ।
    निश्चय रातले मलाई लुकाउनेछ।”
12 तर अन्धकार पनि तपाईंको निम्ति अन्धकार हुँदैन।
    परमप्रभु, तपाईंको निम्ति रात दिन झैं उज्जवल छ।
    तपाईंको निम्ति रात र दिन उस्तै हो।
13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
    म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
    म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।

15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
    जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो,
    तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो,
तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
    तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो।
    कुनै दिन पनि त्यसै खाली गएन।
17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
    हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ।
18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता,
तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
    अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।

19 हे परमेश्वर, दुष्ट मानिसहरूलाई मार्नु होस्।
    त्यस्ता हत्याराहरू मदेखि टाढै राखी दिनुहोस्।
20 ती दुष्टहरूले तपाईंको बारेमा नराम्रा कुराहरू गरे
    तिनीहरूले तपाईंको नाउँको पनि बद्नाम गरे।
21 हे परमप्रभु, म ती मानिसहरूलाई घृणा गर्दछु,
ज-जसले तपाईंलाई घृणा गर्दछन्।
    म ती मानिसहरूलाई घृणा गर्दछु,
    जो तपाईंको विरूद्धमा उठ्दछन्।
22 म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु।
    तपाईंका शत्रुहरू मेरो पनि शत्रुहरू हुन्।
23 हे परमप्रभु, मेरो हृदयमा हेर्नुहोस् अनि मेरो मनलाई जान्नुहुन्छ।
    मलाई जाँच्नुहोस् र मेरो विचारहरू जान्नुहुन्छ।
24 मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्,
    अनि त्यस्तो बाटोमा डोर्याएर लैजानु होस् जुन अनन्त रहनेछ।

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,
    क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।
    तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।
तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।
    त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।

हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,
    क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस,
    तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे।
    तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए।
    तिनीहरूले मेरो बाटोमा पासो थापे।

हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ।
तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।
    तपाईं मेरो मुकुट सरह हुनुहुन्छ,
    जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।
    तिनीहरूले चाहेका कुराहरू नपाऊन्।
    तिमीहरूका योजनाहरू सफल नहोस्।

परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्।
ती मानिसहरूले दुष्ट योजना बनाँउछन्।
    तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,
    मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्,
तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस्
    ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
11 परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्।
    नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई,
निष्पक्ष रूपले न्याय गर्नुहुनेछ
    परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।
    सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।

दाऊदको स्तुति-गान।

हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें।
    मेरो प्रार्थना सुनि दिनुहोस्।
    चाँडो आएर मलाई साथ दिनुहोस्।
परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्,
यो जलिरहेको धूपको उपहार जस्तो होस्
    यो साँझको बेलाको बलिदान जस्तो होस्।

हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्।
    म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्।
मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्,
    दुष्ट मानिसहरूले अनुचित काम गर्छन्,
    मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्।
मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस,
    जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि,
म त्यसलाई दया सम्झने थिएँ।
    तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्।
तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो।
    म ती कुराहरू स्वीकार गरौंला।
तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु।
तिनीहरूका अधिकारीहरूलाई दण्ड होस्
    तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।

मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए।
    यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।
हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें
    म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।
दुष्ट मानिसहरूले मेरो लागि पासो थापे।
    मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।
10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन्
    ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।

यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको “मस्किल” भन्ने प्रार्थना।

म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु।
    म परमप्रभुलाई पुकार्दछु।
म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु।
    म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।
    म त्याग्न तयार छु।
    तर परमप्रभुले मप्रति के हुनु भन्ने कुरा जान्नु हुन्छ।

मैले वरिपरि हेरें,
    अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिनँ।
मेरो भाग्ने ठाउँ कतै छैन।
    कसैले पनि मलाई बचाउँने प्रयास गर्दैन।
यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।
    हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
    परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,
    मलाई तपाईंको अति खाँचो छ।
मलाई खेदने ती मानिसहरूबाट बचाउँनुहोस्,
    तिनीहरू मभन्दा पनि बलिया छन्।
मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस्,
    ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकुँ,
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्।
    किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।

दाऊदको एउटा भजन।

हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।
    मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्।
    तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
मलाई कुनै मामिला नलगाउनु होस्।
    म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ।
    तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।
    तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे।
धेरै बर्ष अघी मरेको मानिस सरह,
    तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
म छोड्न तयार छु,
    म आफ्ना आँट हराई रहेछु।
तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो।
    म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु।
म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु,
    जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।
    बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्।
    मैले आफ्नो आँट हराएँ।
मदेखि टाढा नभाग्नु होस्।
    मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
    म तपाईंलाई भरोसा गर्दछु,
मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्।
    तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।
हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु।
    मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,
    यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्।
तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्,
    अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्,
    अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्,
जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
    किनभने म तपाईंको दास हुँ।

दाऊदको भजन।

परमप्रभुको प्रशंसा गर,
    परमप्रभु मेरो चट्टान हुनुहुन्छ।
परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ।
    उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।
    परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ।
परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ।
    परमप्रभु मेरो ढाल हुनुहुन्छ।
म उहाँमा भरोसा राख्दछु,
    परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।

हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?
    किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
मानिसको जीवन हावाको झोंका मात्र हो।
    मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो।

हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्
    पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।
    तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्।
    मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्।
    मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
ती शत्रुहरू झूटाहरू हुन्।
    तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।

हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक,
कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु।
    म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।
    परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।
    ती शत्रुहरू झूटा छन्।
    तिनीहरूले भनेका कुराहरू असत्य छन्।

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।
    हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्।
    हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्।
त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।
14     हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्।
हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्,
    र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्।
    हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।

15 साँच्चो आशिष पाउनु कति असल कुरा हो।
    यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,
    ती मानिसहरू आशिषित हुन्छन्।

दाऊदको स्तुतिको भजन।

म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
    म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
    म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
    उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
    मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
    म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
    म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
    मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।

परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
    परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
    परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
    तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
    तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
    मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
    तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।

14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
    परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
    अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
    अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
    प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
    जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
    परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
    उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
    तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
    म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।

परमप्रभुको प्रशंसा गरौं!
    हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
    जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
    किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
मानिसहरू मर्दछन् र गाडिन्छन्,
    अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
    ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
    परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
    परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
    परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
    परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
    परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
    तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
    हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।

परमप्रभुको प्रशंसा गरौं!

परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
    परमप्रभुप्रति स्तुतिगान गर!
    उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
परमप्रभुले यरूशलेम बनाउनु भयो।
    परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
    जसलाई कैदी बनाएर थुनिएको थियो।
परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
    तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
परमेश्वरले ताराहरू गन्नुहुन्छ,
    र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
    उहाँको ज्ञान अपार छ।
परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
परमप्रभुलाई धन्यवाद होस्।
    हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
    परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
    परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
    परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
    उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
    परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
    जसले उहाँको प्रेममा भरोसा राख्छन्।
12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
    हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
    अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
    यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
    अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
    यसले तुरन्तै पालन गर्यो।
16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
    परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
    उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
    हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।

19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
    परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
    परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।

परमप्रभुको प्रशंसा गर!

परमप्रभुको प्रशंसा गर!

माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
    परमप्रभुको प्रशंसा गर।
हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
    उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
    आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
    आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
परमप्रभुको प्रशंसा गर!
    किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
    परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
    समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले आगो र हिउँ,
    असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
    फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
    साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
    परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
    परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
    सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
    उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
    मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
    मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!

परमप्रभुको प्रशंसा गर।

परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ!
    महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्तामा आनन्दित होऊन्।
    सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।
ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै,
    परमप्रभु परमेश्वरको प्रशंसा गरून्।
परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ।
    परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो।
    उहाँले तिनीहरूलाई बचाउनु भयो!
हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ।
    सुत्न गइसके पश्चात् पनि खुसी होऊ।

मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून्
    अनि आफ्ना तरवारहरू हातमा लिऊन्।
आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ।
    ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
परमेश्वरका मानिसहरूले ती राजा,
    र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।
परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन्
    परमेश्वरले गर्नु भएको आज्ञा जस्तै,
    परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर।

परमप्रभुको प्रशंसा गर!

परमप्रभुको प्रशंसा गर!

परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
    उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
    उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
    वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
    तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
    बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
    झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!

प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।

परमप्रभुको प्रशंसा गर!

प्रस्तावना

यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्। यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। बुद्धिमान मानिसहरूले यी वचनहरू सुनेर अथवा पढेर आफ्नो ज्ञान बढाइ दिशा निर्देशन पाउँछन्। ती बुद्धिमानी मानिसहरूले यी वचनहरूबाट अझ वेशी ज्ञान विकास गराउँन सक्छन् र अझ ज्ञानी हुन्छन्। अनि त्यस्ता मानिसहरू जो समस्या समाधान गर्न निपुण छन् तिनीहरूले यी वचनहरूबाट अझ ज्ञान-आर्जन गर्छन्। तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन्। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।

परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले[a] अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

उसको छोरोलाई सुलेमानको उपदेश

हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।

10 हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्। 11 त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं। 12 आऊ, हामी त्यस मानिसलाई जसरी चिहानले लाश निल्छ त्यसरी नै सम्पूर्णरूपले त्यसलाई निल्ने छौं, जसरी चिप्लेर कोही गहिरो खाल्डामा झर्छ त्यसरी नै त्यस मानिसलाई शुन्य पार्नेछौं। 13 हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं। 14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।”

15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। 16 किनभने तिनीहरू पाप कर्म गर्न सधैँ अग्रसर रहन्छन् अनि तिनीहरू कसैको हत्या गर्न हतारिन्छन्।

17 बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्। 18 यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ। 19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।

असल स्त्रीको बुद्धि

20 सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे। 21 ज्ञानले भीड गल्लीहरूमा बोलाइरहेकी हुन्छे। ज्ञान नगरको फाटकमा बसेर मानिसहरूलाई बोलाई रहन्छे।

22 ज्ञानले भन्छे, “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ। 23 यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भनें, म जे जान्दछु तिमीहरूलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।

24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ। 25 र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ। 26 यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु। 27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ, जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

28 “तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ। 29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ। 30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस बेला तिमीहरूले मलाई ध्यानै दिएनौ। 31 तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।

32 “अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ। 33 तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैँ सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”

ज्ञानका कुराहरू सुन

मेरो छोरा, म जे भन्छु ग्रहण गर! मेरा आदेशहरू स्मरण गर! ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। ज्ञानलाई बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ। चाँदी खोजे झैं ज्ञान खोज, गाड़-धन खोजे झैं ज्ञान खोज। यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहारा दिनु हुन्छ।

यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ। 10 बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

11 ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ। 12 ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ। 13 यस्ता मानिसहरू ईमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्। 14 तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्। 15 तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिनीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग राख्छ।

16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ। 17 जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली। 18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ र उसको पछि लाग्ने मर्नेछ। 19 जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ। 21 ईमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्। 22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

सही जीवन जीउनाले तिम्रो आयु थपिन्छ

हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर। मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ।

प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथे र गलामा लगाई राख। तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।

तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर। तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ। आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराऊ अनि दुष्कर्मबाट टाडो बस। यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। 10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।

11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। 12 किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।

13 धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो। 14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। 15 ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मुल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।

16 ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ। 17 ज्ञानका मार्गहरू आनन्द दायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ। 18 ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलियो गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ सधैँ धन्य रहन्छन्।

19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो। 20 उहाँको ज्ञानद्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।

21 हे मेरो छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझेलमा नपार। विजयहरूमा नियालेर सोंच अनि होशियारीसित योजनाहरू बनाऊ। 22 ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ। 23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्ने छौ कतै पल्टने छैनौ। 24 जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ। 25 तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु। 26 किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।

27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। 28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।

29 तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छ अनि तिमीमाथि भरोसा गर्छन्।

30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।

31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। 32 किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

33 दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि ईमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।

34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।

35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

ज्ञानको महत्व

हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ। म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।

एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो। अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ। ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु। ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।

“सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच। ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अङ्गाल यसले तिमी मा सम्मान ल्याउनेछ। उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।”

10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ। 11 म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु 12 जब तिमी अघि बढ्छौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन। 13 अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।

14 दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिँड। 15 यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्‌यूँ फर्काई देऊ अनि टाढा हिँड। 16 दुष्ट मानिसहरू दुष्टयाईं नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन् तिनीहरू निदाउँ नै सक्तैनन्। 17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।

18 तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ। 19 दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खान्छ।

20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। 21 ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामनेबाट टाढा नराख। 22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। 23 सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।

24 तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ झूटो नबोल। 25 तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। 26 तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ। 27 दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

व्यभिचारबाट जोगाऊने ज्ञान

हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन। यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओंठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्। कारण पर-स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ। तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुइ धारे तरवार जस्तै धारिलो हुन्छ। पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्। उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।

यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ। नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यसद्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ। 10 यस्तो चाँहि नहोस् कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्। 11 जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला। 12-13 तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो? मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ। 14 म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।”

15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर। 16 तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्। 17 त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्। 18 तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर। 19 ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैँ तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैँ बाँधोस्। 20 हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अङ्गालो हाल्नै पर्छ?

21 परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ। 22 एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ। 23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।

कुनै मानिसलाई ऋण लिन सहायता गर्दा खतरा

हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए, तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ। तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसँग क्षमा माग। अलिकति समय पनि नपर्ख अथवा नसुत। मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।

अल्छी हुँदा खतरा

हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन। तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, खाना जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।

हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। 10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” 11 अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

दुष्ट मानिस

12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि 13 उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ। 14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ। 15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।

सातवटा कुराहरू जुन परमेश्वर घृणा गर्नुहुन्छ

16 परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,:
17     आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ,
    जिब्राहरू जसले झूटो बोल्छ,
    हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ,
18     हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन्
    गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
19     त्यो मानिस जसले अदालतमा झूटो बोल्छ।
    त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा़़ लगाउँछ।

20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। 21 उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख। 22 जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्। 24 तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ। 25 उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन। 26 एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे। 27 जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाँहि जल्दैन र? 28 एउटा मानिस बल्दै गरेको कोइला माथि हिँड्न सक्छ, के उसको खुट्टा चाँहि जल्दैन र? के यस्तो हुन सक्छ? 29 जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।

30-31 कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्। 32 तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ। 33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन। 34 त्यस पर-स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति कहिल्यै दया जाग्दैन। 35 त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिँदैनँ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International