Bible in 90 Days
20 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।
21 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें। 22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”
23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।”
शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे। 24 त्यस स्त्रीले आफूसँग भएको बलियो बाछो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई। 25 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।
दाऊद हामीसित आउनसक्दैन
29 पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले। 2 पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।
3 पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?”
आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुन्। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”
4 तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा ऊ फर्कनु पर्छ। रणभूमिमा ऊ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ। 5 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः
‘शाऊलले हजार शत्रुहरू मारे,
तर दाऊदले दश हजार मारे।’”
6 यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्। 7 शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।”
8 दाऊदले सोधे, “मेरो गल्ती के हो? जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?”
9 आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’ 10 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”
11 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाँहि यिज्रेल तिर बढे।
अमालेकीहरूले सिकलगमाथि आक्रमण गरे
30 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए। 2 तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।
3 जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्। 4 त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए। 5 अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।
6 सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए। 7 दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस्।”
8 दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौं? म तिनीहरूलाई पक्रन सक्छु?”
परमप्रभुले भन्नु भयो, “तिनीहरूलाई पछ्याऊ, तिनीहरूलाई पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बँचाउन सक्छौ।”
दाऊद र तिनका मानिसहरूले मिश्री दासलाई पाउँछन्
9-10 दाऊद आफ्ना साथमा 600 मानिसहरू लिएर बसोर खोल्सामा गए। त्यो ठाउँमा झण्डै 200 मानिस त्यहीं बसे। त्यहाँ बस्नुको कारण तिनीहरू धेरै कमजोर थिए र थाकेका पनि थिए, यसकारण दाऊद 400 मानिसहरू लिएर अमालेकीहरूलाई लगातार पछ्याउन थाले।
11 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए। 12 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाएपछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।
13 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?”
त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए। 14 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”
15 दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?”
त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”
दाऊदले अमालेकीहरूलाई हराउँछन्
16 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए। 17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए।
18 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे। 19 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे। 20 सबै भेंडा, बाख्रा, गाई, गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”
भागबण्डा सबैमा बराबर हुने
21 दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए। 22 दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”
23 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो। 24 तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।” 25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।
26 दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”
27 दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा, 28 अरोएर, सिपमोत, एस्तमो, 29 राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा, 30 होर्मामा, बोराशानमा, अत्ताकमा, 31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।
शाऊलको मृत्यु
31 पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए। 2 पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।
3 त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए। 4 शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।
5 नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो। 6 यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।
पलिश्तीहरूले शाऊलको मृत्युमा आनन्द मनाए
7 बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे।
8 अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए। 9 पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए। 10 तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लास चाँहि बेतशानको भित्तामा झुण्डाए।
11 याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने। 12 यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए। 13 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्।
दाऊदले शाऊल मरेको थाहा पाउँछन्
1 दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे। 2 तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।
3 दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”
त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”
4 दाऊदले भने, “मलाई भन, के भयो?”
त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”
5 दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”
6 त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए। 7 शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए। 8 तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। 9 अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’ 10 उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरें कि उनी जीउने छैनन्। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालें, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”
11 दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे। 12 तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।
दाऊदले त्यस अमालेकिलाई मार्ने आदेश दिन्छन्
13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”
त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा, एक अमालेकी हुँ।”
14 दाऊदले सैनिकलाई भने, “परमप्रभुद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”
15-16 तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफैं हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्। तेरो आफ्नै भनाईमा तँ दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।
शाऊल र जोनाथनको लागि दाऊदको दुःखपूर्ण गीत
17 शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए। 18 यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई “धनु” भनियो। याशारको पुस्तकमा[a] यो लेखिइएको छ।
19 “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो।
साँच्चै, कसरी ती वीरहरू लडे!
20 गातमा यो समाचार नभन।
अश्कलोनका बाटाहरूमा यो प्रचार नगर,
ती पलिश्ती शहरहरूले खुशी मनाउँछन्
ती विदेशीहरू रमाउने छन्।
21 “म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा
पानी अथवा शीत झर्ने छैन।
म यो पनि आशा गर्छु
ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्।
ती वीरहरूका ढालमा खिया लाग्यो
शाऊलका ढालमा तेल मोलिएन।
22 जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो
अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो।
जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए।
तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।
23 “शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे
र जीवनको आनन्द मनाए,
अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन।
तिनीहरू एउटा गरूड भन्दा छिटो थिए
र एउटा सिंह भन्दा बलिया थिए।
24 इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले
तिमीहरूलाई राता लुगाहरू दिए
र सुनका गहनाले ढाकिदिए।
25 “बलिया मानिसहरू युद्धमा ढले,
जोनाथन गिल्बोको टाकुरामा मरे।
26 हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ।
मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ
तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो,
स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।
27 बलिया योद्धा रणभूमिमा नै ढले
अब युद्धका हतियारहरू रहेनन्।”
दाऊद र तिनका मानिस हेब्रोनतर्फ लागे
2 पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”
परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”
दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”
परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”
2 त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।) 3 दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे।
4 यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”
5 दाऊदले उसका दूतहरूलाई याबेश गिलादमा पठाए। याबेशमा दूतहरूले भने, “परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिउन्। तपाईंको स्वामी शाऊल खरानी भएको कारण 6 परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ। 7 अब बलियो र साहसी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”
ईश्बोशेत राजा भए
8 नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे। 9 गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।
10 ईश्बोशेत शाऊलका छोरा थिए। उसले इस्राएलमाथि शासन गर्दा उनी 40 बर्षका थिए। उनले 2 बर्ष शासन गरे। तर यहूदाका परिवार समूहले दाऊदलाई पच्छ्याए। 11 दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साढे सात बर्ष शासन गरे।
कडा प्रतिद्वन्द
12 नेरका छोरा अबनेर र शाऊलका छोरा ईश्बोशेतका अधिकारीहरूले महनैम त्यागे र गिबोन गए। 13 सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।
14 अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।”
योआबले भने, “ठीक छ होडबाजी होस्।”
15 यसकारण सैनिकहरू उठे। दुइ समूहमा आफ्ना आफ्ना सैनिकहरूको संख्या निर्धारण गरे। तिनीहरूले बाह्रा सैनिक बिन्यामीन समूहबाट शाऊलको छोराको पक्षमा छाने। तिनीहरूले दाऊदका अधिकारीहरूबाट बाह्र जना मानिसहरू छाने। 16 प्रत्येक मानिसले शत्रु सेनाहरूको शिर समाते अनि उसको कोखामा आफ्नो तरवार रोपिदिए। तब तिनीहरू लडे अनि एकैसाथ मरे। यसैकारणले यस ठाउँको नाउँ, “धारिलो छुरिहरूको मैदान” भनिन थालियो। त्यो ठाउँ गिबोनमा छ। 17 त्यो होडबाजीले भयंकर युद्धको रूप लियो अनि दाऊदका अधिकारीहरूले त्यस दिन अबनेर र इस्राएलीहरूलाई हराए।
अबनेरले असाहेललाई मार्छन
18 सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे। 19 असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले। 20 अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?”
असाहेलले भन्यो, “हो, मै हुँ।”
21 अबनेरले असाहेललाई कुनै घात गर्न चाहेका थिएनन्। यसकारण अबनेरले भने, “मलाई नखेद-बरू कुनै अर्को सैनिकलाई खेद। तिमीले उसलाई जित्ने छौ अनि उसको हतियार लैजाऊ।” तर असाहेलले अबनेरलाई खेद्न छोडेनन्।
22 फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।”
23 तर असाहेलले उसलाई पिछा नगर्न इन्कार गरे। यसकारण अबनेरले आफ्ना भालाको टुप्पोले असाहेलको भुँडीमा उनिदियो। भाला असाहेलको पछाडिपट्टि निस्कियो। अनि असाहेल त्यँही मर्यो।
योआब र अबीशैले अबनेरलाई खेदे
असाहेलको लास भुइँमा लड्यो। मानिसहरूले हतार-हतार गएर हेरे। 24 तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सूर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो।) 25 बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।
26 अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैँ एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दाज्यू-भाइहरूलाई नखेद्नु भनेर भन।”
27 तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।” 28 यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्।
29 अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे।
30 योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्। 31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्। 32 दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे।
योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो।
इस्राएल र यहूदाको माझमा युद्ध
3 शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन-दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।
हेब्रोनमा दाऊदका छ जना छोराहरू जन्मिए
2 दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे।
अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।
3 माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्।
साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्।
4 काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्।
अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्।
5 कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।
अबनेरले दाऊदका टोलीमा सामेल हुने बिचार गरे
6 जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर साह्रै बलिया भए। 7 शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”
8 ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साह्रै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइनँ। मैले दाऊदलाई तिमीलाई हराउन दिइनँ। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइनँ।[b] अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीस उठाउनु हुन्छ। 9-10 अब म प्रतिज्ञा गर्छु म त्यो साँच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।” 11 ईश्बोशेतले केही भन्नुको सट्टा डरायो।
12 अबनेरले दाऊदकहाँ दूत पठाए। अबनेरले खबर दियो, “यो भूमिमा कसले शासन गर्नु पर्छ हामी बिचमा त्यहाँ एउटा सन्धि होस् अनि म तिमीलाई इस्राएलका शासक बन्नमा सहायता गर्छु।”
13 दाऊदले जवाफ दिए, “ठीक छ! म एउटा सन्धि गर्छु। तर म तिमीलाई एउटा शर्त राख्छुः जब सम्म तिमी शाऊलकी छोरी मीकललाई लिएर मकहाँ आउँदैनौ म तिमीसित भेट गर्ने छौन।”
14 दाऊदले शाऊलका छोरा ईश्बोशेत कहाँ दूत पठाए। उसको सन्देश थियो, “मेरी पत्नी मीकल मलाई फर्काई देऊ। तिनी मेरो प्रतिज्ञा थिइन्। तिनलाई पाउँनका निम्ति मैले एकसय पलिश्तीहरू मारें।”
15 तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए। 16 मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए।
17 अबनेरले इस्राएलका अगुवाकहाँ खबर पठाए। तिनले भनिपठाए, “तिमीहरू दाऊदलाई आफ्ना राजा बनाउन चाहिरहेका छौ। 18 अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’”
19 अबनेर बिन्यामीनहरूसित पनि यस विषयमा बोले तब उसले हेब्रोनमा इस्राएलका मानिसहरूले के गर्न चाहन्थे अनि बिन्यामीन कुल समूहले पनि के गर्न चाहन्थे भन्नलाई दाऊद भएकहाँ गए।
20 त्यसपछि अबनेर हेब्रोनमा दाऊदकाहाँ आए। तिनले बीस जना मानिसहरू लिएर आएका थिए। दाऊदले अबनेर र तिनका मानिसहरूको लागि भोज गराए।
21 अबनेरले दाऊदलाई भने, “मेरा मालिक राजा, मलाई इस्राएलीहरू तपाईं भएकाहँ ल्याउन दिनुहोस्। त्यसपछि तिनीहरूले तपाईंसँग एउटा सम्झौता गर्नेछन्। अनि तपाईंले चाहानु भए जस्तै इस्राएलमाथि शासन गर्नुहोस्।”
दाऊदले अबनेरलाई जानदिए। अनि अबनेर शान्तिसँग गए।
अबनेरको मृत्यु
22 योआब र दाऊदका अधिकारी युद्धबाट फर्किएर आए। तिनीहरूले धेरै बहुमूल्य चीजहरू शत्रुपक्षबाट जम्मा गरे। दाऊदले अबनेरलाई शान्तिसित पठाईसकेका थिए। त्यसै कारण अबनेर हेब्रोनमा दाऊदसँग थिएनन्। 23 योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।”
24 योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई किन केही गर्नु भएन? 25 तपाईंले अबनेरलाई (नेरका छोरा) चिन्नु हुन्छ। ती तपाईंलाई धोकादिन आएका हुन्। ती तपाईंको कामकाजहरू अध्ययन गर्न आएका हुन्।”
26 योआबले दाऊदलाई छोडेर गयो। उसले सीराको पोखरीको छेउमा भएका दूतहरूलाई अबनेरकहाँ पठायो। दूतहरूले अबनेरलाई फर्काएर ल्याए तर यो कुरा दाऊदले थाहा पाएनन्। 27 जब अबनेर हेब्रोन पुगे योआबले उसलाई मूल द्वारको छेउमा ऊ सित गोप्य कुरा गर्न भनि लागे अनि योआबले अबनेरको भुँडीमा छुरी हान्यो। अबनेर तत्कालै मरे। अबनेरले योआबका भाइ असाहेललाई मारेका थिए। यसकरण अहिले योआबले अबनेरलाई मारे।
अबनेरका मृत्युमा दाऊद रोए
28 पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ। 29 योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साह्रै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।”
30 अबनेरले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाइ अबिशैले अबनेरलाई मार्यो।
31-32 दाऊदले योआब र तिनका सम्पूर्ण मानिसहरूलाई भने, “लगाएका लुगाहरू च्यातेर शोकाकुल वस्त्र धारण गर।” अबनेरलाई हेब्रोनमा गाडे। दाऊद पनि मलामी गए। राजा दाऊद र सम्पूर्ण मानिसहरू अबनेरको चिहानमा रोए।
33 राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः
“के अबनेर मूर्ख अपराधी झै मरे?
34 अबनेर, तिम्रा हातहरू बाँधिएका थिएनन्।
तिम्रा खुट्टाहरूमा साङ्गली बाँधिएको थिएन।
होइन, अबनेर, तिमीलाई दुष्ट मानिसहरूद्वारा मारीयो।”
तब सबै मानिसहरू तिनको मृत्यु शोकमा फेरि रून थाले। 35 दिनभरि नै मानिसहरू आएर दाऊदलाई भोजन ग्रहण गर्न अनुरोध गरे। तर दाऊदले प्रतिज्ञा गरेका थिए। उसले भने, “यदि घाम अस्ताउनु अघि मैले भोजन ग्रहण गरें भने परमेश्वरले मलाई धेरै दुःखहरूले दण्ड दिऊन्।” 36 सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। 37 यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा।
38 राजा दाऊदले उसका अधिकारीहरूलाई भने, “तिमीहरूलाई त्यो थाहा छैन आज इस्राएलका एक महत्वपूर्ण अगुवाको मृत्युभयो। 39 आज म नयाँ राजा भए तापनि, कमजोर छु अनि यी सरूयाहको छोराहरू जसले मलाई धेरै दुःख दिएका छन्। म आशा गर्छु परमप्रभुले यी दुष्ट काम गर्नेलाई तिनको दुष्टताको निम्ति सजाय दिनुहुनेछ।”
शाऊलको परिवारमा समस्या
4 शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए। 2 दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए 3 तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)
4 शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच बर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढा भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो।
5 बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए। 6-7 रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे। 8 हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुम्पे।
रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।”
9 तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ। 10 तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ। 11 यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बद्ला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।”
12 यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।
इस्राएलीहरूले दाऊदलाई राजा बनाउँछन्
5 त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौं! 2 जब शाऊल हाम्रा राजा थिए, त्यस समयमा पनि तपाईं इस्राएलका सैनिक अगुवा हुनुहुन्थ्यो। तपाईंले हामीलाई युद्धमा डोर्याउँनु भयो अनि तपाईंले हामीलाई युद्धबाट पछि फर्काएर ल्याउनु भयो अनि परमप्रभुले पनि तपाइलाई घोषणा गरिसक्नु भएकै छ, ‘तिमी मेरा मानिसहरूको गोठालो हुनेछौ, र इस्राएलीहरू माथि शासक हुनेछौ।’”
3 यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।
4 जब दाऊद राजा भए उनि 30 बर्षका थिए। 40 बर्षसम्म तिनले शासन गरे। 5 हेब्रोनमा तिनले यहूदामाथि साढे सात बर्ष शासन गरे अनि इस्राएल र यहूदामाथि यरूशलेममा 33 बर्ष शासन गरे।
दाऊदले यरूशलेम शहरलाई जित्छन्
6 राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरूद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्न सक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्गडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्न सक्दैन भन्ने विचार थियो। 7 तर दाऊदले सियोन कै किल्ला जिते। त्यस किल्लालाई दाऊद शहर बनाइयो।)
8 त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरूङको पर्खाल भित्र भएर ‘अन्धा र लङ्गडा’ शत्रु भएकहाँ पुग।” यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्गडाहरू पवित्र स्थानहरूमा आउन पाउँदैनन्।”
9 दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। 10 दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।
11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। 12 तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।
13 दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। 14 यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान, 15 यिमार, एलीशू, नेपेग, यापि, 16 एलीशमा, एल्यादा तथा एलीपेलेत।
दाऊद पलिस्तीहरू बिरूद्ध लडछन्
17 पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए। 18 पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।
19 दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”
परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”
20 तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे। 21 पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।
22 फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।
23 दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर। 24 पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”
25 परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।
परमेश्वरको पवित्र सन्दूक यरूशलेम पुर्याइयो
6 दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए। 2 तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाँहि यी परीहरूका माझमा राजा झैं बस्नु भएको छ। 3 पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।
4 यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडे र गाडीलाई मार्ग प्रदर्शन गरे। 5 दाऊद अनि इस्राएलीहरू नाच्दै र सँगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा सँगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंख, काठका बाजाहरू अनि झ्यालीहरू थिए। 6 जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडी तान्नेहरू ठेस् खाए। गाडीमा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लड्नदेखि रक्षा गरे। 7 तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो। 8 दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभुद्वारा उज्जा मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।
9 त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” 10 दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। 11 उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।
12 पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए। 13 जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए। 14 परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।
15 दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले। 16 शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।
17 दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
18 होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए। 19 प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।
मीकलले दाऊदलाई गाली र्गछिन्
20 दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेट्न आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैंलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”
21 तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैंले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु। 22 म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”
23 शाऊलकी छोरी मीकलको एउटा पनि नानी भएन। तिनी नानी नजन्माई मरीन्।
दाऊदले मन्दिर बनाउन चाहे
7 राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो। 2 राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”
3 नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।”
4 तर त्यही रात परमप्रभुको आदेश नातानलाई आउँछ। परमप्रभु भन्नुहुन्छ,
5 “मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ। 6 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैँ पालमै थिएँ। पाल नै मेरो घर थियो। 7 मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिनँ। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’
8 “मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। 9 तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु। 10-11 म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्। शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्यायकर्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन।
12 “‘जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु। 13 उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु। 14 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्। 15 तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हट्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन। 16 तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।’”
17 नातानले दर्शनको विषयमा दाऊदलाई भने। उसले परमेश्वरका वचनको विषयमा प्रत्येक कुराहरू दाऊदलाई बताए।
दाऊदले परमेश्वरलाई प्रार्थना गर्छन्
18 तब राजा दाऊद परमप्रभुको सामुने बसे। दाऊदले भने,
“हे परमप्रभु तपाईंले मेरो परिवालाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु। तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो? 19 म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो? 20 मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन। 21 तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौं। 22 परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।
23 “तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो। 24 तपाईंले इस्राएलका मानिसहरूलाई सधैँको निम्ति आफ्नो बनाउनु भयो। अनि परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो।
25 “अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिंदैहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्। 26 तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’
27 “तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ। 28 परमप्रभु मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घट्ने छन्। 29 मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैँ तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैंले यसो भन्नु भएको थियो। तपाईं आफैंले मेरा परिवारलाई सधैँ भरिको निम्ति आशीर्वाद दिनुभयो।”
दाऊदले धेरै युद्धहरू जित्छन्
8 पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भागमाथि अधिकार जमाए। 2 दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।
3 रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे। 4 दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए।
5 दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे। 6 त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।
7 दाऊदले हददेजेरका सेवकहरूबाट सुनका ढालहरू लिए। दाऊदले ती ढालहरू येरूशलेममा ल्याए। 8 दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवह र बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।)
9 हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने। 10 यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए। 11 दाऊदले ती सम्पूर्ण सामानहरू परमप्रभुमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपर्ण गरेका सामानहरूसँगै ती सामानहरूराखे। 12 दाऊदले अराम, मोआब, अम्नोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए। 13 दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कंदा साह्रै ख्याती कमाए। 14 दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता-ततै विजय दिलाउनु भयो।
दाऊदको शासन
15 दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे। 16 सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए। 17 अहीतूबका छोरा सादोक र एबीयातारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। 18 यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाँहि प्रमुख थिए।
शाऊलका परिवार प्रति दाऊद दयालु बन्छन्
9 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”
2 शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”
सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”
3 राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”
सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।”
4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”
सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”
5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। 6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।
दाऊदले भने, “मपीबोशेथ?”
मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”
7 दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।”
8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”
9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। 10 तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।”
सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए। 11 सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”
यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले। 12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने। 13 मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।
हानूनले दाऊदका मानिसहरूलाई लज्जित बनाउँछन्
10 पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए। 2 दाऊदले भने, “नाहाश मप्रति उद्धार थिए यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।
यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए। 3 तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्तवना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरूद्ध युद्ध गर्ने योजना हो।”
4 यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।
5 जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइन्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”
अम्मोनीहरूको विरूद्धमा युद्ध
6 अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।
7 दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए। 8 अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।
9 योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे। 10 तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए। 11 योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस् र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु। 12 हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”
13 त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे। 14 अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।
यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।
अरामीहरूको फेरि युद्ध लड्ने विचार
15 अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे। 16 हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।
17 दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे।
अरामीहरू तयारै थिए र धावा बोले। 18 तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।
19 हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।
दाऊद बेतशेबासँग मिल्छन्
11 बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।
तर दाऊद यरूशलेममा नै बसे। 2 साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्। 3 त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।”
4 दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्। 5 र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्।
दाऊदले आफ्नो पाप लुकाउन चाहे
6 दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउँनु।”
यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए। 7 उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे। 8 तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।”
उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए। 9 तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते। 10 नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।”
त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”
11 उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।”
12 दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।”
उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे। 13 त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।
दाऊदको उरियाहलाई मार्ने योजना
14 अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए। 15 पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”
16 जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्टाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने। 17 रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।
18 तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए। 19 योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए। 20 योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्। 21 के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।’”
22 दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए। 23 दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्दै भगायौं। 24 तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।”
25 दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिरूद्धमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।”
दाऊदले बेतशेबालाई विवाह गर्छन
26 बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई गर्छिन्। 27 तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कु-कर्म ठीक लागेको थिएन।
नातानको दाऊदसँग कुराकानी
12 परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब। 2 त्यस धनी मानिसका धेरै भेंडा र पशुहरू थिए। 3 तर त्यस गरिब मानिसको एउटा किनेको भेंडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।
4 “तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेंडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेंडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”
5 दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। 6 उसले भेंडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”
नातानले दाऊदलाई उसको पाप कर्मबारे भने
7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ। 8 मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए। 9 यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो? 10 यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
© 2004, 2010 Bible League International