Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 8:1-23:11

परमप्रभुको सम्झना

“आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्। बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।

“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुशरण गर्नुपर्छ। उहाँलाई अनुशरण गर अनि सम्झना गर। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ। त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ। 10 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।

परमप्रभुले जे गर्नु भयो नबिर्स

11 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर। 12 तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ। 13 तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। 14 जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। 15 परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूख्खा मरुभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो। 16 मरुभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो। 17 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’ 18 परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।

19 “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेतावनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ। 20 तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”

परमप्रभु इस्राएलीहरूलाई साथ दिनुहुन्छ

“हे इस्राएली मानिसहरू हो, सुन! आज तिमीहरू यर्दन नदी तरेर तिमीहरूभन्दा शक्तिशाली र महान् राष्ट्रहरूलाई तिनीहरूको भूमिबाट निकाल्न जाँदैछौ। तिनीहरूका शहरहरू ठूला-ठूला र आकाश समान अग्ला-अग्ला पर्खाल छन्। त्यहाँका बासिन्दाहरू अनाकीहरू हुन र तिनीहरूको विषयमा तिमीहरू जान्दछौ। तिनीहरू अग्ला-अग्ला र बलिया हुन्छन् जासूसहरूले ‘तिनीहरूलाई कसैले जित्न सक्तैन’ भनेको सुनेका छौ। आज तिमीहरूले त्यो निश्चय गर परमप्रभु तिमीहरूका परमेश्वर जो तिमीहरूको अघि जानु हुनेछ, जो भस्म गर्ने आगो झैं हुनुहुन्छ, ती जातिहरूका मानिसहरूलाई तिमीहरूको अघि लड्ने बनाउनु हुनेछ अनि उहाँले तिनीहरूलाई नष्ट गर्नु हुनेछ अनि तिमीहरूले तिनीहरूलाई चाँडै तिनीहरूको भूमिहरूबाट लखेटेर ध्वंश पार्नेछौ। परमप्रभुले तिमीहरूसित यस्तो हुनेछ भनेर प्रतिज्ञा गर्नु भएको थियो।

“परमप्रभु तिमीहरूका परमेश्वरले ती राष्ट्रका मानिसहरूलाई तिमीहरूको निम्ति देशबाट निकाली दिनु हुनेछ। तर तिमीहरू आफैं यस्तो नभन, ‘तिमीहरू धार्मिक मानिसहरू हौ!’ यसकारण परमप्रभुले तिमीहरूलाई त्यहाँ बसाउन ल्याँउनु हुँदैछ। कारण के हो भने तिमीहरू धार्मिक मानिसहरू भएकाले होइन तर ती मानिसहरू नै दुष्ट भएकाले तिनीहरूलाई आफ्नो भूमिबाट बाहिर निकालिंदैछ। तिमीहरू तिनीहरूको भूमिमा बस्न प्रेवश गर्दैछौ, तर यसको कारण यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ र सही तरिकाले जीवन यापन गर्छौ। तर तिनीहरूको दुष्टयाँइले गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई निकाल्नु हुँदैछ र तिमीहरू त्यहाँ प्रवेश गर्दैछौ। यसो गरेर परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक अनि याकूबसित गरेको प्रतिज्ञा पूरा गर्नु हुँदैछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल भूमि दिनु हुँदैछ, तर तिमीहरूले जान्नु आवश्यक छ परमप्रभुले यसो गर्नुको अर्थ यो होइन तिमीहरू धार्मिक मानिसहरू हौ। सत्य यो हो कि तिमीहरू हठ्ठी मानिसहरू हौ।

परमप्रभुको रीस सम्झना गर

“नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरुभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुन्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ। होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो। म चेप्टा ढुङ्गाहरू लिनु पहाडमा गएँ जसमा परमेश्वरले गरेको करार लेखिएको थियो। म त्यहाँ पहाडमाथि चालीस दिन अनि चालीस रात केही नखाइ अथवा पानीसम्म न पिइ बसें। 10 ती शिला-पाटीमा आफ्नै औंलाले तिमीहरू जुन दिन पर्वतमा सँगै भेला भएका थियौ त्यसदिन उहाँले तिमीहरूलाई आगोद्वारा भन्नु भएका सबै आज्ञाहरू लेख्नु भयो।

11 “यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो। 12 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, ‘उठ अनि चाँडै तल गई हाल। तिमीले मिश्रदेशबाट ल्याएका मानिसहरू आफैं नष्ट भइरहेका छन्। यति चाँडै तिनीहरूले मेरो आज्ञाहरू पालन गर्नु छोडे। तिनीहरूले सुन पगालेर आफ्नो निम्ति मूर्ति बनाएका छन्।’

13 “परमप्रभुले मलाई यसो पनि भन्नुभयो, ‘यी मानिसहरू अति हठी छन्, मैले निरीक्षण गरें। 14 मलाई यी मानिसहरू नष्ट पार्न दिइयोस् जसले गर्दा म तिनीहरूको नाउँ स्वर्गबाट मेटाउन सकूँ। त्यसपछि म तिमीहरूलाई तिनीहरूभन्दा महान् र धेरै शक्तिशाली राष्ट्र बनाउनेछु।’

सुनको बाछो

15 “पर्वत जलिरहेको थियो, करार लेखिएको दुइवटा शिला-पाटीहरू मेरो हातमा थियो। म पर्वतबाट तल ओर्लिएँ मैले हेरें। 16 अनि मैले देखें कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ। 17 यसकारण मैले ती पाटीहरू तल फ्याँकी दिएँ अनि मेरो आँखाअघि नै ती टुक्रा-टुक्रामा परिणत भए। 18 त्यसपछि अघिकै झैं चालीस दिन चालीस रातसम्म केही नर्खाइ पानीसम्म पनि नपिई परमप्रभु अघि भूइँमा घोप्टिएर शरण परें। तिमीहरूले धेरै पाप गरेको कारण मैले त्यसो गरें। परमप्रभुको निम्ति जुन अनिष्ट थियो त्यही गरेर परमप्रभुलाई क्रोधित तुल्यायौ। 19 उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो। 20 परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें। 21 तिमीहरूले बनाएको भयानक बाछाको मूर्ति मैले आगोमा जलाएँ, टुक्रा-टुक्रा पारेर धुलो बनाएँ अनि त्यसपछि पर्वतबाट बगेर आएको खोलामा बगाई दिएँ।

मोशा इस्राएलीहरूलाई क्षमा दिनु भनी परमप्रभुलाई भन्दछन्

22 “तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ। 23 अनि जब परमप्रभुले तिमीहरूलाई कादेशबर्ने छोड्ने आज्ञा दिनु भएको थियो तर तिमीहरू मानेनौ। उहाँले भन्नुभएको थियो, ‘जाऊ, मैले दिएको भूमि लेऊ।’ तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँलाई अविश्वास गर्यौ अनि उहाँको आज्ञा मानेनौ। 24 मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।

25 “यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो। 26 मैले परमप्रभुलाई प्रार्थना गरें र भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन् र यिनीहरूलाई नष्ट नगर्नुहोस्। 27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठ्ठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्। 28 यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, “परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरुभूमिमा लैजानु भयो।” 29 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।’

करारको नयाँ शिला-पाटी

10 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुइवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ। पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’

“यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए। पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो। म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”

(इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे। तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए। त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो। यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।)

10 “पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो। 11 परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’

साँच्चै परमप्रभु के चाहनुहुन्छ

12 “इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ। 13 यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।

14 “आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्। 15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको सट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।

16 “हठ्ठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर। 17 किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन। 18 टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ। 19 यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।

20 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ। 21 परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ। 22 जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।

परमप्रभुको सम्झना गर

11 “यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैँ उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुशरण गर्नुपर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ। तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ। मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्‌दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो। तिमीहरू यस भूमिमा आई नपुगुन्जेल मरुभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के-के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ। रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्। तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।

“यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ। जुन भूमि धेरै असल-असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ। 10 जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो। 11 तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ। 12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि बर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।

13 “परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर। 14 यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ। 15 अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’

16 “मूर्ख नबन, सधैँ सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर। 17 यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।

18 “मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्। 19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ। 20 यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख। 21 तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।

22 “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन। 23 तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ। 24 तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरुभूमिसम्म हुनेछ। 25 परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।

इस्राएलको चाहना, आशीर्वाद अथवा सराप

26 “आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ। 27 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ। 28 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ।

29 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ। 30 यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्। 31 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ 32 तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।

परमेश्वरको आराधना गर्ने स्थान

12 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिन्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्। तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव-देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।

“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्। तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ। त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।

“अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौं। किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै हुनुहुन्छ। 10 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ। 11 तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नु हुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ। 12 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ। 13 तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ। 14 परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।

15 “जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ। 16 तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।

17 “तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू। 18 तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ। 19 तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।

20-21 “उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ। परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ। 22 तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ। 23 तर रगत नखाने निधो गर्नुपर्छ। किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन। 24 पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन। 25 परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।

26 “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ। 27 होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ। 28 आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैँ भलो हुनेछ।

29 “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ। 30 त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूटो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’ 31 परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।

32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।

झूटा अगमवक्ताहरू

13 “कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ। उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’ त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला। परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड। अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।

“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी सँग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ (यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्। ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।) त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसको कुराहरू नसुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड। 9-10 होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो। 11 तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।

12 “परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय ती शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराम्रो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ 13 केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)। 14 त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने। 15 ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ। 16 तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहोस्। 17 त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ। 18 यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।

इस्राएलीहरू परमेश्वरका बिशेष मानिसहरू

14 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।[a] किनभने तिमीहरू अरू मानिसहरूभन्दा भिन्दै हौ। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हौ। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।

इस्राएलीहरूलाई खानु अनुमति दिइएका खाद्य वस्तुहरू

“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ। तिमीहरूले यी पशुहरू खान सक्छौः गोरू, गाई, भेंडा, बाख्रा, मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेंडाहरू। खुर दुइ भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ। तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुइ भागमा चिरिएको छैन। यसकारण यी पशुहरू तिमीहरूकालागि खानलाई शुद्ध होइनन्। अनि तिमीहरूले सुँगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सुँगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सुँगुर तिमीहरूले नछुनु।

“पानीमा भएका प्राणीहरूमा जसको पखेंटा र कत्ला हुन्छ त्यो खानु सक्छौ। 10 तर पानीमा हुने प्राणीहरूमा जसको पखेंटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

11 “तिमीहरूले कुनै पनि शुद्ध पंक्षी खान सक्छौ। 12 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध, 13 सबै प्रकारको रातो चील र कालो चील, 14 सबै प्रकारका काग 15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्री-हाँस, सबै प्रकारको बेसारा, 16 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, 17 मरुभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग, 18 साँरस, सबै प्रकारको बकुल्लो, फाप्रेचरो अथवा चमेरो।

19 “पखेंटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्। 20 तर तिमीहरू सबै शुद्ध चराहरू खानु सक्छौ।

21 “यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।

“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

दशांश दिने निर्देशन

22 “तिमीहरूले प्रत्येक बर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ। 23 तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेंडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैँ परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ। 24 तर त्यो निर्धारित ठाउँ टाढो भए तिमीहरू आफ्नो अन्नहरूको दशांश लिएर जानु नसक्ने पनि हुन सक्छौ। यस्तो भएको खण्डमा, 25 त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ। 26 तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेंडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ। 27 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।

28 “प्रत्येक तीन बर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश सँग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार। 29 यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा-टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

ऋण मुक्त हुने विशेष बर्ष

15 “प्रत्येक सात बर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ। तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किनभने परमप्रभुले यस बर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ। तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ। तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै-धेरै आशीर्वाद दिनु हुनेछ। तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपियाँ हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर। त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।

“सातौं बर्ष जो ऋण माफ गरिने बर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।

10 “तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ। 11 त्यो भूमिमा सधैँ गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।

कमारा-कमारीहरूलाई मुक्ति

12 “यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रू मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ बर्षसम्म राख्न सक्छौ तर सातौं बर्षमा उसलाई मुक्त गर्नै पर्छ। 13 तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन। 14 तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ। 15 तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।

16 “तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन।’ उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ। 17 त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैँको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।

18 “कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, बर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

पहिले जन्मेको पशुहरूको विषयमा नियमहरू

19 “तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउनै पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेंडाहरूबाट ऊन कात्नु हुँदैन। 20 प्रत्येक बर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।

21 “तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ। 22 तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो। 23 तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूईँमा पानी खन्याए जस्तै पोख्नु पर्छ।

निस्तार-चाड

16 “आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो। परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ। यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ। यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहान भन्दा अघि नै खाई सक्नुपर्छ।

“परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन। तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ। परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ। तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।

साताहरूको चाड (पेन्टकोस्ट)

“बाली काट्न शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ। 10 तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ। 11 परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधवाहरूलाई पनि लैजाऊ। 12 सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।

छाप्रो-बासको चाड

13 “खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ। 14 आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ। 15 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।

16 “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा बर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ। 17 परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सक्छ उसले बलि दिनुपर्छ।

मानिसहरूका लागि न्यायकर्त्ता तथा अगुवाहरू

18 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ। 19 जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्। 20 उद्धारता अनि न्याय! तिमीहरूले सधैँ असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।

परमेश्वर मूर्तिहरू घृणा गर्नुहुन्छ

21 “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन। 22 परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोसो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।

बलिमा असल पशुहरू मात्र चढाऊ

17 “कुनै गोरू अथवा भेंडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ।

मूर्ति पूजा गर्नेहरूलाई दण्ड

“सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्। तिनीहरूले अरू देवी देवताहरू पूजेका छन्। अथवा यस्तो पनि हुन सक्छ तिनीहरूले घाम, जून अथवा ताराहरूलाई पूजेका छन्। यो मैले तिमीहरूलाई बताएको परमप्रभुको आज्ञाको विरोधमा हो। यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयंङ्कर घटना इस्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ। तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ। तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुइ अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ। ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ।

अदालतको अप्ठेरा निर्णयहरू

“केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडा़मा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ। तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्। 10 परमप्रभुको विशेष ठाउँबाट तिनीहरूले आफ्नो निर्णय बताउनेछन् र तिनीहरूको सल्लाह जस्तो हुन्छ, तिमीहरूले त्यस्तै गर्नु पर्छ। 11 तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देशन मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।

12 “यदि कुनै मानिसले न्यायकर्त्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्गन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्राएलबाट लखेट्नु पर्छ, त्यो मर्नु पर्छ। 13 यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।

राजाको चुनाव र कर्त्तव्य

14 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’ 15 जब तिमीहरूले यस्तो विचार गर्छौ, तब परमप्रभुले जसलाई राजा रोज्नुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरू कै समूहबाट हुनुपर्छ। 16 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’ 17 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाट पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।

18 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ। 19 राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ। 20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुशरण गर्ने छन् तिनीहरू इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।

पूजाहारी तथा लेवीहरूलाई समर्थन

18 “लेवी कुलका मानिसहरूले इस्राएल भूमिको कुनै अंश पाउने छैनन्। तिनीहरू पूजाहारीको रूपमा सेवा गर्नेछन्। तिनीहरूले खाली आगोमा पकाएर परमप्रभुलाई चढाएको बलि खान पाउने छन् अनि त्यही खानेकुरा मात्र लेवी कुलका मानिसहरूको अंश हुनेछ। परमप्रभुले भन्नु भए झैं लेवीहरूको अंश परमप्रभु मात्र हुनुहुन्छ तर ती लेवीहरूले इस्राएलको भूमिको अंश पाउने छैनन्।

“जब तिमीहरू गाई अथवा भेंडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेंडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ! तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेंडाको पहिले काटेको ऊन पनि दिनु पर्छ। किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैँका लागि रोज्नु भयो।

“प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरू धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इस्राएलको कुनै पनि शहरमा बस्ने कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोज्नु भएको विशेष ठाउँमा आउनु सक्छ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सक्छ। परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सक्छ। अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।

इस्राएल अरू देशहरू जस्तो बस्नु हुँदैन

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक। 10 आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ। 11 कुनै मानिसहरूलाई कसैमाथि टुना-मुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्। 12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस्ता काम गर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ, त्यसकारण उहाँले ती जातिहरूलाई त्यो देशबाट तिमीहरूको निम्ति जोर दिएर निकाल्नु हुदैछ। 13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ।

परमप्रभुको विशेष अगमवक्ता

14 “तिमीहरूले अरू राष्ट्रका मानिसहरूलाई जसले जादूद्वारा आफ्नो भविष्य बताउन लगाउँछन् जबरजस्ती निकाल्नु पर्छ। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो गर्नु दिनु हुने छैन। 15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ। 16 परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनुहुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र होरेब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’

17 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो। 18 म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ। 19 त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’

झूटा अगमवक्ताहरू कसरी चिन्नु

20 “तर अगमवक्ताले केही कुरा भन्न सक्छ, जुन चाही मैले तिमीहरूलाई भनेको थिइनँ, अनि उसले मानिसहरूलाई भन्न सक्छ मेरो निम्ति बोल्दैछ। यदि यस्तो हुन्छ भने त्यो अगमवक्तालाई अवश्य मार्नु पर्छ। अन्य देवी-देवताहरूको निम्ति बोल्ने अगमवक्ताहरू पनि आउन सक्छ। त्यस्ता अगमवक्तालाई पनि मार्नु पर्छ। 21 तिमीहरूले सोचिरहेका होला, ‘अगमवक्ताले जे भन्छ त्यो परमेश्वरबाट होइन भनी कसरी जान्नु?’ 22 यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन। तिमीहरूले थाहा पाउँनेछौ त्यो अगमवक्ताले आफ्नै विचार बताउँदैछ। ऊसित तिमीहरू डराउनु पर्दैन।

सुरक्षाका शहरहरू

19 “अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ। तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ। तब प्रत्येक भागमा तिमीहरूले नजिकै भएको एउटा शहर रोज्नु पर्छ। अनि तिनीहरूले ती शहरहरूमा पुग्ने मार्गहरू निर्माण गर्नुपर्छ। तब कुनै मानिस जसले अर्कोको हत्या गर्छ, त्यो भागेर सुरक्षाको निम्ति त्यस शहरमा पुग्न सकोस्।

“यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हत्यारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हत्यारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन। यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटा मध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सक्छ। तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सक्दैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सक्छ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन। शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु।

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ। 10 तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन।

11 “तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सक्छ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सक्छ, उसले त्यस मानिसलाई मार्न सक्छ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सक्छ। 12 यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सक्छन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ। 13 तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

सम्पत्तिको साँध-सीमाना

14 “तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्।

गवाहीहरू

15 “यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुइ अथवा तीनजना गवाहीहरू चाहिन्छन्।

16 “कसैलाई चोट पुर्याउने अभिप्रायले एक जना मानिस झूटो साक्षी दिनु अघि आउनु सक्छ। 17 यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सक्छन्। 18 न्यायकर्त्ताहरूले सावधानीसँग झगडा़मा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सक्छन कतै गवाहीले झूटो बोलेको हो कि? यदि गवाही झूटो बोलेको पाए, 19 तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ। 20 अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।

21 “तिमीहरूले त्यस मानिसप्रति सहानुभूति देखाउनु हुँदैन जसले अपराध गरेको हुन्छ जति बेला उसलाई सजाय दिइन्छ। यदि कसैको ज्यान लिन्छ भने उसको जीवन पनि शेष पार्नुपर्छ। नियम छ आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र खुट्टाको सट्टा खुट्टा हुनेछ।

युद्ध सम्बन्धी नियम

20 “जब तिमीहरू आफ्नो शत्रुसँग लडाइँ गर्न निस्कन्छौ शत्रु पक्षमा धेरै घोडा, रथ र सैन्य देखेर नडराऊ। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनु भयो।

“जब तिमीहरू युद्ध गर्न जान्छौ पूजाहारी गएर सैन्यहरूसित भन्नुपर्छ। पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’

“लेवी अगुवाहरूले, सिपाहीहरूलाई भन्नेछन्, ‘यहाँ कोही यस्तो मानिस छ जसले नयाँ घर त बनायो तर उसले अझै अर्पणसम्म गरेको छैन? त्यो मानिस लडाइँमा मारिन सक्छ, यसकारण त्यो मानिस फर्केर घर जाओस्। नत्र त्यो मानिस मर्यो भने अर्को मानिसले त्यो घर अर्पण गर्न सक्छ। के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ। यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएकी स्त्रीको अर्को मानिससित बिवाह हुनेछ।’

“ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस्। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’ तब अगुवाहरूले सिपाहीहरूलाई त्यति भनी सकेपछि सिपाहीहरूलाई मार्गदर्शन गर्न कप्तानहरू रोज्नु पर्छ।

10 “जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ। 11 यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्। 12 तर यदि तिनीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ। 13 अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले त्यो शहर तिमीहरूलाई दिनु हुनेछ, त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले काटेर मार्नु पर्छ। 14 तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सक्छौ। 15 तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाढामा छन्।

16 “जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ। 17 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आज्ञा अनुसार हित्ती, एमोरी, कनानी, परिज्जी, र हिब्बी र यबूसीहरू सबैलाई एकदमै नष्ट पार्नु पर्छ। 18 त्यसो गरे परमप्रभु तिमीहरूका परमेश्वर विरोधी तिनीहरूले तिमीहरूलाई पाप काम गराउनमा असमर्थ हुनेछन्। तिनीहरूले आफ्नो देवताको पूजा गर्दा गरिने भयंङ्कर कार्यहरू तिमीहरूलाई सिकाउने मौका पाउँदैनन्।

19 “जब तिमीहरू कुनै शहरको विरोधमा लडाइँ गर्छौ, तिमी त्यस शहरलाई धेरै समयसम्म घेर्न सक्छौ। त्यस समयमा शहर वरिपरि भएका रूखहरूबाट फल खान सक्छौ। तर रूखहरू काटेर ढाल्नु हुँदैन। यी रूखहरू तिमीहरूका शत्रु होइनन्, यसकारण तिनीहरूसित लडाइँ नगर। 20 तर तिमीहरू ती रूखहरू काट्न सक्छौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विरूद्ध लडाई गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्छौ। तिमीहरू जबसम्म प्रयोग गर्न सक्छौ तबसम्म शहर परास्त हुदैन।

हत्या गरिएको एकजना मानिस भेट्टाइए

21 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए। तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ। जब तिमीहरूले जान्ने छौ कुन चाँही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ। शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ। पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।) मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ। यी बूढा-प्रधानहरूले भन्नुपर्छ, ‘हामीले यस मानिसलाई मारेनौं अनि यो घट्ना पनि देखेनौं। हे परमप्रभु! तपाईंले इस्राएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौ, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।’ यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्। यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।

युद्धमा पक्राऊ परेका स्त्रीहरू

10 “तिमीहरूले आफ्नो शत्रुहरू विरूद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ। 11 ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ। 12 तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ। 13 उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सक्छौ अनि तिनी तिम्री पत्नी हुन सक्छिन्। 14 यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच्न भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।

जेठो छोरो

15 “कुनै मानिसको दुइ जना पत्नी हुन सक्छन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सक्छ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सक्छ। 16 जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन। 17 उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्नै पर्छ र त्यो नानीले दुइ गुणा अंश पाउनै पर्छ। किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।

अट्टेरी नानीहरू

18 “कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सक्छ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ। 19 तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ। 20 माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छः ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्राउँछौ ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’ 21 तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।

अपराधीहरू मारिन्छन् अनि रूखमा झुण्डाइन्छन्

22 “कुनै एकजना मानिस पापको दोषी हुन सक्छ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सक्छन्। 23 त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाड्नु पर्छ। किनभने त्यो मानिस जसलाई रूखमा झुण्ड्याइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

अरू नियमहरू

22 “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेंडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ। यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउन्जेल सम्म राख्न सक्छौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ। यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

“यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।

“कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।

“तिमी बाटोमा हिँडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सक्छौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन। आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सक्छौ।

“जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्‌यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।

सँगै नमिसाउनु पर्ने चीजहरू

“तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।

10 “गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।

11 “तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।

12 “तिमीले धेरै धागाहरूका टुक्रा सँगै बाँधेर फुर्का बनाउनु पर्छ अनि ती फुर्काहरू आफ्नो लुगाको चार कुनामा बाँध्नु पर्छ।

विवाहको नियम

13 “एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सक्छ। 14 मानिसले झूटो बोल्नु सक्छ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सक्छन्। 15 यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ। 16 त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन। 17 यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।’ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा[b] देखाउनु पर्छ। 18 तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ। 19 तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिक्का जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउँदैन।

20 “तर यस्तो पनि हुन सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सक्छ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसक्लान्। यदि यस्तो भयो भने, 21 शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

लैंगिक सम्बन्धको पाप

22 “यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।

23 “यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ, 24 तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कार्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।

25 “तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरजस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ। 26 तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन। 27 त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एक्लै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षाको निम्ति कराएकी हुनसक्छे तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

28 “एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे, 29 त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिक्का तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुन्जेल छोड्न पाउँदैन।

30 “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

मानिसहरू जो पूजामा भाग लिनु सक्छन्

23 “गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सक्दैनन्। यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।

“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्। किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए। तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो। जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री संन्धि गर्नु हुँदैन।

इस्राएलीहरूले स्वीकार्नु पर्ने मानिसहरू

“तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले मिश्रीहरूलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ। एदोमीहरू र मिश्र देशवासीहरूका तेस्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सक्छन्।

सिपाहीहरूको छाउनी सफा राख्नु

“जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लड्न युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्नुपर्छ जसले तिमीहरूलाई अशुद्ध बनाउँछ। 10 यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ। 11 जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सक्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International