Bible in 90 Days
1 पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ।
परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।
थिस्सलोनिकीहरूको जीवन र विश्वास
2 प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। 3 तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। 5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित[a] अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। 6 अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो।
7 म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। 8 तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। 9 हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्। 10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।
थिस्सलोनिकीमा पावलको काम
2 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरू जान्दछौ, हामी तमीहरूकहाँ आएको व्यर्थ भएन। 2 हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो। 3 हामीलाई कसैले धोका दिएनन्। हामी दुष्ट होइनौं। हामी कसैलाई छल गर्ने चेष्टा गर्दैनौ। यसकारण मानिसहरूलाई हामी जे विश्वास गर्न उत्साह दिन्छौ त्यो यी कारणहरूबाट कुनै एउटा पनि होइन। 4 होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।
5 तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँच्चो हो। 6 हामीले कुनै मानिसबाट प्रशंसा पनि खोजेका छैनौं, न तिमीहरूबाटै, न अरूबाटै।
7 हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरूको हेरचाहमा गर्छिन्। 8 हामीले तिमीहरूलाई धेरैमाय गर्यौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाँड्न चाहेका छौं। 9 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ। 11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्यौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्। 12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ।
13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं। 14 दाज्यू-भाइहरू, दिदी-बहिनीहरू! ख्रीष्ट येशूमा तिमीहरू यहूदियामा परमेश्वरको मण्डलीहरू जस्ता हौ। यहूदियामा परमेश्वरका जनहरूले त्यहाँका अरू यहूदीहरूबाट खुबै कष्ट खपेका थिए। अनि तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट उस्तै दुःख भोग्यौं। 15 ती यहूदीहरूले प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे। तिमीहरूले हामीलाई हाम्रो देश छोडन बाध्य गराए। परमेश्वर तिनीहरूसित खुशी हुनु हुन्न। तिनीहरू सबैका विरुद्ध छन्। 16 तिनीहरूले अयहूदीहरूलाई प्रचार गर्न वाधा दिए। हामी गैर-यहूदीहरूलाई प्रचार गर्छौं ताकि तिनीहरू पनि बाँच्न सकुन्। तर ती यहूदीहरू आफ्ना पुराना पापहरूमाथि पनि अझै पापहरू थुपार्दै छन्। अब तिनीहरूमाथि परमेश्वरको रिस पुरै आउनेवाला छ।
तिनीहरूलाई फेरि भेट्ने पावलको इच्छा
17 हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ। 18 हो, हामी तिमीहरूलाई भेट्न चाहन्छौं। म पावल तिमीहरूकहाँ आउन धेरै चोटी साँच्चो चेष्टा चलाँए, तर त्यसो गर्न शैतानले हामीलाई सधैँ बाधा पुर्यायो। 19 जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। 20 तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।
3 1-2 हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं। 3 हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्। 4 जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो। 5 त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यार्थ भयो।
6 तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। 7 यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। 8 तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।
9 तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। 10 हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।
11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। 12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। 13 तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।
परमेश्वरलाई प्रसन्न पार्ने जीवन
4 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। 2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। 3 परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। 4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। 5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। 6 यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। 7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। 8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
9 ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। 10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।
11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। 12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।
प्रभु आउनु हुँदैछ
13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। 16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको[b] स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। 17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं। 18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।
प्रभुको आगमनको लागि तयार बस
5 अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। 2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। 3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन। 5 तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। 6 यसैले हामी अरू जस्तो हुनु हुँदैन। हामी अरूहरू जस्तो सुतिरहनू हुँदैन, तर जाग्रत र आत्मा नियंन्त्रित हुनुपर्छ। 7 सुत्नेहरू रातमा सुत्छन्, मात्नेहरू रातमा मात्छन्। 8 तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ।
9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। 10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन। 11 यसकारण एक-अर्कालाई उत्साह देऊ, एक-अर्कालाई बल देऊ। अनि त्यो त तिमीहरू गरिरहेकाछौ।
अन्तिम निर्देशन र अभिवादन्
12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। 13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।
परस्परमा शान्तिपूर्वक बस। 14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। 15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।
16 सधैँ प्रसन्न बस। 17 प्रार्थना गर्न कहिल्यै नछोड। 18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। 20 भविष्यवाणीलाई महत्वहीन नठान। 21 हरेक कुरालाई जाँच र असल जति राख। 22 हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।
23 शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। 24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।
25 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि पनि प्रार्थना गर। 26 जब भेट गर्छौं सबै भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर। 27 प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ। 28 हाम्रा परमप्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमा रहोस्। आमेन।
1 पावल, सिल्वानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।
2 तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।
3 तिमीहरूको लागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन-झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ। 4 यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।
पावल परमेश्वरको न्याय बारे बोल्छन्
5 यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो। 6 परमेश्वरले जे गर्नु हुन्छ ठिकसँग गर्नुहुन्छ। तिमीहरूलाई जसले कष्ट दिन्छन् तिनीहरूलाई परमेश्वरद्वारा कष्ट भोगाइनेछ। 7 अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ। 8 परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरूलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ। 9 तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ। 10 यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू ज-जसले विश्वस गर्छन् येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किनकि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ।
11 त्यसैकारण हामी सधैँ तिमीहरूको भलाईकोलागि प्रार्थना गर्दछौं। उहाँले तिमीहरूलाई बोलाएको जीवन शैलीमा तिमीहरूलाई हाम्रो परमेश्वरले बाँच्ने योग्य बनाई दिनु हुन हामी प्रार्थना गछौं। तिमीहरूमा भएको असल गुणले तिमीहरूलाई गुणस्तरीय कार्यहरू गर्न उत्साह दिन्छ अनि तिमीहरूकोमा भएको विश्वासले तिमीहरूलाई असल कार्य गर्ने गराउँछ। हामी प्रार्थना गर्छौं कि परमेश्वरले तिमीहरूलाई अझ बेसी यस्तो असल कार्य गर्नु योग्य पारून्। 12 हामी यी सब तरिकाले प्रार्थना गछौं ताकि हाम्रा परमप्रभु येशू ख्रीष्टको नाउँ तिमीहरूमा महिमित हुन सकोस् अनि तिमीहरूले पनि उहाँमा महिमा पाउन सक्छौ। त्यो महिमा हाम्रा परमेश्वर अनि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट आउँछ।
दुष्ट घट्ना घट्नेछ
2 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं। 2 यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्। 3 कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो। 4 परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।
5 मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ? 6 अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ। 7 पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ। 8 त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। 9 त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। 10 दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।
11 तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्। 12 त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।
तिमीहरू मुक्तिको लागि छानिका हौ
13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ। 14 त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ। 15 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।
16-17 हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैंले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो।
हाम्रोलागि प्रार्थना गर
3 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्। 2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। 3 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। 4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। 5 हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।
कामगर्न वाध्यता
6 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। 7 तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। 8 अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। 9 यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। 10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”
11 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। 12 हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं। 13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।
14 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्। 15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ।
अन्तिम शब्द
16 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैँ हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहुन्।
17 म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।
18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमाथि होस्।
1 ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ।
2 तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।
झूटो शिक्षाहरूको विरूद्ध चेतावनी
3 जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ। 4 तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नदेऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ। 5 यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ। 6 कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे। 7 त्यस्ता मानिसहरू शास्त्री बन्न खोज्छन्। तर उनीहरू के बोलिरहेका छन् त्यो उनीहरूलाई नै थाहा हुँदैन। अनि उनीहरूले ती कुराहरू बुझ्दैनन् जसलाई उनीहरू सत्य भन्छन्।
8 हामी जान्दछौ कि हामीले ठीकसित उपयोग गरे व्यवस्था राम्रो हुन्छ। 9 हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्। 10 जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँच्चो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन। 11 यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो।
परमेश्वरलाई उहाँको कृपाको निम्ति धन्यवाद
12 हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो। 13 अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन। 14 तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।
15 म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महा-पापी हुँ। 16 तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो। 17 जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन।
18 तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड। 19 विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुशरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो। 20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुइलाई शैतानको हातमा सुम्पिदिएँ।
पुरूष र स्त्रीहरूको लागि नियमहरू
2 प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ। 2 राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ। 3 यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ।
4 परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्। 5 परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ। 6 सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो। 7 त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झूटो बोलेको छैनँ। म अयहूदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुशरण गर्नु सिकाउँछु।
स्त्री र पुरूष़लाई बिषेश सुझावहरू
8 मानिसहरूले जहीं पनि प्रार्थना गरून् भन्ने म चाहन्छु। प्रार्थनामा जसले आफ्ना हात उठाउँछन् ती मानिसहरू पवित्र हुनु पर्छ। तिनीहरू रिसालु र झगड़ालु हुनु हुँदैन।
9 स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन। 10 तर तिनीहरूले आफूलाई असल कामहरूले सजाउनु पर्छ। यो ती स्त्रीहरूलाई उपयुक्त हुन्छ जसले भन्छन् कि तिनीहरू परमेश्वरको पूजा गर्छन्।
11 स्त्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भएर सिकुन्। 12 तर म कुनै स्त्रीलाई शिक्षा दिने तथा कुनै पुरुषमाथि अधिकार जमाउने अनुमति दिँदिन, तर स्त्री चुपचाप बस्नुपर्छ। 13 किनभने पहिले आदमको सृष्टि भयो अनि पछि हव्वाको। 14 शैतानद्वारा ठगिने आदम थिएन। त्यो स्त्री थिई जो ठगिई अनि पापी बनी। 15 तर स्त्रीहरू नानी जन्माउनाले मुक्त हुन्छन्। तिनीहरू विश्वास, प्रेम अनि पवित्रतामा लागिरहे अनि उचित तरिकाले आत्मा संयममा लागिरहे तिनीहरूले मुक्ति पाउँछन्।
मण्डलीका अगुवाहरू
3 म जे भन्छु त्यो साँच्चो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो। 2 अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ। 3 उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन। 4 ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ। 5 यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला।
6 अगुवा नव-परिवर्तित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ। 7 ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब ऊ अरूद्वारा आलोचित हुने छैन अनि ऊ शैतानको जालमा पर्ने छैन।
मण्डलीक सहायकहरू
8 त्यसरी नै जसले विशेष सहायकहरूको रूपमा मण्डलीको सेवा गर्छन् तिनीहरू मानिसहरूबीच माननीय हुनुपर्छ। तिनीहरू बातचीतमा इमान्दार हुनुपर्छ अनि तिनीहरूले अधिक दाखरस पिउनु हुँदैन। अरूलाई ठगेर तिनीहरूले धनी बन्ने कोशिश गर्नु हुँदैन। 9 तिनीहरू परमेश्वरले हामीलाई बताएको सत्यमा दृढ रहनु पर्छ अनि तिनीहरूले जे ठीक छ भनी विश्वास गर्छन् सधैँ त्यही गर्नु पर्छ। 10 त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।
11 उसरी नै स्त्रीहरू पनि मानिसहरू माझ माननीय हुनुपर्छ। तिनीहरूले अर्काको निंदा गर्नु हुंदैन्। तिनीहरू हरेक कुरामा आत्मा-नियंत्रित र विश्वासी हुनुपर्छ।
12 विशेष सहायकहरूको रूपमा सेवा गर्ने मानिसको एउटा पत्नी मात्र हुनुपर्छ। तिनीहरू आफ्ना बालबच्चाहरूको अनि आफ्नो परिवारको योग्य अगुवा हुनुपर्छ। 13 असल प्रकारले सेवा गर्ने यी विशेष सहायकहरूले स्वयंलाई माननीय पदको योग्य तुल्याउने छन्। तिनीहरूले ख्रीष्ट येशूमा आफ्नो विश्वासको विषयमा ठूलो भरोसा पाउनेछन्।
हाम्रो जीवनको रहस्य
14 म तिमी भएकोमा चाँडै आउन सकुँला कि भन्ने आशा छ। अहिलेलाई म यो पत्र लेख्दैछु। 15 यदि म तिमीकहाँ झट्टै आउन सकिनँ भने पनि परमेश्वरको परिवारमा मानिसहरूले के गर्नु पर्छ त्यो तिमीले जानेकैछौ। त्यो परिवार जीवित परमेश्वरको मण्डली हो। अनि परमेश्वरको मण्डली सत्यको खाँबा र जग हो। 16 निःसन्देह हाम्रो आराधनाको जीवनको रहस्य महान छः
उहाँ हाम्रो निम्ति मानिसको रूपमा प्रकट हुनुभयो,
आत्माद्वारा उहाँ सत्य सावित हुनुहुन्छ।
उहाँ स्वर्गदूत अघि देखा पर्नुभयो,
सुसमाचार अन्य जातिहरूमा प्रचारित गरियो,
विश्वका मानिसहरूले उहाँलाई विश्वास गरे।
अनि महिमामा उहाँ स्वर्ग सम्म उचालिनु भएकोछ।
झूटा शिक्षकहरू बारे सावधान
4 पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाड्नेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुशरण गर्नेछन्। 2 यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ। 3 ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्। 4 पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। 5 परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।
ख्रीष्ट येशूको असल सेवक बन
6 यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुशरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ। 7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। 8 शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। 9 मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। 10 त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
11 यिनै कुराहरूका आदेश र शिक्षा देऊ। 12 तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
13 म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। 14 तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। 15 यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। 16 आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
5 आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई झैं व्यवहार गर। 2 ठूला स्त्रीहरूसित आफ्नी आमालाई झैं व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै शुद्ध मनले व्यावहार गर।
विधवाहरूको वास्ता गर्नु
3 विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्। 4 तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ। 5 कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसँग प्रार्थना गर्छिन्। उनले परमेश्वरसँग सहायता माग्छिन्। 6 तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो। 7 यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्। 8 मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
9 विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60 वर्ष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ। 10 उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।
11 तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा नहलेख। तिनीहरूले आफूलाई ख्रीष्टमा समर्पित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्। 12 तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ। 13 यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरौटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्। 14 यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्। 15 कतिपय तरूणी विधवाहरू शैतानको अनुशरण गर्न फर्किसकेकाछन्।
16 यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँच्चो अर्थमा अभावग्रस्त विधवा छन्।
अगुवाहरू अन्यकुराहरूको बारेमा
17 अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्। 18 किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।”(A) अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”(B)
19 यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन। 20 जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
21 परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।
22 धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
23 तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।
24 कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ। 25 मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।
6 ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन। 2 केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू हुन्छन् तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।
झूटो शिक्षा र साँच्चो धन
मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ। 3 कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन। 4 झूटा शिक्षा दिने मानिस अहङ्कारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगड़ा गर्छ। यसले इर्ष्यां, झगड़ा, अपमान अनि कुशंका ल्याउँछ। 5 यसले दुषित मन हुने मानिसहरूबाट तर्कवितर्क पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू सम्झन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।
6 निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने। 7 जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं। 8 यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं। 9 तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ। 10 पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैंलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।
याद गर्नु पर्ने केही कुराहरू
11 तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। 12 आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। 13 परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः 14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। 15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। 16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।
17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ। 18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। 19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।
20 तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन। 21 कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।
परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।
1 ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
2 मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।
उत्साह अनि धन्यवाद
3 दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु। 4 म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ। 5 म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ। 6 त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। 7 परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
8 यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
9 परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। 10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो 12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म[c] उहाँ सामर्थ हुनु हुन्छ।
13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
15 तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस ले पनि मलाई छोडे। 16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्। 17 अँहँ, जब उनी रोममा आए मलाई नभेटुन्जेल उनले मलाई निरन्तर खोजिरहे। 18 म प्रार्थना गर्छु त्यस दिन[d] प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।
ख्रीष्ट येशूको स्वामी भक्त रक्षक
2 तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन। 2 मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ। 3 हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको साँच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर। 4 सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन। 5 यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ। 6 किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ। 7 मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
8 येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु। 9 अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन। 10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ। 11 यो एक साँच्चो शिक्षा होः
यदि हामी उहाँसितै मर्यौं भने, तब हामी पनि उहाँसितै जिउँछौं।
12 यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं।
यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ,
किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।
परिचित कर्मी
14 मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे तर्क गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ। 15 परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
16 जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ। 17 तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्। 18 तिनीहरूले साँच्चो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतले ती दुइले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
19 तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”(C) अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोड्नु पर्छ।”
20 एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्। 21 यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
22 जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर। 23 मूर्ख र बेसमझका तर्कहरू छोड़। तिमी जान्दछौ यस्ता र्तक बढेर विवादमा परिणत हुन्छन्। 24 प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ। 25 आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्। 26 त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।
अन्तिम दिनहरू
3 यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ। 2 ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। 3 मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। 4 अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्। 5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।
6 त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्। 7 ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्।
8 जेन्नस र जेम्ब्रसलाई नै सम्झ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुशरण गर्न चुकेका छन्। 9 तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।
अन्तिम सल्लाह
10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। 11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। 12 ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। 13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।
14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। 15 तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। 16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्। 17 परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।
4 परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः 2 मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।
3 समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्। 4 मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। 5 तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।
6 मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ। 7 मैले लड़ाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु। 8 अब एउटा मुकुटले मलाई पर्खिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
व्यक्तिगत वचनहरू
9 जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर। 10 डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए। 11 अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ। 12 टाइकिकसलाई मैले एफिसस पठाँए।
13 म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्।
14 धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ। 15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।
16 पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्। 17 तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ। 18 यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन।
अन्तिम अभिवादन
19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ। 20 इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखें। ऊ अलिक बिसन्चो थियो। 21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु।
युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्।
22 परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्।
1 परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। 2 त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। 3 ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
4 तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ।
पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
क्रेटमा तितसको काम
5 मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। 6 धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। 7 धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। 8 धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। 9 धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ। 10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्म-गुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ। 11 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्। 12 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैँ झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।” 13 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुशरण गर्नेछन्। 14 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्। 15 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ। 16 तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।
साँच्चो शिक्षाको अनुशरणगर्नु
2 तर, तिमीले मानिसहरूलाई साँच्चो शिक्षाको अनुशरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ। 2 पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।
3 वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ। 4 त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ। 5 तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु। 7 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन। 8 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैं लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
9 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैँ आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन, 10 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।
11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ। 13 हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। 14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
15 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरून्।
जिउने असल तरिका
3 मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु, 2 कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।
3 अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं। 4 तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो। 5 उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो। 6 परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो। 7 उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं। 8 त्यो शिक्षा साँच्चो हो।
अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।
9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। 10 यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ। 11 यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले ऊ गलत छ भन्ने प्रमाण दिन्छ।
याद गर्नुपर्ने कुराहरू
12 अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु। 13 वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्। 14 असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।
15 ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ।
तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस्।
1 ख्रीष्ट येशूको एक कैदी पावल र हाम्रा भाइ तिमोथीबाट
हाम्रा प्रिय बन्धु तथा सहकर्मी फिलेमोनलाई अभिवादन।
2 साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
3 हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।
फिलेमोनको प्रेम र विश्वास
4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। 5 परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु। 6 म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ। 7 मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
ओनेसिमसलाई एक भाइको रूपमा स्वीकार गर
8 तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु। 9 तर मैले तिमीलाई आदेश दिएको होइन, केवल प्रेमको शक्तिमा म तिमीलाई निवेदन गर्दछु। म पावल हुँ अनि अहिले म वृद्ध मानिस हुँ अनि ख्रीष्ट येशूको लागि बन्दी छु। 10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो। 11 बितेका दिनहरूमा ऊ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
12 म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु। 13 म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफैं उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो। 14 तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।
15 ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। 16 अझ एक दासको रूपमा होइन, तर दासभन्दा अधिक अनि एक प्रिय भाइको रूपमा ग्रहण गर। म उसलाई खुबै माया गर्छु। तर तिमीले उसलाई अझ बेसी माया गर्नेछौ। तिमीले उसलाई एउटा मानिसको रूपमा अनि प्रभुमा भाइको रूपमा पनि माया गर्नेछौ।
17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर। 18 ओनेसिमसले तिमीसित केही भूल गरेछ भने मलाई दोष्याऊ। यदि उसले केही तिर्नु परे मलाई लगाऊ। 19 म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन। 20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ। 21 तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
22 दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।
अन्तिम अभिवादन
23 मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ। 24 अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।
25 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस्। आमिन।
© 2004, 2010 Bible League International